गृहमन्त्रीः कसका अभिभावक

गृहमन्त्रीः कसका अभिभावक

गत वर्ष मधेस आन्दोलनका नाममा विध्वंसमा परेका नौजना प्रहरीको वीभत्स हत्या भयो टीकापुरमा । त्यो घटनापूर्व एकजना कांग्रेस सांसदलगायत मधेस आन्दोलनका केही शीर्ष नेताहरूले साम्प्रदायिक दंगा भड्काउन आग्रह गरेका प्रमाणहरू सार्वजनिक भएका थिए ।

घटनालगत्तै उत्पन्न तनावको स्थितिलाई ध्यानमा राख्दै सरकारले छानबिन समिति गठन गरेको थियो र त्यसले प्रतिवेदन बुझाएको ६ महिना बितिसक्दा पनि सरकारले त्यसलाई सार्वजनिक गरेको छैन । त्यसबाट अनुमान लगाउन सकिन्छ कि त्यो प्रतिवेदनलाई सरकारले रद्दीको टोकरीमा फ्याँकिसकेको छ सम्भवतः ।

तर त्योभन्दा पनि गम्भीर, संवेदनहीन र आपराधिक आचरण वर्तमान सरकारले र खासगरी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रदर्शन गरेका छन् । प्रहरी संस्थाका अभिभावकका रूपमा कार्यरत गृहमन्त्री प्रहरीका हत्यामा संलग्नहरूको राजनीतिक अभिभावक या मतियार बन्छन् भने त्यसले आपराधिक समूहको मनोबल त बढ्छ नै, त्यही अनुपातमा प्रहरीको संस्थागत मनोबल पनि टुट्छ ।

के त्यही प्रयोजनको लागि कांग्रेसले निधिलाई गृह मन्त्रालयको अभिभारा सुम्पेको हो ? यसको जवाफदेही अन्ततः प्रधानमन्त्री र कांग्रेस नेतृत्वको काँधमा पर्नेछ ।

मधेस आन्दोलनका राजनीतिक पक्ष छन् । तिनका राजनीतिक समाधान आवश्यक छ । तर हत्या तथा हिंसा र प्रहरी राज्यको वैधानिकताविरुद्ध आपराधिक रूपमा प्रस्तुत हुने शक्ति एउटा पार्टी या मन्त्रीको राजनीतिक स्वार्थका कारण संरक्षित हुन्छन् भने त्यसले राज्यको आधिकारिकताको पतन निम्त्याउँछ ।

राजनीति र अपराधबीचको सम्बन्ध प्रगाढ बनाउँछ त्यसले । राज्यको सुरक्षा निकाय आफ्नै राजनीतिक अभिभावकको षड्यन्त्रको सिकार बन्दा त्यसले सार्वजनिक सुरक्षासमेत कमजोर बनाउनेछ ।

उपप्रधानमन्त्री निधि सिलसिलाबद्ध रूपमा सुरक्षा निकायविरुद्ध खनिएको देखिन्छ । टीकापुर काण्डमा प्रहरीमा संलग्नहरूको मुद्दा तत्काल फिर्ता लिने घोषणासँगै उनले अर्को अभिव्यक्ति पनि दिए । शान्ति सेनामा समूहगत रूपमा सेना जाँदा उसलाई ‘आप्रवास' मा विशेष सुविधा दिइनु हुँदैन भन्ने मान्यता अगाडि सारे ।

उनले त्यो अभिव्यक्ति नेपाली सेनाको एउटा समूहले नेपालमै पासपोर्ट छोडेर सुडान पुगेका अनि त्यहाँबाट फर्काइएको तीतो र चरम लापरबाहीको घटनाको पृष्ठभूमिमा उनले दिएका थिए । लापरबाहीको जाँच र जिम्मेवारी सुनिश्चित नगरी प्रहरी संस्थाप्रतिको संवेदनहीनतासँगै नेपाली सेनाप्रति पनि अत्यन्त उदासीनपूर्ण व्यवहार प्रदर्शन गरेका छन् उनले । यो दम्भ उनको व्यक्तिगत मान्यतामा आधारित छ या सरकारलाई प्रतिनिधित्व गर्छन् उनले यसमा ?

शान्ति सेनामा जाने या नेपाल र नेपाली सेनालाई संस्थागत रूपमा प्रतिनिधित्व गर्ने सुरक्षा निकायलाई केही विशेष सुविधा सर्वत्र उपलब्ध हुन्छ । ‘इमिग्रेसन' विभागमा कूटनीतिज्ञ, ओहोदासीन राजनीतिज्ञहरू आदिलाई जसरी केही विशेष सुविधा उपलब्ध हुन्छन्, त्यो मुलुकलाई प्रतिनिधित्व गर्ने सुरक्षा निकायहरूलाई हुनु हुँदैन भन्ने मान्यता नै आपत्तिजनक छ ।

खासगरी टीकापुर प्रकरणमा निधिले प्रहरी संस्थालाई एउटा नमीठो प्रतिक्रियाका लागि उक्साएका छन्, खतरनाक तरिकाले । यो आपत्तिजनक व्यवहार र निर्णयबारे सरकारले तत्काल स्पष्टीकरण नदिए त्यसले गम्भीर शान्तिसुरक्षा र असहयोगको स्थिति ननिम्त्याउला भन्न सकिन्न ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.