खेल र अनुशासन

खेल र अनुशासन

खेल अनुशासन र शारीरिक क्षमताको कलात्मक प्रदर्शन हो । कहीं उफ्रनु या दगुर्नु अनि पसिना निकाल्नुलाई मात्र खेल भन्न सकिन्न । त्यति मात्र होइन, कुनै पनि राज्य र समाजको लागि त्यसको व्यवस्थित क्षमता र सम्भाव्यताको प्रदर्शन विद्या पनि हो खेल, मुलुकभित्र र बाहिर । त्यसैले खेलका नियम र मान्यता लिखित र अलिखित रूपमा स्पष्टसँग परिभाषित छन् । त्यसको उल्लंघनलाई कारबाही गर्न या त खेलस्थलमै 'जज' या 'रेफ्री' लाई या त्यसभन्दा माथिका निकायहरूलाई अधिकार प्रत्यायोजित गरिएको हुन्छ ।

त्यस्तै खेलले राष्ट्रको सम्मान या राष्ट्रलाई नै प्रतिनिधित्व गरेको हुन्छ, अन्तर्राष्ट्रिय वा क्षेत्रीय स्तरका प्रतिस्पर्धाहरूमा । त्यसमा पूर्वाग्रह, अनुशासनहीनता तथा नियम उल्लंघनको लागि कुनै छुट दिइँदैन, तर मुलुकभित्रका प्रतियोगिताहरूमा पनि अनुशासन तथा नियमबद्धताबारे त्यही तहको प्रतिबद्धता देखाइएन भने बाहिरी जगत्मा समेत उनीहरूले खेलको मर्यादा र अनुशासन प्रदर्शन गर्न सक्दैनन् ।

खेलले शारीरिक व्यायामसँगै शरीरमा ऊर्जा पैदा गर्ने हुँदा त्यसले प्रतिकूल परिस्थितिमा या रेफ्रीबाट अन्याय भएको लागेमा खेलाडी र सम्बद्ध पदाधिकारीहरू उत्तेजनामा आउने सम्भावना सधैँ रहन्छ । तर प्रायः सबै खेलाडी र खेल पदाधिकारीले के बुझ्नुपर्छ भने रेफ्री वा निर्णायकको छनोट उसको पात्रता, योग्यता र निष्पक्षताका आधारमा गरिएको हुन्छ । यद्यपि 'मानवीय त्रुटि' बाट उनीहरू पनि मुक्त हुँदैनन् ।

अर्को, खेलको मर्यादा र नियमले खेलाडी र सम्बन्धित खेल पदाधिकारीहरू जतिसुकै प्रतिकूल परिस्थितिमा पनि संयमित, अनुशासित र रेफ्रीप्रति आदरयुक्त हुने अपेक्षा गरिन्छ । रेफ्री वा निर्णायकबाट भएका 'पूर्वाग्रह' बारे सिकायत गर्ने पनि उपयुक्त निकाय र त्यसको लागि निर्धारित विधि र प्रक्रिया हुन्छन् ।

दुर्भाग्य, गत मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सकै मैदान भएको सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा पूर्वाग्रहको आरोपमा श्रीकुमारी क्लबका अफिसियलसहितको भीडले मैदानभित्रै पसेर मुख्य रेफ्री सुदिश पाण्डे तथा लाइसम्यानद्वय पदम भुजेल र युनाल मल्लमाथि आक्रमण गरी अपमान गरे । खेल मैदानमा हुने जघन्य अपराध हो यो, एक किसिमले ।

खेल पदाधिकारीबाटै सामूहिक रूपमा भएको यो अपराधले क्लबकै मर्यादामा पनि आघात पुर्‌याएको छ भने अर्कोतिर के उनीहरूमा खेल पदाधिकारी बन्ने अनुशासन र योग्यता निर्माण भइसकेको रहेछ त भन्ने प्रश्न पनि उठ्नेछ ।

नेपालमा यो तहका घटना विरलै हुने गरेका छन् पहिले । तर अनुशासनहीनतालाई खेलजगत्ले स्वीकार नगर्ने हुनाले यस्ता खेलाडी वा खेल पदाधिकारीको भावी सम्भाव्यता बचाउँदै उनीहरूलाई पूर्ण नसिहत र न्यूनतम दण्डको व्यवस्था सम्भवतः एउटा स्वीकार्य समाधान बन्न सक्छ ।

अनुशासनहीनतालाई बेवास्ता गर्दा त्यसले यसको प्रभाव देखाइ नै रहनेछ र खेलजगत् तथा खेलाडी वा पदाधिकारीले त्यो छुट लिइरहनेछन् । बाहिरी जगत् र अन्तर्राष्ट्रिय संस्थाहरूले पनि खेलाडी वा खेल पदाधिकारीहरूको दक्षता, अनुशासनप्रतिको उनीहरूको समर्पण नियालिरहेका हुन्छन् । अनुशासनविनाको खेल र खेलाडीको अस्तित्व सम्भव हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.