मानुङको कथा

मानुङको कथा

महाभारत र अठार पुराणका रचयिता वेदव्यासले तपस्या गरेको व्यासभूमिको शिरमा छ, मानुङ । धेरैले नचिने पनि मानुङको इतिहास पौराणिक कालसँग जोडिएको छ । उनै वेदव्यास जन्मनुको कथासँग मानुङको सम्बन्ध छ ।

परापूर्वकालमा व्यासका पिता पराशर ऋषि माझीकी छोरी मत्स्यगन्धासँग प्रेमप्रसंग थालेका बेला लोकले थाहा नपाऊन् भनेर मानुङ डाँडाबाट कुहिरो उत्पन्न गरिदिएको प्रसंग धार्मिक ग्रन्थहरूमा सुन्न पाइन्छ । त्यही कुुहिरो उत्पन्न गर्ने मानुङ गाउँ अहिले आफ्नो ऐतिहासिकता र प्राकृतिक सौन्दर्यले पर्यटक भित्र्याउने पर्खाइमा छ ।

तनहुँको सदरमुकाम दमौलीको पश्चिममा ठडिएको मानुङ जाँदा केही कठिन भए पनि पुगिसकेपछि स्वर्गलाई बिर्साउने ठाउँ हो भन्दा फरक पर्दैन । उत्तरतर्फ लमतन्न परेका हिमशृंखलाहरू देख्दा जो कोहीलाई पनि धर्तीकै स्वर्गमा पुगेको अनुभव हुन्छ । मानुङबाट देखिने सदरमुकाम दमौलीको दृश्यले छुट्टैै रोमाञ्चकता प्रदान गर्छ ।

मगर संस्कृतिले धनी
मगर समुदायको बाहुल्य रहेको तनहुँ मगर जातिको पृथक् संस्कृतिका कारण प्रसिद्ध छ । त्यही मगर संस्कृतिको उर्बर थलोका रूपमा मानुङलाई लिन सकिन्छ । वर्षैभर चलिरहने चाडबाड र विभिन्न पर्वका बेला मगर समुदायले देखाउने चुड्का तथा कौरा नृत्यले यस ठाउँलाई अलग्गै पहिचान दिलाएको छ।

सहरी कोलाहलबाट पर मानुङ पुग्ने जोकोहीले मगर संस्कृतिबाट आनन्द लिनेमा शंका छैन । परापूर्वकालदेखि नै चलिरहेको मगर संस्कृतिलाई यहाँका पछिल्ला पुस्तासम्मले जोगाइरहेका छन् । तनहुँका मगरहरूको सांस्कृतिक पहिचान र परम्पराबारे चाख राख्ने जो कोहीका लागि मानुङ एक उपयुक्त गन्तव्य बन्न सक्छ । ‘अझै पनि गाउँमा मगर समुदायका सबै सांस्कृतिक गतिविधि संरक्षित छन्’, गाउँका युवा अगुवा चाम थापाले भने, ‘यसको प्रवद्र्धन गरेर पर्यटक भित्र्याउने आशा लिएका छौं ।’

मगर सांस्कृतिक वातावरणमा पर्यटकलाई आनन्द दिनका लागि स्थानीय समुदायले होम स्टे पनि सुरु गरेका छन् । मानुङको पर्यटन प्रवद्र्धनमा सक्रिय अर्का युवा सुमन थापा भन्छन्, ‘मानुङको मगर संस्कृति, पर्यटन र होमस्टेलाई सँगै अघि बढाए यो ठाउँ नमुना बन्न सक्छ ।’ केही दिनअघि मगर चलचित्रकर्मीहरूको भेलासमेत मानुङमा भएको थियो । भेलामा सहभागी चलचित्र निर्देशक तथा कलाकारहरूले मगरमात्र नभएर नेपाली भाषी चलचित्रको सुटिङका लागि यस ठाउँ उपयुक्त गन्तव्य भएको बताएका थिए ।

बढ्दो यातायात सुगमता
पृथ्वी राजमार्गबाटै देखिने र केही घन्टाको दूरीमा रहेको मानुङ जानका लागि कालोपत्रे सडक विस्तार हुँदै गइरहेकाले पहिलेको तुलनामा यातायात सुगमता बढ्दो छ । पहिले घन्टौंको उकालो चढेर पुग्नुपर्ने मानुङ कठिन गन्तव्यका रूपमा चिनिएको थियो । तर अहिले समय बदलिएको छ । व्यास नगरपालिकाको चापाघाटबाट मोटरसाइकल तथा साना गाडी लिएर मानुङ पुग्न सकिने भएको छ । यसले पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने जो कोहीका लागि पनि मानुङ प्राकृतिक वातावरणमा रमाउँदै थकाइ मेटाउने गन्तव्य बन्न सक्छ । पानीको चरम अभाव खेपिरहेको मानुङमा अबको केही समयभित्रै त्यो समस्या पनि दीर्घकालका लागि हट्दैछ । मानुङमा पानी पु¥याउनका लागि सक्रिय वरिष्ठ अधिवक्ता यदुनाथ खनाल भन्छन्, ‘अब मानुङको पूरै अनुहार फेरिँदैछ ।’

घाँस बेचेर वटुवालाई पानी खुवाउन घाँसीले गरेको प्रयत्नकै परिणामस्वरूप भानुभक्त आचार्यमा पलाएको कवित्वले उनलाई आदिकवि बनाइदियो । तर तिनै भानुभक्त ससुराली जाँदाताकादेखि भोग्दै आएको प्यास अझैसम्म पनि स्थानीयले राम्रोसँग मेटाउन पाएका छैनन् । भानुभक्त मावली जाँदा त्यहाँ सधैं पानीको अभाव रहन्थ्यो । उनले कहिलेकाहीँ मावली जाँदा खेप्नुपरेको अभावको पीडा तनहुँ मानुङका बासिन्दाले अझैसम्म भोगिरहेका छन् ।

व्यास नगरपालिका र आसपास भएर बग्ने मादी, सेती, साँगे र गुणादी खोलाले घेरिएको टाकुरा हो मानुङ । प्राकृतिक हिसाबले सुन्दर र तनहुँ सदरमुकाम दमौलीको प्राकृतिक छानोका रूपमा रहेको मानुङबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखला प्रस्ट नियाल्न सकिन्छ । मगर संस्कृतिले धनी गाउँमा अझैसम्म पनि कौरा, चुड्कालगायतका संस्कृति जीवन्त छ । तर पानी बोक्नका लागि घन्टौं हिँड्नुपर्ने नियति कहिल्यै परिवर्तन नभएपछि सांस्कृतिक गाउँ क्रमशः खाली बन्दै छ ।

अहिले रहेको बस्ती पनि पानीको चरम अभावपछि पातलिने क्रममा छ । पानी अभावकै सांस्कृतिक र प्राकृतिक हिसाबले सुन्दर गाउँ पातलिन थालेपछि अहिले स्थानीय गाउँको प्रमुख समस्या हल गर्न तातिएका छन् । राष्ट्रिय योजना आयोगले रातो किताबमा त्यहाँका लागि पानी दिने योजना पारिदिएपछि अब भने पहिलेको विगत मेटिने आशामा छन्, गाउँवासी । खनाल भन्छन्, ‘नयाँ पुस्ताले हामीले जस्तै दुःख अब नपाऊन् र गाउँमै बस्ने वातावरण तयार पार्न हामी लागेका छौं ।’ पुख्र्यौली थलो मानुङ भएका खनालले राजधानीमै रहे पनि गाउँका युवाहरू समेतको साथमा पानी भित्र्याउनका लागि मेहनत गरे।

फलस्वरूप योजना आयोगले बल्ल गाउँलेको समस्या सुनेको छ । अर्का युवा चामबहादुर थापाका अनुसार राजनीतिक हिसाबले मानुङलाई भजाएर नेतृत्वमा जानेहरूका कारण समस्या देखिएको हो । ‘धेरैले मानुङको अभावलाई भोट बैंक बनाएर स्वार्थपूर्तिमा लागे’, उनले भने, ‘तर अब हामीले उनीहरूको मुख नताक्ने निर्णय गरेका छौं ।’ योजना पार्नका लागि सक्रिय थापाले जनतासमेतले पैसा उठाएर भए पनि आगामी वर्षसम्म घरघरमा पानी पुर्या‍‍इछाड्ने दृढता व्यक्त गरे ।

तनहुँका मगरहरूको सांस्कृतिक पहिचान र परम्पराबारे चाख राख्ने जो कोहीका लागि मानुङ एक उपयुक्त गन्तव्य बन्न सक्छ ।

गाउँमा पानी निकै ठूलो समस्या भएको कुरा स्थानीय महिलाको भोगाइबाट थाहा हुन्छ । घरमा वस्तुभाउ पालेकी कालीमाया थापाले ६ खेप पानी बोक्दा आधा दिन नै बित्छ । एक पटक एक घन्टा हिँड्नुपर्ने नियति परिवर्तन होस् भन्ने उनले चाहेकी छन् ।

उस्तै समस्या भोगिरहेकी यतिमाया थापालाई एक घन्टा हिँडेर जानुपर्ने ठाउँमा पनि हिउँदमा पानी कम हुँदाको तीतो अनुभव छ । घर अगाडि धारामा पानी पाउनुलाई ठूलो उपलब्धि ठानेकी उनले योजना आए सजिलो हुने भएकाले सबै लागिपरेको बताइन् ।

राष्ट्रिय योजना आयोगबाट एक करोड ५४ लाख दिने प्रतिबद्धतापछि लिफ्ट गरेर गाउँमा पानी लैजाने प्रयास थालेका मानुङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष बलबहादुर लुंगेलीसँग पानी ल्याइछाड्ने अठोट छ । भन्छन्, ‘परेको स्रोत जुटाउन तयार छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.