खसीबोकाको स्वास्थ्य परीक्षण सुरु
काठमाडौं: सरकारी टोलीले राजधानीका विभिन्न स्थानमा खसीबोकाको स्वास्थ परीक्षण सुरु गरेको छ । पशु सेवा विभाग, पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय, भेटेरिनरी जनस्वास्थ्य कार्यालय, केन्द्रीय पशु क्वारेन्टाइन कार्यालय र केन्द्रीय पशु चिकित्सालयको संयुक्त आयोजनामा राजधानीका विभिन्न स्थानमा शनिबारदेखि खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरिएको हो । उपत्यका बाहिरबाट अस्वस्थ खसीबोका पनि बिक्रीका लागि ल्याइने भएकाले उपभोक्ताको हितलाई ध्यानमा राखी परीक्षण गरिएको हो ।
टोलीले स्वस्थ भएका खसीबोकाको सिङ्मा हरियो र अस्वस्थको सिङ्मा रातो चिन्ह लगाउने गरेको छ । कलंकी, टुकुचा, बिजुली बजार, भक्तपुरको साँगा, काठमाडौंको चोभार, नागढुंगा र बालाजुमा खसीबोकाको स्वास्थ परीक्षण भइरहेको छ ।
आएनन् संस्थानका खसीबोका
नेपाल खाद्य संस्थानले पूर्वनिर्धारित समयअनुसार घटस्थापनादेखि खसीबोका बिक्री गर्न सकेन । संस्थानले सडक जामका कारण तोकिएको समयमा खसीबोका राजधानी आइनपुगेको जानकारी दिएको छ ।
संस्थानका प्रवक्ता पवन कार्कीले खसीबोका बाटोमा रहेकाले शनिबारदेखि बिक्री गर्न नसकिएको जानकारी दिए । उनका अनुसार हेटौंडामा खरिद गरिएका चार सय गोटा र लाहानमा खरिद भएका दुई सय ५० गोटा खसीबोका सडक जामका कारण बाटोमै अलपत्र परेका छन् । 'बाटो खुलेपछि शनिबार रातिसम्म ती दुई स्थानका खसीबोका राजधानी आइपुग्छन्', उनले भने, 'त्यसपछि मूल्य निर्धारण गरी आइतबार दिउँसोदेखि बिक्री गर्छौ ।'
संस्थानले यसपटक एक हजार पाँच सय खसीबोका बिक्री गर्ने लक्ष्य राखेको छ । तुल्सीपुरमा पनि दुई सय खसीबोका खरिद गरिएको छ । यसैगरी बाँकी खसीबोका खरिद गरी निकट समयमै राजधानीमा भित्र्याइनेछ । यस्तै संस्थानले एक हजार पाँच सय च्याङग्रामध्ये सात सय ५० वटा खरिद गरेर ६० वटा राजधानीमा भित्र्याइसकेको छ ।