रंगमञ्चकी नदी

भदौ अन्तिम साताको एक अपरान्ह । मण्डला थिएटर, अनामनगर पुग्दा भदौरे घामको चिड्चिडाहटलाग्दो चुर्याइँदोपनबाट शीतलताको आनन्ददायी संसारमा प्रवेश गरेको अनुभूत हुन्छ । शीतलता मण्डला थिएटरको छानोको छायाले मात्रै होइन, रंगकर्मी सरिता गिरीको सम्पूर्ण मुस्कानले पनि पैदा गरेको छ । थिएटरको चोटामा पुग्दा फैलिएको उनको उन्मुक्त हाँसोले त एकै निमेषमा वातावरण अनौपचारिक र सहज बन्छ ।
त्यही वातावरणमा सरितालाई जीवनका विभिन्न कालखण्डको 'नोस्टाल्जिया' बल्झाइदिन्छु । ती कालखण्ड सम्झनामै बाँच्दा पनि उनी कहिले कुलकुलाउँदो हाँसोमा रमाउँछिन्, कहिले ओसिलो सीमसार बनेर सुसाउँछिन् । समग्रमा मज्जा मान्छिन्, ठान्दी हुन्- जीवनको समग्रता पनि त कम्ती मज्जाको छैन । सम्झनाको बहानामै सही, जीवनको एउटा मीठो क्षण बाँचे जसरी उनी भन्छिन् 'अहा, त्यो गुरुकुलको डाँडो, ती दिनहरू !'
पुरानो बानेश्वरस्थित गुरुकुल थिएटर, जसले आफ्नो भौतिक उपस्थिति गुमाएको आधा दशक नाघिसकेको छ, त्यहाँ सरिताले जीवनको ऊर्जाशील एक दशक बिताइन् । उनी जब सम्झनाको नदीमा डुंगा खियाउन थाल्छिन्, त्यतै पुग्छिन् । अहिलेसम्मको जीवनमा उनले भोगेका चरम दुःख र सुख त्यहीँ भेटिन्छन् । तिनैलाई सुम्सुम्याउँदा उनलाई समग्रमा आनन्द आउँछ । त्यही आनन्दको तटस्थ साक्षी बस्छु केहीबेर ।
०००
रंगकर्मी हरिहर शर्माले डेढ दशकअघि सरिता गिरीलाई धाप मार्दै भनेका थिए, 'तिमी लङ रेसको घोडा हौ ।' एसएलसी परीक्षा दिएर फुर्सदको समय उपयोगका लागि वीरेन्द्र हमाल नेतृत्वको एम आर्ट थिएटरमा कक्षा लिइरहेकी सरिता प्रारम्भिक चरणमै शर्माको आँखामा परेकी थिइन् । तर त्यतिबेला सरितालाई आफ्नै 'रेस'बारे पत्तो थिएन । जीवनमा रंगमञ्चलाई नै मूलबाटो बनाउँछु भन्ने कुनै सपना थिएन । तर शर्माले सरिता हिँड्ने बाटो देखिसकेका थिए । एउटा अब्बल गुरुमा त्यस्तो क्षमता हुन्छ नै ।
शर्मा अहिले सरितालाई भेट्दा भन्छन्, 'मैले सही भनेछु है त्यो बेला । १५ वर्षको समय छोटो होइन ।' डेढ दशक निरन्तर दौडिरहेर सरिताले साँच्चै नै आफ्नो लामो दौडको प्रमाण दिइरहेकी छिन् । उनको दौड संख्यात्मक र गुणात्मक दुवै हिसाबले तीव्र गतिमा छ । उनले अभिनय गरेका दुई सय हाराहारीका नाटक र त्यसमार्फत छाडिएका फरक-फरक चरित्रको छाप त्यही गतिको निशानी हो ।
०००
सरिताको नाट्ययात्रा वीरेन्द्र हमाल नेतृत्वको एम आर्ट थिएटरबाट सुरु भएको हो । २०५५ सालमा एसएलसी परीक्षा दिँदासम्म उनले मार्सल आर्टमा ब्ल्याकबेल्ट पाइसकेकी थिइन् । स्कुलका अतिरिक्त क्रियाकलापमा उनको प्रस्तुति अब्बल हुन्थ्यो । त्यसलाई नियालिरहेका सरिताका बुबाका साथी वीरेन्द्रले प्रस्ताव गरे, 'परीक्षापछिको खाली समयमा छोरीलाई थिएटर कक्षामा पठाउनुस् ।'
व्यवसायको सिलसिलामा देश-विदेश डुले-घुमेका शिक्षित उनलाई कुनै आपत्ति थिएन । उनीमा आफ्ना छोराछोरीले चाहेअनुसारको गर्न दिनुपर्छ भन्ने चेतनाको कमी थिएन । दुई छोरी, दुई छोरामध्ये माइली सरिता, बुबा र आमाको त्यही चेतनाले दिएको स्वतन्त्रता उपयोग गर्दै थिएटर कक्षा लिन थालिन् ।
कक्षा लिन थालेको एक महिना पनि हुन पाएको थिएन, विजय मल्लको नाटक 'पत्थरको कथा' नाटकमा अभिनयको मौका पाइन् । त्यतिमात्रै होइन, नाटक पोखरामा हुने राष्ट्रव्यापी प्रतियोगितामा सहभागी भयो र पुरस्कृत पनि । त्यसबेला जब सयौं दर्शकले उनलाई ताली बजाए, उनको हृदयले बोल्यो- यो त गज्जबकै काम रहेछ ।
पोखराबाट फर्किसकेपछि नाटककार बालकृष्ण समको सम्झनामा आयोजित नाटक प्रतियोगितामा उनले एकल प्रस्तुति दिइन् । नाटक थियो समकै 'स्वास्नीमान्छे' । त्यसमा पनि उनले उत्कृष्ट अभिनयका लागि अवार्ड पाइन् । धेरै अग्रजको धाप पाइन्, प्रोत्साहन पाइन् । त्यसरी, आफ्नो भविष्यको बाटो चुन्नुपर्ने दोधारको समयमा उनीसामु रंगकर्म उज्यालो संकेतसहित उपस्थित भइदियो । अरू त केही हेरिनन् पनि उनले त्यसबेला, रंगक्षेत्रमा पाइने नाम र सम्मानको चमकले भने आकर्षित भइसकेकी थिइन् ।
एम आर्ट थिएटरमा काम गर्दागर्दै उनीसहितको समूहले रंगकर्मी सुनिल पोखरेललाई भेट्यो । समूहलाई सुनिल पोखरेलले आफ्नो सपना सुनाए, आवासीय नाट्य प्रशिक्षण तथा रंगकर्मको । त्यो आकर्षक सपनामा समाहित हुन तयार भयो समूह ।
त्यसपछि सुनील नेतृत्वको आरोहणमा सरिताको यात्रा सुरु भयो । आरोहणले पुरानो बानेश्वरमा गुरुकुल थिएटर तयार गर्यो । त्यहाँ सरितासहित १४ जनाको समूह दुईवर्षे आवासीय प्रशिक्षणमा सहभागी भयो । गुरुकुलको आवासीय दैनिकीमा उनले नाटक चिनिन्, नाट्यकर्म चिनिन्, नाटकको इतिहास थाहा पाइन् र आफ्नै जीवन पनि थाहा पाइन् ।
उनले त्यहीँ पढिन् ग्रिसदेखि नेपालसम्मको नाटक-इतिहास । त्यही भेटिन् अभि सुवेदी, शिव रिजाल, गोपाल गुरागाईं, चन्द्रमान मुनिकार । सौगात मल्लजस्तो साथी त्यहीँ भेटिन्, हात समातेर नृत्य सिकाउने राजन खतिवडा दाइ त्यहीँ भेटिन् । सत्यमोहन जोशी, प्रचण्ड मल्ल, हरिहर खनाल, अनुप बराल आदिलाई पनि त्यहीँ भेटिन् ।
सबै भेटले उनको नाटक-यात्रालाई चाखलाग्दो, रमाइलो र अनिवार्य बनाइदियो । उनी त्यो समयलाई आफ्नो र समग्र नेपाली नाटक इतिहासकै 'सुनौलो समय' भन्छिन् ।
०००
आरोहणमा सरिताको नाटक-यात्रा निकै गतिका साथ सुरु भयो । गुरुकुल बन्नुअघिदेखि नै नाटक मञ्चन हुन थाले । त्यसबेला रसियन कल्चर सेन्टरका साथै भारत, बंगलादेशलगायत देशमा मञ्चित 'आरूका फूलका सपना', 'जात सोध्नु जोगीको' जस्ता नाटकले उनलाई नाटकको गहिराइबोध गरायो ।
गुरुकुलको आवासीय कार्यक्रम सुरु भएपछि गरिएको पहिलो नाटक 'अग्निको कथा'लाई त उनले आफ्नो जीवनमा सबैभन्दा बढी प्रभाव पारेको नाटकको सूचीमा पहिलो नम्बरमै राखेकी छिन् ।
उनी सम्झन्छिन्, 'निशा दिदीलाई मूख्य भूमिका दिइएको थियो । तर मैले पाएको भूमिका दिदीलाई पनि गर्न मन लागेको रहेछ । उहाँले त्यो कुरा प्रकट रूपमै भन्नुभयो ।' तर निर्देशक सुनील पोखरेलले भूमिका परिवर्तन गरेनन् । मुख्य भूमिका अझ जटिल भएकाले निशाले नै गर्नुपर्छ भन्ने तर्क उनको थियो ।
सरितालाई दिइएको चरित्र पनि निकै जटिल मनोदशाको थियो । उनलाई चरित्र निकै साहित्यिक र बौद्धिक लागिरहेको थियो । त्यसैले उनलाई लामो समय संशय भइरह्यो, आफूले राम्रो गर्न नसकेकोले रंगकर्मी निशा शर्माले त्यसो भन्नुभएको हो कि भन्ने ! उनले निर्देशक पोखरेललाई सोधिन् पनि । 'त्यसो होइन, उनलाई पनि त्यो भूमिका राम्रो लागेर भनेकी हुन् ।' यो जवाफले उनलाई आफूले पाएको भूमिका 'भयंकर' रहेछ भनेर गर्व पनि लाग्यो, चुनौतीबोध पनि भयो ।
नाटकको पहिलो शो कलकत्ताको बरमपुरमा भयो । त्यसबेला गुरुकुलको थिएटर हल बन्दै थियो । हल बनिसकेपछि यहाँ पनि 'अग्निको कथा'को दजैनौं सो भए । उनी त्यसबेलासम्म पनि आफूले गरेको कामबारे विश्वस्त हुन सकेकी थिइनन्, त्यसैले नाटककार अभि सुवेदीलाई सोधिन्, 'मैले चरित्रलाई न्याय गर्न सकेकी छु र सर ? '
सुवेदीले धाप मार्दै भने, 'एकदम न्याय भएको छ ।' त्यसपछिमात्रै उनले चैनको सास फेरिन् ।
चरित्रलाई लिएर गर्ने यस्तै चिन्ता नै सरिताको मूल परिचय हो । त्यसैमा उनको परिचान पनि स्थापित छ । हरेक नाटकमा फरक चरित्रसहित देखिने कलाकारको सूचीमा उनको नाम पहिलो पंक्तिमै भेटिनु त्यसैको प्रमाण हो । उनी गुरुकुलकालीन समय सम्झन्छिन्, 'मैले त्यहाँ सोलो नाटकमा बाहेक लिड रोल गरिनँ । तर जुन भूमिका गरेँ, त्यसलाई न्याय गर्न सम्पूर्ण मेहनत गर्थें । मलाई लाग्थ्यो- यो अरूले गर्न नसकेको भूमिका हो । त्यसैले मैले कुनै हालतमा न्याय गर्नैपर्छ ।' नभन्दै उनले कहिल्यै 'गुरु'लाई निराश बनाइनन् ।
उनले गुरुकुलमा धेरै अवसर पनि पाइन् । अनेकौं कार्यशालामा सहभागी हुने मौका पाइन् । नर्वे, डेनमार्क, स्विडेन, जर्मन, पेरिस, यूएस, यूकेलगायतका देशका प्रशिक्षकको प्रशिक्षण पाइन् । कार्यशाला र नाटक मञ्चनको लागि विभिन्न देश पुगिन् । उनी भन्छिन्, 'त्यस्तो अवसर न कुनै पुस्ताले पाएको थियो, न अबको पुस्ताले पनि पाउँछ ।'
०००
सरिताले गुरुदक्षिणा, नागरिक, रेड मनसुन, वधशाला, आचार्य, सुनगाभाजस्ता चलचित्रमा अभिनय गरेकी छिन् । गुरुकुलको आवासीय प्रशिक्षण अवधिमा बाहिर काम गर्न पाइँदैनथ्यो । तर त्यस अवधिमा पनि उनले सिनेमालाई बुझ्ने मौका पाइन् छोटो सिनेमा 'नबर्सेको झरी'बाट । त्यसमा उनले पहिलोपटक 'क्यामेरा फेस' गरिन् ।
जब दुर्इ वर्षको आवासीय अवधि सकियो, सिनेमामा प्रस्तावहरू आउन थाले । त्यस क्रममा उनले अभिनय गरेको पहिलो सिनेमा हो- गुरुदक्षिणा । त्यसमा उनले आफ्नो 'क्लासमेट'का काका रमित ढुंगानाको आमाको भूमिकामा अभिनय गरेकी थिइन् । काकाको पनि आमाको भूमिका निर्वाह गर्नुपर्दा उनलाई रमाइलो पनि लाग्यो, अचम्म पनि । त्यसै सिनेमाबाट उनले उत्कृष्ट चरित्र अभिनेत्रीको अवार्ड पनि पाइन् ।
त्यसो त उनले सिनेमामा खास रहर गरिनन् । किनकि उनलाई नाटक सिर्जनशील लाग्छ, सिनेमा प्राविधिक । उनलाई लाग्छ, नाटकमा धेरै नै सिक्न सकिन्छ । भन्छिन्, 'यदि सिनेमातिर लागेको भए अहिले बोक्सीको घरजस्तो नाटक गर्ने क्षमता राख्न सक्दिनथेँ हुँला । जसरी अहिले दयाहाङ राई, सौगात मल्ललगायतले नाटक गर्छु भन्दा पनि समय मिलाउन सक्दैनन् । त्यस्तै हुन्थेँ कि !'
त्यसो त सिनेमाले आफूलाई चिनाउन नसकेको कुरा पनि उनी स्वीकार्छिन् । तर यसमा उनलाई कुनै दुःख छैन । 'रंगमञ्चको जुन स्थानमा छु, त्यसले सिनेमाको लोभ नै निष्क्रिय पारिदिन्छ । सिनेमाको पछि लागेँ भने रंगमञ्चको पहिचान गुमाउँछु कि भन्ने लाग्छ,' उनले आफ्नो चिन्ता प्रकट गरिन् ।
०००
वास्तवमै थिएटर कलाकारको जीवनमा एउटा सुविधा हुँदैन, जुन अरू कर्म गर्नेलाई हुन्छ । उसले चाहेर पनि कुनै 'अफिस टाइम' निर्धारण गर्न सक्दैन । हरेक समयमा आफूले भूमिका निर्वाह गर्ने चरित्रलाई मस्तिष्कमा खेलाएर हिँडिरहनु आवश्यकता र बाध्यता दुवै बनिरहेको हुन्छ ।
त्यसैले सरिता कहिले स्कुटर हाँक्दाहाँक्दै बोलिरहेकी भेटिन्छिन् । कहिले भान्सामा रोइरहेकी त, कहिले बेपत्तै हाँसिरहेकी हुन्छिन् । जब नाटकको चरित्रले मनमस्तिष्कमा राज गर्छ, त्यसबेला उसैको जीवन बाँच्नु स्वाभाविक हो । उसकै सुख-दुःखमा रुमलिनु बाध्यता र आवश्यकता दुवै हो । कति चरित्रसँग चाहिँ विचार नमिलेर झगडा पर्छ । अघिल्ला चरित्रले पछिल्ला चरित्रलाई हियाइरहेको अनुभूत हुन्छ । सरिता आफैंलाई पनि पहिलाका चरित्र कमजोर लाग्दै जान्छन् र नयाँ चरित्रले सम्मोहित पार्दै जान्छन् ।
सुलक्षण भारतीको लेखन र निर्देशन रहेको उनको 'सोलो' नाटक 'बोक्सीको घर' गत महिना मण्डला थिएटरमा मञ्चन भयो, यसै साता भारतको मुम्बइमा मञ्चन हुँदैछ । सरिता 'बोक्सीको घर'मा अभिनय गर्दाको अनुभव सुनाउँछिन्, ''मैले चार सोलो नाटक गरेँ । सबै नारीवादी नै छन् । तर पछिल्लो नाटक बोक्सीको घर गरिसकेपछि लाग्यो- अघिल्ला चरित्रलाई त यसले ढालिदिइहाल्यो नि । यसरी आफैंले निर्वाह गरेका चरित्रहरूको पनि तुलनात्मक अध्ययन हुन्छ ।'
सरिता कहिले स्कुटर हाँक्दाहाँक्दै बोलिरहेकी भेटिन्छिन् । कहिले भान्सामा रोइरहेकी त, कहिले बेपत्तै हाँसिरहेकी हुन्छिन् । जब नाटकको चरित्रले मनमस्तिष्कमा राज गर्छ, त्यसबेला उसैको जीवन बाँच्नु स्वाभाविक हो । उसकै सुखदुःखमा रुमलिनु बाध्यता र आवश्यकता दुवै हो । कति चरित्रसँग चाहिँ विचार नमिलेर झगडा पर्छ ।
यस्ता सबै द्वन्द्वलाई पचाएर साथी, घरपरिवारलगायतसँग सामान्य व्यवहार गर्नु आफैंमा सामान्य होइन । त्यसैले सरिता कतिपय नाटक गर्दा केही समय आराम गरेरमात्रै बाहिर भेटघाटमा निस्कन्छिन् । 'आरूका फूलका सपना नाटक गर्दा म आधा घन्टापछिमात्रै ब्याकस्टेजबाट बाहिर निस्कन्थें । चरित्रले मलाई यसरी छोपेको हुन्थ्यो कि बाहिर निस्कन मलाई निकै गाह्रो पथ्र्यो', उनी सम्झन्छिन् ।
त्यसो त थिएटरको 'ब्ल्याकबक्स'बाट बाहिर पनि सरिता विभिन्न चरित्र निर्माण गर्छिन । ती चरित्रले थिएटरको चरित्रबाट बाहिर निस्कन सहयोग पुर्याउँछ । कहिले बिहानैदेखि भान्सामा व्यस्त हुन्छिन् । कहिले भान्साका सामान किनमेल गर्न बजार जान्छिन् । कहिले पशुपतिको डाँडामा बसेर घाटमा जलिरहेका चिताको धुवाँसँगै मन उडाइरहेकी भेटिन्छिन्, कहिले इरानी सिनेमामा डुबिरहेकी ।
कहिले कालजयी नेपाली-हिन्दी गीत सुन्छिन् त कहिले नयाँ पुस्ताको गीतमा झुम्छिन् । कहिले किताबमा डुब्छिन् । यी सबै गर्दा पनि तार नलाग्ने परिस्थिति भइदियो भने विपश्यना ध्यान शिविर पुग्छिन् र दस दिन सम्पूर्ण रूपमा आफूलाई खोज्छिन् । त्यसपछि बल्ल रंगमञ्चमा फर्किन्छिन् र आफ्नो गति कायम राख्छिन् ।
यही गतिलाई कायम राख्दै अब उनीसँग आफ्नो बौद्धिक 'ब्याकअप' बढाउन 'मास्टर्स' अध्ययन गर्ने धोको त छ नै, त्योभन्दा ठूलो सपना छ- आफ्नै जग्गा भएको नाटकघर बनाउने ताकि गुरुकुलले जसरी छोडेर जान नपरोस् । त्यसको लागि उनीसँग अहिले केही पनि छैन, तर अठोट छ, 'मलाई नै थाहा छैन, म मेरो सपना कसरी पूरा गर्छु । समय लाग्ला, तर गर्नचाहिँ निश्चय नै गर्छु ।'
सरिता अर्थात् नदी ! निरन्तर बहेर समुद्रतिर यात्रा गर्नुको बिम्ब । सरिता पनि नेपाली रंगमञ्चकी नदी हुन्, यसरी बगिरहेकी छिन् आफ्नै गतिमा समुद्र भेट्न ।
प्रतिक्रिया दिनुहोस !
