जसले मार्खेज चिनाए

जसले मार्खेज चिनाए

एक अनुवादक, जसले सन् १९४८ देखि १९६९ सम्म कोलम्बिया विश्वविद्यालयमा अध्यापन गरे । पछि क्विन्स कलेजको फ्याकल्टीसँग आबद्ध भएर सन् २००७ मा सेवानिवृत्त भए । स्नातक तहको विद्यार्थी हुँदा नै उनलाई भाषासित माया बस्यो । त्यहीँबाट उनले सन् १९४५ मा रोमन भाषामा स्नातकको डिग्री हासिल गरे । पछि कोलम्बियन युनिभर्सिटीमा अध्यापनको बेला उनमा अनुवादप्रति भोक जाग्यो । अहिलेसम्म अनुवादकै दुनियाँमा रमाइरहेछन् ।

अनुवाद गर्ने उनको आफ्नै तरिका थियो । प्रायः अनुवाद गर्नुपर्ने किताब उनले कहिल्यै पहिले पढेनन् । उनी सीधै पहिलो पानामा पुग्थे र अनुवाद गर्न सुरु गर्थे । प्लट फेरिएला भन्ने विचारै नगरी । यस बानीबारे उनी भन्थे, 'यसरी गर्दा पहिलोपटक पढ्दा पाउने नयाँपन अनुवादमा आउँछ र अरूले पनि उही अनुभूति प्राप्त गर्न सक्छन् ।'

उनी कक्षामा कुनै एक विद्यार्थीलाई केही लेखांश अंग्रेजीबाट कुनै पनि भाषामा अनुवाद गर्न दिन्थे । पछि त्यही अनुवादलाई त्यो भाषाबाट फेरि अंग्रेजीमा अनुवाद गर्न कुनै अर्को विद्यार्थीलाई अह्राउँथे । यसरी दुइटा अंग्रेजी अनुवादलाई दाँज्थे । आएको फर्क नियाल्थे र अनुवाद मूल रचनाभन्दा कति फरक बनेको छ भनी जाँच्थे । भन्ने गर्थे, 'अनुवादले मूल रचनाको बराबरी कहिल्यै गर्न सक्दैन; नजिक आउने कोसिस गर्नसक्छ र यसको क्षमतामात्रै उसले हासिल गरेको शुद्धताबाट जाँच्न सकिन्छ ।'

यी व्यक्ति हुन्, विश्वप्रसिद्ध अनुवादक ग्रेगरी रबस्सा । किताब र भाषाकै बीचमा यिनले जिन्दगी बिताए । चर्चित कोलम्बियाली लेखक गैब्रियल गार्सिया मार्खेजको उपन्यास 'वन हन्ड्रेड इयर्स आफ सालिट्युड'को अंग्रेजी अनुवाद यिनले नै गरेका हुन् । त्यसपछि बल्ल उक्त उपन्यास संसारभर पुगेको हो । उनले मार्खेजका पाँचवटा किताबसहित अर्जेन्टियाली उपन्यासकार जलियो कोर्टाजार को 'होप्सकोच' र मारियो भरगास लोसाको 'कन्भरसेसन इन द क्याथर्डल' र प्रसिद्ध ब्राजिली उपन्यासकार जोर्ग अम्दोका उपन्यासहरू अनुवाद गरे । ग्रेगरीले निकै जतनका साथ ल्याटिन-अमेरिकी लेखकलाई अंग्रेजी पाठकमाझ लिएर आए । यसरी ल्याटिन-अमेरिकी साहित्यलाई अंग्रेजी पाठकसम्म ल्याउने श्रेय यिनैलाई जान्छ । उनै रबस्साको मृत्यु जुन १३, २०१६ मा ९४ वर्षको उमेरमा भयो ।

उनको जन्म मार्च ९, १९२२ मा योन्कर्स, न्युयोर्कमा भएको थियो । बुवा क्युबामा जन्मेका चिनी व्यापारी थिए । आमा कालरा न्युयोर्ककी थिइन् । बाको व्यापार डुबेपछि उनीहरू हनोवरको छेउ एक फार्ममा सरेका थिए । त्यहाँ गेस्ट हाउस सुरु गरे । उनको बाल्यकाल न्यू हैप्सयारको गाउँमा बित्यो । दोस्रो विश्वयुद्धको समयमा उनले 'अफिस अफ स्ट्याटेजिक सर्भिसिज'मा एक क्रिप्टोग्राफरका रूपमा इटाली र उत्तरी अफ्रिकामा सेवा गरे । क्रिप्टोग्राफरका रूपमा उनको काम शत्रु पक्षको गुप्त सन्देश डिकोड गर्नु हुन्थ्यो ।

इटाली बसाइका दौरान यिनले इटालियन भाषा र साहित्यको ज्ञान हासिल गरे । सैन्य पेसा छोडेपछि उनले सन् १९४७ मा स्पेनिस भाषामा मास्टर्स डिग्री गरे । पछि सन् १९५४ मा ब्राजिलमा बस्दा उनले पोर्चुगिज भाषा र साहित्यमा विद्यावारिधि पनि गरे ।

०००

सन् १९६० को सुरुआतमा उनले 'उडेसी रिभ्यु' नामक पत्रिकामा सम्पादकका रूपमा नियुक्ति पाए । यस पत्रिकामा युरोप र ल्याटिन-अमेरिकाबाट आएका सिर्जनाले ठाउँ पाउँथे । यस पत्रिकामा उनले गर्ने गरेका अंग्रेजी अनुवादमाथि 'पैन्थियोन बक्स'को सम्पादकको ध्यान पर्‌यो । उनलाई अर्जेन्टिनी उपन्यासकार जलिया कोर्टाजारको 'होप्सकोच'को अनुवादका लागि अनुरोध गरे । यस उपन्यासको स्पेनिस नाम 'रयला' हो । यही बेला सन् १९६७ मा 'होप्सकोच'ले राष्ट्रिय पुस्तक अवार्ड प्राप्त गर्‌यो ।

 

कोर्टाजार रबस्साले गरेको अनुवादबाट यत्ति प्रभावित भएपछि उनले अर्को लेखक गार्सिया मार्खेजलाई आफ्नो किताबको अंग्रेजी अनुवाद रबस्साबाट गराउन भने । रबस्सा त्यसताका निकै व्यस्त थिए त्यसैले मार्खेजले आफ्नो उपन्यास 'वन हन्ड्रेड इयर्स आफ सालिट्युड'लाई अनुवाद गराउन तीन वर्ष पर्खनु परेको थियो । आज मार्खेजको यो उपन्यास बीसौं शताब्दीको मास्टरपिस बनेको छ । जो पचास लाखभन्दा धेरै बिक्री भइसकेको छ । मार्खेजले सन् १९८२ को नोबेल साहित्य पुरस्कार पनि थापे ।

रबस्साले मार्खेजका पाँचवटा अरू किताब पनि अनुवाद गरेका छन्, जसमा 'अटम अफ द पैर्टियच' र 'क्रोनिकल अफ अ डेथ फोरटोल्ड' पनि सामेल छन् । रबस्साले लगभग साठीवटा साहित्यिक कृति अनुवाद गरेका छन्- स्पेनिस र पोर्चुगिज भाषाबाट । यिनमा ब्राजिली लेखकहरू जोर्ग अम्दो र क्लेरिस लिसपैक्टोर, चारजना स्पेनिस भाषाका नोबेल साहित्य पुरस्कार विजेता- गैब्रियल गार्सिया मार्खेज, पेरुबाट भर्गास लोसा, मेक्सिकोबाट ओक्टाभियो पाज र ग्वाटेमालाबाट मिगेल एन्जेल अस्तुरियस हुन् ।

०००

कृति अनुवादका लागि रबस्साले थुप्रै सम्मान र पुरस्कार पाएका छन् । उपन्यासकार गैब्रियल गार्सिया मार्खेजले त आफ्नो किताब 'वन हन्ड्रेड इयर्स आफ सालिट्युड'को अनुवाद मूल कृतिभन्दा धेरै राम्रो भएको मानेका छन् । उनले भनेका थिए, 'मेरो कामको अंग्रेजी भाषामा सम्पूर्ण रूपमा नयाँ जन्म भएको छ । उपन्यासमा यस्ता अनेक ठाउँ छन्, जहाँ शाब्दिक अनुवाद धेरै गाह्रो थियो । तर, उनले अनुवादको काम धेरै खुबीका साथ गरेका छन् ।' यो उपन्यास सन् १९६७ मा प्रकाशित भएको थियो । पछि यसको अंग्रेजी अनुवाद सन् १९७१ मा आयो ।

सन् १९६० र १९७० को दौरान, रबस्साले स्पैनिस र पोर्चुगिज भाषाका थुप्रै उपन्यासको अंग्रेजी भाषामा सुन्दर अनुवाद गरे । यसले गर्दा यी भाषामा रचिएका उपन्यास अंग्रेजी पाठकसम्म पुग्न थाले । यसपछि ल्याटिन भाषा साहित्यले अन्तर्राष्ट्रिय पाठक पाए । उनले असीको दशकमा क्विन्स कलेज, न्युयोर्कमा, ल्याटिन-अमेरिकी साहित्य पढाए । उनी सन् २००६ मा यूएस नेसनल मेडल अफ आर्टस्बाट विभूषित भए ।

'एउटा अनुवादक मूलतः एक पाठक नै हो । हामी सब अलग ढंगले पढ्छौं । बस् एक अनुवादकले पढेको नफेरिने गरी प्रिन्टमा रहिरहन्छ', उनी भन्ने गर्थे । अनुवाद गर्दा पढ्दै नपढी सीधै अनुवाद गर्न थाल्ने आफ्नो बानीबारे संस्मरणमा लेखेका छन्, 'मैले योबारे यतिपटक वर्णन गरिसकेको छु, मैले यसमाथि विश्वास गर्न थालेको छु । खासमा मलाई कुनै किताब दोस्रोपटक पढ्न साह्रै अल्छी लाग्छ ।' उनले कविता अनुवाद गर्न त्यति रुचि देखाएनन् ।

डाक्टर रबस्साको विश्वास थियो, कुनै अनुवादकको पहिलो लक्ष्य लेखकको व्यक्तित्व प्रस्तुत गर्नु हुन्छ । अनुवादका क्रममा उनी कुनै ठाउँ विशेषमा चल्तीका र पाठकले बुझ्ने शब्दहरू प्रयोग गर्नेमा विशेष ध्यान दिन्थे । शब्दले पाठकमा सही अर्थ लागोस् भन्नेमा सतर्क रहन्थे । उनले अनुवादलाई एक कलाका रूपमा लिए । उनका अनुसार अनुवादको लक्ष्य पाठकलाई मूल लेखनमा जस्तै स्वाद पस्कनु हो । यसरी उनको माग अमेरिकी प्रकाशकका लागि पहिलो ल्याटिन-अमेरिकी अनुवादकका रूपमा स्थापित हुन पुग्यो । अनुवादले ल्याएको सम्मानबाट पन्छिन यिनले जहिले भन्ने गर्थे, 'यो त सब लेखकको कौशल होे, यसले गर्दा आधा युद्ध आफ्नो कलम उठाउनुअघि नै मैले मेरोनिम्ति जितिसकेको हुन्छु ।'

ग्रेगरी रबस्साले जीवनभरि अनुवादकको अधिकारका लागि वकालत गरे । उनी साथीभाइमाझ आफ्नो, बुद्धिमत्ता, शालीनता, उदारता र जोशजाँगरका लागि चिनिन्थे । सजिलै भन्न सकिन्छ, रबस्साको अनुवादबेगर केही उत्कृष्ट ल्याटिन-अमेरिकी लेखकको प्रसिद्धि यस्तो हुने थिएन । उनी अन्तर्दृष्टिपूर्ण, विनोदभावले ओतप्रोत, सादापन रुचाउने, कोमल भावको र शब्दहरूलाई बंग्याउँदै ठट्टा गर्ने बानी भएका मानिस थिए । उनका आँखाहरू चमकदार, दिमाग उज्यालो, हँसीमजाक मन पराउने सिर्जनात्मक र जोशिला खालका व्यक्ति थिए ।

उनी आफ्नो आकर्षक मुस्कान र गहिरो हाँसोका लागि साथीभाइमाझ प्रसिद्ध थिए । उनलाई पुराना फिल्म हेर्न र जोक्स गर्न खूब मन पथ्र्यो । रबस्सा र उनकी श्रीमती प्रायः पुराना सिनेमा हेर्थे र हिरो हिरोइनका डायलग आफ्नैझैं सुनाउँथे । रबस्सा दयालु स्वभाव र अतुलनीय कहानी बुन्ने कलाले सम्पन्न थिए । उनी आफ्ना क्रियाकलाप, दोस्रो विश्वयुद्ध ताकाका अनौठा कहानी, आफूले अनुवाद गरेका लेखकका किस्सा र प्रसंगहरू निकै चाख मान्दै सुनाउँथे । उनले दोस्रो विश्वयुद्धताका क्रिप्टोग्राफरका रूपमा काम गरेका थिए । कहिलेकाहीँ यस जागिरबारे ठट्टामा भन्ने गर्थे- यो काम अंग्रेजीलाई अंग्रजीमा फेर्नु हुन्थ्यो ।

ग्रेगरी रबस्सा कुनै पनि सिर्जनालाई पढ्नको आनन्द मूल कृतिमै आउँछ भन्थे । तर, उनले आफ्नो जीवनको साठी वर्ष अनुवादमै लगाए । खासमा उनी कहिल्यै अनुवादक बन्न चाहेका थिएनन् । उनले एक अनुवादकका रूपमा आफ्ना अनुभवहरूलाई सन् २००५ मा प्रकाशित संस्मरण 'इफ दिज बी टरेजन; ट्रासलेसन एन्ड इट्स डिकोटेन्ट'मा लेखे । उक्त किताबले सन् २००६ मा पुरस्कार पाएको थियो ।

'एउटा राम्रो अनुवाद सधैं अर्को भाषामा पुनर्सिर्जना हो', उनी सधैं भन्ने गर्थे । कोलम्बियाली लेखक मार्खेजले सन् १९८१ को 'द पेरिस रिभ्यु'मा रबस्साबारे भने, 'मेरो किताब संसारभरिका २१ भाषामा अनुदित छन् । र, रबस्सामात्रै एकजना अनुवादक हुन् जसले कहिल्यै मलाई केही कुरा स्पष्ट पारिदिन भनेनन् ।' मार्खेजको उपन्यासको अनुवादले रबस्सालाई प्रसिद्धि दिलायो । रबस्सा अर्जेन्टिनी लेखक कोर्टाजारसित नजिक थिए ।

यी दुईजना ज्याज संगीत, व्यंग्य, राजनीति, सिर्जनात्मक कला र लेखनबारे कुरा गर्थे । यी दुईमा गहिरो मित्रता थियो । कोर्टाजारले रबस्साको अनुवादमा कहिलेकाहीँ देखा पर्ने त्रुटिहरू सजिलै बेवास्ता गरिदिन्थे । उल्टै यसप्रकारका झिनामसिना त्रुटिको स्वागत गर्थे । 'यस्ता गल्तीमा सुधार आवश्यक छैन । बरु यो त मेरो गल्ती सच्चिएको हो', भन्थे कोर्टाजार ।

०००

ग्रेगरी रबस्साको परिवारमा दोस्री श्रीमती, दुई छोरी र पहिली श्रीमतीतर्फको छोरीबाट दुई पनाति छन् । उनले साधारण जीवन व्यतीत गरे । रबस्साका लागि भाषा जीवनभरिको आकर्षण थियो । उनी लेखकलाई प्रोमोट गर्न चाहन्थे । विद्यार्थी र अनुवादलाई मद्दत गर्थे । आज कुनै कृतिलाई संसारभरि छरिएका आफ्ना पाठकसम्म पुर्‌याउन अनुवादको अहं भूमिका छ । एउटा भाषामा लेखिएको कृतिलाई अन्य भाषी पाठकसम्म लान सजिलो र भरपर्दो माध्यम हो अनुवाद ।

रबस्साले अनुवादलाई नयाँ उचाइ प्रदान गरे । उनी संसारभरिका अनुवादकका लागि प्रेरणास्रोत हुन् । अब, रबस्सा हामीमाझ रहेनन् । तर, उनले अनुवाद गरेका कृतिका पानाहरूमा उनले आबाद गरेका शब्दहरूमार्फत असंख्य पाठकका मुटुमा उनी बाँचिरहनेछन् सधैँ । सलाम भाषाको जादुगर !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.