हामी रिजल्ट चाहन्छौं, रिजन होइन

हामी रिजल्ट चाहन्छौं, रिजन होइन

'लुजर ब्लेम द कन्डिसन, विनर युटिलाइज द कन्डिसन ।' खेलकुदको सर्वमान्य यो कथन नेपालको हकमा धेरै लागू हुन्छ । नेपालीको प्रायः दिनचर्या प्रतिकूल अवस्थाको बहाना बनाउँदै बित्ने गर्छ । साँचो भन्नुपर्दा पछिल्लो एक दशक नेपाली चेस गिरावटको अबस्थामा छ ।

प्रचारमा, प्राविधिक जनशक्ति उत्पादनमा र प्रतियोगिता आयोजनाको रूपमा यो एक दशक राम्रो मानिए पनि खेल स्तरमा नेपाल धेरै खस्किएको छ । यसका विविध कारण हुन सक्छन् । तथापि यी कारणलाई बेवास्ता गर्दै आफ्नै बाटो र रफ्तारमा अघि बढ्ने एक नेपाली युवाका लागि बाकु चेस ओलम्पियाड महत्त्वपूर्ण रह्यो ।

हरेक ठूला खेल महोत्सवमा लामो कालखण्डका लागि पठनीय थुप्रै कथा लेखिन्छ । यसै खाले थुप्रै चर्चा बटुलेर अजरबैजानको बाकुमा यसै साता ४२ औ चेस ओलम्पियाड सम्पन्न भयो । ब्राजिलको रियोमा सम्पन्न गृष्मकालीन ओलम्पिकको चर्चा नसेलाउँदै भएको यो ओलम्पियाड त्यसै ओलम्पियाडको छायाँमा परेको कारण धेरै चर्चा हुन पाएन । तर पनि, संसारका लोकप्रिय खेलमा आफ्नै पकड राख्ने अमेरिकी खेल नीतिले चेस ओलम्पियाडमा पनि सार्थकता पायो ।

रियो ओलम्पिकमा संसारकै लोकप्रिय खेल एथलेटिक्स, पौडी, बास्केटबल र जिम्न्यास्टिकमा सफलता पाएको अमेरिकाले धेरै देशमा फैलिएको चेसको पनि ओलम्पियाड उपाधि जितेर साँच्चै महाशक्तिको छवि बनायो । यसै ओलम्पियाडको आठौं चरणमा खुला र महिला दुवै स्पर्धामा रुस र अमेरिकाको भिडन्त भएको थियो । संसारले यस भिडन्तलाई शीतयुद्धको प्रतिबिम्बको रूपमा व्याख्या गर्‌यो ।

खुलामा रुस बराबरीमा रोकियो भने महिलामा अमेरिका विजयी भयो । तथापि अन्त्यमा अमेरिकाको खुला टोली उपाधि जित्न सफल भयो भने महिला टोली छैटौं स्थानमा खुम्चियो । अमेरिकाले जितेको यो उपाधि ४० वर्षमा पहिलो हो । युक्रेन र अमेरिकाले २० म्याच प्वाइन्ट जोडे पनि ओलम्पिक एसबी प्वाइन्टको आधारमा अमेरिकाले उपाधि जितेको हो ।

अमेरिकालाई उपाधि दिलाउन केही वर्षअघि मात्र फिलिपिन्सबाट त्यहाँ पुगेका ग्रान्डमास्टर वेस्ली सोको भूमिका महत्त्वपूर्ण रह्यो । खुलामै ६ चरणको समाप्तिसम्म अग्रता कायम गरेको भारतीय टोली चौथो स्थानमा रह्यो । महिलामा चीन २० म्याच प्वाइन्टसहित उपाधि जित्दा पोल्यान्ड र युक्रेन १७ अंकसहित दोस्रो र तेस्रो भए । रुस चौथो र भारत पाँचौँ भए । फिलिपिन्सका ग्रान्डमास्टर टोरे इगुइरोले ११ खेलमा १० अंक जोड्दै ओलम्पियाडमा सनसनी फैलाए ।

दक्षिण एसियाली खेलाडीको हकमा ३६ वर्षको अन्तरालमा विश्वनाथन आनन्दलाई पछि पार्दै शीर्ष भारतीय खेलाडी बनेका हरिकृष्ण पेन्टाला अविजित रहे । उनले अन्तिम खेलमा विश्वच्याम्पियन म्याग्नस कार्लसनसँग बराबरी गरे । भारतकै विदित शंकर गुजरातीले एक खेलमा पराजयको सामना गरे पनि अन्य खेलमा उत्कृष्ट रहे । नेपली मुलका डच खेलाडी अनिश गिरीले सुरुवातका तीन चरणबाहेक सबै बराबरीमा चित्त बुझाउनुपर्‌यो । उनको अपेक्षाकृत नतिजा नआउँदा ११ औं वरीयताको नेदरल्यान्ड ३६ औं स्थानमा खुम्चियो । यसका अलावा चेस ओलम्पियाडसँगै हुने कांग्रेसले गर्ने निर्णय र प्राविधिक कमिटीका निर्णय त महत्त्वपूर्ण रहने नै छन् ।

अजरबैजानको यो चेस ओलम्पियाडमा नेपाली टोलीको प्रदर्शन भने सामान्य रह्यो । विगतको भन्दा धेरै फरक रहेन । खुलामा नेपालले कुल नौ स्कोर गरेको थियो भने महिलामा आठ स्कोर गरेको थियो । यसका बाबजुद दुई नया नेपाली खेलाडी थुप्रै सम्भावना बोकेर उदाए । तीन वर्षअघि पुल्चोक कलेज नजिकैको चिया पसलबाट थापाथली चेसपार्कमा अभ्यास गर्न सुरु गरेका क्षितिज भण्डारीको फड्को, सुजना लोहनीको डब्लूएफ उपाधि र विलमलाल श्रेष्ठले नौ खेलमा ६.५ स्कोर यस ओलम्पियाडमा नेपालका लागि महत्त्वपूर्ण रह्यो ।

यस ओलम्पियाडमा क्षितिजले दुई आईएमलाई हराए भने २२७७ को रेटिङ 'परफरमेन्स' गरे । उनी र सजिन महर्जन क्यान्डिडेट मास्टर भए । यसका साथै भूपेन्द्र निरौलाले एक जीएम माथि हात पारेको जित चर्चामा रह्यो । तथापि पछिल्लो एसियन जोनल च्याम्पियनसिपमा भूपेन्द्रको प्रदर्शन सम्झनेहरू यस ओलम्पियाडमा निरास नै रहे ।

नेपालको प्रदर्शन विगतको भन्दा धेरै फरक होइन । शीर्ष खेलाडीको रेटिङमा आएको गिरावट र पुराना खेलाडी चेसबाट टाढा हुनुका साथैै नयाँ खेलाडी उत्पादन नहुनु नेपाली चेसको यथार्थ हो । यस यथार्थबीच पनि नेपालको प्रदर्शन विगतको जस्तै हुनुलाई सकारात्मक नै मान्न सकिन्छ ।

जहाँसम्म सुजनाको सफलता छ, यो सफलताको कथा धेरै निकायसंग जोडिएका छन् । काठमाडौंको ग्रिनल्यान्ड स्कुलका प्रिन्सिपल थकिन गुरुङलाई खेलकुदमा रुचि थियो । घरेलु तहमा बास्केटबलको शक्ति मानिने ग्रिनल्यान्ड स्कुलले लगभग एक दशकअघि चेस खेललाई प्राथमिकतामा राखेको थियो । इलाममा गत जेठमा भएको चौथो महिला राष्ट्रिय च्याम्पियनसिपमा ग्रिनल्यान्ड स्कुलले लामो तयारी गरेको थियो ।

राष्ट्रिय च्याम्पियनसिपभन्दा अघि ग्रिनल्यान्डको टोली दिल्लीको एक प्रतियोगिता खेल्न गएको थियो । त्यहीँको अनुभव बटुलेकी सुजना राष्ट्रिय च्याम्पियनसिपबाट ओलम्पियाडका लागि छनोट भएकी थिइन् । ओलम्पियाडको सुरुका दुई चरण नखेलेकी सुजना त्यसपछिका नौ चरणमा सातमा जित हात पार्न सफल भइन् । उनको सफलतासँगै नेपालमा गुरु चेलीको एउटा सफलताको कथा पनि तयार भयो । पहिलो नेपाली फिडे मास्टर मनीषकै चेली सुजना नेपालको पहिलो डब्लूएफएम हुन सफल भइन् ।

नेपाली चेसको अर्को एउटा सत्य छ, कुनै उपलब्धि पाए यसैमा रमाउने र आगामी बाटो तय गर्न नलाग्ने संघ नेतृत्वको आदत । खेलाडीमा पनि यसै समस्या विगतदेखि रह्यो । विगतमा अन्य नेपाली खेलाडीले स्तरीय प्रदर्शन नगरेका होइनन् । दिगेशशंकर मल्ल, केशव श्रेष्ठ, मनीष हमाल, विलमलाल श्रेष्ठ, कृष्ण थापा, मदनकृष्ण कायस्थ र निरज निरौलालगायत नेपालीले एकाध सफलता पाउने गरेका थिए ।

तर, त्यस सफलता पछाडिको बाटो तय गर्ने सवालमा न संघ अघि बढ्यो, न खेलाडी सफल रहे । अन्यको भन्दा क्षितिजको सफलता यस अर्थमा फरक रह्यो कि उनी नेपाली चेसमा उदाएको छोटो समयमा नै दुई आईएममाथि जित हात पार्ने खेलाडी बने । यस सफलतामा रमाएर दिन बिताउने या अबको सही बाटो तय गर्ने त्यो खेलाडी आफैंमा निर्भर रहने हो । क्षितिजले यस ओलम्पियाडमा जितेका दुई आईएमको हकमा एक सामान्य थिए ।

अन्त्यमा उनले हराएका इराकका आईएमले भने क्षितिजसँग हार्नुभन्दा अघि उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । यो सफलताले नै क्षितिजबाट नयाँ सम्भावना देखिएको हो । त्यसो त सुजनाले टिनएज पार गर्न अझै चार दशक कुर्नुपर्छ । यसर्थ उनको सामु पनि धेरै लामो बाटो छ । यो लामो बाटोमा सम्भावना पनि छ । यस क्षणिक सफलतामा रमाउने यो मेहनतसाथ अघि बढ्ने उनी आफैंमा भर पर्ने हो ।

खेलकुदका सबै निकाय राजनीतिक प्रभावले यसरी गाजेको छ । व्यक्तिको समपर्ण, मेहनत र दक्षताको भन्दा राजनीतिक पहँुचको प्रभाव धेरै छ । एकडेमी, खेलकुद इन्स्टिच्युसन र नियमित प्रशिक्षणको कुरा नेपालमा चल्दैन । सबै खेलको यस समस्याले चेसलाई नछुने कुरै भएन । हुन सक्छ, अझ धेरै छोएको होस् । राज्यको खेलकुद निकायमा दृष्टिकोण छैन, प्रतिबद्धता छैन र ज्ञान पनि छैन । शासक बन्ने मनोवृत्तिमात्रै छ । कुनै पनि खेलकर्मीलाई आफ्नो क्षेत्रमा अघि बढ्न यी सबै कुरा सामना गर्नै पर्छ ।

साँचो हो, अन्य देशका खेलाडीले भन्दा नेपालका खेलाडीले धेरै गुना मेहनत गर्नैपर्छ । अन्य प्रतिस्पर्धीलाई हराउनुभन्दा अघि आफू रहेको वातावरणमा नै मेहनत गर्नुपर्ने हुन्छ । तथापि नेपालका कुनै पनि खेलाडीले जुन स्तरीय प्रदर्शन गरे, यी प्रतिकूलताका बाबजुद गरे । यसकारण आशा गरौं गिर्दै गएको नेपाली चेसको माझमा उदाएका केही युवा खेलाडीले केही फड्को मार्न सक्छन् । भन्ने गरिन्छ, 'लुजर सोज द रिजन, विनर सोज द रिजल्ट ।' शुभकामना छ, यो पुस्ताले आगामी दिनमा हामीलाई रिजल्ट देखाउने गरोस्, रिजन होइन ।

यसरी भयो क्षितिजको उदय

चार वर्षअघि कलेजस्तरीय प्रतियोगितामा क्षितिज सहभागी थिए । त्यसको केही समयअघि भएको युनिभर्सिटी चेसमा थापाथली चेस पार्कका सुशील चौधरीले तेस्रो स्थान पाएका थिए । त्यसै प्रतियोगिताबाट थापाथली चेस पार्क र सुशील कलेजस्तरीय विद्यार्थीका लागि परिचित बनेका थिए । सोही प्रतियोगितापछि क्षितिजको थापाथली चेस पार्कमा आउने जाने क्रमको सुरुवात भएको थियो । यसपछि भएको टिम च्याम्पियनसिपमा सहभागी क्षितिजले कुनै प्रभाव छाड्न सकेनन् ।

क्षितिजसहित पुल्चोक इन्जिनियरिङ क्याम्पस नजिकैको चिया पसलमा टाइमपासका लागि चेस खेल्ने समूह थापाथली पुगेको थियो । यो समूहको उपस्थितिपछि थापाथलीमा नयाँ आयाम थपियो । त्यो समयमा राष्ट्रिय स्तरमा नेपाली चेस सुस्ताएको थियो । प्रतियोगिताको अभाव थियो । यसबीच थापाथली चेस पार्कमा नियमित र आन्तरिक प्रतियोगिताको सुरुवात भयो ।

संयोग के थियो भने थापथालीको पुस्ताका अधिक खेलाडी प्राविधिक विषयका विद्यार्थी हुन् र उनीहरू तेज मस्तिष्क भएका छन् । यसको प्रभाव यसरी पर्‌यो कि यसै पार्कका क्षितिजसहित सुमित पन्त, सुमन राई, सुवास भण्डारी, कमल श्रेष्ठ, मदन रायमाझी, अनिश सुवेदी, आशीष फुँयाल र कमल मैनालीलगायत खेलाडी सब एकसेएक थिए । सबै नेपाली चेसमा प्रतिसपर्धा गर्न लायक थिए । यसले क्षितिजमा निखारता ल्याउन धेरै सहयोग गर्‌यो । दुई संस्करणअघिको सहकारी कपमा क्षितिजले मनीष हमाललाई पराजित गरे । मनीषलगायत स्टारलाई हराएर सुरुवात गरेका क्षितिजले यसलाई निरन्तरता दिन सकेनन् ।

तथापि उनमा नेपालमा केही गर्न सक्ने आत्मविश्वास पलाएको थियो । यसपछि क्षितिज नेपालको एमच्योर च्याम्पियन बने । दुई वर्षअघि भक्तपुरमा भएको एसियन जोनल चेसमा सहभागी उनले पहिलो चरणमा उत्कृष्ट जित हात पारे पनि त्यसलाई निरन्तरता दिन सकेनन् ।

गत राष्ट्रिय च्याम्पियनसिपमा चौथो हुँदै उनी ओलम्पियाडमा छनोट भएका हुन् । उनी चालू ओलम्पियाडको पहिलो चरणमा प्राविधिक कारणले बोर्डमा उपस्थित थिएनन् । दोस्रोमा पराजित उनी तेस्रो र चौथोमा आराम गराइएका थिए । बाँकी रहेका सात खेलमा उनले ५.५ स्कोर गरे । जसमा दुई आईएममाथिको जित समावेश भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.