...त्यसपछि दसैंबाट दसैं हरायो

...त्यसपछि दसैंबाट दसैं हरायो

२०५६ साल, मध्यरात भएको हुँदो हो । बाहिर ठूलो होहल्ला सुनियो । जुलुस नै आएजस्तो हिँडाइ । झ्यालढोका लगाएर सुतेकाहरू पनि राम्ररी निदाउन नसक्ने असुरक्षित समय थियो । कारण भूमिगत युद्धमा थियो देश । हाम्रो घर बर्दियाको सिताला बजारमा थियो । केही अघिसम्म अलि भित्री गाउँमा थियो । हामी बजारमा सरेको धेरै भएको थिएन । घरमा तलका दुई कोठा र त्यसमाथिका दुई कोठामात्र उभिएको थियो ।

सायद सुरक्षाकै कारण तलका कोठा बनाइनसकी सुत्नका निम्ति बाबाले माथिका कोठा बनाउनुभएको थियो । दाजु देवेन्द्र नेपालगन्ज अस्पतालमा चिकित्सक हुनुहुन्थ्यो, त्यहीँ बस्नुहुन्थ्यो । दिदीको विवाह भइसकेको थियो । उहाँ आफ्नो गृहस्थ जीवनमा हुनुहुन्थ्यो । म काठमाडौं बस्थेँ । रेडियोको करार जागिरे अनि मेडिकल कलेजमा स्टाफ नर्स । एमएडको विद्यार्थी पनि । चाडपर्व र विशेष समयमा मात्र पुग्ने गर्थें बर्दिया । त्यस वर्ष दसैं मनाउनका निम्ति घर गएकी थिएँ ।

रातको समय ठूलो होहल्ला अनि लडिया हिँडेको आवाज ! हामी भित्री, बाहिरी दुई कोठामा छरिएर सुतेका थियौं तर तत्काल एकै कोठामा भयौं । त्रासमा सबैको मुटुको धड्कन एकअर्काले सुन्न सक्ने गरी धड्किएको थियो । अड्कलेर सास फेरिरहेका थियौं । हल्ला हाम्रै घरअघि आएर रोकियो । मैले दाइको पाखुरा समाएँ ।

दाइले आफ्नो हात मेरो टाउकोमा राखेर धैर्य गर्न भन्नुभयो । आमा त्यसै त डराएर, कहालिएर चिच्याउनुहुन्थ्यो । दाइले आमालाई आवाज ननिकाल्न र शान्त बस्न भन्नुभयो । भूमिगत युद्धको समय, यसै पनि गाउँघरका रात त्रासमा बित्थ्यो । झन् दुई दिनअघि मात्रै बजारमा पर्चा छरिएको हल्ला चलेको थियो । त्यसले पनि त्रास थपिदियो ।

केही मान्छे मूल बाटो छाडेर हाम्रै घरतर्फ आएको स्पष्ट भयो । बुवामा उच्च रक्तचाप हुनाले लामो समयदेखि ओखतीमा हुनुहुन्थ्यो । उहाँलाई बढी तनाव हुनु खतरनाक हुनसक्थ्यो । उहाँ जहिल्यै मुटु हान्यो भन्नुहुन्थ्यो । त्यही समय कसैले हाम्रो ढोका हान्न थाल्यो ।

'माटसाब ! डाक्टर साहब', आवाज उच्च थियो ।
बुवाले भन्नुभयो- यी थारू हुन् । पर्दा उघारेर हेर्नुभयो, मैले पनि देखेँ लडियाहरू हाम्रो घरअघिको बाटोमा लस्करै थिए, मान्छे नै मान्छे । सबैका हातमा एक एक लौरा ।
फेरि पनि ढोका हाने । 'जल्दी ढोका खोली हो, मरिज ल्याइल ।'

मलाई लाग्यो, यो ढोका खुलाउने बहाना हो । दाइ जान खोज्नुभयो । बुवाले रोकेर भन्नुभयो- म जान्छु । सुन्दै आएकी थिएँ, जनयुद्धमा डाक्टर र नर्सलाई पनि माओवादीले भिडन्तका बेला उपचारका निम्ति सँगै लिएर जान्छन् । सोचेँ- आज दाजुबहिनीलाई नै लिएर जाने भए ।

त्यही बेला बुवाले तलबाट बोलाउनुभयो- बाबु-नीलम तल आओ । लाग्यो बुवालाई माथि आउन पनि दिएनछन्, अब बुवालाई पनि सँगै लाने भए । आमामा पनि त्यही त्रास थियो । उहाँ त रुन लाग्नुभयो- नजा बाबु जाने होइन । मैले भनेँ, 'जानु त पर्छ नत्र उनीहरू यहीँ आउँछन् । हजुरलाई पनि लिएर जान्छन् ।'

'बाबु छिटो झर न', बुवाले फेरि बोलाउनुभयो । हामी दाजुबहिनी एकअर्काको हात समातेर झर्‌यौं । सिँढी झर्दा लगलगी काँपिरहेका थिए खुट्टा ।

'पल्लो गाउँमा डाँका लागेछ । डाँकाले काटेछ । सीमापारिबाट आएका डाँका र गाउँलेको भिडन्त भएछ... सटर खोल्नुपर्‌यो', बुवाले भन्नुभयो ।

हाम्रो घरको तल एक कोठामा क्लिनिक थियो । एक सीएमए भाइले चलाउँथे । दाइ हप्तामा दुईपटक गाउँको बिरामी जाँच्न नेपालगन्जबाट आउनुहुन्थ्यो । क्लिनिक सुरु भएको पनि धेरै भएको थिएन । सटरको चाबी हामीकहाँ नै हुन्थ्यो । ढोका खोलियो । अर्को कोठा खाली थियो, त्यो पनि खोलियो ।

त्यो खाली कोठा र आँगन घाइतेले भरिए । लडियामात्र होइन खटियामा पनि बोकेर ल्याइएको रहेछ बिरामी । प्राथमिक उपचारसम्म नगरी अन्त लौजाऊ भन्न मिल्ने अवस्था पनि थिएन । तर, राखेर उपचार गर्नु सहज पनि थिएन । हामीले लडियामै गएर बिरामी हेर्‌यौं । सर्सती जाँचेपछि प्राथमिकताका आधारमा दाजुबहिनीले घाउमा टाँका लाउन थाल्यौं । बुवाले क्लिनिकको भाइलाई पनि लिन पठाउनुभएछ । बिजुली थिएन । लाल्टिन र मैनबत्तीको उज्यालोमा रातभरि घाइतेको उपचारमा तल्लीन भयौं ।

त्यो खाली कोठा र आँगन घाइतेले भरिए । लडियामात्र होइन खटियामा पनि बोकेर ल्याइएको रहेछ बिरामी । प्राथमिक उपचारसम्म नगरी अन्त लौजाऊ भन्न मिल्ने अवस्था पनि थिएन । तर, राखेर उपचार गर्न सहज पनि थिएन ।

बिहान भयो । दाजुले अस्पतालमा भर्ना गर्नुपर्नेजस्ता बिरामीलाई अस्पताल लैजान भन्नुभयो । मानिसहरू भन्न थाले, 'डाक्टर साहेब नै यहीँ हुनुहुन्छ... क्या करी अस्पताल जाके ? ' तर पनि सम्झाएर दुईजनालाई नेपालगन्ज लैजानका लागि मनाइयो । यसै पनि फाट्टफुट्ट बस चल्ने सडकमा दसैंको दिन त झन् बस चल्ने कुरै थिएन । सजिलो थिएन बिरामी लैजान । लडियामा लैजान निकै समय लाग्थ्यो ।

दसैंको दिन । होटलहरू बन्द थिए । हामी दाजुबहिनी बिरामीको स्याहारमै व्यस्त थियौं । बुवा भने सबैको खानाको बन्दोबस्ततिर लाग्नुभयो । बिरामीहरू हाम्रा लागि अपरिचित भए पनि उहाँहरू बुवाको परिचित हुनुहुन्थ्यो । त्यस हिसाबले खानाको बन्दोबस्त गर्नु बुवाको कर्तव्य थियो । करेसाबारीमा चुलो बन्यो । भान्छे भने स्वयं घाइते लिएर आउने मानिसहरू भए ।

आमाले टीका लाउने सामान ठिक्क पार्नुभएको थियो । हामी हतारहतार टीका थाप्न बस्यांै । आफूले टीका लाइदिने बेला दाइले भन्नुभयो, 'तँ अब एमएड सक्नासाथ यतै आइज । काठमाडौं नबस । सँगै अस्पतालमा काम गरूँला । शुक्रबार शनिबार गाउँगाउँमा गएर स्वास्थ्य शिविर चलाऊँला । हेर् गाउँको सेवामा कति आनन्द छ ।' उहाँले जिल्लाका केही स्थानमा त्यसरी काम गर्न सुरु गरिसक्नुभएको पनि थियो । डा. देवेन्द्र कार्की भनेपछि नेपालगन्ज बर्दियामा छोटो समयमै अति प्रिय डाक्टर भइसक्नुभएको थियो ।

दाजु अति राम्रो चिकित्सक हुनुहुन्थ्यो । उहाँ विदेशमा काम गर्ने अफर अस्वीकार गर्दै नेपाल आमाको सेवा गर्छु भन्दै नेपाल फर्कनुभएको थियो । उहाँले गर्नुभएको रिसर्चको सिलसिलामा छापिएको अन्तर्वार्तामा यो कुरा पनि थियो ।
दाजुको प्रस्तावमा स्वीकृति जनाएँ । स्वीकृतिमात्र जनाइनँ, मनमा निश्चय नै गरेँ, गाउँ आएर मानिसहरूको सेवा गर्छु ।

पूर्णिमाको भोलिपल्ट काठमाडौं गएकी थिएँ । तिहारमा घर जान काम गर्ने अस्पतालबाट मलाई बिदा मिलेन । सदाका लागि दाजुसँगै काम गर्न जान्छु भनी काम गर्ने अस्पतालमा राजीनामा दिएँ । एमएड दोस्रो वर्षको परीक्षासम्मको मात्र प्रतीक्षा थियो । तर, दाइले मेरो प्रतीक्षा गर्नुभएन । सँगै काम गर्ने त्यो इच्छा पूरा हुन सकेन । त्यही वर्ष पुसको महिना दाजुले यो संसार नै छाडेर जानुभयो ।

मोटर दुर्घटनाले दाजुसँगै बुवालाई पनि लिएर गयो ।
दसैँमा बिरामी सुताएको आँगनमा दाजु र बुवालाई सुताइएको थियो । ठूलो भीड थियो । दुई महिनाअघि हामीले उपचार गरेकाहरू छाती पिटी पिटी रोइरहेका थिए ।
त्यही सटरमा किरिया बसेँ ।

काठमाडौं फर्केपछि गाउँ फर्किन सकिनँ । सेतो एप्रोन देख्न सक्थिनँ, अस्पताल टेक्न सक्थिनँ, नर्सिङ पेसा पुनः अँगाल्न सकिनँ । दाजुसँग जोडिएका यादबाट भाग्दैभाग्दै हिँडेँ । हो, बाँच्ने आआफ्नै तरिका हुन्छन् । म अति प्रियको वियोगमा यादसँग भागेर बाँचे ।

दाजु र बुवाबाट टीका आशीष ग्रहण गरेको अन्तिम दसैं थियो त्यो । त्यसपछिका दसैं भन्नु फगत रातो टीका र पहेँलो जमरा भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.