पुस्तक अंश-आर्यावर्त नेपाल
दसौं हजार वर्षपहिले समाज विकास र स्थापना सुरु भएको कुरा शिव पुराण, गीता र शिव संहितामा उल्लेख छ । त्यसबेलादेखि समाजलाई शासन गर्ने नीति नियमहरू बनेको कुरा इतिहासकार बाबुराम आचार्य उल्लेख गर्छन्- 'नेपाली सभ्यता सुरुवात जब भयो त्यसबेलादेखि नै राष्ट्र सिर्जना गर्ने सुरुवात भएको भन्न सकिन्छ ।' उनी थप भन्छन्- 'अहिलेभन्दा चार-पाँच हजार वर्ष जति पहिलेदेखि यस क्षेत्रमा ठूला सामाजिक उथल-पुथलहरू हुन थालेको पाइन्छ ।'
अस्ट्रो-एसियन वा आग्नेयदेशी परिवारकै अर्का एकथरी शाखाका जनताहरू आफ्नो मूल अवस्थालाई परित्याग गरी सुख तथा सुविधाको खोजी गर्दै वर्तमान बर्मा म्यानमारबाट इरावती नदीको किनारैकिनार हाल भारतको आसाम हुँदै वर्तमानको पूर्वी नेपालमा आइपुगेर यहाँका स्थानीय मूल निवासीसँग हेलमेल गर्दै बसेको पाइन्छ ।
त्यहाँबाट अझै अघि बढ्दै आए र यिनीहरूपछि पश्चिममा सतलज नदीसम्म नै फैलिन पुगेको पाइन्छ । यिनीहरूले यहाँका मूल निवासीका भाषा, रीतिरिवाजमा केही हदसम्म प्रभाव पारेका थिए । हाल हाम्रा मगर, गुरुङ, तामाङ जाति तथा नेवार र शेर्पा पनि यही वर्गमा पर्दछन् । (नेपालको संक्षिप्त वृत्तान्तः बाबुराम आचार्य, सं. श्री कृष्ण आचार्य, पृ.३ ।)
आजभन्दा अन्दाजी तीन हजार वर्ष पहिला हाम्रो हिमालय सभ्यताको विस्तार चीनको मैदानसम्म टिवेटियन प्लाचु हुँदै पुगेको थियो भने हालको भारतमा गंगानदी (ब्रह्मपुत्र)को मैदान हुँदै सभ्यता र संस्कृतिको विकास भइरहेको थियो । मानिसको झुन्डले सञ्चारको लागि आ-आफ्नै हावापानी र वातावरणअनुसार भाषाको विकास गरिरहेका थिए ।
यसको अलवा हिमालयको काख काश्मीर तथा दरद देशमा खस वर्गका आर्यहरू र आसाम, मेघालय र नेपालको पूर्वी भागमा किराँत वर्गका विभिन्न शाखा तथा उपशाखाका बस्तीहरू यत्रतत्र फैलिएका थिए । (जीपी सिंह, द किराँत इन् एन्सिएन्ट इन्डिया, पृ.४९)
यसको एक हजार वर्षपूर्व नै हालको भारतमा १६-१७ वटा ठूला जनपद राज्यहरूको विकास भइरहेको थियो । यसका अलावा अनेक स-साना राज्यहरूको पनि विकास भएको थियो । यसबेला यी राज्यहरूमा लोकतन्त्र अर्थात् राज्यका पदाधिकारी चुनिने व्यवस्था थियो ।
यस अवधिमा यी आर्यकै एउटा शाखाको रूपमा किराँत जातिलाई लिइएको थियो, यो पर्वतमाला र त्यसको मैदानी भागमा बस्ती विकास भइरहेको थियो । हालको उत्तरी बिहार जनकपुर प्रदेश र हाल गंगानदी वारिको क्षेत्रमा जसलाई आज पनि मिथिला भनेर पुकारिएको छ- मा वृजी तथा मल्ल नामका राज्यहरूको सिर्जना भएको थियो ।
हाम्रो हालको नेपालका पहाडी क्षेत्र, मैदानी क्षेत्रमा यसअघि नै मानिसको चेतनाको विकासबाट बस्ती बसिसकेको थियो । सतलज नदीदेखि पूर्वतर्फ रहेका कोसी नदीको किनार र यसका आसपासका उपत्यका र गण्डकी नदीको किनार र यसको आसपासमा वा उपत्यकाहरूमा पशुपालन व्यवसाय गरेर र केही मात्रामा अन्नको खेतीसमेत गरेर मानव बस्ती बसिसकेको थियो ।
अझ भन्ने हो भने बागमती नदीको सिरान काठमाडौं उपत्यकामा अझ अघि नै मानिसले बस्ती बसाइसकेका थिए । अझ भन्ने हो भने काठमाडौं उपत्यका तलाउको रूपमा रहँदै यसको वरिपरि शिवपुरी क्षेत्र, लप्सेफेदी, गागलफेदी, गोदावरी वन, स्वयम्भूमाथिको पाखामा मानिसको सभ्यता बसिसकेको कुरा इतिहासकार कर्क प्याट्रिकले अनुमान गरेका छन् ।
चिनियाँ यात्री ह्वेन साङले पनि काश्मीर अफगानिस्थान हुँदै काराकुरमको बाटोबाट नेपाल आएका र उनले नेपालको वर्णन गर्दा हालको काभ्रेको पाँचखाल उपत्यका, नुवाकोट विदुरआसपासका डाँडा, उपत्यका र धादिङको केवलपुरमा बस्ती भएको र त्यसबेलाको समाज मातृसत्तात्मक थियो भन्ने कुरा स्व.पुष्पलालले आफ्नो नेपालमा मातृसत्तात्मक समाज भन्ने पुस्तकमा उल्लेख गरेका छन् ।( पुष्पलालः नेपालमा मातृ सत्तात्मक समाज पृ.१३ )
वर्तमान नेपालको काठमाडौं उपत्यकामा प्राचीनतम कालमा किराँत वर्गको 'नेपार' वा नेवार नामक एउटा शाखाको पातलो आवादी फैलिएर रहेको थियो । यिनीहरू नै यस क्षेत्रका आदिम मूल निवासीका रूपमा रहे भन्न सकिन्छ । 'नेपार' वा नेवारहरूले वृजी गणराज्यतिरबाट नै आर्य सभ्यताको प्रकाश प्राप्त गर्न सक्छन् । हाल नेपालका तराई क्षेत्रहरूमा पाइने थारू मूल रूपमा किराँत वर्गका मानिन्छन् ।
रूप तथा रंगले किराँत वर्गका भए पनि चालचलन, रीतिरिवाज तथा यिनीहरूद्वारा बोलिने भाषा र बोलीलाई आधार मानेर हेर्ने हो भने यिनीहरूमा आर्य जातिको लक्षण बढी पाइन्छ । सुरुसुरुमा आर्यावर्तीय आर्यहरूले त्यहाँ रहेका स्थानीय किराँतहरूलाई 'दास' गराएर अछूतहरूको रूपमा आफ्नो बस्ती र समाजमा सम्मिलित गराउने गरेको भए पनि पछि कालान्तरमा यिनले आफू सरह व्यवहार गरेका थिए । (बाबुराम आचार्यः नेपालको संक्षिप्त वृत्तान्त, पृ.५ ।)
कतिपय इतिहासकारहरू अंग्रेजहरूको पछि लागेर आर्यहरू बाहिरबाट आएर हिमालयन रेन्ज र यसको नदी मैदान क्षेत्रमा सभ्यता बसालेको कुरा गर्छन् । यो बिल्कुल गलत छ । मानव सृष्टि र सभ्यतामा हिमालयन रेन्जको सभ्यता नै पहिलो हो । हिमालयबाट नै नदीको माध्यमबाट यो सभ्यता विस्तार हुँदै गयो । स्वामी प्रपन्नाचार्य 'वेदमा के छ ? ' मा लेख्छन्- कतिपय इतिहासकारहरूले यो पनि भनेका छन् कि सिन्धुघाटीको सभ्यता बैद्धिक सभ्यताभन्दा पुरानो हो र आर्यहरूले बाहिरबाट आएर सिन्धुघाँटीको सभ्यतालाई नष्ट पारेका हुन् ।
तर वर्तमान समयमा उत्खनन गरेर निकालेका प्रमाणहरूले ती कुरालाई असत्य साबित गरेका छन्, किनभने सिन्धुघाँटीको उत्खनन गर्दा जति शिलाहरू भेटिए ती शिलामोहरमध्ये एक शिलामा एउटा रूखको चित्र छ । त्यस रूखमा दुईवटा चरा बसेका छन् । तीमध्ये एउटाले रूखमा बसेर फल खाइरहेको देखाइएको छ र अर्को चराले हेरिरहेको छ । यो चित्रलाई हेर्दा ऋग्वेदको १÷१६४÷२० चित्र जस्तो हुन्छ जसमा प्रकृतिलाई रूख बनाएर त्यसमा जीवात्मा वा त्यो जीवात्मालाई परमात्माको रूपमा सम्झेर चराको र रूखको प्राकृतिक सौन्दर्यको वर्णन गरिएको छ ।
जसमा प्रकृतिको सजीव चित्रण फेला पर्छ । आखिर मानिसले कल्पना गरेको भगवान् पनि प्रकृति नै हो । यसलाई वैदिक युगभन्दा अघिको मान्न सकिन्न, त्यसमा पनि सिन्धुघाटीमा शिलापत्र उत्खनन गर्दा त्यस ठाउँमा शिवलिंग भेटिएका छन् । यसबाट स्पष्टतया के पुष्टि हुन्छ भने सिन्धुघाँटीको सभ्यताभन्दा हिमालय रेन्जको सभ्यता संसारकै पुरानो सभ्यता हो ।
(स्वामी प्रपन्नाचार्य: वेदमा के छ, पृ.१३ ।)
यसको अलवा भारतीय प्रसिद्ध विद्वान् लोकमान्य तिलकले आर्यसभ्यता दक्षिण एसिया र पूर्वी एसिया नै हो भनेका छन् । हिमालय रेन्जबाट निस्किएको आदि मानव गंगा नदीको तटमा बस्न पुगेपछि त्यसले आफ्नो सभ्यता विस्तार गर्यो । रामायणकालको अयोध्यामा राजा दशरथ र त्यस क्षेत्रको विकसित मानव जातिले राज्य र सभ्यता विस्तारमा हालको इन्डोनेसिया र फिलिपिन्स क्षेत्र जो त्यसबेला वाली र सुग्रिवको राज्य थियो- वैज्ञानिक रूपबाट भन्दा चेतना आउन थालेको अर्थात् मानिसको रूप लिन थालेको बानर जातिसँग मित्रता गरेर आफ्नो आधुनिक विद्रोही रावणसँग मुकाविला गर्न खोजेको स्पष्ट हुन्छ । फारसीहरू आफूलाई आर्य र हिमालय सभ्यताबाट आएको भनेर अहिले पनि गर्व गर्छन् ।
इरान र अन्य खाडी राष्ट्रहरूले अहिले संसारका अन्य जातिभन्दा नेपालीहरूलाई बढी आदर र माया गर्ने गरेबाट पनि त्यो प्राग-ऐतिहासिकताको छाप सर्दै आएको भनेर निःसंकोच भन्न र मूल्यांकन गर्न सकिन्छ ।
आधुनिक पाश्चात्य विद्वान्हरूले आर्यहरूको जन्मथलोबारे जे व्याख्या गरे पनि वैदिक वाङ्मयको इतिहासको छेउमा एक रत्ति पनि मिल्दैन । वास्तवमा सभ्यता र धर्मको व्याख्या गर्दा पनि मानव प्राणीको मस्तिष्क विकास हिमालय रेन्जको नदी घाँटीबाट नै भएको हो ।
आचार्य तीलकले भारतवर्ष र चिनियाँ दुवै सभ्यता आर्यबाट प्रभावित छन् किन कि ब्रह्माण्डको यो विशाल भूखण्ड जो जनसंख्याको दृष्टिले दुवै आर्य सभ्यताका प्रतीक शिव र बुद्धका अनुयायी छन् भनेर आफ्नो स्पष्ट मत व्यक्त गरेका छन् । यसको अलवा डा. एनि वेसेन्टले लेखेअनुसार पृथ्वीमा १० लाख वर्षदेखि आर्य सभ्यता छ । त्यसैले विभिन्न खोजकर्ताको मान्यता बेग्लाबेग्लै भए पनि यी सबैको निचोड मानव सभ्यता हिमालय रेन्ज र नदी घाटीबाट सुरु भएको हो ।
पुरातत्त्वविद् नाना पाव विगले पनि 'आर्यावर्त तील आर्याची जन्म' नामक ग्रन्थमा हिमालयमा नै हाम्रो र हाम्रो पुर्खाबाट देवताको जन्म भएको हो । बंगालका प्रसिद्ध विद्वान् अविनाश चन्द्र दासका अनुसार (ऋग्वेदिक इन्डिया, पृ.३७६) भन्ने पुस्तकमा वेदहरूमा उत्तरतिर नक्षत्रहरूको वर्णन छ । त्यसो हुँदा वैदिक ऋषिहरूले नेपाल, काश्मीर र हिमालयहरूको पर्वतमालाबाट देखे होलान् भनेर प्रष्ट पारेका छन् ।
आधुनिक पाश्चात्य विद्वान्हरूले आर्यहरूको जन्मथलो बारे जे व्याख्या गरे पनि वैदिक वाङ्मयको इतिहासको छेउमा एक रत्ति पनि मिल्दैन । वास्तवमा सभ्यता र धर्मको व्याख्या गर्दा पनि मानव प्राणीको मस्तिष्क विकास हिमालय रेन्जको नदी घाँटीबाट नै भएको हो । यसले प्रभाव जमाउँदै विश्वभर फैलिएको हो भन्ने कुरा स्वतः प्रमाणित हुन्छ । वेद र गीतालाई आधार मानेर नै कुरान र बाइबल बनेका छन् । बुद्ध दर्शन त करिब वेदको अंश नै भन्न सकिन्छ ।
आखिर कुरान र बाइबललाई गहिरिएर अध्ययन गर्ने र मनन्समेत गर्ने हो भने पैगम्बर महमद र यशुक्रिष्टले पनि निराकार शक्ति मानेका छन् । त्यो निराकार शक्ति के त भन्दा शिव शक्ति नै हो । यसरी व्याख्या गर्दा आधुनिक युगका कुरान र बाइबलका विद्वान् व्याख्याताले त्यसलाई खण्डन गर्न सकेका छैनन् । मौनम् सम्मति लक्षणम् भन्ने उक्ति यसमा स्वतः लागू हुन्छ । यसको अलवा आर्यहरूको जन्मथलो मानसरोवर नै हो, जहाँ कैलाशकुट पर्वत अवस्थित छ ।
प्राचीन राज्यको विस्तारमा शाक्य वंशको राज्य हाल तिब्बतको सिगात्सेसम्म थियो । मानसरोवर रहेको ठाउँ नेपाली सभ्यताको उद्गमस्थल हो भन्नलाई कत्ति पनि संकोच गर्नु पर्दैन । त्यसबेला सानासाना जनपद राज्यहरू थिए ती जनपदमा राजा वा शासकको चुनाव हुन्थ्यो र ती स-साना जनपदहरूको विशाल संघ आर्यावर्त थियो र आर्यावर्त भनेको हालको नेपाल हो ।
(भट्टराईको पुस्तक 'नेपाली सभ्यताः विगत र वर्तमान'बाट)
प्रतिक्रिया दिनुहोस !