निबन्ध: मुस्ताङ एडभेन्ट

निबन्ध: मुस्ताङ एडभेन्ट

दिमागमा कुनै तिब्बती तान्त्रिकको कथा थियो, जसलाई म मुस्ताङको कुनै गुम्बाको लामा बनाउन चाहन्थेँ । उपयुक्त गुम्बा हन्टिङका लागि भदौको तेस्रो साता मुस्ताङ बाइकिङ गर्ने योजना बन्यो । तर निर्धारित दिन नआउँदै अवरोधक जानकारी आयो, 'बेनीदेखि १० किलोमिटरमाथि बेगखोलाको पुल बाढीले बगाइदिएको छ । बाइक त के जिप समेत जान सक्ने सम्भावना छैन ।' पाँच दिन लगातार पर्खिएपछि बेगखोलाको वेग थोरबहुत मत्थर भएको सूचना आयो । सूचना आउनेबित्तिकै केही दिनयताको अशान्त मन बोकेर भदौ मसान्तमा घरबाट हिडेँ ।

सात वर्षअगाडि पहिलोपटक मुस्ताङ बाइकिङ गरेको थिएँ । दशैंको माहौल थियो । तर गाउँमा दशैं थिएन । मुक्तिनाथ दर्शनका लागि हिडेँका गाउँलेहरू जिप दुर्घटनामा परी सामूहिक ज्यान गुमाएको अवस्था थियो । दुर्घटनाको प्रकृति र त्यसको न्यारेटिभ यति दर्दनाक थियो कि घरका मान्छेले मुस्ताङ बाइकमा जान अनुमति दिने अवस्था नै थिएन । तैपनि ४ थान बाइकमा सात थान मनुवाहरू मुस्ताङको बाटो नाप्न निस्केका थियौं । तिनताकाको बाटो यति भयानक थियो कि मान्छेले भन्ने रियल एडभेन्चरको अनुभूति भएको थियो । तल छङ्गाछुर कालीको भीर छ ।

माथि पहिरो खसिरहेको पहाड । बीचमा हिलाम्मे, साँघुरो चिप्लो बाटो । अहिले पनि भीर र पहाडको अवस्था उस्तै छ तर बाटोले कायापलट गरिसकेको छ ।

यसपटक म एकलै बाइकमा निस्केँ । बाटोको पुरानै चित्र आँखामा थियो । त्यसैले यसपटक झन् ठूलो एडभेन्चरको अनुभूति हुँदै थियो । तर बेनीबाट मास्तिर लाग्ने बित्तिकै थाहा भयो मुस्ताङ जाने बाटो पहिलेजस्तो एडभेन्चरस छैन । नाला र बाटो निर्माणमा खटिएका मजदुरलाई ठाउँ ठाउँमा देख्न सकिन्छ । बाटोका ठामठाममा बुलडोजरहरू खटिएका छन् । ट्र्याक्टर र ट्रकले निर्माण सामग्री ढुवानी गरिरहेका छन् । मुस्ताङको बाटोले पिच पर्खेर बसेको छ ।

बेनीदेखि मुस्ताङसम्मका प्रायः सबै खोलामा बेलीब्रिज हालिएको छ । बाटो चाक्लो पारिएको छ । ग्राभेलिङले हिलोलाई छोपेको छ । घाम लागेर बाटो सुक्खा भएको बेलामा ग्राउन्ड क्लियरेन्स कम भएका ट्याक्सीहरू समेत सजिलै ओहोदोहर गर्न सक्ने स–साना खाल्डा मात्रै छन् । जति जति माथि गयो बाटो उति राम्रो छ । मार्फादेखि माथिको बाटोमा त ४०÷५० किलोमिटर प्रतिघण्टाको दरले बाइक हुँइकाउन सकिन्छ ।

पहिलोपटक आउँदा कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा भयानक थियो । अन्यन्त ठाडो बाटोमा डबल लोड नतानेर ठाउँ ठाउँमा एकजना ओर्लर्दै धकेल्दै गरेका थियौं । कपाल खौरला जस्ता धारिला ढुंगाहरू बाटैभरि थिए । 'धर्म भएकाले उक्लन सक्ने, पापीले कट्न नसक्ने' किंवदन्ती भएको कागबेनी–मुक्तिनाथको 'धर्म उकाली' अब किंवदन्तीमै सीतित भएको छ । समग्र मुस्ताङ जिल्लाकै सबैभन्दा राम्रो बाटो यही उकालोमा बिछ्याइएको छ । चिम्ट्याइलो माटोले बनेको पहाड भएकाले खनिएको बाटोमा पानीको निकास लगाइएको छ । बाटोमा ग्राभेलिङ गरिएको छ । हाइवे स्तरमा चाक्लो पारिएको छ । तल कालीगण्डकीबाट बालुवा ल्याएर सिमेन्टका छेकवार लगाइएको छ । अबको एकदुई वर्षमा मुस्ताङ जिल्लाकै पहिलो पिच बाटो हुने अवसर यसले पाउँछ भन्ने अनुमान गर्न सकिन्छ ।

बाटोले मात्रै होइन मुस्ताङ जिल्लाको रूपान्तरणमा कृषिले पनि भूमिका खेलेको छ । परम्परागत उवा, तोरी, फापर, गहुँ, आलु आदि बाली लगाइने बारीमा अचेल स्याउका बोटहरू हुर्किरहेका छन् । आवधिक खेती गर्ने कामदार पाइन छोडेकाले किसानले बारीमा स्याउ रोप्न थालेका हुन् । स्थानीयहरूको मुख्य पेशा पर्यटन, व्यापार हुन थालेकाले पनि आवधिक खेतीप्रतिको आकर्षण कम भएको हो । मुस्ताङका धेरैजसो घरमा मान्छेहरू युरोप र अमेरिकामा छन् । अध्ययन र वैदेशिक रोजगारीका लागि गएका तिनीहरूको ज्ञान, सीप र अनुभवले पनि मुस्ताङको रूपान्तरणमा भूमिका खेलेको छ ।

मुस्ताङका समथर जस्तो परेका हरेक जमिनमा पानी पुर्‌याउने जोहो गरिएको छ । सिँचाइका लागि कालीगण्डकीका दजनौं क्यापिलरीलाई भरमग्दुर प्रयोग गरिएको छ । सके नहर नसके ठूल्ठूला पाइप प्रयोग गरेर बन्जर जमिन भिजाइएको छ । पाइपले गरिने सिँचाइले गर्दा उबडखावड बाटोबाट पनि पानीलाई बारीमा पुर्‌याउन सकिन्छ । सिँचित जमिनमा रोपिएका स्याउका हुर्कौला पोथ्राहरूले अबको दश वर्षपछिको मुस्ताङको रूप फेर्ने कुरा अनुमान गर्न सकिन्छ ।

हिमाल पारीको जिल्ला मुस्ताङ चिसो मरुभूमिका रूपमा विख्यात छ । तर प्राकृतिक मरुभूमिमा मानवीकृत हरियालीको हस्तक्षेप बढ्दो दरमा छ । प्राकृतिक धूपी र सल्लाको जङ्गल मार्फातिरै सकिन्छ । तर स्याउ, बैंश र भोटे पिपलको मानवीकृत जङ्गलले मुस्ताङको हरियाली ह्वात्तै बढाएको छ । सात वर्ष पहिलेसम्म मुक्तिनाथ क्षेत्र र नजिकै रानीपौवा बजारमा गिन्तीका केही रूख थिए । अहिले बाक्लो वनको झल्को दिने गरी अनगिन्ती रूख बढाइएका छन् । मुस्ताङका पशुपालनको आकर्षण नराम्ररी घटेको छ । यातायातको सुविधाले घोडा, खच्चड र गधा पाल्न छोडेका छन् । भेडा, च्याङ्ग्रा, झोपा, चौंरीको माग समेत डोल्पाले धान्न थालेको छ । लेकाली घाँस चर्ने पालुवा पशुको संख्या घट्दै गएकाले होला, अचेल पहाडहरू पनि घाँसे–हरियाली देख्न सकिन्छ ।

सात वर्षपहिले 'धर्म उकाली'मा भएका विशाल चौरहरू पूरै ठूल्ठूला चुच्चे ढुंगाले भरिएका थिए । अहिले ती ढुंगालाई निर्माणमा प्रयोग गरिएकोले चौर पूरै खाली छ । चौरहरू जंगली धूपीका झुप्पाहरूले भरिएर हरिया देखिन्छन् । उत्तरपट्टिको चौरमा एउटा ठूलो स्याउ फार्म भर्खर सञ्चालनमा आएको छ । दक्षिणतिरका दुई चौरमा बाटोको नाला सोझ्याइएको छ । नालामा पानी बग्न थाल्नेबित्तिकै त्यहाँ पनि सामुदायिक स्याउ फार्म स्थापना हुने छाकछन्द देख्न सकिन्छ ।

बाटोले मात्रै होइन, मुस्ताङ जिल्लाको रूपान्तरणमा कृषिले पनि भूमिका खेलेको छ । परम्परागत उवा, तोरी, फापर, गहुँ, आलु आदि बाली लगाइने बारीमा अचेल स्याउका बोटहरू हुर्किरहेका छन् ।

विदेशीले लगभग पचास हजार प्रवेश शुल्क तिरेर हेर्ने उपल्लो मुस्ताङ सित्तैमा पाउँदा किन नहेर्ने ? यही प्रश्नले होला, बाटोभरी नेपाली पर्यटकहरू प्रशस्त देखिए । विदेशी र स्वदेशीको सरोवरी थिए । त्यसो यो समय मुस्ताङमा च्याङ्ग्रा र भेडाको ठूलो व्यापार हुन्छ । सायद यसैले पनि नेपालीको तादाम्य ज्यादा देखिएको होला । व्यापारीहरू ज्यादातर जिपमा यात्रा गर्दा रहेछन् । त्यसो त पैदल, साइकल, मोटरसाइकल र जिप सबै यात्रीका आ–आफ्ना रोमाञ्चकता हुन्छन् ।

जान्नेहरू भन्छन्, कागबेनी मास्तिरको परिचय नै खासमा मुस्ताङको परिचय हो । कागबेनी मुन्तिरबाट जे मुस्ताङ देखिन्छ त्यो निथार पहिचान हो, मूल पहिचान होइन । सदरमुकाम जोमसोम, मार्फा र त्यस सेरोफेरोको टुकुचे, कोवाङ, कुञ्जो र लेतेमा मुलतः थकाली संस्कृति हावी छ भने कागबेनी मास्तिरको मुक्तिनाथ, झोङ, छुसाङ, घमी, चराङ, लोमान्थाङ, छोन्हुप, सुर्खाङ र छोसेरमा तिब्बती संस्कृतिको नेपाली संस्करण देख्न पाइन्छ । आधुनिक शिक्षा, सञ्चार र यातायातले पनि आजका मितिसम्म बिगार्न नसकेको जीवित ल्होपा संस्कृतिको सकल स्वरूपको झल्को पाउन पनि उपल्लो मुस्ताङ जानै पर्छ ।

तर कागबेनीमाथिको छुसाङ कटेर माथि जान सजिलो छैन । प्रवेशद्वारमै बाटोले सातो लिन्छ । कागबेनीदेखि चराङसम्मको बाटो डरलाग्दो छ । यो बाटोमा सार्वजनिक सवारीमा चारपांग्रे जिप चल्छन् । कहाली लाग्ने भीर काटेर बनाइएका साँघुरो बाटोमा दोहोरो मोटर पास हुने ठाउँ कतै कतै मात्रै छन् । सानो गल्ली भयो भने गल्ती सच्याउने अवसर समेत नपाइने अग्ला अग्ला पहाडको गल्छेडाबाट बाटो घुसाइएको छ । तर चराङ मास्तिर लागेपछि भने बाटो तेर्पायाँ तेर्पायाँ छ । लगभग समथर । लोमान्थाङबाट वरपरका सबै गाउँमा जाने बाटो पनि सुरक्षित र सजिला छन् ।

लोमान्थाङलाई छोएर बसेका चराङ, छोन्हुप, छोसेर र सर्खाङको जनजीवन मुस्ताङे संस्कृतिको मूल जरो हो । तर उपल्लो मुस्ताङको माटोलाई मोटरले कुच्चेपछि लोमान्थाङ क्षेत्र तीव्र शहरीकरणको चपेटामा छ । मान्छेहरूले खच्चड र गधा त पाल्नै छाडेका छन् । दश वर्ष अघिसम्म लोमान्थाङका बासिन्दालाई अन्न बोकेका खच्चड र गधा अहिले छँदै छैनन् । तिनीहरूलाई डोल्पा र रुकुमतिर बेचिएको बताउँछन् स्थानीय नोर्बु वाङचुक । मुस्ताङे संस्कृतिको अभिन्न अङ्ग हो घोडा ।

यहाँ वर्षेनि घोडा दौडको मेला पनि लाग्छ । तर घोडाहरू देखिन्नन् पहिले जसरी गिन्तीमा । घोडा पाल्ने आवश्यकता घट्दै जानुले मुस्ताङको संस्कृतिमा कस्तो प्रभाव पार्छ ? जो कोहीले अनुमान गर्न सक्छ । समरमाथिका प्रायः सबै घरमा अहिले चिनियाँ मोटरसाइकल देख्न पाइन्छ । बिल बुक र नम्बरप्लेटविहीन अर्थात् बिनादर्ताका चिनियाँ भट्भटेले घोडालाई नराम्ररी विस्थापित गरिरहेको छ ।

पोखरेलीहरूका माझ दशैंको मुख्य सपिङ हो, मुस्ताङे च्याङ्ग्रा । भेडा र बाख्राभन्दा पनि च्याङ्ग्राको आकर्षण बढी हुन्छ दशैंमा । तर आजकाल जोमसोम हुँदै जति खसीहरू पोखरा र अन्यत्र लगिन्छन् तिनीहरूमध्ये अधिकांश मुस्ताङका होइनन् । 'मुस्ताङे लोकल' भनेर बेचिने यी खसी च्याङ्ग्राहरू अधिकांशतः तिब्बतबाट अनधिकृत रूपमा भित्रिन्छन् । छोसेर मास्तिर सानो भन्सार छ तर भन्सारमा भन्सारका कर्मचारी छैनन् । भन्सारको अफिस धानेर बसेका एक प्रहरी सुरक्षाकर्मीका अनुसार व्यापारीहरू 'एक सय खसी बोर्डरतिर चराउन लैजान्छन् । फर्किदा दुई सय ल्याउँछन् । हुलको खसी गन्ने कुरा र गन्न सक्ने कुरा पनि भएन ।'

भेडा च्याङ्ग्राको अर्को ठूलो हिस्सा डोल्पाले ओगटेको छ । पोखरेलीहरू 'डोल्पाली च्याङ्ग्राले नुन बोक्छ । मिठो हुन्न ।' भन्छन् । तर डोल्पाली च्याङ्ग्रा पनि जोमसोम उत्रेर पोखरा ओर्लिएका हुन्छन् भन्ने कुरा कतिलाई थाहै हुन्न । डोल्पाबाट भेडा च्याङ्ग्रा मात्रै होइन, चौरी, नाक, याक पनि आउँछन् । तिहारको बेलातिर मुस्ताङेले घरमा एउटा याक काट्छन् । मैले बाटोमा डोल्पाबाट ल्याइएका दर्जनौं याकहरू पनि देखेँ । यो वर्ष रोज्जा याकको मूल्य घटीमा एक लाख तीस हजार पुगेको डोल्पाली पशु व्यवसायी सुवास साहीले बताए ।

मुस्ताङको विकासको मुख्य साधक र बाधक कालीगण्डकी हो । वर्षेनि देखिने कालीको कहरलाई न्यूनीकरण गर्न सकिएन भने नदीको कोरिडोरमा बसेका तमाम बस्तीको भविष्य जोखिममा पर्छ । पोहोर मात्रै मुस्ताङ छिर्ने बाटोमा पर्ने बैशरीको पुरै बस्ती कालीगण्डकीले बगायो । यही भदौमा बेग खोलाले नजिकका सबै घर बगाएर लग्यो । कालीगण्डकीमा आउने अप्रत्याशित बाढीका कारण छुसाँङको खेतीयोग्य जमिन काटेको छ । यसले नजिकैको बस्तीलाई पनि धम्की दिएको देख्न सकिन्छ । कागबेनीमा कङ्क्रिट तटबन्ध गरिएको भए पनि सुरक्षा खतरालाई तटबन्ध पूर्णतया रोकेको विश्वास गर्न सकिन्न ।

मुस्ताङ पस्नेबित्तिकै यसमाथिको वैदेशिक चासो छरपस्ट देखिन्छ । यहाँका मिस्टिक गुम्बाहरूमा लगानी गरेर भारतले धार्मिक कूटनीतिमा हात हालेको छ । अमेरिकन हिमालयन फाउन्डेसनले मुस्ताङका पुरातात्विक र सांस्कृतिक सम्पदामा लगानी गरेको छ । दुवै देश कूटनीतिको विशेष अर्थ लगाएको चीनले भने भौतिक विकासमा लगानी गरेको छ । मुस्ताङको सांस्कृतिक सदरमुकाम लोमान्थाङका घरमा बल्ने बिजुलीको प्लान्ट चीनले हालेको हो । यसै वर्ष मात्रै चीनले उपल्लो मुस्ताङका संवेदनशील गाविसका घरघरमा टिभी चलाउन मिल्ने सोलार, २० बोरा सिमेन्ट र केही जस्तापाता बाँडेको थियो । धर्म, संस्कृति र भौतिकताको नामबाट भएका त्रिकोणात्मक कूटनीतिक लगानीको द्वन्द्वात्मक फाइदा उठाइरहेको छ, मुस्ताङ ।

यो हप्ता म लुरी जाँदै छु । तिब्बती शरणार्थी विद्रोहको एउटा हिस्सा । भन्नेहरू धार्मिक गुरु दलाई लामालाई यसै ठाउँमा लुकाएको थियो पनि भन्छन् । तर तथ्यले जे भने पनि लुरी गोम्पाकै वरपरको कुनै पहाडी गुम्बामा मेरो काल्पनिक गुम्बा बन्ने छ । जहाँ मेरो तिब्बती तान्त्रिकको होमेज हुने छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.