पूर्वखेलाडीको लगानी

पूर्वखेलाडीको लगानी

उनी राष्ट्रिय च्याम्पियन बने । एसियाली खेलकुदमा सहभागी भए । औसत नेपाली खेलाडीले देख्ने सपना पोखरेली हरिश्वर पोखरेलले पनि पूरा गरे (अन्तर्राष्ट्रिय सहभागितालाई मात्र सफलता मान्ने खेलाडीको जमात नेपाली खेलकुदमा अहिले पनि अधिक छ ।) त्यसबीचमा आमनेपाली खेलाडीजस्तै ‘नेपाली खेलकुदमा खेलेर जीवनयापन गर्न गाह्रो छ' उनले पनि राम्रोसँग बुझेका थिए ।

त्यसमा पनि सन् १९८० को दशक करिअर बनाउनका हिसाबले नेपाली खेलकुद निकै पछाडि थियो । नेपालभित्र खेलकुदको माहोल थियो तर भविष्य सोच्नेहरू चिन्तित हुन्थे । त्यो चिन्ताले हरिश्वरलाई पनि नमीठोसँग पिरोलेको थियो । दुईपटक हात भाँचिएपछि उनी थप सोच्न बाध्य भए । ‘मलाई खेलकुदको लत लागिसकेको थिएँ । तेक्वान्दोको नशा चढिसकेको थियो', हरिश्वर सम्झन्छन् ।

पञ्चायतकालीन समयको अन्त्यतिर धेरै मार्सल आर्ट गेमहरू नेपाल भित्रँदै थिए । यी धेरै खेल यहाँ प्रतिबन्धितजस्तै थिए, खेलाडीहरूले सरकारी अधिकारीबाट लुकेर खेल्नुपथ्र्यो । त्यति बेला बढी मार्सल आर्टको खेलाडी भनिन्थ्यो, तेक्वान्दो, जुडो, कराँते वा अन्य मार्सल आर्टका खेलसँग जोडेर भन्दा ।

मार्सल आर्ट खेल्ने खेलाडीलाई कसैले छुन सक्दैन भन्ने १३/१४ वर्षमा हिँडिरहेका हरिश्वरले धेरैबाट सुने, देखे पनि । उनलाई पनि मार्सल आर्ट सिक्ने रहर जाग्यो । ‘तर, त्यति बेलासम्म मलाई खेलकुदले आकर्षित गरेको थिएन । सेल्फ डिफेन्स बढाउन मार्सल आर्ट सिक्न लागेको थिएँ', उनी स्पष्ट पार्छन् । कोही देखी डर थियो र ? उनी मुस्कुराए अनि मुख खोले, ‘त्यस्तो त थिएन तर मार्सल आर्ट सिकेपछि कसैले हेप्न सक्दैन भन्ने थियो ।'

उनले स्थानीय अर्जुन गुरुङसँग क्युकोसिन सिके । सेतो कपडा लगाएर खेल्नुपर्ने भएकाले उनलाई बरखी बारेजस्तो भएर के खेलेको भन्ने पनि धेरै थिए । ‘तर मलाई मार्सल आर्ट सिक्नु थियो । जंगलमा गएर पनि धेरै पटक सिकियो', उनले सम्झिए । विस्तारै उनको झुकाव तेक्वान्दोमा बढ्यो ।

त्यसयता उनले खेलाडी बनेको पत्तै पाएनन् । वीरगन्जमा आयोजित राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा सहभागी भएका हरिश्वर दोस्रो भए । २०४० सालमा आयोजित वीरेन्द्र शुभजन्मोत्सवमा उनले आफ्नो स्पर्धामा पहिलो स्थान हात पारे । राजविराजमा आयोजित मार्सल आर्ट च्याम्पियनसिपमा उनले तेस्रो स्थान हात पारे । केही वर्षबीचमा उनी अन्य प्रतियोगितामा सहभागी भए । ‘तर, घाइते भएपछि मैले विकल्प खोज्नुपर्ने समय आइसकेको थियो', उनले भने ।

काठमाडौंका विभिन्न स्थानमा एकेडेमीका शाखा खोलेर हजारौं विद्यार्थीलाई एकैसाथ प्रशिक्षण गर्ने उनको योजना छ । 

यही समयमा उनले दक्षिण कोरिया र जर्मनीमा क्लबमा प्रशिक्षण गराउने अवसर पाए । स्वदेश फर्किएपछि व्यापारामा हात हाले । पुस्तौंदेखि व्यापारमा रहेको लत उनलाई पनि थियो । उनले गण्डकी ग्रुप स्थापना गरी टायर रिसोइलिङको काम सुरु गरे । व्यापारको व्यस्तताले समय बितेको उनले पत्तै पाएनन् । तर, उनलाई लागी नै रह्यो, मैले खेलकुदका लागि केही गर्नैपर्छ ।

नक्सालस्थित सानिमा बैंकको ‘अपोजिट साइड'मा रहेको भवनको ग्राउन्ड फ्लोरमा चर्चित मम हाउस छ, क्लासिक मम । त्यसको माथिल्लो तलामा फिटनेस सेन्टर छ, अर्जुन फिटनेस सेन्टर । यो फिटनेस सेन्टरमा तेक्वान्दो, कराँते र फिटनेसका छुट्टाछुट्टै आधुनिक हलहरू छन् । यी सबैका मालिक हुन् हरिश्वर ।

‘व्यापार मेरो पेसा हो भने खेलकुद रुचि । खेलकुदसँगै व्यापारमा मैले लामो समय बिताएँ । यी सबैले मलाई धेरै कुरा दिए । त्यसमा पनि खेलकुद त मेरो दायित्वमा पर्छ', उनले भने ।

उनले सास नफेरी अगाडि थपे, ‘जुन चिज टेकेर माथि उठिन्छ, त्यसलाई सधैं याद गर्नुपर्छ ।' आफूलाई मार्सल आर्ट सिकाउने अर्जुन गुरुङकै नाममा उनले फिटनेस सेन्टरको नाम राखेका छन् । कराते र तेक्वान्दोमा गरी ५० जना खेलाडी उनको एकेडेमीमा सिकिरहेका छन् ।

‘आफ्नै एकेडेमी भएपछि आफूले भनेजस्तो गर्न पाइने रहेछ । अरूसँग काम गर्दा त्यो अवसर हुँदैन', उनले थपे । लामो समय व्यापारमा मात्र सीमित भएर उनी ६ वर्षअघि नेपाल तेक्वान्दो संघमा पदाधिकारी बनेर छिरेका थिए । उनी अहिले यो संघमा उपाध्यक्ष छन् ।

तर, फिटनेस सेन्टरले आफ्नो महतवाकांक्षा पूरा गर्ने उनको विश्वास छ । ‘खेलाडीहरूले सिक्ने र खेल्ने ठाउँ पाउनुपर्छ । खेलकुद विकासको यो आधारलाई भुल्न हुन्न', उनी भन्छन् । हरिश्वरले ४० लाख रुपैयाँ खर्च गरेर चीनबाट कराँते र तेक्वान्दोका लागि आवश्यक पर्ने म्याट र अन्य किट्स ल्याएका छन् ।

काठमाडौंका विभिन्न स्थानमा एकेडेमीका शाखा खोलेर हजारौं विद्यार्थीलाई एकसाथ प्रशिक्षण गर्ने उनको योजना छ । एकेडेमीकै आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने पनि सोचेका छन् । ‘नेपाली खेलकुदलाई एउटा बाटो देखाउन सकेँ भने त्यो नै मेरो सफलता हुनेछ । कम्तीमा खेलाडीले खेलकुदबाटै पेट पाल्नसक्ने वातावरण बनोस्' , उनको संकल्प छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.