संस्कृति-काठमाडौंको अय्ला

संस्कृति-काठमाडौंको अय्ला

अय्ला अर्थात् रक्सी खानु (पिउनु) हुन्थ्यो कि हुँदैनथ्यो भन्ने विषयमा आआफ्नै व्यक्तिगत, पारिवारिक, धार्मिक, सामुदायिक मान्यता र विश्वासहरू छन् । तर, जब तपाईं काठमाडौं उपत्यकामा हुनुहुन्छ भने अय्ला यो उपत्यकाका आदिवासी नेवारहरूको विशेष पेय पदार्थ हो भनेर त बुझिसक्नु नै भयो होला । धेरैजसो नेवाःहरूले चामल र अन्य अन्नहरूबाट आफ्नै घरमा घरकै प्रयोजनको निमित्त बनाइने यो पेय पदार्थको बनाउने विधि पनि आफ्नै किसिमको छ ।

काठमाडौं उपत्यकाका समृद्धि मल्ल शासनकोे स्वाधीन जीवनशैली र त्यसबाट बनेको समृद्ध अर्थतन्त्र नै हो । अत्यन्तै मेहनती जनता जसले काठमाडौंमा कृषिबाटै, खान पिउन र बचत गर्न, सरकारलाई कर तिर्न पनि सिकायो । वर्षभरि खानका लागि घरघरमै अन्नको भण्डारण गर्ने चलन थियो । प्रायः सबै किसानको घरमा भकारी हुने गथ्र्यो । खानका लागि बचेको अन्नबाट अय्ला बनाइन्थ्यो । आफैं धान कुट्थे, आफैं चिउरा अर्थात 'बजी' बनाउँथे ।

किसानी पेसा शारीरिक र मानसिक रूपमा मेहनत पर्ने, एकाग्रता चाहिने पेसा भएको कारणले विभिन्न उत्सव र चाडहरूमा खानासँगै अय्ला पनि पिउने संस्कार बसेको हुनुपर्छ ।

त्यही संस्कार सर्दैसर्दै म जन्मेको र हुर्केको घरसम्म आइपुगेको थियो । मेरो बा ससानो व्यापार गर्नुहुन्थ्यो । र पनि म सानै छँदा किसानी अर्थात् कृषि नै मुख्य आधार थियो । धान रोप्ने र धान काट्ने गहुँ छर्ने र गहुँ काट्नेदेखि दुवै अन्नलाई सही ढंगले घरमा भित्र्याउने घरको एक महत्त्वपूर्ण काम नै थियो । किसानी काम गर्ने गराउने भएपछि काम गर्न आउनेका लागि अय्ला ठूलै आकर्षण हुन्थ्यो ।

धान रोप्ने बेलामा पानी फाल्दै बाउसे र रोपारका काम गर्नेहरूका लागि जीउ तताइदिने काम त अय्लाले नै गथ्र्यो । म सानै छँदा मेरी आमा चिउरा, आलुको कवाफ बनाएर र रक्सी लिएर खाजा खुवाउन खेतमै जानुहुन्थ्यो । म आमाको सहयोगी भएर खेतमा जान्थेँ ।

घरको बुइगलमा हुन्थ्यो भान्सा र भान्सासँगै ठूलै स्टोर कोठा हुन्थ्यो त्यसलाई भनिन्थ्यो धुकु कोठा । घरव्यवहार चलाउन सबै सामान त्यहीँ हुन्थ्यो । अय्ला, अय्ला बनाउने सरजाम, थ्वं र थ्वं बनाउने सरजाम घर र खेतमा काम गर्ने औजारहरू सबै त्यहीँ राख्ने चलन थियो र त्यसको रेखदेख पनि आमाले नै गर्नुहुन्थ्यो । अहिले जस्तो प्लास्टिकको जर्किन थिएन । माटाको भाँडा वा तामा पित्तलका भाँडाकुँडाहरू हुन्थे, सिसीको थोरै प्रयोग हुन्थ्यो । आमाले त्यही धुकु कोठाबाट खटाई खटाई अय्ला निकाल्नुहुन्थ्यो ।

जब म सानै थिएँ, मेरी आमाले मलाई चिउरा र अय्लाको खाजा दिनुभएको याद छ । चिउरा मुखमा हालेर पिउँदा मुखमा भएको सबै चिउरा अय्लाले भिज्थ्यो र चिउरा चपाउन सजिलो हुन्थ्यो र एक प्रकारको पिरो पिरो स्वाद पनि आउँथ्यो । त्यसपछि जब म हुर्कें, मैले कुनै पनि अल्कोहल पिइनँ । चुरोट, सुर्ती पनि खाइनँ । त्यसको कारण हुनुहुन्थ्यो मेरो बा ।

मेरो बाले हामीले थाहा पाएदेखि अय्लालगायत कुनै पनि मादक पदार्थ लिनुभएन । हामीले सोध्दा पनि केटाकेटीमै छोडेको भन्नुहुन्थ्यो । उहाँको कडा मिजासका अगाडि पिउने मामलामा काकाहरू नै डराउनुहुन्थ्यो र लुकेर पिउनुहुन्थ्यो भने म त प्रत्यक्ष निगरानीमा परिरहने हुनाले पछिसम्म रक्सी खाइनँ । पाउन त अय्ला घरमा खुलेआम पाइन्थ्यो तर त्यसको खासै तिर्सना हुँदैनथ्यो ।

तर, हाम्रो संस्कारमा बिहानदेखि बेलुकीसम्म जो पाहुना आए पनि एउटा कुखुराको फुल (अहिले त अन्डा भन्ने चलन आयो) अहिलेको डाडुमा तेलमा पकाएर (अहिलेको भाषामा पाँर्च) बनाउने र कचौरामा अय्ला अलिकति दिएर सत्कार गर्ने चलन थियो । सम्भवतः एक दिनमा कमसेकम आधा लिटरदेखि एक लिटरसम्म अय्ला दैनिक अनिवार्य खपत हुन्थ्यो । पाहुनाको स्तरअनुसार घर आएका पाहुनालाई सत्कार गर्न नपाउँदा, नसक्दा, असजिलो र बेइज्जत महसुस हुन्थ्यो ।

अय्लाको गुणस्तर

घरमा बनाउने र घरकै मानिसलगायत पाहुनाका लागि बनाइने हुनाले अय्ला उच्च गुणस्तरको हुन्थ्यो नै । त्यसका लागि चामल कुहाउन प्रयोग गरिने 'मर्चा' र कति कडा बनाउने भन्नेसम्म फरक हुन्थ्यो । अहिलेको भाषामा भन्दा 'माइल्ड' कि हार्ड, बनाउने भन्ने चैं फरक थियो । तर, आधारभूत गुणस्तर भने राम्रै हुन्थ्यो ।

हाम्रो घरको कुरा गर्दा मेरो आमाले पछि आमाको रेखदेखमा बनाउने अय्लाको गुणस्तर कस्तो थियो होला ? आमा हुनुहुन्जेल त मैले त्यो महसुस पनि गर्न सकिनँ ।

पढाइ सकेर काममा लागेपछि र विवाह गरेपछि मेरो संगतको घेरो ठूलो हुँदै गयो । घरमा साथीहरूको आउजाउ बढ्यो । घरको भोजमा साथीहरू डाक्ने पनि गरियो । अहिले म सम्झन्छु, साथीहरू मकहाँ आउँदा 'आमाले बनाउनुभएको'मा प्राथमिकता दिन्थेँ।

०००

२०४६ सालको राजनीतिक परिवर्तनपछि उद्यमीहरूको एउटा संगठन बन्यो 'नेपाल घरेलु तथा साना उद्योग संघ' । त्यसको म संस्थापक महासचिव भएँ । त्यही संघका काठमाडौं जिल्ला अध्यक्ष हुनुहुन्थ्यो मुकुन्द ढुंगाना । उहाँ पनि खानपिन गर्न साथीभाइलाई खुवाउन रुचाउनुहुन्थ्यो । जमघट कहिले उहाँकोमा हुन्थ्यो त कहिले मकहाँ । मेरोमा हुने जमघटको आकर्षण नै नेवाः परिकार र अय्ला थियो । एक दिन दिउँसो ३ बजेदेखि नै मेरोमा खानपिन सुरु भयो ।

अचम्म, राति १० बजिसक्दा पनि साथीहरू जाने सुरसार नै कस्नुहुन्न । १० बजेपछि खानेपिउने कुरा दुवै सकिए । त्यहाँ भएका एकजना मित्रले त बोटलबाट थोपाथोपा झारेर पनि पिउनुभयो । हिजोआज जस्तो टेलिफोन त थिएन । त्यति नै बेला एक साथीले सम्झेर आत्तिएर भन्नुभयो, 'ए आज त ठूलो एकादशी, घरमा श्रीमती नखाईकन कुरिराखेकी छन् ।'

अनि सबै जर्‌याकजुरुक उठेर हिँडे । घरमा साहित्यकारप्रति सम्मान हुनु त स्वाभाविक हो । एकपटक एउटा प्रस्ताव आयो । हाम्रो घरमा बसेर 'ब्रेख्तको रचना पढ्ने र सुनाउने' कार्यक्रमको नाम बन्यो– 'ब्रेख्त पढौं' । सहभागिता थियो प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौला, विमल निभा, राजकुमार केसी, हरिगोविन्द लुइँटेल, गोविन्द वर्तमान, नारायण ढकाल, श्यामल, शदिल भट्टराई' (नाम तलमाथि भएछ भने माफ गर्नुहोला) । खगेन्द्र संग्रौलाले ब्रेख्तको एक बेजोड रचना पढ्नुभो ... । त्यसमा टीकाटिप्पणी भयो । राम्रै ज्ञान आर्जन भयो । अब आयो बेला खानपिनको ।

अय्ला उपत्यकाको अत्यन्तै पुरानो पारम्परिक अल्कोहल हो तर यसको व्यावसायिक उत्पादनमा सरकारलगायत सम्बन्धित पक्ष लागेको देखिँदैन । स्कटल्यान्डको स्कच ह्विस्कीझैं काठमाडौंको अय्लाले गौरव गर्ने दिन के कहिल्यै पनि आउँदैन ?

लक्ष्मी मालीजीले ल्याउनुभा छ्वेलालगायत खानेकुरा । मैले ल्याएँ एक बोतल अय्ला । पानीका बोतल र पानी खाने स्टिलका गिलास । त्यहाँ दुई किसिमका साहित्यकार– एक थरी अय्लालाई घृणा गर्ने, अर्को थरी माया गर्ने । नपिउनेहरूका बीच पिउनेहरूलाई अत्यन्तै अप्ठ्यारो भइरहेको थियो । संयोगवश बिजुली गयो । करिब आधा घन्टाजति बत्ती आएन, मैनबत्ती ल्याउन पनि केही समय लाग्यो । बत्ती आउँदा केही साथीहरूका अनुहार उज्यालो थियो । र अय्लाको आधा बोतल घटिसकेको थियो । केही साथी घरमै सुत्नुभयो, केही फर्किनुभयो । त्यतिखेर त केही कुरा भएन ।

पछि गोविन्द वर्तमानले भने, 'नखाने साथीहरूका अगाडि पहिलोपटक लिन अप्ठेरो भइरहेको थियो । बत्ती गएर बडो सजिलो भयो ।'

एक दिन हरिगोविन्द लुइँटेलजीसँग अय्लाबारे छलफल भयो । उहाँहरू परम्परागत रूपमै शुद्ध ब्राह्मण । मासु र रक्सी खाएपछि अशुद्ध हुने उहाँहरूको मान्यता । म ससुरालीको भोज खाएर बाटोमा पर्ने उहाँको घरमा पसेको थिएँ । मैले भनेँ, 'मैले नपिएको रक्सी विवाहपछि पिएँ ।

पिउनुको पछाडि मेरो ससुराली खलकको ठूलो योगदान छ । विशेषतः नाताले साला पर्ने भए पनि मित्र अमर माली हरेकपटकको नखत्यामा जोड गर्दागर्दै थोरथोरै पिउने भएँ म ।' हरिगोविन्दजीले भन्नुभयो, 'कस्तो फरक चलन ! हाम्रोमा भए रक्सी पिलाउनु त कुरै छोडौं, ज्वाइँ रक्सी पिउने रहेछ भन्ने थाहा भयो भने त पारपाचुके नै गराएर छोरी फर्काऊँ कि भन्ने सोच पो छ त ।'

तथिमिति याद भएन, द्वन्द्वको बेला थियो । चितवनका साहित्यकार धनराज गिरी त्यसताका खगेन्द्र संग्रौलाका फ्यान नै थिए । दिनदिनै जस्तो फोनमै उहाँहरूको गजल वार्ता हुन्थ्यो रे । धनराजजीले खगेन्द्र संग्रौलाको प्रशंसामा सानो गजलसंग्रह नै प्रकाशित गरे, कुन्साङ काका । धनराजजीले चितवनमा एक साहित्यिक कार्यक्रम आयोजना गरेर 'कुन्साङ काका' गजलसंग्रह विमोचनको कार्यक्रम राखे । खगेन्द्रजीले मलाई सँगै जाऊँ भन्नुभयो, म पछि लागेँ ।

बाटामा सेना र पुलिसले चेकिङका नाममा दिएका दुःखबारे कुनै दिन लेखौंला । गएर बास बसियो धनराजजीकै निवासमा ताँडीमा । उहाँ त्यहाँको प्रतिष्ठित शिक्षक हुनुहुँदो रहेछ । शिक्षा, चरित्र, व्यवहार सबै किसिमले विद्यार्थीले उहाँलाई आदर गर्दा रहेछन् । हामी जाँदा धनराजजीका जीवनसंगिनी र एक छोरी घरमा हुनुहुन्थ्यो । छोरी पनि गजल लेख्नुहुन्थ्यो । घरमा खान सुत्नको व्यवस्था रहेछ तर पिउने व्यवस्था रहेनछ ।

वास्तवमा 'धनराज सर'को घरमा 'रक्सी' नामको पेय पदार्थले कहिल्यै प्रवेश पाएकै रहेनछ । कुन्साङ काकालाई नभई नहुने त होइन, भए जाती । आफ्नो सबै परम्परा तोडेर एक बोतल कोदोको झोलले धनराज सरको घरमा प्रवेश पायो । मलाई लाग्यो, त्यो दिन धनराजजी आफैंसँग र घरपरिवारसँग पनि अलि लजाउनुभयो । तर, त्यो सुरु भएरै टर्‌यो ।

अय्ला पिउनेहरू, अय्ला पिलाउनेहरू, अयला पिउनेसँगै हिँड्नेहरूसँग यस्ता संस्मरणको पत्रपत्र फुकाउनुपर्ने धेरै होला ।
एउटा कुरा भने मलाई खट्किरहन्छ, अय्लाको कानुनी मान्यता । अय्ला उपत्यकाको अत्यन्तै पुरानो पारम्परिक अल्कोहल हो । अहिले बजारमा प्रशस्त विदेशी ह्विस्की, वाइनलगायत अरबौंको आयात हुन्छ तर अय्लालाई सुरक्षित, गुणस्तरयुक्त बनाएर यसको सही व्यावसायिक उत्पादनमा सरकारलगायत सम्बन्धित पक्ष लागेको देखिँदैन । बेलाबेलामा अय्लाका उत्पादनकर्ता पक्राउ पर्छन् । गुणस्तर भएन भन्छन् । कर तिरेन भन्छन् । तर, त्यसका लागि सरकारले विधि बनाएको देखिँदैन ।

मैले दक्षिण कोरियामा अय्लाजस्तै त्यहाँको स्थानीय पेय पदार्थ 'सोजु' पिएको छु । जापानमा 'साके' युरोपेली मुलुकहरूमा 'वाइन'को घरेलु उत्पादनलाई स्थानीय रूपमा कर छुट गरेर प्रयोग गर्न दिने नियम छ । तर नेपालमा अय्लालाई गुणस्तरीयताको सुनिश्चिततासहित उत्पादन गर्ने वातावरण किन छैन ?

स्कटल्यान्डको स्कच ह्विस्कीझैं काठमाडौंको अय्लाले गौरव गर्ने दिन के कहिल्यै पनि आउँदैन ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.