माओलाई चिठी लेख्ने ठिटो
उमेरले ८० दशक पार गरिसक्यो । बुढ्यौलीले अनुहारमा चाउरी परेको छ, औंला पनि बांगिसकेका छन् । तर पनि छाओ चियान्स्थ्य्विन्को जोश भने जवान नै छ । करिब तीन साताअगाडि नेपाल आएका चीनका राष्ट्रिय स्तरका प्रथम श्रेणीका यी साहित्यकारले नेपाल बसाइकै क्रममा आफूलाई करिब २० वटा रचना लेख्न पुग्ने अनुभव र विषयवस्तु सँगालिसकेका छन् ।
नेपालमोह
हुन त उनले आफ्नो ६ वर्षे प्राथमिक विद्यालयमा पढ्दा नै भूगोलको कक्षामा जीवनमा पहिलोपटक चीनको दक्षिणपश्चिममा रहेको छिमेकी राष्ट्र नेपालको नक्सा उतारेका थिए । त्यति बेला उनलाई नेपाल भनेपछि अग्ला सुन्दर पहाडहरू र उर्वर जमिन भएको मेहनती, ज्ञानी एवं वीर नेपाली जनताले बसोबास गर्ने देश भन्ने छाप परेको थियो ।
यसबाहेक नेपालले पनि चीनले जस्तै साम्राज्यवादी शक्तिको आक्रमणको दुःख र अपमान भोग्नु परेको थियो भने चिनियाँ जनताले जस्तै नेपाली जनताले पनि वीरतापूर्वक उक्त शक्तिसँग लडेका थिए भन्ने ज्ञान उनले पाएका थिए । त्यसैले नेपाली जनताप्रति आफ्नै दाजुभाइको जस्तै स्वभाविक आत्मीय भावना रहँदै आएको उनले बताए । पछि माध्यमिक विद्यालय, विश्वविद्यालय एवं समाजमा आफ्नो काम सुरु गरेपछि उमेर, ज्ञान र अनुभवमा वृद्धि हुन थाल्यो र नेपाल चीनको असल छिमेकी राष्ट्र हो भन्ने बुझ्दै गए । त्यसपछि उनको आत्मीय भावना आदर भावमा बदलियो ।
उमेरले असी टेक्दा पनि नेपाल आउनुले उनमा रहेको नेपाल मोह बताउँछ । उनका छोरीहरूले नजाने सल्लाह दिँदादिँदै पनि उनी आए । 'म नेपालको साहित्यको अध्ययनका लागि आएको हुँ', मुड चलेको बेलामा अझै पनि लगातार दुर्ईतीन दिनसम्म लेखिरहने छाओले भने, 'यहाँ आएपछि नेपाली जनता उस्तै सहृदयी, सद्भावयुक्त र दयालु लाग्यो । हामी दुई देशका जनताबीचको सौहार्द सम्बन्ध यसरी नै कायम रहोस् ।'
माओलाई चिठी
छाओ सहिद परिवारका एक सदस्य थिए । उनका दाजुले त माओलाई भेटेका पनि थिए । हरेक किसान परिवारले आफ्नो उत्पादनको केही प्रतिशत सरकारलाई बुझाउनुपर्ने नियम लागू भए पनि एकपटक उनका अन्न सबै पानीले भिजेकाले त्यसलाई सुकाएर छान्नु परेको थियो । यही विषयमा सन् १९५२ मा छाओले आफू कक्षा १० मा पढ्दै गर्दा 'अध्यक्ष माओलाई पत्र' लेखेर 'नवयुवा पत्र'लाई हुलाकमार्फत पठाउँदा त्यो छापिएको थियो । उनको लेख देशकै ठूलो दैनिक पत्रिकामा छापिएपछि विद्यालयमै हल्लीखल्ली मच्चिएको थियो । पछि त्यसको पारि श्रमिक पनि हुलाकमार्फत नै आफूकहाँ आएपछि उनलाई लेखनमा झन् हौसला मिलेको थियो ।
रुसी साहित्यको प्रभाव
माध्यमिक तहमा नै रुसी र अंग्रेजी विषयमध्ये एक छान्नुपर्ने हुन्थ्यो । छाओलाई रुसमा मेकानिकल इन्जिनियरिङ पढ्न पठाउने तयारी भएकाले उनले विद्यालय पछि हार्पिन विश्वविद्यालयमा पनि रुसी भाषाकै अध्ययन गरे । त्यहीँ पढ्दै गर्दा उनले विश्वविद्यालयकै एक जर्नलमा आफ्नो पहिलो कविता छाप्न दिएका थिए । तर, त्यति बेला चीनमा सांस्कृतिक क्रान्ति सुरु हुन लागेकाले सायद आफ्नो कविता प्रकाशित भएन कि भन्ने अनुमान छ ।
पछि गएर उनले ऊहान विश्वविद्यालयमा चिनियाँ साहित्यको अध्ययन सुरु गरे पनि हार्पिनमा पढ्दा त्यहाँ रुसी भाषा पढाउने सर र म्याडमबारे पनि उनले लेखेका थिए । त्यति बेला उनी रुसी साहित्यमा रुचि राख्थे । उपन्यासकारमा उनी लियो टोल्सटोयका ठूलो प्रशंसक हुन् भने कथाकारमा एन्थोन चेखोव उनका प्रिय हुन् । त्यसैगरी पुस्किन, मायोकभ्स्की, एसेनिनय लगायतका कवि मन पराउने छाओ म्याक्सिम गोर्कीको नाम पनि छुटाउन चाहँदैनन् ।
उनी पढ्ने ऊहान विश्वविद्यालयमा रहेको दुई विभागमध्ये साहित्यको वर्गीकरण विभागमा परेकाले त्यति बेला उनले युरोपेली र अमेरिकी साहित्यसँग पनि परिचित हुने मौका पाए । होमर, सेक्सपियर, मार्क ट्वेन, ह्वाइट म्यानलगायतका साहित्यकारका कृतिबाट उनी निकै प्रभावित पनि भएका छन् ।
चार ऋतुको यात्रा
झन्डै ६ दशक लामो आफ्नो साहित्यिक यात्रामा गरेको संघर्ष, सफलता र असफलतालाई चार ऋतुमा समेट्न चाहन्छन् यी साहित्यकार । विद्यार्थी छँदा प्रकाशन गरेको आफ्नो पहिलो रचनाबाट सुरु भएर पूर्णकालीन लेखकहरूको समूहमा सम्मिलित हुन पुगेको समयसम्मको यात्रालाई वसन्तकालीन भन्न रुचाउँछन् ।
चार ऋतुको अन्त्यका रूपमा लिइने हिउँदको संकेत उनले सन् २००८ को जुलाईमै पाइसकेका थिए । आफ्नो ठूलो आन्द्राको क्यान्सरको अपरेसन गरेर करिब ३६ घन्टा सघन उपचार एकाइमा बिताएका छाओले आफ्नो जीवनका बाँकी दिनको गन्ती सुरु गरिसकेका थिए । त्यसपछि पनि 'बरु गाएर मर्छु, मौन रहेर बाँच्दिनँ' भन्ने सोचाइले उनलाई प्रोत्साहित गर्यो र उनले दैनिक दस घन्टाभन्दा बढी पुराना रचना केलाउने काम गरे ।
यथार्थवादी लेखक
चिनियाँ लेखक संघका सदस्यसमेत रहेका छाओ एक यथार्थवादी लेखक हुन् । उनका अनुसार एक लेखक सफल लेखक बन्न कि सम्बन्धित स्थानमा पुगेर त्यहाँको जीवनको प्रत्यक्ष अनुभव लिनुपर्छ, कि त विभिन्न पुस्तक र सञ्चारमाध्यममार्फत विषयवस्तुको जानकारी लिनुपर्छ । कल्पनाको भरमा लेखिने लेखन गतिलो नहुने उनको धारणा छ । भने, 'कल्पनाको भरमा लेखिएको साहित्यको म विरोधी हुँ ।'
एक लेखक सफल लेखक बन्न कि सम्बन्धित स्थानमा पुगेर त्यहाँको जीवनको प्रत्यक्ष अनुभव लिनुपर्छ, कि त विभिन्न पुस्तक र सञ्चारमाध्यममार्फत विषयवस्तुको जानकारी लिनुपर्छ ।
आफ्नो यही यथार्थवादी लेखनका लागि उनले सिङचाङजस्तो अति विकट प्रदेशमा समेत ११ वर्ष बिताए । प्राकृतिक रूपमा धेरै विकट ठाउँहरूमा पुगेर त्यहाँका मानिससँगको संगत र त्यहाँ बिताएको समयको अनुभवलाई उनले आफ्नो साहित्यमा समेटेका छन् । त्यसैले त उनले आफ्नो कृति 'मन जब चराको गुँडबाट निस्केर उड्छ'को भूमिकामा आफ्ना छोरीहरूलाई सन्देश लेख्दै भनेका छन् ,'तिमीहरूका बाबु साहित्यमा अभिरुचि राख्ने साहित्यप्रेमीमात्र होइनन् , साहित्य नै मानवशास्त्र हो भन्ने कुरामा विश्वास गर्ने र यसलाई व्यवहारमा उतार्ने व्यक्ति पनि हो ।'
सन् १९७८ पछि चीनमा सुधार र खुलापनको नीति लागू भएपछि उनले धेरै रचना गरे । त्यसैले उनी आफूलाई नयाँ अवधिको पूर्णकालीन लेखक भन्न रुचाउँछन् ।
जबरजस्ती बनाइएका दक्षिणपन्थी
सन् १९३० को दशकदेखि आधुनिक चिनियाँ साहित्यको सुरु भएको थियो । त्यति बेलाका प्रतिनिधि साहित्यकार लु सुनले चीनमा रहेको सामन्तवादी साहित्यलाई परिवर्तन गर्दै विदेशी साहित्यलाई चीनमा परिचित गराएका थिए । सन् १९४९ को चिनियाँ क्रान्तिपछि समाजवादी यथार्थवादी साहित्य सुरु भएको र सन् १९७८ पछि साहित्यमा विविधीकरण भएको उनको अनुभव छ । योभन्दा अगाडिको समयमा लेखनमा पनि अंकुश लगाइने गरिएको र आफूले ती बन्देजलाई नमान्दा जबरजस्ती दक्षिणपन्थीको आरोप लगाई करिब दस वर्षसम्म शारीरिक र मानसिक रूपमा दुर्दशा भोग्नु परेको पनि उनले बताए ।
सधैं सक्रिय
सन् १९९० देखि सीधै कम्प्युटरमा रचना टाइप गर्ने गरेका छाओ आज पनि लेखनमा उत्तिकै सक्रिय छन् । कार्यालय जाने आफ्नी पत्नीले भान्छामा केही बसालेर उनलाई हेर्नु है भनेर हिँड्दा साहित्यमा एकोहोरो लागिरहँदा कैयौंपटक ती खानेकुरा डढेको उनी स्मरण गर्छन् । गोलो गोरो चम्किलो अनुहार भएका छाओको व्यक्तित्व जस्तै उच्च उनका विचार छन् ।
साहित्यका कुरा गर्दा घन्टौं नथाकी बताइरहने यी साहित्यकारले चिनियाँ साहित्यलाई दिएको योगदानको कदर गर्दै पहिलो श्रेणीको लेखकको दर्जा पाएका छन् । चीनमा यस्ता लेखक मुस्किलले दुई सयजना पनि छैनन् । यो तहमा पुगेपछि प्रान्तीय सरकार प्रमुखले पाएसरह सेवासुविधा र तलब उनले पाउँदै आएका छन् ।
उहान, सांघाई र बेइजिङ सहरबाट प्रकाशित हुने साहित्यिक पत्रिकामध्ये २८ वटा पत्रिका उनको घरमा उपहारस्वरूप आइपुग्छ । अन्य दुईवटाको भने उनी आफैं ग्राहक बनेका छन् । त्यसैले नियमित ३० वटा पत्रिका पढ्दा आधुनिक साहित्यको पनि उनी त्यतिकै जानकारी राख्छन् ।
असमान उमेरको मित्रता
चिनियाँ साहित्यकार छाओ चियान्स्य्विन्का निकटम मित्र हुन्, नेपालका नसारोग विशेषज्ञ डा. सर्वोत्तम श्रेष्ठ । श्रेष्ठ र उनको पहिलो परिचय करिब २७ वर्षअगाडि उहानमा भएको थियो । त्यति बेला सर्वोत्तम उहानको हुपेई मेडिकल युनिभर्सिटी (हाल ऊहानविश्वविद्यालय, मेडिकल कलेज)मा चिकित्साशास्त्रको स्नातक तहमा अध्ययन गरिरहेका थिए ।
त्यति बेला साइकल चढेर छाओ त्यही विश्वविद्यालयको बाटो ओहोरदोहोर गर्ने गर्थे । चीनबाट विदेशमा पढ्न गएका विद्यार्थीबारे थुप्रै रचना लेखिए पनि विदेशबाट चीन आएर पढ्ने विद्यार्थीबारे केही लेखिएको थिएन । त्यसैले छाओले विदेशी विद्यार्थीबारे उपन्यास लेख्ने अभिप्रायले उक्त विश्वविद्यालयसँग अनुमति लिएर कालो छाला भएका सर्वोत्तमलगायतका अन्य विदेशी विद्यार्थीसँग भेटघाट गरेका थिए । विभिन्न कारणले गर्दा छाओको चीनमा अध्ययनरत विदेशी विद्यार्थीबारे उपन्यास लेख्ने धोको पूरा हुन नपाए पनि आफूहरूबीचको असमान उमेरको मित्रताले भने दशकौं पार गरिसकेको डा. श्रेष्ठले बताए ।
आफ्नो अध्ययन सकाएर नेपाल फर्किसकेपछि पनि ऊहानर साङहाई जाँदा उनी प्रत्येकपटक छाओलाई भेट्न जान्थे । डा. श्रेष्ठलाई साह्रै माया गर्ने छाओले भेटघाटका क्रममा उनलाई आफ्ना रचनाहरूका बारेमा पनि अनुभव बाँड्थे । कैयौंपटक त डा. श्रेष्ठसँग भएका कुराकानीमै उनले आफ्नो रचना गरिसकेका हुन्थे ।
डा.श्रेष्ठले पनि निष्फिक्री रूरुपमा छाओका कृतिका बारेमा आफ्ना मनमा लागेका कुरा बताउँथे । कृति राम्रो लागे राम्रो भन्थे त कहिलेकाहीँ आलोचना पनि गर्थे ।
करिब चार वर्षपहिले छाओलाई उहानमा भेट्दा उनले आफ्नो आठ खण्ड भएको 'संकलित साहित्यिक रचनाहरू'एक सेट डा. श्रेष्ठलाई उपहार दिएका थिए । पहिलेपहिले पनि पुस्तक प्रकाशित भएपछि एक सेट उपहार दिँदै त्यसलाई फुर्सदमा आफ्नो देशको भाषामा अनुवाद गर भन्ने गर्थे । तर, बेफुर्सदीले श्रेष्ठलाई बाँधिरह्यो । त्यसैले उनले छाओसँग उहानकै भेटमा नेपाली पाठकका लागि अनुवाद गर्नुपर्ने कृतिहरूको सूची प्राप्त गरे । अनुवादका लागि एक वर्ष लागे पनि प्रकाशनका लागि थप तीन वर्ष कुरेका डा.श्रेष्ठद्वारा अनुवादित 'मन जब 'चराको गुँड'बाट निस्केर उड्छ' छाओकै हातबाट गत आइतबार विमोचित हुने साइत जुर्यो ।
कुनै पनि साहित्यिक कृतिको नजिकको पाठक त्यसको अनुवादक नै हुन्छ । डा. श्रेष्ठले पनि अनुवादकै क्रममा छाओलाई अझै नजिकबाट बुझ्ने अवसर पाए । तर, उनको कृति अनुवाद गर्नुमा भने आफूहरूबीचको चिनजान र मित्रता मुख्य कारण नभएको उनी स्पष्ट पार्छन् । साहित्यलाई आफ्नो सर्वस्व ठान्ने छाओलाई आफूले सधैं एक गम्भीर, यथार्थवादी, देश र समाजमा घटिरहेका घटनाप्रति संवेदनशील तथा देश र समाजप्रति जिम्मेवार साहित्यकारका रूपमा पाएको उनले बताए ।
छाओले नेपाली अनुवादका लागि छानेका रचनाहरूले पनि करिब एक शताब्दीको चीन र चिनियाँ समाजको यथार्थ चित्रण गरेको उनको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस !