किराती मुन्दुमको अभिलेखीकरण

किराती मुन्दुमको अभिलेखीकरण

हाम्रो गाउँमा पाखे माइला भन्ने बिजुवा धामी थिए । उनी मुन्दुम जान्ने बिजुवा हुन्, उनले झारफुक गरेपछि जस्तोसुकै बिरामी पनि निको हुन्छ भन्ने विश्वास थियो । त्यसैले हाम्रा घर, टोलमा जोसुकै बिरामी हुँदा पनि पाखे माइलाकहाँ लगिन्थ्यो ।

मलाई पनि धेरै पटक पाखे माइलाले झारफुक गरेका थिए । सामान्य बिरामीलाई उनी मनमनै के के भन्थे र अक्षता मन्साएर झारफुक गर्थे । अलिक सिकिस्त बिरामीलाई झारफुक गर्दा भने लय हालेर मन्त्र पढ्थे । उनको लयबद्ध मन्त्र कुनै गीत जस्तो लाग्थ्यो, अर्थ नबुझे पनि सुनिरहुँ लाग्ने । त्यसरी लयबद्ध मन्त्र पढेर झारफुक गरेपछि उनी भन्थे— लौ मैले मुन्दुमबाट देवीदेवतालाई पुकारा गरेको छु, देसानमेसानले दुख दिएको रहेछ भने सन्चो हुन्छ ।

वैशाखे पूर्णिमादेखि गाउँमा साकेला नाचको रौनक सुरु हुन्थ्यो (अहिले पनि हुन्छ) । जुन घरमा ढोलझ्याम्टा बज्न थाल्थ्यो हामी दौडँदै त्यही घरमा पुग्थ्यौँ । कोही झ्याम्टा बजाउने कोही ढोल बजाउने अनि हातमा चिन्डो बोकेका र टाउकामा सेतो फेटा बाँधेका नछुङ (धामी) भने पाखे माइलाले झारफुक गर्दा जस्तै गरी लय हालेर मुन्दुम गाउने र बेला बेलामा अरुहरुले पनि हो..... भन्दै नछुङको स्वरमा स्वर मिलाउने गर्थे ।

साकेलाको मुख्य दिन त्यसरी नै टोलटोलबाट झोलझ्याम्टा बजाउँदै र नछुङहरुले मुन्दुम गाउँदै साकेला थान जाँदा हामी केटाकेटीहरु पनि खुसी हुँदै पछिपछि दौडिन्थ्यो । मुन्दुम भनेको के हो ? सानैमा मैले छिमकी सुवासेम्पा काकालाई सोधेको थिएँ । ‘हाम्रो मुन्दुम तिमेर्को वेद जस्तै हो, थुतुरी वेद’ उनले भनेका थिए ।

घरमा काठको गाता लगाएको वेदको किताब थियो । मेरो भर्खरै वर्तमन भएको थियो र बुबाले मलाई त्यही वेदभित्र भएको रुद्री पढ्न सिकाउन थाल्नु भएको थियो । त्यसैले मुन्दुम भनेको वेदजस्तै अप्ठेरो किताब रहेछ भन्ने मैले त्यति बेला बुझेँ ।

मुन्दुम झारफुक र साकेलाका बेला नछुङले फलाक्ने विषय मात्र नभएर यो त किराती जातिमा प्रचलित सृष्टि दर्शन, संस्कृति तथा संस्कारको विधि विधान सबै हो र यो मौखिक परम्परामा सुरक्षित छ भन्ने पछि थाहा भयो ।

किरात अन्तर्गत सामान्यतः राई, लिम्बु, याक्खा र सुनुवार जाति पर्दछन् र यी चारै जातिका संस्कार, संस्कृति मुन्दुममा आधारित छन् । भाषिक विविधताका कारण यसका अनेक नाम छन् (जस्तै ः मुन्दुम, मुन्धुम, मुक्दुम, मुन्तुम, रिद्दुम, मिन्दुम, पेल्लाम, मुक्दुम आदि) र पाठगत भेद पनि हुने नै भयो । यस्ता भेद भए पनि मुन्दुमको साझा पहिचान भनेको यो अहिलेसम्म श्रुति परम्परामा बाँचेको छ र यसले प्रकृति तथा पितृहरुको उपासनामा जोड दिन्छ ।

नेपालमा राजनीतिक परिवर्तनसँगै नयाँ जागरण सुरु भएको छ । अब मौखिक परम्परामा रहको मुन्दुमलाई लेख्य रुपमा ल्याउन थालिएको छ । त्यसैको पछिल्लो कडीका रुपमा चाम्लिङ राई खाम्बातिमले चाम्लिङ राईको संस्कारमा आधारित ‘मुन्दुम होसुङ’ प्रकाशित गरेको छ । चाम्लिङ भाषामा होसुङ भनेको संस्कार हो । यसैले यस मुन्दुममा चाम्लिङ राईका संस्कार विधिको वर्णन गरिएको छ । जयकुमार राईको संयोजकत्वमा ज्ञावनसेर राई र विश्वराम राईले सङ्कलन गरेको मुन्दुमलाई भोगीराज राईले सम्पादन गरेका हुन् ।

चाम्लिङ नेपाली भाषामा रहेको मुन्दुमलाई खस नेपाली र अङ्ग्रेजी भाषामा समेत अनुवाद गरिएको छ । खस नेपालीमा अनुवाद गडुलमान राईले र अङ्ग्रेजी अनुवाद प्रा.डा. विष्णु एस. राईले गरेका छन् । उदयपुर जिल्लाको बलम्ता र ताम्लिछा क्षेत्रलाई केन्द्र बनाई सङ्कलन गरिएको यस मुन्दुममा खोँरोधिम्मा (गर्भपूजा), हियाफ्राह्मा (सुत्केरी चोख्याउने), नुङहैमा (न्वारान), रोँ–इमा (पास्नी), मारिमो च्युमा (छोरी पूजा), वाडाका (पान्देउ पूजा), टोँ खोर्मा (छेवर र गुन्यु चोलो), तिम्मारी—बासारी (बिवाह) र सिये मायेको हालाम् (मृत्यु) गरी ९ ओटा संस्कार विधिको वर्णन गरिएको छ ।

मुन्दुम झारफुक र साकेलाका बेला नछुङले फलाक्ने विषय मात्र नभएर यो त किराती जातिमा प्रचलित सृष्टि दर्शन, संस्कृति तथा संस्कारको विधि विधान सबै हो र यो मौखिक परम्परामा सुरक्षित छ भन्ने पछि थाहा भयो ।

चाम्लिङ मुन्दुममा खोँरोधिम्मा अर्थात् गर्भपुजा संस्कारको वर्णन पाइन्छ । कुनै महिला गर्भवती भएको थाहा भएपछि यो पूजा गरिन्छ । यो पूजासँगै पेटका बच्चाका लागि पनि खानेकुराको भाग लगाइने चलन छ । यो संस्कारसँगै गर्भवती आमा र गर्भको बाबुले गर्न नहुने कुराहरुका बारेमा सचेत गराइन्छ । परम्परा अनुसार गर्भवती आमाले आँगन बढार्न, सर्प मार्न, लास वा मलामी हेर्न, हलो जोत्न, भैँसी बाँधेको दाम्लो नाँघ्न, नाम्लो दाम्लो बाँट्न, सूर्य र चन्द्र ग्रहण हेर्न, धागो कात्न, तान बुन्न हुँदैन । बाबुले काटमार र सिकार गर्न र मलामी जाँदा ढुङ्गा बोक्न हँुदैन । चाम्लिङ राईमा सुत्केरी भएपछि धेरै रगत बग्ने हुनाले त्यो रगतमा भूत प्रेतले दुःख नदिउन् भन्नाखातिर हियाफ्राह्मा संस्कार गरिन्छ ।

यसमा कुखुराको भाले (छोरा जन्मिँदा) वा पोथी (छोरी जन्मिँदा) को मन्छाउने चलन छ । चाम्लिङ राईहरु छोराको ६ दिन र छोरीको ५ दिनमा न्वारान गर्छन् । घर वा मावलीतिरका हजुरआमाले नाम राखी दिने चलन छ । बालक छोरा ६ महिनामा र छोरीको ५ महिनामा भात खुवाउने (पास्नी) चलन छ । पास्नीका अवसरमा मान्यजनहरुले बच्चालाई चामलको टिका लगाई आशीर्वाद दिने चलन छ । त्यस्तै छोराको ६ वर्षमा केश काट्ने र छोरीलाई ५ वर्षमा गुन्यु चोलो दिने संस्कार छ ।

चाम्लिङ राई जातिमा बच्चा जन्माएका महिलाहरुको स्वास्थ्य राम्रो होस् भनेर मारिमो च्युमा संस्कार गर्ने चलन छ । बच्चा जन्माएका महिलालाई पटुका कस्न, खुर्पा भिर्न र टाउकामा मजेत्रो बाँध्न लगाई चुलाका छेउमा बसाइन्छ र आगो तपाइन्छ र अरु विधि पनि गरिन्छ ।

मुन्दुम होसुङबाट चाम्लिङ राईको संस्कार मात्र होइन, त्यस जातिका मानिसको सामूहिक धारणा, मनोविज्ञान, आचरण, व्यवहारसमेत अध्ययन गर्न सकिन्छ । चाम्लिङ राईमा एक पत्नी र एक पतिको अवधारणा देखिन्छ, बहुविवाहलाई अस्वीकार गरिएको पाइन्छ । त्यस्तै यौन अनुशासनलाई कडाइपूर्वक पालना गर्नु पर्छ भन्ने मान्यता छ ।

किरात राई जातिका पुर्खा हौँछाले नागकन्या सिकुरिमासँग बिहे गरेका थिए । उनीहरुका सन्तानलाई दुःख बिमारले भेट्यो र सकुरिमाका माइती पट्टिका देवी देवताको पूजा गरेपछि सन्चो भयो । त्यसैको परम्परामा अहिले पनि वाडाको पुजा गर्ने चलन छ । यसमा सुँगुरको पकाएको, पोेलेको मासु, भात आदिले पूजा गर्ने चलन छ । चाम्लिङ राई जातिमा गरिने विवाह संस्कारको विधि विधान, केटी माग्दादेखिका बिहेका रीतहरु र वर र वधु पक्षका बिचमा हुने संवाद आदिको समेत चर्चा गरिएको छ । मृत्यु संस्कारका विधि विधान र मृतकलाई पितृमा लैजाने विधि समेतको वर्णन पाइन्छ ।


मुन्दुम होसुङमा चाम्लिङ राईका नौ ओटै संस्कारका विधि विधानहरु, ती संस्कारका लागि चाहिने सामान र पूजा विधिको सविस्तार वर्णन गरिएको छ । यसका साथै हरेक संस्कारमा नछुङद्वारा गाइने मन्त्र (रसिया) हरु दिइएको छ । यस्ता रसियामा सम्बन्धित संस्कारसँग सम्बन्धित भूत, प्रेत, देवीदेवता र विशेष गरी पुर्खाहरुको पुकारा पाइन्छ । गर्भपूजामा सुत्केरी बेथा लामो नलागोस् र बच्चा स्वस्थ जन्मियोस् भन्ने कामना गरिन्छ । मारिमो च्युमामा बच्चा जन्माएकी महिलाको स्वास्थ्य राम्रो होस् भन्ने प्रार्थना हुन्छ । वाडाका (पान्देउ पूजा) को रसियामा भने किरात पुर्खाहरुको उत्पत्तिदेखि वंश विस्तारसमेतको कथा रहेको छ ।

मुन्दुम होसुङबाट चाम्लिङ राईको संस्कार मात्र होइन, त्यस जातिका मानिसको सामूहिक धारणा, मनोविज्ञान, आचरण, व्यवहारसमेत अध्ययन गर्न सकिन्छ । चाम्लिङ राईमा एक पत्नी र एक पतिको अवधारणा देखिन्छ, बहुविवाहलाई अस्वीकार गरिएको पाइन्छ । त्यस्तै यौन अनुशासनलाई कडाइपूर्वक पालना गर्नु पर्छ भन्ने मान्यता छ । विवाहमा केटा पक्षले केटी पक्षसँग गर्ने संवाद यस्तो हुन्छः ‘हाम्रो छोराले तपाईंको छोरी लगेर काखमा लिनेछ, सम्हाल्ने छ । बानीव्यहोरा परिवर्तन गर्ने छैन, अरुसँग लसपस गर्ने छैन । लुकीछिपी अरुसँग लसपस ग¥यो भने हामी हर्काछौँ । स्वास्नी पनि एउटै बनाउने छ, दुई वटा बनाउँदैन । बाटो बिराउँदैन, यही बाटो हिँडिरहनेछ पृ. २२०) ।’

मुन्दुम होसुङका आधारमा हेर्दा चाम्लिङ राईहरुमा पूर्वजन्म, परजन्म, स्वर्ग, नरक आदिबारे विश्वास र खास धारणा देखिँदैन । तर मरेपछिको मृतात्माको पनि बस्ने र खाने ठाउँ भने हुन्छ भन्ने विश्वास देखिन्छ । मुन्दुममा भनिएको छ – ‘मान्छे मर्नेमा मरिगयौ, हराइगयौ । .... रुङरी (चेत) छुट्यो, चुला अगेना छोड्यो, दरदाजुभाइले छोड्यो । ... हिजोदेखि भइआएको हो । आकाश धर्ती पनि छुटिजान्छ, धर्ती पनि चिरिजान्छ । ढुङ्गा पनि पल्टिजान्छ । फूलहरु प्नि झरिजान्छ । राजा पनि मरिजान्छ । धामी पनि मरिजान्छ । मान्छेको शरीर सबै यस्तै हो । यस्तै भइरहन्छ । अब दुःख मन नगरीकन मरेका पितृहरुलाई खोज्दै जाऊ । भोलिपर्सि तिम्रो खाने, बस्ने ठाउँ धामीले देखाइदिन्छ (पृ. २७३) ।’

मुन्दुम होसुङका आधारमा हेर्दा चाम्लिङ राईहरुमा पूर्वजन्म, परजन्म, स्वर्ग, नरक आदिबारे विश्वास र खास धारणा देखिँदैन । तर मरेपछिको मृतात्माको पनि बस्ने र खाने ठाउँ भने हुन्छ भन्ने विश्वास देखिन्छ ।

किरात संस्कारमा चिन्डोको विशेष महत्त्व छ । हरेक संस्कार र संस्कृतिमा चिन्डो चाहिन्छ । जाँड, रक्सी पितृलाई चढाउन र सगुन वा प्रसादका रुपमा बाँड्न चिन्डोको उपयोग गरिन्छ । संस्कारहरुका अवसरमा बोलिने संवाद र रिसियाका आधारमा हेर्दा चाम्लिङ राईहरुमा म र मेरो भन्दा पनि हामी र हाम्रोको भाव देखिन्छ । उनीहरु कुनै अलौकिक देवताको पूजा आराधना होइन, आफ्नै प्राचीन पुर्खाहरुको आराधना गर्छन्, प्रकृतिको पूजा गर्छन् ।

प्रायः हरेक संस्कारमा तीन चुलाको पूजा गरिन्छ, त्यो भनेको पितृपूजा हो । चाम्लिङ राईका हरेक संस्कृति कृषि र श्रममा आधारित देखिन्छन् । कोदाको जाँड, सुँगुर तथा कुखुराको मासु, अन्डा, अदुवा, काउलो, हसिया, सिलिपा (तितेपाती) आदि सामग्रीहरु किरात संस्कारका लागि नभई नहुने वस्तुका रुपमा रहेका छन् । किरात संस्कारमा बोलिने संवाद र रिसयाका आधारमा हेर्दा किरातीहरु ज्यादै नम्र, भद्र, पाहुना, नरनाता, इष्टमित्रहरुको अत्यन्तै सम्मान गर्ने र अत्यन्तै कृतज्ञ र गुणग्राही देखिन्छन् ।

मुन्दुममा किरात जातिका इतिहास, जीवन जगत्प्रतिका धारणा, संस्कार, संस्कृति सबै सुरक्षित छन् । त्यसैले मुन्दुमका अनेक भाग हुन सक्छन् । किरात राई चाम्लिङ खाम्बातिमले यसअघि नै ‘मुन्दुम ः सृष्टिकथा’ प्रकाशन गरिसकेको छ, निकट भविष्यमा संस्कृतिसँग सम्बन्धित मुन्दुमको अर्को भाग प्रकाशनको तयारी गरेको छ भने मुन्दुम होसुङ चाहिँ दोस्रो मुन्दुम कृति हो ।

मुन्दुम होसुङले चाम्लिङ राईका संस्कारका विधिविधानलाई अभिलेखीकरण गरेको छ । साथै सम्पूर्ण राई किरातीहरुका संस्कार, इतिहास, संस्कृति र मनोविज्ञान बुझ्न सहयोग गरेको छ । नेपाली समाज, संस्कृति, जीवन पद्धतिको अभ्ययन गर्न चाहने जोसुकैलाई यो कृति अत्यन्त उपयोगी देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.