जसले मार्खेज चिनाए
एक अनुवादक, जसले सन् १९४८ देखि १९६९ सम्म कोलम्बिया विश्वविद्यालयमा अध्यापन गरे । पछि क्विन्स कलेजको फ्याकल्टीसँग आबद्ध भएर सन् २००७ मा सेवानिवृत्त भए । स्नातक तहको विद्यार्थी हुँदा नै उनलाई भाषासित माया बस्यो । त्यहीँबाट उनले सन् १९४५ मा रोमन भाषामा स्नातकको डिग्री हासिल गरे । पछि कोलम्बियन युनिभर्सिटीमा अध्यापनको बेला उनमा अनुवादप्रति भोक जाग्यो । अहिलेसम्म अनुवादकै दुनियाँमा रमाइरहेछन् ।
अनुवाद गर्ने उनको आफ्नै तरिका थियो । प्रायः अनुवाद गर्नुपर्ने किताब उनले कहिल्यै पहिले पढेनन् । उनी सीधै पहिलो पानामा पुग्थे र अनुवाद गर्न सुरु गर्थे । प्लट फेरिएला भन्ने विचारै नगरी । यस बानीबारे उनी भन्थे, 'यसरी गर्दा पहिलोपटक पढ्दा पाउने नयाँपन अनुवादमा आउँछ र अरूले पनि उही अनुभूति प्राप्त गर्न सक्छन् ।'
उनी कक्षामा कुनै एक विद्यार्थीलाई केही लेखांश अंग्रेजीबाट कुनै पनि भाषामा अनुवाद गर्न दिन्थे । पछि त्यही अनुवादलाई त्यो भाषाबाट फेरि अंग्रेजीमा अनुवाद गर्न कुनै अर्को विद्यार्थीलाई अह्राउँथे । यसरी दुइटा अंग्रेजी अनुवादलाई दाँज्थे । आएको फर्क नियाल्थे र अनुवाद मूल रचनाभन्दा कति फरक बनेको छ भनी जाँच्थे । भन्ने गर्थे, 'अनुवादले मूल रचनाको बराबरी कहिल्यै गर्न सक्दैन; नजिक आउने कोसिस गर्नसक्छ र यसको क्षमतामात्रै उसले हासिल गरेको शुद्धताबाट जाँच्न सकिन्छ ।'
यी व्यक्ति हुन्, विश्वप्रसिद्ध अनुवादक ग्रेगरी रबस्सा । किताब र भाषाकै बीचमा यिनले जिन्दगी बिताए । चर्चित कोलम्बियाली लेखक गैब्रियल गार्सिया मार्खेजको उपन्यास 'वन हन्ड्रेड इयर्स आफ सालिट्युड'को अंग्रेजी अनुवाद यिनले नै गरेका हुन् । त्यसपछि बल्ल उक्त उपन्यास संसारभर पुगेको हो । उनले मार्खेजका पाँचवटा किताबसहित अर्जेन्टियाली उपन्यासकार जलियो कोर्टाजार को 'होप्सकोच' र मारियो भरगास लोसाको 'कन्भरसेसन इन द क्याथर्डल' र प्रसिद्ध ब्राजिली उपन्यासकार जोर्ग अम्दोका उपन्यासहरू अनुवाद गरे । ग्रेगरीले निकै जतनका साथ ल्याटिन-अमेरिकी लेखकलाई अंग्रेजी पाठकमाझ लिएर आए । यसरी ल्याटिन-अमेरिकी साहित्यलाई अंग्रेजी पाठकसम्म ल्याउने श्रेय यिनैलाई जान्छ । उनै रबस्साको मृत्यु जुन १३, २०१६ मा ९४ वर्षको उमेरमा भयो ।
उनको जन्म मार्च ९, १९२२ मा योन्कर्स, न्युयोर्कमा भएको थियो । बुवा क्युबामा जन्मेका चिनी व्यापारी थिए । आमा कालरा न्युयोर्ककी थिइन् । बाको व्यापार डुबेपछि उनीहरू हनोवरको छेउ एक फार्ममा सरेका थिए । त्यहाँ गेस्ट हाउस सुरु गरे । उनको बाल्यकाल न्यू हैप्सयारको गाउँमा बित्यो । दोस्रो विश्वयुद्धको समयमा उनले 'अफिस अफ स्ट्याटेजिक सर्भिसिज'मा एक क्रिप्टोग्राफरका रूपमा इटाली र उत्तरी अफ्रिकामा सेवा गरे । क्रिप्टोग्राफरका रूपमा उनको काम शत्रु पक्षको गुप्त सन्देश डिकोड गर्नु हुन्थ्यो ।
इटाली बसाइका दौरान यिनले इटालियन भाषा र साहित्यको ज्ञान हासिल गरे । सैन्य पेसा छोडेपछि उनले सन् १९४७ मा स्पेनिस भाषामा मास्टर्स डिग्री गरे । पछि सन् १९५४ मा ब्राजिलमा बस्दा उनले पोर्चुगिज भाषा र साहित्यमा विद्यावारिधि पनि गरे ।
०००
सन् १९६० को सुरुआतमा उनले 'उडेसी रिभ्यु' नामक पत्रिकामा सम्पादकका रूपमा नियुक्ति पाए । यस पत्रिकामा युरोप र ल्याटिन-अमेरिकाबाट आएका सिर्जनाले ठाउँ पाउँथे । यस पत्रिकामा उनले गर्ने गरेका अंग्रेजी अनुवादमाथि 'पैन्थियोन बक्स'को सम्पादकको ध्यान पर्यो । उनलाई अर्जेन्टिनी उपन्यासकार जलिया कोर्टाजारको 'होप्सकोच'को अनुवादका लागि अनुरोध गरे । यस उपन्यासको स्पेनिस नाम 'रयला' हो । यही बेला सन् १९६७ मा 'होप्सकोच'ले राष्ट्रिय पुस्तक अवार्ड प्राप्त गर्यो ।
कोर्टाजार रबस्साले गरेको अनुवादबाट यत्ति प्रभावित भएपछि उनले अर्को लेखक गार्सिया मार्खेजलाई आफ्नो किताबको अंग्रेजी अनुवाद रबस्साबाट गराउन भने । रबस्सा त्यसताका निकै व्यस्त थिए त्यसैले मार्खेजले आफ्नो उपन्यास 'वन हन्ड्रेड इयर्स आफ सालिट्युड'लाई अनुवाद गराउन तीन वर्ष पर्खनु परेको थियो । आज मार्खेजको यो उपन्यास बीसौं शताब्दीको मास्टरपिस बनेको छ । जो पचास लाखभन्दा धेरै बिक्री भइसकेको छ । मार्खेजले सन् १९८२ को नोबेल साहित्य पुरस्कार पनि थापे ।
रबस्साले मार्खेजका पाँचवटा अरू किताब पनि अनुवाद गरेका छन्, जसमा 'अटम अफ द पैर्टियच' र 'क्रोनिकल अफ अ डेथ फोरटोल्ड' पनि सामेल छन् । रबस्साले लगभग साठीवटा साहित्यिक कृति अनुवाद गरेका छन्- स्पेनिस र पोर्चुगिज भाषाबाट । यिनमा ब्राजिली लेखकहरू जोर्ग अम्दो र क्लेरिस लिसपैक्टोर, चारजना स्पेनिस भाषाका नोबेल साहित्य पुरस्कार विजेता- गैब्रियल गार्सिया मार्खेज, पेरुबाट भर्गास लोसा, मेक्सिकोबाट ओक्टाभियो पाज र ग्वाटेमालाबाट मिगेल एन्जेल अस्तुरियस हुन् ।
०००
कृति अनुवादका लागि रबस्साले थुप्रै सम्मान र पुरस्कार पाएका छन् । उपन्यासकार गैब्रियल गार्सिया मार्खेजले त आफ्नो किताब 'वन हन्ड्रेड इयर्स आफ सालिट्युड'को अनुवाद मूल कृतिभन्दा धेरै राम्रो भएको मानेका छन् । उनले भनेका थिए, 'मेरो कामको अंग्रेजी भाषामा सम्पूर्ण रूपमा नयाँ जन्म भएको छ । उपन्यासमा यस्ता अनेक ठाउँ छन्, जहाँ शाब्दिक अनुवाद धेरै गाह्रो थियो । तर, उनले अनुवादको काम धेरै खुबीका साथ गरेका छन् ।' यो उपन्यास सन् १९६७ मा प्रकाशित भएको थियो । पछि यसको अंग्रेजी अनुवाद सन् १९७१ मा आयो ।
सन् १९६० र १९७० को दौरान, रबस्साले स्पैनिस र पोर्चुगिज भाषाका थुप्रै उपन्यासको अंग्रेजी भाषामा सुन्दर अनुवाद गरे । यसले गर्दा यी भाषामा रचिएका उपन्यास अंग्रेजी पाठकसम्म पुग्न थाले । यसपछि ल्याटिन भाषा साहित्यले अन्तर्राष्ट्रिय पाठक पाए । उनले असीको दशकमा क्विन्स कलेज, न्युयोर्कमा, ल्याटिन-अमेरिकी साहित्य पढाए । उनी सन् २००६ मा यूएस नेसनल मेडल अफ आर्टस्बाट विभूषित भए ।
'एउटा अनुवादक मूलतः एक पाठक नै हो । हामी सब अलग ढंगले पढ्छौं । बस् एक अनुवादकले पढेको नफेरिने गरी प्रिन्टमा रहिरहन्छ', उनी भन्ने गर्थे । अनुवाद गर्दा पढ्दै नपढी सीधै अनुवाद गर्न थाल्ने आफ्नो बानीबारे संस्मरणमा लेखेका छन्, 'मैले योबारे यतिपटक वर्णन गरिसकेको छु, मैले यसमाथि विश्वास गर्न थालेको छु । खासमा मलाई कुनै किताब दोस्रोपटक पढ्न साह्रै अल्छी लाग्छ ।' उनले कविता अनुवाद गर्न त्यति रुचि देखाएनन् ।
डाक्टर रबस्साको विश्वास थियो, कुनै अनुवादकको पहिलो लक्ष्य लेखकको व्यक्तित्व प्रस्तुत गर्नु हुन्छ । अनुवादका क्रममा उनी कुनै ठाउँ विशेषमा चल्तीका र पाठकले बुझ्ने शब्दहरू प्रयोग गर्नेमा विशेष ध्यान दिन्थे । शब्दले पाठकमा सही अर्थ लागोस् भन्नेमा सतर्क रहन्थे । उनले अनुवादलाई एक कलाका रूपमा लिए । उनका अनुसार अनुवादको लक्ष्य पाठकलाई मूल लेखनमा जस्तै स्वाद पस्कनु हो । यसरी उनको माग अमेरिकी प्रकाशकका लागि पहिलो ल्याटिन-अमेरिकी अनुवादकका रूपमा स्थापित हुन पुग्यो । अनुवादले ल्याएको सम्मानबाट पन्छिन यिनले जहिले भन्ने गर्थे, 'यो त सब लेखकको कौशल होे, यसले गर्दा आधा युद्ध आफ्नो कलम उठाउनुअघि नै मैले मेरोनिम्ति जितिसकेको हुन्छु ।'
ग्रेगरी रबस्साले जीवनभरि अनुवादकको अधिकारका लागि वकालत गरे । उनी साथीभाइमाझ आफ्नो, बुद्धिमत्ता, शालीनता, उदारता र जोशजाँगरका लागि चिनिन्थे । सजिलै भन्न सकिन्छ, रबस्साको अनुवादबेगर केही उत्कृष्ट ल्याटिन-अमेरिकी लेखकको प्रसिद्धि यस्तो हुने थिएन । उनी अन्तर्दृष्टिपूर्ण, विनोदभावले ओतप्रोत, सादापन रुचाउने, कोमल भावको र शब्दहरूलाई बंग्याउँदै ठट्टा गर्ने बानी भएका मानिस थिए । उनका आँखाहरू चमकदार, दिमाग उज्यालो, हँसीमजाक मन पराउने सिर्जनात्मक र जोशिला खालका व्यक्ति थिए ।
उनी आफ्नो आकर्षक मुस्कान र गहिरो हाँसोका लागि साथीभाइमाझ प्रसिद्ध थिए । उनलाई पुराना फिल्म हेर्न र जोक्स गर्न खूब मन पथ्र्यो । रबस्सा र उनकी श्रीमती प्रायः पुराना सिनेमा हेर्थे र हिरो हिरोइनका डायलग आफ्नैझैं सुनाउँथे । रबस्सा दयालु स्वभाव र अतुलनीय कहानी बुन्ने कलाले सम्पन्न थिए । उनी आफ्ना क्रियाकलाप, दोस्रो विश्वयुद्ध ताकाका अनौठा कहानी, आफूले अनुवाद गरेका लेखकका किस्सा र प्रसंगहरू निकै चाख मान्दै सुनाउँथे । उनले दोस्रो विश्वयुद्धताका क्रिप्टोग्राफरका रूपमा काम गरेका थिए । कहिलेकाहीँ यस जागिरबारे ठट्टामा भन्ने गर्थे- यो काम अंग्रेजीलाई अंग्रजीमा फेर्नु हुन्थ्यो ।
ग्रेगरी रबस्सा कुनै पनि सिर्जनालाई पढ्नको आनन्द मूल कृतिमै आउँछ भन्थे । तर, उनले आफ्नो जीवनको साठी वर्ष अनुवादमै लगाए । खासमा उनी कहिल्यै अनुवादक बन्न चाहेका थिएनन् । उनले एक अनुवादकका रूपमा आफ्ना अनुभवहरूलाई सन् २००५ मा प्रकाशित संस्मरण 'इफ दिज बी टरेजन; ट्रासलेसन एन्ड इट्स डिकोटेन्ट'मा लेखे । उक्त किताबले सन् २००६ मा पुरस्कार पाएको थियो ।
'एउटा राम्रो अनुवाद सधैं अर्को भाषामा पुनर्सिर्जना हो', उनी सधैं भन्ने गर्थे । कोलम्बियाली लेखक मार्खेजले सन् १९८१ को 'द पेरिस रिभ्यु'मा रबस्साबारे भने, 'मेरो किताब संसारभरिका २१ भाषामा अनुदित छन् । र, रबस्सामात्रै एकजना अनुवादक हुन् जसले कहिल्यै मलाई केही कुरा स्पष्ट पारिदिन भनेनन् ।' मार्खेजको उपन्यासको अनुवादले रबस्सालाई प्रसिद्धि दिलायो । रबस्सा अर्जेन्टिनी लेखक कोर्टाजारसित नजिक थिए ।
यी दुईजना ज्याज संगीत, व्यंग्य, राजनीति, सिर्जनात्मक कला र लेखनबारे कुरा गर्थे । यी दुईमा गहिरो मित्रता थियो । कोर्टाजारले रबस्साको अनुवादमा कहिलेकाहीँ देखा पर्ने त्रुटिहरू सजिलै बेवास्ता गरिदिन्थे । उल्टै यसप्रकारका झिनामसिना त्रुटिको स्वागत गर्थे । 'यस्ता गल्तीमा सुधार आवश्यक छैन । बरु यो त मेरो गल्ती सच्चिएको हो', भन्थे कोर्टाजार ।
०००
ग्रेगरी रबस्साको परिवारमा दोस्री श्रीमती, दुई छोरी र पहिली श्रीमतीतर्फको छोरीबाट दुई पनाति छन् । उनले साधारण जीवन व्यतीत गरे । रबस्साका लागि भाषा जीवनभरिको आकर्षण थियो । उनी लेखकलाई प्रोमोट गर्न चाहन्थे । विद्यार्थी र अनुवादलाई मद्दत गर्थे । आज कुनै कृतिलाई संसारभरि छरिएका आफ्ना पाठकसम्म पुर्याउन अनुवादको अहं भूमिका छ । एउटा भाषामा लेखिएको कृतिलाई अन्य भाषी पाठकसम्म लान सजिलो र भरपर्दो माध्यम हो अनुवाद ।
रबस्साले अनुवादलाई नयाँ उचाइ प्रदान गरे । उनी संसारभरिका अनुवादकका लागि प्रेरणास्रोत हुन् । अब, रबस्सा हामीमाझ रहेनन् । तर, उनले अनुवाद गरेका कृतिका पानाहरूमा उनले आबाद गरेका शब्दहरूमार्फत असंख्य पाठकका मुटुमा उनी बाँचिरहनेछन् सधैँ । सलाम भाषाको जादुगर !
प्रतिक्रिया दिनुहोस !