चीन: जहाँ दौडन्छ विकास
सेप्टेम्बर १ । चीन भ्रमणको अन्तिम दोस्रो दिन हामी दुनियाँका आठ आश्चर्यमध्येको एक चीनको विशाल पर्खाल 'ग्रेट वाल अफ चाइना'मा थियौं । हुन त हाम्रो १३ दिने भ्रमण तालिकामा ग्रेट वाल जाने कुनै कार्यक्रम तय गरिएको थिएन । तर पनि हाम्रो टोलीनेता रहेका रेडियो नेपालका निर्देशक सुरेशकुमार कार्कीले चीन भनेकै ग्रेट वाल भन्ने छाप नेपालीको मनमस्तिष्कमा बसेकाले चीन गएर ग्रेट वाल पुगिएन भन्दा हामीलाई लाज हुन्छ भनेर व्यंग्यात्मक अनुरोध गरेपछि आयोजकले त्यसलाई तालिकामा समेटेको थियो ।
चन्द्रमाबाट समेत देखिने पृथ्वीको एउटै मात्र मानवनिर्मित रचनाका रूपमा प्रचारित ग्रेट वाललाई टाढैबाट हेर्दा पनि प्राचीन कालमा यति लामो पर्खालको निर्माण कसरी सम्भव भयो होला भनेर जोकोहीलाई आश्चर्य लाग्नसक्छ । पर्खालको सिँढी चढ्दै अगाडि बढ्न थालेपछि त झन् यसलाई बनाउन कति मेहनत र पुस्ता खर्चिए होलान् भनेर मनमा कौतूहल जागिरह्यो ।
विज्ञानको द्रुत प्रगतिले थुप्रै अनौठा आविष्कार गरिसक्दा पनि ग्रेट वालजस्ता प्राचीन आश्चर्यका वस्तुहरूको मूल्य र पहिचान आफ्नो ठाउँमा उत्तिकै अटल छ । संसारभरका व्यक्तिका लागि ग्रेट वाल सधैं एक आकर्षणकै रूपमा रहिरहेको छ । जीवनमा एकपटक यहाँ आएर स्पर्श गर्ने आकांक्षा आज पनि धेरैमा पाइन्छ । यही कारणले होला भर्खर ५, ६ वर्ष उमेरका बालबालिकादेखि ७० कटिसकेका पर्यटकसमेत जीवनको आफ्नो ठूलो धोको पूरा गर्न सकीनसकी ग्रेट वालको उकालो चढिरहेका देखिन्थे । उकालो चढ्ने क्रममा निकै थकित देखिएका दक्षिण अफ्रिकाका एक अधबैंसे नागरिक पर्खालमा अडेस लाग्दै भन्दै थिए, 'थाके पनि रमाइलो भइरहेको छ, यो जीवनमा सँगाल्नैपर्ने अनुभव हो ।'
'चिनियाँ कम्युनिस्ट पार्टी' स्थापनाको ९५ वर्ष पूरा भएको उपलक्ष्यमा यस वर्ष पार्टीको विदेश विभागले विभिन्न मुलुकका नागरिकलाई चीनको भ्रमण गराइरहेको छ । यही अवसरमा सञ्चारकर्मी तथा 'अरनिको समाज'का समेत गरी १५ जनाको समूह दुईहप्ते भ्रमणमा गएका थियौं ।
हाम्रो टोलीको पहिलो गन्तव्य सहर बन्यो चुहाई । दक्षिणतर्फ चीन स्वशासित क्षेत्र मकाउसँग जोडिएको यस सहरले छोटो अवधिमा गरेको प्रगतिले विश्वका जोकोहीलाई चकित पार्नसक्छ । सन् १९८० मा विशेष आर्थिक क्षेत्रका रूपमा स्थापित यस सहरमा आज कोही पनि बेरोजगार भेटिन्नन् ।
चुहाई वाणिज्य विभाग र चुहाई संस्कृति, खेल तथा पर्यटन विभागका पदाधिकारीका अनुसार माछा मार्ने गाउँको रूपमा रहेको चुहाईले सन् १९८० मा आर्थिक सुधार र खुलापनको नीति लागू भएसँगै विकासको गति लिन थालेको हो । 'चाइनिज एकेडेमी अफ सोसियल साइन्स'ले सन् २०११ मा सार्वजनिक गरेको एक रिपोर्टअनुसार चीनको सबैभन्दा बस्नलायक सहर चुहाई हो । चुहाईमा औद्योगिक विकाससँगै त्यहाँ थुप्रै हाई टेक औद्योगिक विकास क्षेत्रको निर्माण भएको छ ।
यी क्षेत्रहरूको भ्रमणका क्रममा हामीले त्यहाँ उत्पादित इलेक्ट्रोनिक सामानहरूलाई विश्वका प्रतिष्ठित कम्पनीहरूले आफ्नो लोगो लगाएर बिक्रीवितरण गर्ने गरेको पनि थाहा पायौं । विश्वभर दुई हजारभन्दा बढी बिक्रीकेन्द्र रहेको चुहाईको चर्चित घडीको ब्रान्ड 'रोसिनी'को फ्याक्ट्री भ्रमणका क्रममा घडीका मसिना सुईहरूलाई मिलाइरहेका कलिला हातहरू देख्दा चिनिया नागरिकको कामप्रतिको लगन र मेहेनत स्पष्ट झल्किन्थ्यो ।
समयअनुसारका नौलो डिजाइन र उच्च गुणस्तरका घडीका कारण यस कम्पनीले बर्षेनी २० प्रतिसतले आफ्नो नाफामा वृद्धि गर्दै लगेको छ । प्रदर्शनी कक्षमा राखिएका पुराना घडी हेर्दा सन् १९८४ मा स्थापित यस कम्पनीले समयसँगै गरेको विकासमात्रै नभई औद्योगिक क्रान्तिमा चुहाईले मारेको फड्को प्रस्ट देखिन्थ्यो । आधुनिक विकाससँगै प्रकृतिको संरक्षण पनि चुहाईको एक लोभलाग्दो पक्ष हो ।
फराकिला सडकका किनारामा घना जंगलजस्तै बाक्ला रूखहरूले त्यहाँको वातावरण मनमोहक र स्वस्थ बनाइरहेका छन् । त्यसैगरी प्रत्येक सय मिटरको दूरीमा रहेका पार्कहरू, दुई सय मिटरको दूरीमा उपचार व्यवस्थासहितका मेडिकल संस्थाहरूलगायतका सुविधाले पनि चुहाईलाई चीनमा नै एक आदर्श सहरको रूपमा लिने गरिन्छ ।
चुहाईमा रहेका एक सय ४६ वटा टापुमध्ये केहीको सुन्दर दृश्य अवलोकन गर्दै त्यहाँबाट सनचेन सहरसम्मको फेरीको यात्रा पनि चीन भ्रमणको एक अविस्मरणीय पल बन्न पुग्यो । ग्वानडोङ प्रान्तअन्तर्गत नै पर्ने यो सहर हङकङसँग जोडिएको छ । सन् १९७९ मा सहर बनेको यस ठाउँलाई एक वर्षपछि चीनको पहिलो विशेष आर्थिक क्षेत्र निर्धारण गरिएको थियो ।
विश्वकै व्यस्त बन्दरगाहमध्येको एक यही सहरमा पर्छ । त्यसैगरी विदेशी लगानीलाई प्रोत्साहित गरिएका कारणले आर्थिक उन्नतिमा लम्किएका विश्वका केही सहरभित्र सनचेन पनि गनिन्छ । सनचेन संग्रहालय, सनचेन स्टक एक्सचेन्जको भ्रमणपछि सनचेन मिडिया ग्रुपका पदाधिकारीसँगको भेटघाट र छलफल पनि निकै ज्ञानवद्र्धक रह्यो । एउटै मिडिया ग्रुपले थुप्रै टेलिभिजन, रेडियोलगायतका माध्यम सञ्चालन गरेका हुनाले यहाँका स्टुडियो र न्युज रुम पनि निकै सुविधासम्पन्न र विशाल देखिन्थे ।
भोलिपल्ट हवाई टेक्नोलोजी, यसको प्रदर्शनी कक्ष र मोबाइल ल्याब हेरेर विश्व बजारमा लोकप्रिय रहेको 'हुवाई' मोबाइलको निर्माण प्रक्रियाबारे जान्ने मौका मिल्यो । कम्पनीको नेपाल प्रतिनिधिले हामीलाई देखाउनुभएको आत्मीयता पनि सम्झनलायक नै थियो । कसैकहाँ पाहुना लाग्न अथवा भेटघाट गर्न जाँदा खालि हात जानु हुँदैन भन्ने नेपाली परम्परा छ । यस्तै प्रवृत्तिमा विश्वास गर्ने चिनियाँ संस्कृतिकै कारण जहाँ गए पनि उपहार पाइहाल्ने हुनाले भ्रमणमा सहभागी सबै उत्साहित देखिन्थे ।
हवाई कम्पनीमा प्रवेश गरेर त्यहाँको प्रविधि र निकट भविष्यमा नै सुरु हुन लागेको फाइभ जी सेवाबारे जानकारी लिइयो । यही क्रममा खिचिएको सामूहिक तस्बिर कार्यक्रम समाप्तीपछि फे्रमसहित आफूहरूले उपहार पाउँदा हामी दंगै पर्यौं । हाम्रो तर्फबाट पनि रेडियो नेपाल टोलीले ल्याएको नेपाली ढाकाको टाई र टोपी टोलीनेता कार्कीले हामीलाई स्वागत गर्ने संघसंस्थाका पदाधिकारीलाई लगाइदिँदा सबैलाई गर्व अनुभूति हुन्थ्यो ।
सनचेन बसाइका क्रममा विश्वकै अग्लो भवनमध्यको गगनचुम्बी भवन 'दिवाङ विल्डिङ'मा गएर सहरको रात्रिकालीन दृश्यावलोकन गर्ने हाम्रो कार्यक्रम तालिका तय भए पनि वर्षा र हुरीका कारण सम्भव हुन सकेन ।
चीनबारे चर्चा गर्दा चिनियाँ क्रान्तिको उद्गमस्थल चिङ्कानसानलाई छुटाउन मिल्दैन । च्याङ्सी प्रान्तमा पर्ने यस पहाडी इलाका नयाँ चीनको स्थापना गर्नका लागि ठूलो योगदान पुर्याउने चिनियाँ जनमुक्ति सेनाको जन्मस्थल पनि हो । यस ठाउँले सहरी वातावरणबाट अलि भिन्न प्राकृतिक वातावरणको भान गराउँथ्यो । बाटोभरि हरिया डाँडापाखाहरूको सुन्दर दृश्यावलोकन गर्दै हामी सो ठाउँमा पुगेका थियौं ।
चिङ्कानसानको पहाडमा लुकेर लाल सेनाले शत्रुसँग लडेको लडाइँ, अन्नको भारी बोकेर उनीहरू हिँडेको बाटो, उनीहरूले पड्काएको तोपलगायतका धेरै ऐतिहासिक धरोहर यहाँ संरक्षित छन् । यहाँको सहिद स्मारक, क्रान्ति संग्रहालय, सिपिङमा रहेको माओ त्से तुङको घर, माओपिङमा रहेको आठकुने छानोयुक्त घर, लाल सेनाको अस्पताल आदि त्यहाँका पर्यटकीय एवं ऐतिहासिक धरोहरहरू हुन् । यतिमात्रै नभई तत्कालीन नेताहरू बसेको ढुंगा, रूखलगायतका प्राकृतिक सम्पदाको संरक्षण हेर्दा आफ्नो इतिहासप्रतिको चिनियाँ मोहलाई प्रस्ट झल्काउँछ ।
चुहाई र सनचेनजस्ता सहरले छोटो अवधिमा मारेको विकासको फड्को देख्दा चिनियाँ जनताको देश बनाउने जोश, इमानदारी, अनुशासन र कार्यदक्षताको प्रशंसा नगरी बस्न सकिन्न । त्यसमा पनि चीनका विभिन्न सहर पुग्दा त्यहाँ विभिन्न क्षेत्रमा देखिने युवापुस्ताको सक्रिय सहभागिताले सबैलाई उत्साहित बनाउँछ । कुनै पनि देशको निर्माणमा युवावर्गको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने चीन गएर देख्न पाइन्छ । कामप्रति उनीहरू जति सचेत छन्, राजनीतिक सचेतना पनि त्यति नै मात्रामा रहेको पाइन्छ ।
'आफ्नो देशको राजनीति र इतिहास हामी सबैले बुझ्नुपर्छ किनकि यी हाम्रा सम्पत्ति हुन्', हाम्रा दोभाषे चिनियाँ महिला सेङ युइया (सरला)ले बताइन् । उनीसँगै हाम्रो यात्राभर हामीलाई साथ दिने साओ लियाङ (राम)को पनि राजनीति र आर्थिक विकाससम्बन्धी चेतना र ज्ञानको प्रशंसा नगरी बस्न सकिन्न । उनीहरूमात्रै होइन, त्यहाँ भेटेका र बोलेका अन्य युवकयुवतीमा पनि आफ्नो नेता र देशप्रतिको श्रद्धाभाव सुन्दा पदका लागि नभई जनता र देशको भलाइका लागि राजनीति गर्ने नेताको साँच्चै सम्मान हुँदो रहेछ भन्ने देखियो । सँगै जोडिएको देशको राजनीति र विकास देखेर कताकता पीडाबोध पनि भयो ।
हाम्रो देशमा पनि बेलाबेलामा क्रान्ति नभएका होइनन् । यसले देशमा राजनीतिक परिवर्तन नल्याएको पनि होइन । तर, बाँदरको हातमा नरिवल भनेझैं गणतन्त्र प्राप्तिपछि पनि जुन पार्टीको हातमा सत्ता आयो उसैका मानिसलाई मन्त्री बनाउने र लाभ लिने पद्धतिकै मात्रै विकास भयो, देश विकास भएन । पटकपटकको परिवर्तनपछि पनि नेताहरूको पदप्रतिको लालचले गर्दा देशमा आर्थिक विकास र उन्नतिको सट्टा सरकार परिवर्तनको खेलमै सबै अल्झिए । हाम्रा क्रान्तिहरूले देश र जनताप्रति निष्ठा प्रेम, ममता र अनुशासन जगाउनसक्ने नेतृत्व विकास गरेको भए आज हामीले पनि विकासको फड्को मार्न सक्थ्यौं भन्ने अनुभूति यात्राभर भइरह्यो ।
भ्रमणको अन्तिम गन्तव्य बनेको बेइजिङ बसाइ पनि निकै रमणीय बन्यो । चिनियाँ कम्युनिस्ट पार्टीले सञ्चालन गरेको पाँचतारे होटेल वान्सुको चर्चा जति गरे पनि कमै हुन्छ । होटेलको लबीमा छिर्नासाथ देखिने निकै भव्य र सुन्दर बुट्टा कोरिएको कुर्सीले जोकोहीलाई लोभ्याउने हुनाले हाम्रो टोलीका सदस्यले पनि त्यहाँ बसेर धेरै पोजमा आफ्ना तस्बिर खिचाए । होटेलको मुख्य भवनबाहेक अन्य धेरै भवन पनि भएकाले यसको आय राम्रै हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ ।
पार्टी चलाउन चन्दा र पदमा बसेर भ्रष्टाचार नै गर्नुपर्छ भन्ने सोचाइ राख्ने हाम्रा नेताहरूका लागि यस होटेलले इमानदारीको ठूलो पाठ सिकाउन सक्छ । देशमा नयाँ मन्त्रिमण्डल गठनसँगै बन्ने नयाँ प्रधानमन्त्रीले चीनको भ्रमण गरेकै हुन्छन् । भ्रमण टोलीमा प्रधानमन्त्रीका साथमा केही मन्त्री र अन्य क्षेत्रका व्यक्तिहरू पनि संलग्न हुने गर्छन् । यही हिसाबले हेर्ने हो भने पनि देशको निर्णायक तहमा बस्नेमध्ये पनि आजसम्म हजारौंले चीन भ्रमण गरेर त्यहाँको आर्थिक उन्नति र विकास देखिसकेका छन् ।
तर, ती औपचारिक भ्रमणबाट केही सिकेर आफ्नो देशमा पनि विकासको बीउ रोप्ने काम कुनै पनि नेता वा कर्मचारीबाट भएन, भ्रमणलाई रमाउने, प्रचार गर्ने र आफ्नै सम्बन्ध सुधार्ने माध्यममात्रै बनाइयो । भ्रमण टोलीका सदस्यमध्ये अधिकांश सञ्चारकर्मी नै भएकाले सञ्चारगृहप्रतिको चासो हामीमा बढी थियो । बेइजिङमा पुगेर कहिले सिन्ह्वा न्युज एजेन्सी र चाइना रेडियोमा पुग्ने हो भन्ने हाम्रो प्रतीक्षा पनि केही दिनमै सकियो । सोचेभन्दा निकै भव्य पायौं ती सञ्चारगृह ।
विश्वभर करिब तीन हजारभन्दा बढी प्रतिनिधि राखेको सिन्ह्वाले हालै निकालेको एक एप्सबाट विश्वको कुनै पनि कुनाबाट घटना हुनासाथ मिनेटभरमै समाचार पठाउन सकिने प्रविधि विकास गरिएको रहेछ । बेइजिङमा मात्रै करिब ५० लाखभन्दा बढी गाडी गुड्छन् । ती सबैमा कुनै न कुनै रेडियो बज्छन् । चीनमा पनि यस्ता थुप्रै एफएम रेडियो सञ्चालनमा रहे पनि चिनियाँ राष्ट्रिय रेडियोको लोकप्रियता अझैसम्म उत्तिकै रहेको पाइन्छ । उक्त रेडियोले निकट भविष्यमा नै रेडियो नेपालसँग एक सम्झौता गरेर काम अगाडि बढाउने त्यहाँका प्रतिनिधिले बताएपछि रेडियो नेपालका साथीहरूमात्रै नभई सहभागी सबैलाई खुसी तुल्याएको थियो ।
भ्रमण टोलीमा दुई जनाले चिनियाँ भाषा बुझ्ने र बोल्ने व्यक्ति भएकाले धेरै सजिलो भयो हामीलाई । हाल नबिल बैंकमा आईटी डिपार्टमेन्टमा प्रमुख रहेका राजेशकुमार उपाध्याय पौडेलले हामीलाई सपिङ जाँदा बार्गेनिङका साथै सहर घुमाउन धेरै मद्दत गर्नुभयो । त्यस्तै नशा विशेषज्ञ डा. सर्वोत्तम श्रेष्ठले आफ्नो एमबीबीएस र एमडीसम्मको पढाइ चीनमा गर्नुभएकाले कहिलेकाहीँ त दोभाषेले पनि उहाँकै सहयोग लिने गर्थे ।
त्यतिमात्रै नभई चीनमा पढाइ सकाएर आउने विद्यार्थीको अल्मुनाई संस्था अरनिको समाजको उहाँ अध्यक्ष पनि हुनुहुन्छ । यही कारणले संस्थाका कामले उहाँ बेलाबेलामा चीन गइरहने हुनाले उहाँ चिनियाँ संस्कृति, रहनसहनलगायतका धेरै विषयमा जानकार हुनुहुन्थ्यो । त्यसमाथि उहाँको ससुराली पनि चीनमै भएकाले चीन उहाँका लागि दोस्रो घर नै बनेको थियो । नेपाल फर्कने दिन ग्वान्जाउको ट्रान्जिटमा पट्यारलग्दो तीनचार घन्टा कटाउने क्रममा उहाँसँग धेरै गफ गरियो ।
कुरैकुरामा मैले यहाँका ज्वाइँलाई कत्तिको सम्मान गरिन्छ सर भनेर सोध्दा उहाँले यस्तो जवाफ दिनुभयो, 'यहाँका ज्वाइँ मनांगे ज्वाइँ हुन् । आफ्नो घरको पूरै काम सकाएर ससुरालीमा पनि फेरि उत्तिकै काममा जोतिनुपर्छ ।' आखिर ज्वाइँ होस् न छोरी, छोरा होस् न बुहारी, सबैको कामप्रतिको लगन र सम्मान उत्तिकै छ । सायद यही होला चिनियाँ विकासको मूल मन्त्र र नेताहरूले जनतालाई सिकाएको एक महत्त्वपूर्ण पाठ ।
प्रतिक्रिया दिनुहोस !