एक गायकको देश–चिन्तन

एक गायकको देश–चिन्तन

मंगल धुन बज्नुपर्ने मंगलबारको बिहान उदास थियो । आँखा खोलेर सदाझैं सामाजिक सञ्जालको भित्ता चाहार्दा अप्रिय समाचार बीभत्स अनुहार लिएर देखा परिरहेथ्यो । काठमाडौंका ११ विद्यालयमा बम राखिएका थिए । फूलजस्ता केटाकेटी रमाउँदै जीवनका नयाँ ज्ञान सिक्न जाने मन्दिरहरूमा राखिएको बमले पर्यावरणमा बारुदको गन्ध फैलाइदिएको थियो । ठ्याक्कै त्यही बेला सम्झेँ एक गायकलाई, जसले बारुद र रगतको गन्धमाझ कहिले 'शान्तिका लागि शिक्षा' त कहिले 'सुन्दर शान्त नेपाल' भन्दै देशैभर संगीतको वासना छरेर हिँडेका थिए ।

उनलाई कसैले चिनाउनु पर्दैन । गत २६ वर्षमा उनले आफ्नो परिचय आफैं बनाइसकेका छन् । अब त उनैले चिनाउँछन् यो देशको संगीतलाई संसारभर, यो माटोको धुनलाई विश्वभर । यी वर्षहरूमा उनले कतिवटा स्टेजमा गाए, कति मान्छेको बीचमा गाए, ककसको गीत गाए, सम्झन पनि समय चाहिन्छ । द्वन्द्वग्रस्त समयमा दाङको तुल्सीपुरमा उभिएर शान्तिको गीत गाइरहने उनै थिए । लन्डनको सबैभन्दा चर्चित विम्ब्ले एरिनामा नेपाली मादलको धुनमा नाच्दै गाउने उनी थिए ।

संयुक्त राज्य अमेरिकाको विश्वचर्चित म्यानहट्टन सेन्टरमा नेपाली लोकधुनलाई गितारसँग मिसाएर पस्किने उनी थिए । अस्ति भर्खर (भदौ ३०) दक्षिण कोरियाको सिउलमा रहेको केबीएस एरिनामा गाउने पनि उनी नै थिए । उनी अर्थात् अमृत गुरुङ । सरदर नेपालीको भन्दा केही अग्लो उचाइ, लामो सेतो कपाल र सेतै फुलेको जुँगासहितको गायक । लेखक कुमार नगरकोटीले आफ्नो उपन्यास 'मिस्टिका'को पेज नं. ९ मा उनीबारे भनेका छन्, 'सोल सर्चिङ सिंगर' ।

०००

तिनै आत्मा खोज्ने गायकलाई नेपालयको बैठककोठामा कुरिबसेका थियौं— दीपक सापकोटा र म । नारायण वाग्लेसँग गफ गरिरहँदा छिरे उनी । पस्दापस्दै एकदमै मिच्छिएको भावमा भने, 'हिँडेरै आएको भए समयमै आइपुग्थेँ, मोटरमा आउँदा ढिलो भयो ।' दिएको समयभन्दा १२ मिनेट ढिलो भएका थिए । चर्चा चल्यो उनको पछिल्लो गीत 'ओ रामा रामा'बारे । यो गीत तयार पार्दा 'डिम्पल'ले समस्या पारेछ । डिम्पललाई नेपालीमा के भन्ने ? फोन गरी सोधेछन् जान्नेलाई ।

भन्दिएछन्, 'खोपिल्टो' । हाँस्दै सुरु भयो हाम्रो कुराकानी उनको गाउँले जीवनबारे, यायावर जोगी तालबारे, गीतियात्राबारे, जीवनबारे र नेपालीपनबारे ।

- तपाईं गाउँमा बस्नुहुन्छ । गाउँले जीवन बिताउनुहुन्छ । फेरि झोला टिपेर सात समुद्रपारि पुग्नुहुन्छ । तपाईंलाई त काठमाडौंमै बसेर कार चढे पनि पुग्छ नि । किन यस्तो जीवनशैली रोज्नुभएको ?

म जति सजिलो र साधारण तरिकाले (सिम्पल लाइफ भन्छ नि) बाँच्न सिकेँ, जिन्दगीमा त्यति नै धेरै खुसी भेटेँ । सुख भेटेँ । र, म त्यसमै रमाएँ । फूलसँग रमाएँ । चराहरू हेर्दाखेरि हावासँग रमाएँ । खोलाको कलकल झरनासँग रुझेँ । प्रकृतिसँग नजिक भएँ र एकान्त मन पर्‌यो । मलाई हल्ला धेरै मन पर्दैन ।

-सहरको जीवन तपाईंलाई मन पर्दैन ?

मन नपर्ने होइन । बाँच्नका निम्ति काम त गर्नैपर्‌यो । तर मेरो स्वभावअनुसार म यसमा फिट भइनँ । मैले भर्खरै कम्प्लेन गरेँ, मोटर चलाएर सही समयमा पुग्दिनँ । हिँडेरै पुग्छु ।

-अहिले गाउँमा को को बस्नुहुन्छ ?

आमाचाहिँ पोखरा बस्नुहुन्छ । पहिला धेरै जानुहुन्थ्यो । अहिले जान सक्नुहुन्न, अस्वस्थ हुनुहुन्छ । गाउँमा १०/११ जना सहयोगी हात छन् ।

- गाईबस्तु पाल्नुभछ ?

छ । गाई एउटा छ, दुई गोरु र दुई बहर छन् । भैंसी छन् १५/१६ वटा । बाख्रा छन् १२/१४ वटा ।

- तपाईंको त्यहाँ दैनिक जीवनको रुटिन कस्तो हुन्छ ?

गाउँमा एउटा ठूलो ढुंगा छ । त्यसलाई हामी भँयरथान भन्छौं । गाउँ छिर्नासाथ म त्यहाँ जान्छु । अरू बेला पनि गाह्रोसाह्रो पर्दा म त्यहाँ जान्छु । अलि आध्यात्मिक पनि छु । गएर त्यो ढुंगालाई नमन गर्छु । मलाई सद्बुद्धि देऊ, सद्विचार देऊ भनेर कामना गर्छु । त्यो ठूलो ढुंगामा एउटा सानो रूख फैलिँदै गएर ठूलो भएको छ । त्यो देखेपछि मलाई गरे के हुन्न र ? कोसिस हो, प्रयास हो भन्ने महसुस गराउँछ । त्यसपछि सबै हेर्दै जान्छु । गोठमा गयो भने सबैभन्दा पहिले कुकुर भुक्छ । कुकुरहरू खुसी हुन्छन् मान्छे आएपछि ।

-तपाईंलाई कुकुर मन पर्छ ?

मन पर्छ । पालेको छु, चारवटा । तिनीहरू खेल्ने रम्ने गर्दा खुसी हुन्छन् । अनि बच्चाहरू हुन्छन् स्कुलबाट फर्किंदै गरेका । यसो वनजंगल घुम्छु । पानीमा खेल्छु । मुड चल्यो भने हार्मोनियम बजाएर बस्छु । साँझ भात खाइन्छ, आगो तापिन्छ, गफ गरिन्छ । गाउँमा के भइरहेछ, पर्यावरणमा के भइरहेछ गफ हुन्छ । सुतिन्छ ।

बिहान उठ्छु गोठको धन्दा गर्नेहरूले गोठको धन्दा गर्नेतिर लाग्छन् । मभन्दा पहिला उनीहरू उठे उनीहरूले आगो सल्काउँछन्, नभए मैले सल्काउँछु । बिहान उठ्छु । पानी तताएर खाएर नित्यकर्म गर्छु । एकदेखि डेढ घन्टा हार्मोनियममा रियाज गर्छु । अनि जुत्ता कसेर गाउँ डुल्न निस्कन्छु । तीस मिनेट लाग्छ, गाउँको डाँडामा पुग्न ।

त्यहाँबाट पोखरा देखिन्छ, हिमाल देखिन्छ । अनि आफन्त भेट्न जान्छु । अनि गोठमा फर्केर नुवाइधुवाइ गर्छु । गोडमेलको काम छ भने गोडमेलको काम गर्छु । नभए के छ बिग्रेभत्केको बनाउनुपर्ने त्यो हेर्छु । उमेरले त्यति खनजोत गर्न दिँदैन तर माटो खेलाउन मन पर्छ ।

(२०२८ सालमा पोखरा छिरेका अमृत २०४२ सालमा काठमाडौं छिरे । ६ वर्ष भयो, आधा वर्ष काठमाडौं आधा गाउँमा बिताउन थालेको ।)

-कस्तो देखिन्छ गाउँबाट सहर हेर्दा ?

गाउँको जीवन सरल, साधारण, तनाव छैन । आफ्नो काम गर, आफ्नो मानो खाऊ, आफ्नासँग बस । अलिकति प्रकृतिसँग नजिक, अलिकति संस्कार भएको भेट्छु गाउँको जीवन । एकआपसमा हार्दिकता भेट्छु गाउँमा । सहर छिरेपछि दौडादौड मेसिनजस्तो लाग्छ । सबैलाई हतार छ । अनि हरेक चीजमा पैसाको कुराले उछिन्छ, नाफा नोक्सानको कुरा आउँछ । जोडघटाउ सुरु हुन्छ । जोडघटाउ गाउँमा पनि हुन्छ तर गाउँमा सरल हुन्छ ।

-यो बीचमा गाउँ पनि फेरियो होला नि ?

डाँडाकाँडा जस्ताको तस्तै छन् । खेतबारीहरू तिनै हुन् । हिमाल, पाखा, पर्वत सबै तिनै हुन् । खाली मान्छेमात्रै फरक भएका छन् । पुरानो पुस्ता गए, नयाँ पुस्ता आए । उहिलेको पुस्तामा कछाड, भांग्रा लगाउने हुन्थे । टोपी लगाएर वनमा घाँसदाउरा गर्न जाने मान्छेहरू भेटिन्थे । पानी लिन दुई घन्टाको बाटो हिँडेको भेटिन्थ्यो । तर, त्यो गाउँ आत्मनिर्भर थियो । परनिर्भर थिएन । तर, अहिले गाउँ परनिर्भर भएको छ । हामी सभ्य भएका छौं, पाइन्ट लगाउने भएका छौं ।

पहिला मादल बजाएर नाचगान हुन्थ्यो, अहिले मेमोरी कार्डमा गीत बजाएर नाचगान हुन्छ । पहिला गाउँमा तरकारी किन्नुपर्ने थिएन । हिजोआज गाउँ पनि अलि सहरसहर भएको छ । तरकारी किनेर खान थालेका छन् । 'विकास' भन्छन् त्यसलाई । विकास हो कि विनाश, म जान्दिनँ ।

-विकासको नाममा हामी परनिर्भरतातिर गइरहेछौं ?

अलिकति परनिर्भरतातिर गयौं कि जस्तो लागिरहेछ । म विकासको विरोधी होइन है । तर, जसलाई हामीले विकास भनिरहेछौं त्यसमा म सन्तुष्ट छैन । म खेती गरेको मान्छे, मलाई दुःख लाग्छ । कति दुर्भाग्यको कुरा छ, म बच्चा हुँदा घरमा, गाउँमा, हामी सबैकोमा बीउ हामीसँगै हुन्थ्यो । अहिले हामीले बीउ अरूसँग किन्नु परेको छ । विकासको नाममा हामीसँग भएको रैथाने बीउ अर्कालाई दिएर धेरै उब्जनी हुन्छ भनेर उनका बीउ ल्याएर रोप्यौं ।

अहिले हामीलाई बीउको समस्या छ । ल्याएको बीउमा मल हाल्नु पर्‌यो । मल पनि उनले भनेको हाल्नु पर्‌यो । हामीले हाल्ने मल हालेर हुँदैन । यसो सोच्छु, विकास हुनुपर्ने तर यो विकास त भएन निी ! गल्ती भइसक्यो । अब हामीले बीउ जोगाऊँ । बीउ बनाऊँ र हामी परनिर्भरबाट आत्मनिर्भर बनौं । जसरी हिजो हाम्रा गाउँहरू पहिला आत्मनिर्भर थिए । हामीसँग नभएको लुगा त हो नि । तर हामी नांगै त थिएनौं ।

हाम्रो विकास मेसिनमा हो भने पानीघट्टमा गएर अड्कियो । औजारमा हो भने कुटो, कोदालो, हँसियामा गएर अड्कियो । तर विचारको कुरा त कसैले रोक्न सक्दैन नि । विचारको कुरा पढेका विद्वान्हरूले गर्ने चीज हो । केके मिलेन, मिलेन । नमिलेपछि मिलाऊँ ।

-अहिले गाउँमा आएको सबैभन्दा ठूलो परिवर्तन विदेशगमनको असर हो । तपार्इं त लाहुरे संस्कृति भएको गण्डक क्षेत्रमा हुर्किनुभयो । अहिले पनि त्यहीँ हुनुहुन्छ । कसरी हेरिरहनुभएको छ ?

लाहुर नगई सुखै छैन त । तपाईंले जब खेतीकिसानी गरेर बच्चालाई राति भोको पेट सुताउनुपर्ने अवस्था आउँछ, प्रिय बुवाआमालाई अस्पताल लैजान सक्नुहुन्न, श्रीमतीलाई प्रसूति गराउन अस्पताल लैजान सक्नुहुन्न तब जवान, बल, उमेर भएको मान्छे लाहुर नगएर के गर्ने ? यो पलायन हुनुका धेरै कारण छन् । राजनीतिक पहिलो, सामाजिक, आर्थिक मुख्य हो ।

०००

('नेपथ्य' ब्यान्ड र अमृत गुरुङ भन्नासाथ जोडिएर आउँछ द्वन्द्वग्रस्त नेपाली समाज र शान्तिका लागि संगीत । केटौले उमेरमा खोलिएको थियो 'नेपथ्य' ब्यान्ड । नाम जुराएका थिए दीपकजंग राणाले । राणासँगै भीम पुन र अमृत जोडिएर बनेको थियो 'नेपथ्य' सन् १९९० मा । त्यति बेला उनीहरू आफैंले सोचेका थिएनन् संगीतमै समर्पित हुनेछन् । अहिले राणा पाइलट भएका छन् । पुन हङकङको जीवन बिताइरहेछन् । अमृत भने संगीतमै डुबे ।

त्यसो त अमृतले संगीत छोडिसकेका थिए । सन् १९९९ मा जापानमा गरेको कन्सर्ट झुर भयो । आठजना दर्शकअघि १२/१३ वटा गीत गाए । अरू सबै साथी त्यहीँ बसे, अहिलेका ड्रमर ध्रुव र उनी फर्किए । तर, संगीतमा होइन । नेपाल वातावरण पत्रकार समूहमा टेलिभिजन पत्रकार बने उनी, डकुमेन्ट्री बनाइहिँड्न थाले ।

तर, साथी र शुभचिन्तकले उनीभित्रको संगीत मर्न दिएनन् । अहिलेका गितारिस्ट दीपक कराइरहन्थे तेरो बाटो यो होइन भनेर । त्यही बेला एक शुभचिन्तक भाइले खेलेको भूमिकाले अमृतको संगीत जीवनको दोस्रो इनिङ सुरु भयो । त्यो क्षण सम्झँदै भने उनले–

'किरण गुरुङ भन्ने भाइ थियो, ब्रिटिस आर्मीको जागिरे । ऊ दाइ तपाईंले म्युजिक गर्नुपर्छ भन्थ्यो । मैले गर्दिनँ भनेँ । उसले भन्यो, 'मैले ज्ञानेन्द्र (साथी)को नाममा एक लाख साठी हजार जति राखिदिएको छु, तपाईंले त्यो पैसा खाए पनि खानुस्, म्युजिक गरे पनि गर्नुस् ।' यत्ति भनेर ऊ हिँड्यो । त्यो पैसा बैंकमै थियो । त्यसपछि मैले संगीत गर्ने सोचे । त्योभन्दा पहिला अरेन्जमेन्टमा गथ्र्यौं ।

मैले भनेँ– अब हामीले म्युजिक गर्‌यौं भने ब्यान्ड हुन्छ, ब्यान्डले पर्फम गर्छ । त्यो बेलामा म्यानेजर ज्ञानेन्द्र थियो । उसले सबै सामान किन्यो । सीतापाइलामा एउटा कोठा लियौं । सुरुआत गर्नेे बेलामा मैले कसम खाएँ, अब म म्युजिक छोड्दिनँ । मरिगए त सक्किहाल्यो । बाँचेसम्म श्रोतादर्शकले साथ दिए गाउँछु । नभए एउटा कुनामा बसेर भए पनि गाउँछु । त्यही संकल्प लिएर हिँड्यौं । त्यसपछि निस्केको एउटा गीत एकदमै हिट भयो । त्यो गीत थियो, रेशम ।'

'रेशम' एल्बममै लोक जीवनको भाका खोजेका थिए उनीहरूले । तर, ती गीतमा मायाप्रेम र व्यक्तिगत जीवनाभूति नै प्राथमिकतामा थियो । एकाएक नेपथ्यले बाटो मोड्यो । द्वन्द्वग्रस्त समयको दुःख गाउन थाले उनीहरूले । गीत बोकेर देशैभर घुम्न थाले । सन् २००२ मा 'शान्तिका लागि शिक्षा' अभियान थाले । जम्मा गरेको पैसा सामुदायिक विद्यालयमा पुस्तकालय खोल्न दिए ।

'शान्तिका लागि शिक्षा' २००४ र २००६/०७ मा र २०१३ मा पनि सम्पन्न भयो । त्यस्तै 'सुन्दर शान्त नेपाल' भन्दै हिँडे । दीप श्रेष्ठ, कुन्ती मोक्तान, प्रेम राना 'औतारी', राम थापा, सपना श्री, सुक्मित गुरुङ लगायतका गायकगायिकासँगै सन् २००३ मा ६ ठाउँमा, २००५ मा आठ ठाउँमा कन्सर्ट गरे ।)

-तपाईंहरूको त्यो गीतियात्राले तत्कालीन द्वन्द्वग्रस्त समाजलाई कस्तो प्रभाव पार्‌यो ?

कस्तो प्रभाव पार्‌यो भन्ने त अरूले भन्ने कुरा हो । मलाई आत्मसन्तुष्टि भयो । त्यो बेलामा स्टेटले इमरजेन्सी लागू गरेर कुनै पनि ठाउँमा दसजनाभन्दा बढी जम्मा हुन पाउँदैन भनेको थियो । सिनेमा हलहरू बन्द भएका थिए । मेला, जात्रा बन्द भए । त्यतिमा हामीले कार्यक्रम गर्दाखेरि दर्शक, श्रोताहरू आएर हाम्रा गीत सुन्दा ठीक काम गरिरहेछु भन्ने भयो ।

-त्यति बेला प्रशासनले पनि तपाईंहरूलाई कहीँ अप्ठेरो पार्‌यो कि ?

प्रत्यक्ष रूपमा सबैले सहयोग गरे भनौं । एउटा हुन्छ, सहयोग भएन भन्ने । त्यो त्यति राम्रो सुनिँदैन । त्यो बेलामा सबैले सहयोग गरेको हो । प्रशासनले सहयोग गरेको भएर हामी त्यो बेलामा त्यो ठाउँमा पुगेर कार्यक्रम गर्‌यौं किनकि स्टेटले १० जनाभन्दा बढी जम्मा नहुनु भनेको थियो । अर्कोतिर माओवादीले हाम्रो अनुमतिबिना तपाईंहरूले कसरी कार्यक्रम गर्नुभयो भन्थे । त्यही भएर भनेको सबैले सहयोग गर्नुभयो र कार्यक्रम सफल भयो ।

-त्यति नै बेला 'घटना' भन्ने एल्बम आयो । त्यो त नेपाली संगीतमा एउटा प्रयोग पनि हो, रक शैलीको नेपाली ब्लुज, कसरी बन्यो ?

नारायणघाटमा एउटा कार्यक्रम गरेको अर्को दिन पत्रिका हेर्दा निकै बीभत्स समाचार पढ्नुपर्‌यो । शीर्षक थियो– २० दिनको बच्ची रगतको आहालमा । मलाई त्यसले निकै आहत गर्‌यो । टुर सकेर काठमाडौं आएपछि किरणजीलाई (किरणकृष्ण श्रेष्ठ) लाई भनेँ, मलाई त्यहाँ जानुपर्‌यो । गएर घटना विवरण सुनेपछि म एकदमै आहत भएँ । बसमा विद्यार्थीहरू परीक्षा दिएर आइरहेका थिए । बीचमा ढाट राखेर माओवादी बन्दुक लिएर बसेका थिए ।

त्यो बसको छतमा सेनाहरू बसेका थिए । दुईबीच लडाइँ चल्दा मान्छे मरे । अनाहकमा एउटी २० दिनकी बच्चीले बाउ गुमाउनपर्‌यो । कस्तो भयो होला ? त्यो घटनाले मलाई निकै दुखी बनायो । त्यसपछि एक महिना लगाएर त्यो गीत तयार गरेँ । मलाई फेरि गर भन्यो भने म सक्दिनँ । मेरो एउटै कामना छ, यस्तो घटना संसारको कुनै पनि ठाउँमा, कुनै पनि कुनामा फेरि नहोस् ।

०००

(नारायण वाग्ले भन्छन्- '(अमृत) यायावर हो ।' हो, उनी पक्का यायावर हुन् । कहाँ पुगेका छैनन् उनी ? नेपालका कुनाकाप्चा चहारेका छन् । गाउँबस्तीको मुटु छामेका छन् । हिमाल, पहाड, तराई-मधेस पुगेका छन् । त्यही क्रममा उनले नेपाल चिनेका छन् । बुझेका छन् ।)

-आखिर किन तपाईंको खुट्टा चिलाइरहन्छ ? किन घुमिहिँड्नुहुन्छ ?

म यात्रा गरेपछि खुसी हुन्छु । शारीरिक रूरुपले थकित भए पनि मानसिक रूपमा स्वच्छ हुन्छु, सफा हुन्छु । मलाई त यात्रा औषधिजस्तो लाग्छ । कुनै पनि काम गर्नुभन्दा पहिला एक किसिमको हौसला लिन, धैर्य लिनका लागि पनि हिँड्न जरुरी छ जस्तो मलाई लाग्छ । धेरै कुरा देख्छु, सुन्छु । भाग्यमा भए, लोककलाकारहरू भेट्छु । उनीहरूसँग गीत सिक्छु । कुनै दिन जोगीहरू भेटे उनीहरूसँग बात मार्दै हिँड्छु ।

कुनै दिन ओडारमा बसेछु भने कोठामा त म दिनदिनै बिताउँछु नि भन्ने सोच्छु । कति रात म रूख पनि नभएको ठाउँमा खुला आकाशमुनि सुतेको छु । त्यो भनेको जिन्दगीमा सधैं हुने होइन । कहिलेकहिले हुने हो । त्यो दुःख नै जिन्दगीको बाँच्ने आधार हो । भन्छन्, मान्छे भएपछि आकाशमा उड्ने होइन, धर्तीमा हिँड्नुपर्छ । यात्राले धरातल सम्झाउँछ जस्तो लाग्छ ।

मैले जीवनमा धेरैथोरै किताबहरू पढेँ, धेरैथोरै राम्रा फिल्महरू हेर्ने मौका पाएँ तर मैले हेरेका राम्रा सिनेमाहरू, राम्रा पुस्तकहरू, राम्रा डकुमेन्ट्रीहरू तपाईंले सोध्नुभयो भने मैले बिर्सिसकेँ, असाध्यै राम्रा थिए ती । तर मैले गरेको यात्राहरू तपाईंले सोध्नुभयो भने सिनेमा हेरेजस्तै बताउन सक्छु । त्यसैले पनि यात्रा गर्नुपर्छ । भ्रमण जिन्दगीका लागि आँखा खोलिदिने साधन हो ।

०००

(यो यायावरी जीवनले उनलाई नेपाल चिनाएको छ । नेपालीपन छातीमा बोकेर हिँडेका छन् उनी । वाग्लेको विचारमा त उनको गायकी विशेषता नै नेपालीपनको हठ हो । वाग्ले भन्छन्, 'अमृतको गायकी विशेषता गीतचाहिँ नेपाली नै हुनुपर्छ भन्ने उसको हठ हो । उसको विशेषता हो यो हठ । नेपाली गीत नै गाउनुपर्छ भन्ने हठले नै उसको अहिलेसम्मको परिचय, व्यक्तित्व, जीवनशैली बनाएको छ ।')

- हिँड्दा भेटिने मानिसहरू फरक भेषभूषा, चालचलन, कस्तो लाग्छ ?

नेपाल एकदमै विविधतायुक्त भएकाले पनि विभिन्न किसिमका मानिस भेटिन्छन् । त्यो त फरक भइहाल्छ । मलाई गज्जब लागेको के हो भने, नेपालको जुन भूगोलमा गए पनि सुन्दर छ । हिमाल, पहाड, तराई जहाँ गए पनि । हेर्ने दृष्टि आफूसँग हुनुपर्‌यो । हेर्ने दृष्टि नै छैन भने त त्यस्तै हो । तर, एकदमै सुन्दर छ र नेपालीमा एकदमै हार्दिकता छ । त्यो मलाई निकै गजब लाग्छ ।

- त्यस्तो हार्दिकताको केही उदाहरण छ कि ?

त्यस्तो धेरै छ, कुनचाहिं भन्ने । द्वन्द्वको बेलामा एकपटक म दाङमा बिहान उठेर एउटा चिया पसलमा चिया खान गएको थिएँ । एकजना बूढी आमैले सोध्नुभयो, 'बाबु हिजो गीत गाउने तपाईं हो ? ' मैले हो भनेँ । उहाँले भन्नुभयो– 'कसको छोरा हौ, कहाँका हौ, यो मान्छे हिँड्ने बेला होइन । तिम्लाई मेरो आशीर्वाद छ । जहाँ गए पनि सुखी रहनु ।' उहाँको आशीर्वचनले मेरो मन छोयो । त्यही हो नेपाली हुनु भनेको । नेपालीपन भनेको ।

जहाँ गए पनि भेटिन्छ । म हल्काफुल्का केही भाषा बोल्दछु, केही भाषा बुझ्दछु । चारपाँचवटा भाषा बोल्छु । तर, म नेपालको यस्तोयस्तो ठाउँमा पुगेँ, जहाँका मानिसहरूले बोलेको मैले केही पनि बुझिनँ । तर मैले बोलेको नेपाली भाषा उनीहरूले बुझे । मलाई के लाग्छ, नेपाली भाषा रहिन्जेलसम्म नेपाल रहन्छ । कसैले मेटेर मेटिँदैन । भाषाले जोडेको देश हो यो ।

(नगरकोटी भन्छन्– अमृत साधुजस्तै छन् । कुराकानीका क्रममा पनि उनी साधुजसरी नै प्रस्तुत भए । बेलुका ८ बजे अमेरिकाका लागि उनको फ्लाइट छ । ६ बजेसम्म विमानस्थल छिरिसक्नुपर्छ । दिउँसो ३ बजे उनी बडो शान्त भावमा हामीसँग गफिइरहेछन् । उनको कपाल घामले डढेर फुलेको होइन । जीवनका उकाली–ओराली धेरै हिँडेका छन् । कति साथी आए कति गए । छोडिजानेलाई भन्छन्, 'तिमीले जानी नजानी गरेका गल्तीहरू जति माफ भयो, मैले जानी नजानी गरेका गल्तीको माफ देऊ ।

दिने नदिने तिम्रो कुरा । हिजो जे भयो त्यो बिर्सिदेऊ । अब नयाँ जे हुने हो, त्यसमा विचार गरौं । तुष किन राख्ने ? सफा भएर बाचौं । कति बाँचिएला र ? अर्को तिसै वर्ष त बाँचिएला ।'

यी साधु गायकसँग यो देशको निम्ति भन्नैपर्ने केही छ । बिनाप्रश्नको जवाफ दिन्छन् उनी । डिटेक्सनको शैलीमा बिस्तारै–बिस्तारै म अक्षर नबिराई टिप्न थाल्छु, 'शिक्षित, विद्वान्, बुद्धिजीवी, नेतागण र साँच्चै भन्ने हो भने जानेका मान्छेहरूबाट भिक्टिमाइज्ड भएको देश हो हाम्रो नेपाल ।')


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.