मेरा ती 'अनैतिक सम्बन्धहरू'

मेरा ती  'अनैतिक सम्बन्धहरू'

क्लासको बीचमा साथी आरोनले चिन्तित हुँदै छेउमा आएर एउटा पार्सल देखायो । खामभित्र तीनवटा कण्डम थिए । सानो कागजमा लेखिएको थियो- 'दरिद्र मान्छे, तेरो कायर कामका खातिर यो सम्मान तँलाई ।' उक्त उपहार इल्भाको ब्वाईफ्रेन्डले स्विडेनको माल्मोबाट कोपनहेन पठाएको थियो ।

त्यससाताको विक्यान्डमा हामी दुवै लाइब्रेरीमा बसेर पढिरहेका थियौँ । अचानक इल्भाको फोन आएपछि आरोन मलाई छोडेर पुलकित हुँदै हिँडेको थियो । राति ऊ उतै बस्यो । कोठामा म एक्लै परेँ । त्यसरात त्यस्तो केही भएन । ठूलो वर्षा भएन । हिउँ पनि परेन । तर, उता सम्बन्ध रूपान्तरित भएछ ।

पश्चिमतिर पनि केही मानिसमा धृतराष्ट्रिय गुण पाउन सकिन्छ । कुनै पनि अवस्थामा ढाँट्नु हुँदैन भन्ने एउटा विचित्रको दुस्साहस गर्छन् उनीहरू । तर, धृतराष्ट्रको जस्तो चलाखी नजानेर संकटमा पर्छन् निकै सम्बन्धहरू -'नर वा कुञ्जर' । मान्छे धार्मिक हैन नैतिक हुनुपर्छ भन्ने उनीहरूको आफ्नै धारणा छ । भूलबस कुनै काम गरिएको छ भने आफ्नो जीवनसाथी वा त्यससँग सम्बन्धित मानिसलाई सूचना दिनुपर्छ भन्ने उहीहरूको मान्यता हो ।

इल्भाले त्यस रात आरोनसँग भएको घटनाको बारेमा आफ्नो ब्वाईफ्रेन्डलाई फोनमा रुँदै सुनाइछ । भनिछ- 'गत राति एउटा भूल भयो आशा छ तिमी मलाई माफी दिन्छौ तर त्यतिखेर त्यो सम्बन्ध मेरो इच्छाले नै राखिएको थियो ।' उसले किन माफी दिन्थ्यो । आफ्नी गर्लफ्रेन्डसँग सम्बन्धको अन्त्य गर्दै उसले आरोनलाई त्यो व्यंग्यात्मक उपहार पठाएको थियो ।

यौनमा खुल्ला ती समाजका मानिसको एउटा सामान्य मान्यता के भने जुन दिन आफ्नो केटा साथी वा केटी साथीको नयाँ मान्छेसँग सम्बन्ध हुन्छ पुरानो सम्बन्धलाई त्यहीँ तिलाञ्जलि दिने । बितेका सम्बन्धहरूका बारेमा चासो नराख्ने तर वर्तमानमा दुईतिर सम्बन्ध नराख्ने । मैले युरोपमा केही यस्ता जोडीको पनि किस्सा सुनेको छु ।

श्रीमान् श्रीमती वा सम्बन्धमा रहेका युवायुवतीले कुनै अवस्थामा परपुरुष वा परस्त्रीसँग सम्बन्ध राख्न पुगेमा गोप्य नै राख्नु पर्नेछ । आफ्नो पार्टनरलाई नसुनाउने । जसले गर्दा सम्बन्धमा गडबढी नआओस् र सम्बन्ध लामो समयसम्म टिकोस् । त्यसो त अचेल चलचित्रका स्टारहरू विवाहपछि पनि फिल्ममा परपुरुष वा परस्त्रीसँग प्रशस्त यौन दृश्यहरू दिन थालिसकेका छन् ।

नेपाल र भारतजस्ता देशहरूमा स्टार श्रीमतीभन्दा स्टार श्रीमान्‌लाई बढी छुट देखिन्छ । तर, आम जीवनमा सधैं यस्तो समझदारी हुँदैन । धेरैजसो अवस्थामा गोप्य वा खुफिया सम्बन्धहरू चलिरहन्छन् ।

मेरा केही विवाहित महिला साथीहरू छन् । तीमध्ये केहीले मलाई कहिल्यै घरमा निम्तो गरेनन् । सायद उनीहरूले मैले नाटकमा निर्वाह गरेका केही चरित्रहरू आम जीवनमा बारम्बार देखेका वा भोगेका छन् ।

पश्चिमी खुल्ला समाजमा मात्रै हैन विवाहइतरका सम्बन्धहरू आजको नेपाली समाजको विशेष बहस बनेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यो बहस खासमा कुनै परिवारभित्र वा कुनै औपचारिक समारोहमा भन्दा पनि बढी साहित्य र कलाले नै निम्त्याएको देखिन्छ । सायद कुनै यथार्थ घटनाका पात्रहरूलाई सीधै नमुछी कला र साहित्यले यस बहसलाई दुर्घटनारहित र बढी सार्थक रूपमा प्रस्तुत गर्ने क्षमताको कारणले यसो भएको होला ।

साँच्चैको जीवनमा त बहसभन्दा बढी दुर्घटना हुँदो हो यस्ता सम्बन्धहरूबाट । अथवा गोप्य नै रहँदो हो । हाम्रो समाजमा मनु ब्राजाकीको कथा 'तिम्री स्वास्नी र म' निक्कै चर्चित हुनुको कारण पनि यही होला । यो कथा आजको नेपाली समाजको निकै चासोको विषय हो । बीपीको उपन्यास तीन घुम्तीले पनि फरक परिस्थितिमा यस्तै विषय उठान गरेको छ । पिताम्बर जेल गएपछि उसकी श्रीमती इन्द्रमाया र पिताम्बरको साथी रमेशको सम्बन्धले निम्त्याएको इन्द्रमायाको हविगत बीपीले उपन्यास लेखेको समयभन्दा हामी यति पर आइपुग्दा पनि उही छ ।

आफू त्यति लामो समय जेल बस्न बाध्य बीपीले यस्तो उपन्यास लेख्ने दुस्साहस कसरी गरे ? उनको परिवारले यो उपन्यासलाई कसरी लियो होला भन्ने मलाई सधैं लागिरहन्छ । संसारमा यस किसिमका सम्बन्ध र चरित्रहरूमाथि कैयौं साहित्य लेखिएका छन् । फिल्म बनेका छन् । म भने केही नाटकहरूको प्रसंग यहाँ राख्दैछु । संयोगले मैले केही नाटकहरूमा त्यस्तै खुफिया स्वभाव भएका चरित्रहरू निर्वाह गर्ने अवसर पाएँ ।

यी नाटकहरूले दर्शकलाई मात्रै झक्झक्याएन । एउटा आम मानिसको रूपमा म आफैंले आफैंलाई नियाल्ने पाठशालाजस्तो भए ती चरित्रहरू ।

हेनरिक इब्सन्ले करिब एक सय २५ वर्षअघि लेखेको नाटक हेड्डा ग्याब्लर यस्ता खुफिया सम्बन्ध नियाल्ने एउटा राम्रो उदाहरण हो । एउटा सम्पन्न परिवारबाट आएकी आर्मी अफिसरकी छोरी हेड्डा ग्याब्लर आफ्नो सुनौलो यौवन उल्लासमा व्यथित गरिसकेपछि यस्तो प्राज्ञिक पुरुषसँग विवाह गर्न पुग्छे जो हनिमुनको बेला पनि आफ्नो नयाँ पुस्तकको रिसर्चमा व्यस्त हुन्छ ।

स्वभाव र विचारहरूको भिन्नताले हेड्डाले आफ्नो लोग्ने (टेसमन अर्थात् मदन कटुवाल) लाई कहिल्यै माया गर्न सकिन । हेड्डाका इच्छाहरू प्राध्यापक कटुवालबाट पूरा हुन सकेनन् । त्यसमाथि उनीहरू सधैं आर्थिक संकटमा थिए । यही वातावरणबाट सकेसम्म लाभ लिन खोज्ने चरित्र हो जर्ज ब्राक अर्थात् जय बोहरा । सम्पन्न व्यापारी जय बोहरा कटुवालको अत्यन्तै मिल्ने साथी हो । उसैले कटुवाल र हेड्डालाई आर्थिक सहयोग गरिरहन्छ ।

मित्रताको खोलभित्र लुकेर जय हेड्डासँग नजिक हुन्छ । कटुवाल घरमा नभएको बेलामा लुसुक्क आउँछ र हेड्डाको एक्लोपन र नैराश्यताको साथी बन्छ । यस चरित्रलाई अंग्रेजीमा अनस्क्रप्युलोस भनिएको छ । जसको अर्थ हुन्छ असंकोची, अविवेकी, अनैतिक कार्य गर्न तत्पर, चरित्रहीन । जय यस्तो मध्यमवर्गीय धनाढ्य पुरुष हो जो यौनक्रियाकलापको सौखिन छ ।

एक किसिमको यौन खेलाडी नै हो ऊ । बलबहादुर थापाले अनुवाद गरेको यस नाटकमा हेड्डाको भूमिकामा सरस्वती चौधरी, कटुवालको भूमिका विपिन कार्की र जयको भूमिका मैले निर्वाह गरेको थिएँ ।

कटुवाल नभएको मौका छोपेर जब जय बोहरा हेड्डाको कोठाको ढोकामा उभिएर एक मुस्कान छोड्छ दर्शकले उसको नियत ऊ कोठाभित्र पस्नु अघि नै चाल पाउँछन् । यस नाटकलाई युवा रंगकर्मी प्रवीण खतिवडाले निर्देशन गरेका थिए । नाटक अभ्यासको क्रममा उनले कलाकारलाई भनेका थिए तपाईंहरू सबै आफूभन्दा बिल्कुलै विपरीत चरित्रहरू निर्वाह गर्दै हुनुहन्छ ।

आफूमा यस्ता चरित्र ल्याउन गाह्रो छ । मेहनत गर्नुपर्छ । सबै कलाकारले निक्कै मेहनताका साथ आफ्नो चरित्र निर्माण गर्ने प्रयत्न गर्‌यौँ । तर मलाई ती पात्रहरू हामीभन्दा विपरीत छन् भन्ने कहिल्यै लागेन । यस नाटकका अरू पात्रहरू र आम मानिसमा पनि म निक्कै समानता देख्छु र जय बोहरामा म आम लोग्नेमान्छे पाउँछु । मैले जय बोहरा र यस्तै अरू चरित्रहरू निर्वाह गर्दा महसुस भयो, एउटा मान्छेभित्र मिश्रित संवेग र चरित्रहरू छिपेर बसेको हुने रहेछ । किनभने व्यक्ति आफैंमा समाज पनि हो । ऊभित्र सिंगै समाज छ । राम्रो नराम्रो, नैतिक अनैतिक, आचारी व्यभिचारी, देवता दानव, साँढे वा नगरवधू यी सबै रंगहरूभित्र म हुर्किएको छु ।

मात्र यत्ति हो मेरो चेतनाले कुन स्वभावलाई कति प्रतिशत स्थान दिएको छ । अर्को परिस्थिति वा पात्रले उक्साउँदा ती सुषुप्त संवेगहरू जाग्छन् कि जाग्दैनन् । मभित्र चोर पनि छ, हत्यारा पनि छ तर सुषुप्त छ । विवेकले ती चरित्रहरूलाई दबाएर राखेको छ । चेतनाशून्य भएको बेला ती स्वभावहरू जाग्छन् सायद । अवथा त्यसको विपरीत स्वभावहरू कमजोर भएको बेला ती सुषुप्त संवेगहरू बलिया भएर आउँछन् सायद ।

नाटकमा अभिनय गर्दा ती सुषुप्त रहेका संवेगहरूलाई चरित्रअनुसार जगाउने हो । मलाई त्यस्तो लाग्छ । तर, साँच्चैको जीवनमा त्यस्ता खुफिया संवेगहरू जागे भने के हुन्छ ? डरलाग्दो कुरा यही हो । त्यही भएर ओस्कार विजेता प्रसिद्ध अभिनेता ज्याक निकल्सनले जीवनको उत्तरार्धमा लेखेको आफ्नो बायोग्राफीमा भनेका छन् फिल्ममा अभिनय गर्नु बकवास हो । त्योभन्दा राम्रो अभिनय त हामी हरेक क्षण जीवनमा गरिरहेका छौं ।

उनका अनुसार अभिनय गर्नु भनेको आफूलाई लुकाएर अर्काको संवेग वा चरित्र देखाउनु हो । वास्तविक जीवनमा हामी झन धेरै त्यसै गर्छौं । आफ्नो भित्री अभिप्राय वा भित्री संवेग लुकाएर बढो ज्ञानी, बुद्धिमानी र चरित्रवान् देखिन खोज्छौं तर पटकपटक चिप्लिन्छौं । आफूभित्रका तिनै खुफिया चरित्रहरू आफ्नै चेतनालाई धकेल्दै तलमाथि गरिरहन्छन् । कुनै परिस्थिति वा अर्को पात्रले आफूभित्र लुकेर बसेका ती सुषुप्त संवेगहरूलाई सजिलै उत्तेजित गरिदिन्छन् ।

नाटकमा कुनै चरित्रको मिहिन विश्लेषण गर्दा लुकाएर केही लुक्न नसक्ने रहेछ भन्ने स्थितिमा पुगिन्छ । तर पनि लुकाउन खोज्नु वा लुकाएजस्तो गर्नु नै यथार्थ हो । त्यसैले ज्याक निकल्सनका लागि मञ्च वा फिल्ममा अभिनय गर्नु कुनै ठूलो काम हैन । त्यो सबैले गर्न सक्छन् । आम मानिस वास्तविक जीवनका सबैभन्दा महान् कलाकारहरू हुन् ।

त्यसो भए नाटकको जय बोहोरा मभित्रको आम पुरुष रहेछ । सायद त्यसैले उक्त भूमिका मलाई मभन्दा विपरीत लागेन । सायद साँच्चैको जीवनमा मेरो स्वभावको 'प्रिटेन्डिङ' कुशलतापूर्वक निर्वाह गरिएको थियो । मभित्रको जय बोहरा वास्तविक जीवनमा कसैले महसुस नगर्ने रहेछ । आम जीवनका यस्ता चरित्रहरू पनि छद्मभेषी नै हुन्छन् निर्देशकले मेरो बाहिरी आवरणलाई असल देखे । ज्याक निकल्सनका विचारप्रति म अनुग्रहित छु ।

अचेल साँच्चैका जीवन र यी नाटकका चरित्रहरूमा म खासै भिन्नता देख्दिनँ । हेनरिक इब्सन २० औं शताब्दीका यस्ता महान् नाटककार हुन् । उनले साँच्चैको जीवन र समाजका 'ग्रे' चरित्रहरूलाई यसरी नाटकमा उतार्छन् कि समाजमा प्रतिष्ठित मानिएका र बाहिरी रूपमा सफा देखिने आडम्बरीहरूको नैतिकताको धज्जी उडाइदिन्छन् । हरेक दर्शक उनका नाटक पढ्दा वा हेर्दा कतै न कतै आफैंलाई व्यंग्य गरेको पाउँछ ।

त्यसैले नैतिकताको कसीमा उभिएर हेर्दा जय बोहरा आम पुरुषको धज्जी उडाउने नकच्चरो चरित्र हो । तर आधुनिक समाजको एउटा सान र आधारशीला पनि हो ऊ । मान्छे अचेल 'ग्रे लाइन'मा छ । कालो र सेतो मिसिएको । नैतिकताको कसी नाप्ने कुनै थर्मोमिटर बनेको हुँदो हो त हरेक मान्छेलाई त्यस यन्त्रले अनैतिक देखाइ दिन्थ्यो । जसरी आजको नेपालमा हरेक मान्छे कुनै नै कुनै रूपमा भ्रष्टाचारको भागीदार छ । सामान्य जीवन बाँच्न पनि नियमहरूको उल्लंघन गरेकै हुन्छ हरेक नेपालीले । सडकहरू आधुनिक मापदण्डमा छैनन् तर नियमहरू आधुनिक मापदण्डमा छन् ।

मात्र कानुनको नजरमा को समातियो भन्नेमा भर पर्छ । खुफिया सबै चरित्रहरू समातिन्छन् नै भन्ने छैन । कटुवालले आफ्नै श्रीमती ताक्ने जय बोहराको चरित्र कहिल्यै पत्तो पाएन सायद । ट्राफिक पुलिसलाई छलेर भागेका 'सडक लेन' मिचुवा सवारीहरू जस्तो ।

काठमाडौंमा एकजना मलाई मनपर्ने प्रसिद्ध कवि छन् । उमेरले करिव ८० छुन लागेका । उनका अनुसार उनी र उनकी श्रीमती फरकफरक कोठामा सुत्छन् । उनी एक्लै सुत्नुको बहाना लेखन र अध्ययनको बनाउँछन् । तर कारण अर्कै हुन्छ । केही महिनादेखि नातिनी उमेरका फरकफरक दुई युवतीहरूसँग फोनमा उनको लामो कुराकानी हुन्छ । कुरा सबै विषयमा हुन्छ । उनले गर्नुपर्ने यत्ति हो ती युवतीहरूका मोबाइलमा साप्ताहिक रूपमा रिचार्ज ।

कहिलेकाहीँ तिनलाई छुट्टाछुट्ट ठाउँमा उनी लन्च वा डिनर लान्छन् । उनले गर्न सक्ने यत्ति हो । ती युवतीहरूलाई पनि थाहा छ । कविजीको अर्थोक चल्दैन । जीवनलाई सुन्दर बनाउने सम्बन्धका नयाँ रूपहरू हुन् यी । जिन्दगीको 'ग्रे एरिया'को मज्जा नै यहीँ छ सायद । आफ्नो कोठाभित्रको मोबाइल संवादको कथा बताइरहँदा कविजीले आफ्नी श्रीमतीको कोठामा के चलिरहेको छ भन्न सक्ने कुरै भएन । यो पुरुष विश्वास हो सायद वा पुरुष अन्धविश्वास हो ।

मैले त्योभन्दा बढी जान्ने इच्छा प्रकट गरिनँ । तर, यस्तो लाग्छ लोग्नेमान्छेहरू आफ्ना दबेर बसेका संवेग वा चरित्रहरूलाई लुकाएर राख्नै सक्दैनन् । मेरा एकजना नजिकका काकासँग मोटरसाइकल पछाडि बसेर लामो दूरीको यात्रामा थिएँ । बाटोमा टायर पम्चर भयो । उनी निक्कै गम्भीर हुँदै मलाई अर्ति दिए मानौं यो शिक्षा उनको लागि ठूलै विश्वविद्यालयको डिग्रीबाट प्राप्त छ । 'हेर केटा तीन 'म' को कहिल्यै विश्वास नगर्नु । मोटरसाइकल, मोबाइल र महिला ।'

उनको विचार सुनेर चाहिँ मलाई डर लाग्यो । यस्तो सिद्धान्त उनले कसरी कुन चेतनाले प्रतिपादन गरे ? यी काकाले उनको जिन्दगीको कुन अनुभवले यसो भन्दैछन् ? त्यही भएर ज्याक निकल्सनलाई फिल्मको अभिनयमा विश्वास गुमेको हुनुपर्छ । यिनले आफ्नै आमा, श्रीमती र छोरीचेलीहरूलाई कसरी हेर्ने रहेछन् त ? कुनै पनि नजिकको मान्छेको भित्र गडेर बसेको सोच जब यसरी थाहा हुन्छ अनि आफ्नै पुरुष चरित्रमाथि सन्देह हुन थाल्छ ।

केही वर्षअघिको कुरा हो हामी हेटौँडा बजारमा नारी नामको महिला हिंसासम्बन्धी कचहरी नाटक गर्दै थियौं । त्यस नाटकमा एउटा यस्तो दृश्य छ जहाँ स्कुले किशोरीहरू सार्वजनिक बस चढेर स्कुल गइरहेका छन् । केही युवाहरूले एउटी किशोरीको शरीरमा जथाभावी छुन खोज्छन् । यस्तो किन हुन्छ भनेर दर्शकलाई प्रश्न गरिन्छ ।

एकजना पुरुष बोल्छन्-'केटीहरू नै त्यस्तै हुन्छन्' । उनले दावाका साथ प्रतिशतमै भने-'९५ प्रतिशत महिलाहरू त्यस्तै स्वभावका हुन्छन् । त्यही भएर लोग्नेमान्छेले त्यस्तो व्यवहार गर्छन् ।' नाटक सकिएपछि उनीसँग मैले लामो कुराकानी गरेँ । मालवाहक ठूलो ट्रकका चालक उनी प्रायः राति ट्रक चलाउँदा रहेछन् । उनले संगत गरेका केही महिलाहरू हुन् राजमार्गका होटेल साहुनीहरू या त राति अफ्ठ्यारो परेर सित्तैमा ट्रकमा यात्रा गर्ने महिलाहरू ।

उनले संगत गरेका तिनै महिलाका आधारमा उनले ९५ प्रतिशत महिलाहरूलाई एउटा टोकरीमा हालेछन् । त्यसै भएर कुनै बस्तीको कुनै पनि पात्र भनेको ऊ हुर्किएको सिंगै समाज रहेछ । त्यस समाजको प्रवृत्ति र सोच रहेछ ।

जब नाटक तार्तुफ उर्फ झलेन्द्रप्रसादको लीलामा एल्मायर अर्थात् अम्बिका कार्की (पवित्रा खड्का) ले आफ्नो श्रीमान् खगेन्द्र केसीलाई झलेन्द्रप्रसादको असली रूप उजागर गर्ने परिपञ्च मिलाउँछे । भन्छे-'मानिसको आशक्ति र उन्मादले उसलाई जहिले पनि धोका दिन्छ ।' यस दृश्यमा छिर्नु अघि जब अम्बिकाको त्यो संवाद सुने, झलेन्द्रप्रसादको रूप धारण गरेको म हरेक दिनको नाटक मञ्चनमा झस्किएँ । झलेन्द्रप्रसादको आशक्ति र उन्मादले त उसलाई धोका दियो । मजस्ता आम मानिसको आशक्ति र उन्मादले हामीलाई कहाँ पुर्‌याउने हो ?

धार्मिक गुरुको रूप धारण गरेको झलेन्द्रप्रसादले ओर्गेन अर्थात् खगेन्द्रप्रसादको परिवारलाई धर्म र पुण्यको सम्मोहनमा पारेर सारा सम्पत्ति हत्याउन खोज्छ । खगेन्द्रप्रसाद झलेन्द्रको लीलामा यति लिप्त हुन्छ कि उसले आफ्नै छोरीको बिहे झलेन्द्रसँग गरिदिने निधो गर्छ । खगेन्द्रको सम्पत्ति आफ्नो नाममा नामसारी गरेर, ज्वाइँ बन्ने अवस्थामा पुगेको झलेन्द्रको आशक्ति र उन्माद यत्तिमै रोकिएको छैन । खगेन्द्रकी कान्छी श्रीमती अम्बिका (जो रूपवती छ) सँग यौनतृप्ति उसको अर्को लक्ष्य हुन्छ ।

आफ्नो श्रीमान्लाई टेबलमुनि लुकाएर अम्बिकाले कोठामा एक्लै भएको बहानामा झलेन्द्रप्रसादको धार्मिक र नैतिक आवरणभित्र लुकेको यौनलिप्सा र चरम यौन आशक्ति छ्याल्लब्याल्ल बनाइदिन्छे । आफूले महान् धार्मिक र नैतिक गुरु मानेको झलेन्द्रप्रसाद आफ्नै अगाडि आफ्नी श्रीमतीको सुन्दरतामा लठ्ठिएर कट्टुमा लाचार बर्बराइरहेको जब देख्छ उसका सबै भ्रम टुट्छन् । तर के खगेन्द्रप्रसादको झैं आम मानिसको भ्रम कुनै दिन यसै गरी टुट्छन् वा झलेन्द्रप्रसादहरूको धार्मिक जालोमा लठ्ठिएरै जीवनलीला समाप्त गर्छन् ?

सत्रौं शताब्दीको मध्यतिर फ्रान्सेली प्रसिद्ध नाटककार मोलियरले लेखेको यो नाटकले तत्कालीन युरोपको धार्मिक आडम्बरीहरूमाथि ठूलो प्रहार गरेको पाइन्छ । आज पनि पोप र पादरीको पदमा बसेर हजारौं बच्चाहरूलाई यौन दुव्र्यवहार गर्ने धार्मिक आडम्बरीहरू त्यो समाजमा घटेका छैनन् । मेघराज अधिकारीले नेपालीमा अनुवाद गरेको र युवा रंगकर्मी गंगाप्रसाद तिवारीले निर्देशन गरेको यो नाटकलाई हामीले हिन्दु समाजको परिवेशमा रूपान्तरण गरेका थियौं ।

नेपाल, भारतजस्ता मुलुकमा यस्ता धार्मिक खोल ओढेर धर्म र पुण्यको प्रवचन दिँदै हिँड्ने कथित गुरुहरूको लम्पट चरित्र मैले आम मानिसका माझमा एक महिनासम्म निर्वाह गरेँ । नाटक हेरिसकेपछि प्रसिद्ध रंगकर्मी अनुप बरालले भने- 'त्यस्तो चिप्लो र मुलायम चरित्र कसरी ल्यायौं ? राम्रो लाग्यो ।' मैले यो चरित्र खोज्न पनि कतै पर जानु परेन । मैले नाटकमा निर्वाह गरेका जति पनि 'ग्रे लाइन'का चरित्रहरू छन्, मैले आफैंभित्रबाट झिकेँ ।

मैले निर्वाह गरेका नाटकहरू कथान्तरको जग्गा दलाल, हेड्डा ग्याब्लरको जय बोहरा, तार्तुफको झलेन्द्रप्रसाद होस् वा माधवीको गालब यी तिनै चरित्रहरूले दर्शकलाई मप्रति आक्रोश उब्जाएको छ । केही दर्शकले यसो पनि भने- कस्तो रिस उठ्दो पात्र, मलाई त चड्कन लाइदिउँ जस्तो लागेको छ ।

 

वास्तविक जीवनमा घटिरहने आम पुरुषको व्यवहारले भने आफैंलाई सशंकित बनाउँछ । किनभने हामी जति असल भएको 'प्रिटेन्ड' गरे पनि, जति बौद्धिक बहस गरे पनि हिंसा घटेको छैन । नेपाली समाजमा सबैभन्दा बढी लैंगिक समानता र यौनहिंसाको बहस भएको समय हो यो सायद । तर पुरुष मानसिकता र सोच चट्टानजस्तो जमेर बसेको छ मैले निर्वाह गरेका चरित्रहरू जस्तै ।

मेरी एकजना स्कुले साथी स्टाफ नर्स छिन् काठमाडौं बाहिरको एउटा प्रसिद्ध अस्पतालमा । उनीसँग फोनमा कुरा भइरहन्छ । उनले धेरैपछि मात्रै मलाई सत्य कुरा भनिन्, उनका श्रीमान् जागिरको सिलसिलामा विदेशमा रहेछन् । उनले मलाई एकदिन कुरैकुरामा भनिन्- 'तिमी मसँग कुनै निश्चित स्वार्थले कुरा गर्दैछौ जस्तो लाग्छ ।' पुरुष मानसिकता र व्यवहारबाट पीडित यी साथीको ममाथिको शंकालाई बडो स्वाभाविक ठानेर म आफैँसँग लज्जित हुन्छु ।

पश्चिमी खुल्ला समाजमा मात्रै हैन विवाह इतरका सम्बन्धहरू आजको नेपाली समाजको विशेष बहस बनेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यो बहस खासमा कुनै परिवारभित्र वा कुनै औपचारिक समारोहमा भन्दा पनि बढी साहित्य र कलाले नै निम्त्याएको देखिन्छ ।

ठीक हो, ममात्रै कसरी असल भएको स्पष्टीकरण दिन सक्छु ? जब मैले मञ्चमा जय, झलेन्द्र वा गालबजस्ता आम पुरुष बाँचिसकेको छु । मैले मञ्चमा बाँचेका चरित्रहरूले अहिले बाँचिरहेको मलाई प्रश्न गर्छन्- 'एउटा पुरुषले एउटी विवाहित महिलालाई साथी बनाउन सक्छ ? वा एउटी युवतीले एउटा विवाहित पुरुषलाई साथी बनाउन सक्छे ? वा विवाहित पुरुष वा महिलालाई किन घर बाहिर अर्को विपरीत लिंगी साथी चाहिन्छ ? के यो मित्रतामा यौनशून्य हुन्छ वा यौन स्वाभाविक हो ? ती नाटकका चरित्रहरू मभन्दा बलिया भएर आउँछन् । र, तिनलाई म उत्तर दिन सक्दिनँ ।

मेरा केही विवाहित महिला साथीहरू छन् । तीमध्ये केहीले मलाई कहिल्यै घरमा निम्तो गरेनन् । सायद उनीहरूले मैले नाटकमा निर्वाह गरेका केही चरित्रहरू आम जीवनमा बारम्बार देखेका वा भोगेका छन् । कल्पना गर्छु- मेरी निक्कै मिल्ने विवाहित केटी साथीले कुनै दिन अचानक लन्चको लागि मलाई उसको घरमा बोलाउँछे । उसको श्रीमान् कामको कारणले घर बाहिर छ । आतिथ्य ग्रहण गर्दै म साथीको घर पुग्छु । उसले स्वागत गर्छे ।

लिभिङ रूपमा मधुरो संगीत बजिरहेको छ । त्यहाँ हामी दुई जनामात्रै छौँ । जब म उसको स्वर र शरीरमा केही घबराहट देख्छु । ऊभित्र शंका रुमल्लिरहेको महसुस गर्छु । म पुरुष भएकोमा लज्जित हुँदै त्यस ठाउँबाट भाग्छु । लन्च नै नगरी । मलाई थाहा छ तपाईं मेरा चरित्रहरूभन्दा निक्कै असल हुनुहुन्छ । तपाईं मैले जस्तो गर्नुहुन्न । तपाईं लन्च गर्नुहुन्छ ।

डिनर गर्नुहुन्छ र सायद रातै बिताएर भोलिपल्ट बिहान एउटा महान् पुरुषार्थीझैं जुँगामा ताउ लाउँदै आफ्नो घर फर्किनुहुन्छ । मलाई भने मैले नाटकमा निर्वाह गरेका ती 'ग्रे चरित्र'हरूको दुस्साहसपूर्ण सम्बन्ध देखेर डर लाग्छ । सावधान अचेल सधैं लोग्नेमान्छे शंकाको घेरामा छ । म आफैंभित्र अर्को अझै कुरूप चरित्र सल्बलाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.