हिमालय एयरलाइन्सले सुरु गर्यो काठमाडौँ–कोलम्बो सिधा उडान
काठमाडाैं: निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले शनिवारदेखि काठमाडौँ– कोलम्बो (श्रीलङ्का) को सिधा उडान सुरु गरेको छ।
कतारको दोहा दैनिक उडान भर्दै आएको हिमालयले दोस्रो गन्तव्यका रुपमा कोलम्बो उडान भरेको हो। हिमालय एयरलाइन्सको एयरबस ३२० सिरिजको नाइन एन एएलएएन कलसाइन भएको जहाजले बिहान ११ः३० बजे ३१ यात्रु बोकेर कोलम्बो गएको हिमालय एयरलाइन्सका वाणिज्य महाप्रबन्धक राजु केसीले जानकारी दिए।
उनका अनुसार आजै फर्कने उक्त जहाजले कोलम्बोबाट १०२ यात्रु लिएर फर्कनेछ। सुरुको उडान भएकाले आज थोरै यात्रु भए पनि विस्तारै यात्रु सङ्ख्या बढ्ने महाप्रबन्धक केसीले बताए।
श्रीलङ्काबाट बढी पर्यटक भित्र्याउने लक्ष्यसहित हिमालयले सेवा सुरु गरेको जनाएको छ। हिमालयले हप्ताको तीन दिन प्रत्येक मङ्गलबार, बिहीबार र शनिबार कोलम्बोमा उडान भर्नेछ। उडान तालिका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११.३० बजे उड्ने र दिउँसो ३.१५ बजे कोलम्बोमा अवतरण हुनेछ भने अपराह्न ४.१५ मा कोलम्बोबाट उडेर बेलुकी ८.१५ बजे काठमाडौँ आइपुग्नेछ।
सन् २०१६ भित्रै पाँच गन्तव्यमा उडान भर्ने तयारी गरेको एयरलाइन्सले भारतको नयाँदिल्ली, साउदी अरबको दमाम र बर्मामा पनि उडान सुरु गर्नेछ भने अर्को वर्ष चीनका विभिन्न गन्तव्यमा उडान भर्ने जनाएको छ।
हाल १५८ सिट क्षमताको एक मात्र एयरबस रहेको हिमालयले आगामी अक्टोबरभित्र थप अर्को एयर बस भित्र्याइ नयाँ गन्तव्यमा उडान भर्ने जनाएको छ। रासस