मदिरा, मदहोशी र म

मदिरा, मदहोशी र म

साथीहरूले मदिराको कुरा गर्दैगर्दा म पाब्लो नेरुदाका कविताहरू पढिरहेको थिएँ । 'अ म्यान इज बर्न' पढ्दापढ्दै मैले पनि मदिराबारे लेख्ने सोच बनाएँ । मध्य चिलीको पहाडी गाउँ 'पराल'मा जन्मेका नेरुदा यो कवितामा त्यहाँका अंगुरका बगान अनि वाइन बनाउने त्यहाँको पुरानो चलन र संस्कृति सम्झन्छन् ।

पढ्दै गर्दा मैले पनि झलक्कै सम्झेँ- पूर्वी नेपालको तराई अनि धाइजन गाउँभित्रको अर्को त्यो सानो मेचेगाउँ जसको नजिकै रहेको बाहुन परिवारमा म जन्मिएँ । सम्झिँए- छम्ली दिदी, रावा दाइ, देउवरनी माइजू, ठूलो सेरेन काका । माछा, घुंगी, गँगटा, गुर्बोको अचार अनि काला ठूलाठूला डेक्चीजस्ता भाँडाहरू जसलाई भात र कोदोका जाँडरक्सी बनाउन प्रयोग गरिन्थ्यो हाम्रो मेचेगाउँमा ।

मेरो गाउँमा धान अघोरै फल्ने । बीचबीचमा एकदुई घर र रूखहरूले एकरूपतामा खलल पुर्‌याउँथे नत्र आँखाले भ्याएसम्म थिए सम्म परेका हरिया–पहेँला धानका गह्राहरू । एक साल बर्से रोपाइँ सकेर मैजारो मनाउन हजुरबुवाले चारआलीको हाटबाट मासु ल्याउने भएपछि हाम्रा हली बौका दाइले पनि एक सेर रक्सी ल्याए गाउँबाट ।

सानो भाइ सन्तोषले भन्यो, 'बुवा, म पनि रक्सी खान्छु ।'
हामी हजुरबुवालाई बुवा भन्थ्यौं, हजुरआमालाई आमा, जिजुआमालाई हजुरआमा ।
'साँच्चै खान्छस् त ? ', आफ्नो चनमते नातिलाई प्रश्न गर्नु भो बुवाले ।
'अँ, खान्छु ।' जवाफ आयो ।

'लु बौका, यसलाई रक्सी चखाइदे' भन्दै बुवा चुलो छेउको आफ्नो आसनमा बसेर दूध–रोटी खान थाल्नुभो । आमाका आँखीभुइँ खुम्चिए, हजुरआमाले 'राम राम' भन्नु भो । हाम्रो कुलमा यसअघि कसैले रक्सी खाको कसैलाई पनि थाहा थिएन । बाहुनको जात जाने भो भन्ने उहाँहरूलाई ठूलो पीर भयो ।

भाइ भने उता आँगनमा पलँेटी मारेर बसिसकेको थियो बौका दाइसँग रक्सी खानका लागि । अरूलाई महाभारत भए पनि उसलाई कुनै ठूलो कुरो थिएन । गाउँ गएर उसले बौका दाइसँग बसेर बौकेनी भाउजूले पकाएको घुँगीको तरकारी र भात धेरैचोटि खाइसकेको थियो उसले । दूधे दाँत झरेपछि अर्को स्थायी सेट पलाएजस्तै व्रतबन्ध गरेपछि बाल्यकालको दोष जान्छ भन्ने हाम्रो हजुरबाको मान्यता । माने हजुरबुवाको चलाखीलाई । त्यसै त कहाँ गाउँका ठालु बनाका रहेछन र !

'मीठो रछ नाति ? '
'छीः तीतो ।' उसले भन्यो ।
मलाई भने रक्सीको स्वाद त के त्यसबारे जान्नु नै थिएन । मेरो विचारमा कहिल्यै आएन यसको सोख ।

०००

यी काठमाडौंका पार्टीका कुरै बेग्लै । विवाह, व्रतबन्ध, गुफा, छ्यौहर जेसुकै होस्, प्लेट सजिइहाल्छन् । पाहुनाका आँखा भने सल्बलाउन थाल्छन् रंगीन झोल भरेका बोतल, ग्लास र स्न्याक्सका ट्रेहरूमा । अनि मजस्ता पनि हुन्छौं जो कोक, स्प्राइट वा जुसमा पनि उत्तिकै रम्न सक्छौं ।

मैले चिकेन ड्रमस्टिक लिएर स्प्राइटको ग्लास उठाउँदा ग्रुपको पल्लो छेउबाट तिमीले मलाई हेर्दै गरेको देखेँ । तिम्रो हातमा तिमीलाई मन पर्ने सेरी हुनुपर्छ । लामा सलक्क परेका तिम्रा औंलाले समातेपछि त्यो प्याला पनि रातो देखिन्छ तिम्रो नेलपोलिसको रङजस्तै अझै नशालु । म हेर्छु तिम्रा आँखामा उही चिरपरिचित आभा- आनन्द र उद्वेग मिसिएको । तिमीलाई थाहा छ, सोमरसमा मेरो रुचि छैन । तिमीलाई यो पनि थाहा छ, महिला मातेको र झगडा गरेको मलाई मन पर्दैन ।

मैले मन पराएको महिलाको त्यो इमेज मैले कल्पना पनि गरेको छैन । देखेको दिनपछि सम्बन्ध कस्तो रहला थाहा छैन । तर म तिम्रो रमाइलोमा कहिल्यै भाँजो हाल्दिनँ । मलाई थाहा छ, तिमीलाई यसरी नै बेलाबेला सबैसँग रमाइलो गर्दै वाइन लिन मन पर्छ । अनि कहिलेकाहीँ मेरो लामो अनुपस्थितिमा एक्लिएर साह्रै उच्चाट लाग्दा पनि । यो मेरो खराब आदत सायद, कहिलेकाहीँ परिवारजनभन्दा पर नितान्त व्यक्तिगत भ्रमणमा निस्कन्छु म । म छु नै यस्तो- तिम्रा आँखाले पनि बाँधेर राख्न सक्दैनन् मलाई हरहमेशा ।

'यु आर बर्न वाइल्ड एन्ड फ्री ।' कसैले भन्याथ्यो मलाई कुनै दिन ।
'यस । बट आई लभ बिइङ टेम्ड बाई माई मिस्ट्रेस वेन आई एम विथ हर', मैले मनमनै भनेको थिएँ ।

हामीबीच एउटा समझदारी छ पछिलेदेखि नै । 'आई निड अ स्पेस अफ माई औन एन्ड यु आर फ्री टु एन्जोय योअर्स ।' मेरो चाहनालाई तिमीले आत्मसात् गर्‌यौ- चाहेर÷नचाहेर । त्यसकै एउटा दृष्टान्त थियौं हामी, त्यो पार्टीमा । कस्तो अनौठो साथी छाने भनेर तिमीलाई लागिरहेथ्यो पक्कै पनि । चिनियाँ माटोको पातलो भासभित्र जलेको चिमले उज्यालो पारेको त्यो सुन्दर फूलदानजस्तै तिम्रो अनुहारको गोरोपनमा पनि थोरै न्यानो गुलाबी रङ चढ्दै थियो ।

तिम्रा आँखा राता हुँदै थिए बिस्तारै, प्रस्ट थियो क्यापिलरीहरू बढ्दै थिए । अहा ! मलाई लट्ठ पार्ने तिम्रा आँखा आफैं लोलाएका थिए । निर्निमेष मतिर टोल्हाइरहेथे । ती विनम्र आँखाको अनुनय म गलत बुझिरहेथेँ कि सही थाहा भएन । तिम्रो रसमा डुबी शनैः शनैः मात्तिँदै थिएँ भँवराझैं । लुट्पुटिन चाहन्थेँ तिमीमा । तिमी पनि परागसेंचित फूलझैं मस्त फक्रन चाहिरहेथ्यौ होली । म संयमित भएको देखाउँदै थिए अरूलाई । मनले बेन जन्सनको कविता उल्था गर्दै थियोः

'तिम्रा आँखाले मलाई पिउ प्रिय
म मेराले तिमीलाई पिऊँला
या एक चुम्बन छोड प्यालामा
म मदिरा नै नलिऊँला ।'

०००

मदिरासँगको मेरो पहिलो पहिलो सम्बन्ध त्यति गज्जबको रहेन । इलाममा थिएँ त्यसताका । ड्याडीको सरकारी जागिर थियो कृषि विकास कार्यालयमा । एउटा ठूलै जमघट हाम्रोमा आयोजना गरिएको थियो । इलामका सबैजसो ठूलाबडाहरूको उपस्थिति थियो- सीडीओ, जिविस सभापति, डीएसपी आदि ।

पार्टीपछि ड्याडीले भन्नुभयो, 'उमेर पुगेकै छ, भोलि अवश्य पिइहाल्छौं । लौ तिमीहरू पनि लेओ पहिलो स्वाद ।' म्याक्डोवेल्स हिवस्की दुइटा ग्लासमा थोरैथोरै हालियो । भाइ र मैले एकअर्कालाई हेर्‌यौं । आजचाहिँ बाबैलाई मज्जैले लागेछ भन्यौं एकअर्कालाई आँखाआँखैबाट । ड्याडीको हातको ग्लासमा पहिलेकै ह्विस्की थियो । उहाँ धेरै नपिउने मान्छे तर सामाजिक बन्दाबन्दै नियमित एक दुई पेग चढाउने भइसक्नुभाथ्यो ।

मुख छेउमा ग्लास आइपुग्दा नाकले नाइँनाइँ भन्दै थियो, दुईचार चुस्कीपछि घाँटीले पुग्यो नै भनिदियो । मभन्दा चार वर्ष कान्छो भाइ भने मस्ती गर्दै थियो । उसका साथीहरूको खोयाबिर्केको गफलाई माथ गर्ने मसला जो पाएको थियो । सधैंसधैं जित्ने म, त्यो दिन भाइसँग पनि हारेको थिएँ । अब यस्तो सुरुआतलाई कसरी रमाइलो भन्ने !

यो मेरो पहिलो मापसे भने थिएन, त्यसैले 'पहिलो पहिलो' भनेँ अघि । पाँच÷छ क्लास कतिमा हुँदा हो, स्कुलबाट घर फर्किंदा साथी नानीबाबु ग्लानको घर पुग्दा खाजा खाँदै रहेछन् । भात थियो खाजामा पनि । 'लु खाऊ' भनिन् आन्टीले । अलिकतिमात्रै खान सकेँ, अमिलोअमिलो थियो । घर गएपछि आधा/एक घन्टामा म बिरामी परेँ । ज्वरो आयो, बर्बराउन थालेँ ।

त्यति खेरको विराटनगर/काठमाडौं चल्ने प्रख्यात मोरङ पशुपति र भीआईपी बसको म ड्राइभर बनेँ । सेतासेता पुतलीहरूको पछाडि म धेरै कुदेँ । त्यो रङ, ती चित्रहरू मेरा आँखामा अझै छन् । मम्मी आत्तिनु भो र ड्याडीलाई जोड गरेर राति सानाबाजेलाई बोलाएर झारफुक गराउनु भो, अनि अलि बिसेक भो रे । सबै ढुक्क थिए लागु लागेको भनेर ।

भोलिपल्ट मेरो काण्ड सुनेर तामाङ्नी आन्टी हाँसेर झन्डै मूच्र्छा परिन् । 'होइन, हाम्रो नानीबाबु र सानोराजालाई त केही भएन त । बाहुन कस्तो खत्तम जात रहेछ गाँठे, त्यति जाँड पनि पचाउन नसक्ने ।'

बल्ल थाहा भो सबलाई, लागु त लागु तामाङको घरको लागु पो लाग्या रहेछ । मेरो जात भने पक्कै झरिसकेको थियो एक डबको जाँडमा । तर, सानाबाजे छँदै थिए नि ! कसोकसो गरेर अवश्य मेरो जात फिराइदिएको हुनुपर्छ उनले ।

इलामकै कुरो हो फेरि । सानोबुवाको स्कुल थियो माइथान छेउमा । रुघाखोकीले ग्रस्त पारे पनि नयाँ सेसनको तयारी गर्न राति अबेरसम्म काम गर्नु परेको थियो । तीनपुस्ते शाकाहारी सानोबुवाले ब्रान्डी खाने सल्लाह दिनुभयो- औषधिको रूपमा ।

उहाँलाई थाहा थियो म रक्सी पिउन्नँ भन्ने कुरा । अनि इलामको अरू सबै मन पर्दापर्दै पनि त्यहाँका मान्छेहरूको अधिक रक्सी सेवन गर्ने बानी मलाई मन पर्दैन थियो । फुरी दाजुलाई समेत त्यहाँ डाक्टर फुरी उपनाम दिएका थिए । सबैको रोग र टेन्सन निको हुन्थ्यो रे उनको भट्टीमा । यस्ता वाहियात चर्चा खुब रोचक मानिन्थे । मलाई भने आफूले सम्मान गरेका गुरुहरू, काकाबडाउहरू बेलुकी मातेर हिँडेको देख्दा बडो हीनताबोध हुन्थ्यो, कस्ताकस्ता मान्छेका अगाडि झुक्नुपर्ने भनेर ।

बिहान भने कसैकसैको श्वासले रातिको वास्तविकता बताए पनि सबै सज्जन देखिने, यद्यपि सबैको भट्टीहरूमा उधारो भने प्रायः कायमै रहन्थ्यो । रक्सी पसल धेरै थिए । धेरै फर्माइस लोकलको हुन्थ्यो, गाउँहरूबाट ग्यालनमा मकैको खोयाको बिर्को लाएर ल्याइएका । ब्रान्डेड बोतलवालामा भने ठूला जागिरेहरूको पहुँच हुन्थ्यो तरै पनि उनीहरू लोकल नै खोज्थे । सानोबुवाले भने सुझाउनु भो ब्रान्डी । खै कुन ब्रान्ड थियो ? झ्वाइँखट्टे तल्लो दर्जा भो- उहाँ अलि सोखिन, हाई क्लास मान्छे !

खोकी साह्रै थियो । इलामको चिसो बेलुकीको, शीत खस्दै थियो । एकदुई पेग पिइदिएँ मैले पनि ब्रान्डी पहिलो चोटि । टुँडिखेल तलको क्वार्टर पुग्न पन्ध्र मिनेट लाग्थ्यो । टँडिखेल नपुग्दै आर्मीझैं कवाज गर्न थालेँ म कहिले लेफ्ट, कहिले राइट । बत्ती नभएको बाटोमा सिकारु ड्राइभरले गाडी कुदाएझैं लर्बराउँदै हिँडेँ । कान्लामा पिसाब गरेर म टुँडिखेल तल खुड्किला झर्दै थिएँ, तिघ्रा चिसो भएजस्तो महसुस भयो, नल त बन्द भएकै रहेनछ ।

म सरमसार भएँ । मेरो नशा गायब भयो । भुतुक्कै भएँ म लाजले, ग्लानिले । उत्तिनै खेर मैले वाचा गरेँ अबउप्रान्त यो कुकुरको झोल छुने छुइनँ । आफ्ना इन्द्रिय आफ्नै वशमा नरहे, आफ्नै दिमाग पंगु भए, मान्छे र पशुमा के फरक ? मैले कसम खाएँ । कसम खाँदै बिर्संदै गर्ने अरूजस्तै बानी भए पनि केही केही वाचाहरू भने मैले पूरा गरेको छु । लामो समय त यही कसममा पनि अडिग रहेको थिएँ ।

०००

'मुस्ताङको ब्रान्डी त खानैपर्छ ।' एकराज सरले भन्नुभयो ।
'यी टोली नेता भाको के काम ? जसरी पनि खाने हो यिनलाई पनि खुवाउने हो ।' कैलाश सर हौसिए ।
यी रौसेहरूको खुसियालीमा मलाई भाँजो हाल्न मन लागेन । 'ल ल । फर्कंदा जहाँ बसिन्छ त्यहाँ मार्फा ब्रान्डी घुटयाऊँला', मैले भने ।

अब भने हाम्रो मुक्तिनाथ यात्रा रमाइलो हुने भो जस्तो छनक आयो । सुरा र सुन्दरी भनेपछि के देवता के मानिस ! मेरा मित्रहरू पनि गद्गद् । 'मेरो खुसी तिम्रो आँसुको कारण नबनोस् बरु मेरो दुःख तिम्रो हाँसोको कारण बनोस् ।' चार्ली च्याप्लिनलाई सम्झेँ मैले । पन्ध्र वर्षपछि कसम तोड्दै थिएँ । टुट्नु, तोड्नु यी राम्रा कुरा कहाँ हुन र !

मुक्तिनाथ दर्शन गरी फर्कंदा घाँसाको बासमा एकदुई पेग मार्फा लगाएपछि कैलाश सर मुक्तिनाथपारिको हिमालको उचाइका बारेमा गलफत्ती गर्न थाले । एकराज सर मुक्तिनाथ बाबा र कागबेनी धामबारे सुन्न नचाहँदा नचाहँदै सुनाउँदै थिए । म थोरैमात्र पानी हालेर नीलगिरिपारिको त्यो बगैंचाका राता स्याउका रसको वाफको चिसो शीतको स्वाद विस्तारै ओठ र जिब्रोबाट तल घाँटीसम्म पुर्‌याएर लिँदै थिएँ ।

'जे होस्, हाम्रो सागल दाइचैं पक्का रक्स्याहा हो के !' खै कसले भन्यो, निद्रा र तन्द्राको बीचमा सुनेँ ।
उनीहरू अझै रम्दै थिए । म काठमाडौं पुगिवरी आफ्नी प्रेयसीको अँगालोमा मदहोश थिएँ ।

०००

तिमीलाई पनि जब थोरै नशा चढ्छ अनि मात्रै तिमी पूर्ण तिमी हुन्छ्यौ, मलाई यस्तै लाग्छ । अरू बेला त तिमी उही मायालु, घरेलु, मृदुभाषी सुशीला हुन्छ्यौ- सबैकी प्रिय । तर यो बन्धन तोडेर तिमी पत्नीभन्दा पर आफ्नो रोमान्टिक अल्टर इगो हुन सक्दिनौं । सायद तिम्रा चाहना र रहरहरू पनि दमित रहन्छन् यो आवरणभित्र ।

न भन्न सक्छ्यौ न त देखाउन सक्छ्यौ मलाई कति माया गछ्र्यौ भनेर । तर, निशा गहिरिएसँगै नशाको रमरम बढेपछि तिमी मायालु र लाडे हुन थाल्छ्यौ । म देख्छु त्यति बेला तिम्रो नशालु नजरभित्र लुकेको हुन्छ रोमाञ्च, चञ्चलता अनि थोरै बदमासीपन ।
'हजुरले त मलाई माया नै गरिसिन्न' वा 'मैले देखेँ नि, ती छेउकी महिलालाई हजुर कस्तरी नजर लाउँदै होइसिन्थ्यो ।' यस्तै मायालु रोष पाउँछु कहिले म पार्टीबाट घर फिरेपछि । ऐनाअघि उभिएर आफ्नो शरीर निहार्दै मतिर कर्के नजर लगाई मलाई उद्वेलित नपार्ने गरेको पनि कहाँ हो र तिमीले ?

यो रोमान्टिक हिरोको पाइन धेरैचोटि जाँचिसकेकी छ्यौ, अनि धेरैचोटि म पास पनि भएको छु तिम्रा टेस्टमा । मलाई सबैभन्दा मन पर्ने त्यति खेर हो जब तिमी मेकअप उतारेर ओछ्यानमा आउँछ्यौ र आफ्नो ढाड मतिर फर्काएर मेरो पेट र तिघ्रा बीचमा आफ्नो मध्यभाग अटाउँदै भन्छ्यौ, 'हजुर स्पुन, म आइसक्रिम ।'

म सम्झँदै रोमाञ्चित हुन्छु ।
एउटा ठुलो स्कुप लिएर हामी पल्टन्छौं । म मक्ख छु । आइसक्रिम एकछिनमा पग्लिहाल्छ नि, त्यसपछि मीठो रस पिउने त हो । मेयरलो आइसक्रिम वाइन पिएसरी विस्तारै विस्तारै, समय लिएर, नशामा डुब्दै उत्रँदै ।

मदिरापान गरौं कि नगरौं फेरि पनि म निकैचोटि दोधारमा परेको छु । मस्ती दिन मलाई वाइन, बियर, ह्विस्की केही पनि चाहिन्न । एक त म त्यसै झुमिरहन्छु, त्यसमाथि तिम्रो उपस्थिति । तिम्रो मुस्कानमा के छ कुन्नि, म हरदम मुग्ध हुन्छु ।
सोचिराख्नुपर्ने त केही होइन यो, नलिनु नै हरहालतमा ठीक हो तर तिमीलाई साथ दिन पनि मन नलागेको होइन ।

कहिले लाग्छ तिम्रा आँखाले त्यही भनिरहेछन्, 'ए कवि, आऊ न मेहफिल सजाऊँ । तिमी थोरै मात, म थोरै मातूँ, अनि साटौं प्रीतका गीत ।' आफूलाई भने उत्कृष्ट रेड वाइन बनाउने स्पेनिस एरेन र फ्रेन्च क्याबर्ने अंगुरभन्दा रसिला, मीठा तिम्रा ओठ लाग्छन् । तिम्रा चुम्बनले सिर्जना गर्छन् मार्टिनी, पन्च र कक्टेलहरू, तरंगित पार्छन् दिलमा अनेक थरीका गीत र कविता ।

लाग्छ, सिंगो तिमी हौ मदिराकी सुराही अनि म हुँ खाली प्याला । त्रिषित छु । अँजुली थापेको छु तिम्रो मधुर रसको आशमा । बुँदबुँद देऊ या निर्झर धारा- म तडप सहन तयार छु, अभिषिक्त हुन पनि ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.