संस्कृति जहिल्यै धरापमा हुन्छ

संस्कृति जहिल्यै धरापमा हुन्छ

अंग्रेजी साहित्यका प्राडा अरुण गुप्तो संस्कृति अध्ययन, अनुसन्धानका ब्रान्ड हुन् । उत्तर औपनिवेशिक चिन्तनदेखि दक्षिण एसियाली संस्कृति उनको खास अध्ययन–क्षेत्र हो । उनको विशेषता के भने, उनी कि त किताबमा भुलिरहेका हुन्छन्, कि काठमाडौंका गल्ली–गल्ली चहारिरहेका । असलमा यी फकिर हुन्– विचार, चिन्तन, दर्शन र कलाको संसारमा बेपरवाह डुलिहिँड्ने ‘ज्ञानी फकिर’ । काठमाडौं उपत्यकाका पुरातात्विक गल्लीहरूमा यी प्राध्यापक पूर्वीय दर्शनका चुरो खोजी हिँड्छन् । निर्धक्क भन्छन्, ‘काठमाडौंको कुनै गल्लीमा अलमल परे मलाई फोन गर्नु, बाटो बताइदिन्छु ।’ काठमाडौंको संस्कृति, मिथक, हरेक चोक र गल्लीहरूमा भेटिने देवीदेउतामाथि अनुसन्धान गरेर उनले यसै वर्ष किताब लेखेका छन्, ‘गडेस अफ् काठमान्डु भ्याली’ । काठमाडौंमा रहेको ‘इन्स्टिच्युट अफ एडभान्स कम्युनिकेसन, एजुकेसन एन्ड रिसर्च (आईएसर)’ का प्रमुखसमेत रहेका गुप्तोसँग मंगलबार संस्कृति र मिथकमा केन्द्रित भएर दीपक सापकोटा र लक्ष्मण श्रेष्ठले गरेको कुराकानी

 तपाईं ‘कल्चरल स्टडिज' पढाउनुहुन्छ र यसमाथि लेख्नुहुन्छ । के हो कल्चरल स्टडिज ?

संस्कृति अध्ययनका दुई रूप छन्- कल्चरल एन्थ्रोपोलोजी (सांस्कृतिक मानवशास्त्र) र कल्चरल स्टडिज (सांस्कृतिक अध्ययन) । कल्चरल एन्थ्रोपोलोजीले मटेरियल प्रोडक्सन (वस्तुगत उत्पादन) जस्तैः खुकुरी, टोपी आदिले संस्कृतिलाई के प्रभाव पार्छ भन्ने अध्ययन गर्छ । जस्तै खुकुरी राष्ट्रियतासँग जोडिन्छ, गुन्द्रुक स्मृतिसँग ।

सेलफोनको उत्पादनले मानिसको व्यवहारमा कस्तो प्रभाव पारिरहेछ भन्ने अध्ययन क्षेत्र कल्चरल एन्थ्रोपोलोजीको हो । विस्तारै संस्कृतिमा अर्थको खोजी हुन थाल्यो जस्तै नेपाली गीतमा खुकुरीको सेलिब्रेसनको अर्थमाथि विमर्श हुन थाल्यो । कल्चरल स्टडिजले कल्चरल एन्थ्रोपोलोजीबाट सिकेको हो।

कल्चरल स्टडिजले सामान्य विषयहरूलाई सेलिब्रेट गर्छ । हरेक दिन हुने सामान्य विषयहरूलाई सेलिब्रेट गरिनुपर्छ भन्छ यसले । पहिले-पहिले युरोपेली सिद्धान्तमा संस्कृति भनेको रिफाइनमेन्ट (परिष्कार) हो, स्विटनेस हो, ज्ञानको कुरामात्रै हो भन्ने व्याख्या थियो । यसोभन्दा त साधारण मानिसहरू संस्कृतिबाट छुट्टिए !

अरू त जंगली भए ! तर संस्कृति त सबै हो । दैनिक जीवन पनि संस्कृतिकै अंग हो । त्यसैले कल्चरल स्टडिजले हरेक दिन हुने साधारण घटनालाई समेट्छ । यो वामपन्थी विचारधाराबाट प्रभावित छ । थप अर्को पक्ष, कल्चरल स्टडिजमा तटस्थ भन्ने हुँदैन ।

अहिले बनिरहेका मूर्तिहरू हेर्ने हो भने हिरोइनका अनुहारजस्ता छन् । एकपटक एउटी देवीको अनुहार बलिउड कलाकार हेमा मालिनीजस्तो देखियो भनेर व्यापक विवाद भएको थियो । यो उपभोक्तावादी संस्कृतिको प्रभावको परिणाम हो ।

कल्चरल स्टडिजले सीमान्तकृत, हेपिएको र दुःखमा परेको समुदायको पक्षमा बोल्नुपर्छ भन्ने मान्यता राख्छ । त्यस्तै यो राजनीतिक शक्तिसँग पनि सम्बन्धित छ । सारमा, कल्चरल स्टडिजले दैनिक जीवनको अध्ययन, दुःखमा परेको समुदायको पैरवी र राजनीतिक शक्तिसँगको सम्बन्धबारे अध्ययन गर्छ ।

त्यसो भए कल्चरल स्टडिजले संस्कृतिलाई कसरी लिन्छ ?
युरोपका एकजना ठूला कवि, लेखक थिए म्याथ्यु आर्नोल्ड । उनलाई औपनिवेशिक चिन्तकको रूपमा लिइन्छ । उनले ‘कल्चर एन्ड अनार्की' भन्ने पुस्तकमा लेखे- संस्कृति भनेको स्विटनेस र लाइट हो, अनार्की होइन । उनको यस परिभाषाबाट गाउँघरका किसान, मजदुर, गरिब संस्कृतिको घेराबाटै बाहिर परे । पढेलेखेको, विश्वविद्यालय गएको, सहरिया भद्र महिला-पुरुषमात्रै सु-संस्कृत हुन् भन्ने परिभाषा गलत हो ।

यो पश्चिमा परिभाषा हो संस्कृतिको । संस्कृतिलाई पूर्वधारणा लिएर परिभाषित गर्नुहुँदैन । संस्कृतिलाई विकास, रिफाइनमेन्ट भन्नासाथ गलत हुन जान्छ । पोस्टकोलोनियल राइटर्सहरू यस्तो मान्यता स्वीकार गर्दैनन् चाहे ती गायत्री स्पिभाक हुन् वा एडवर्ड सइद वा अरु । स्पिभाकले एक ठाउँमा भनेकी छिन्, ‘औपनिवेशिक चिन्तनको सामना गर्न कल्चरल स्टडिज सुरु गरिएको हो' । वास्तवमा हरेक संस्कृति आफैंमा प्रगतिशील हुन्छ । हरेक संस्कृतिमा आफ्नैखाले आधुनिकता पनि हुन्छ ।

पश्चिमी संस्कृति आधुनिक छ, हाम्रो छैन भन्ने एकथरी चिन्तन निकै गलत हो । पाँच सय वर्ष पहिलाको आधुनिकता बेग्लै थियो, अहिले बेग्लै छ । कल्चरल स्टडिजले हरेक संस्कृतिलाई सम्मान गर्छ । हरेकमा आधुनिकता, पराभौतिकता, म्याजिक, ज्ञान हुन्छ त्यसलाई उजागरमात्र गर्नुपर्छ । राउटेकै उदाहरण लिउँ- उनीहरूको आफ्नै खाले संस्कृति छ ।

उनीहरू फिरन्ता छन्, निश्चित बासस्थान छैन, जंगलमा बस्छन् त्यसैले उनीहरू सु-संस्कृत छैनन् भन्नु गलत हुन्छ । कल्चरल स्टडिजले प्रकृतिप्रति उनीहरूको सामीप्यता, झुकाव, प्रकृतिबारेको ज्ञानको अध्ययन गर्छ । त्यसैबाट सिक भन्छ ।

राष्ट्रिय भावना र संस्कृतिबीच कुनै सामञ्जस्यता हुन्छ कि हुँदैन ?

राष्ट्रियता र राष्ट्रिय भावना सिंगुलर कन्सेप्ट (एकल अवधारणा) हुन् । नेपाली राष्ट्रियताको कुरा गर्नेबित्तिकै तपाईंले नेपालीपनलाई एउटै भाषा, एउटै फूल, एउटै जन्तुले रिप्रिजेन्ट गर्छ भन्ने मान्नुपर्छ । एकजना दार्शनिकले भनेका छन्, ‘राष्ट्रिय भावना फर्गेटफुलनेस (विस्मरण) हो ।' जस्तै नेपालको राष्ट्रिय भाषा नेपाली हो भनेपछि तपाईंले अरू भाषालाई बिर्सनुपर्छ ।

सबैलाई ल्याएर राष्ट्रियता बनाउन सकिँदैन । राष्ट्रियता भन्ने नै ‘सिंगुलर' हो । अर्कोतर्फ संस्कृति आफैंमा बहुल हुन्छ । नेपालमा त झन् बहुसंस्कृति छ । एउटा संस्कृति अर्कोसँग नमिल्न सक्छ । एकातिर मल्टिकल्चरल छ अर्कोतिर राष्ट्रियता छ किनभने देशलाई एउटा सिंगुलर इन्टिटी (एकल रूप) मान्नुपर्‍यो । ती बीच विरोधाभास हुन्छ । संस्कृति धेरै प्ल्युरल छ । राष्ट्रियता फेरि सिंगुलारिटीतिर जान्छ । त्यो ठूलो विरोधाभास हो, त्यसले नै समस्याहरू ल्याइरहेको छ ।

अहिले हामीले नेपाली संस्कृति भनेर केही परिभाषा दिन सक्छौं कि सक्दैनौं ?

हामीले केही मान्यताका आधारमा नेपाली संस्कृतिको परिभाषा दिन सक्छौं । जस्तै यो फूल, यो खाना, यो भेषभूषा नेपाली हो भन्ने मान्न सक्छौं । नेपाली संस्कृति यस-यस कारणले भारतीय वा अन्य संस्कृतिसँग मिल्दैन भनेर छुट्याउन सक्छौं ।

मान्ने कि आवश्यक नै हुन्छ ?

नेसनको लागि त आवश्यक नै हुन्छ किनभने राष्ट्रियता पूर्णरूपमा नराम्रो पनि होइन । राष्ट्रियताले मेचीदेखि महाकाली, पहाडदेखि तराईसम्म जबर्जस्त केही साझापन छ है भन्छ । राष्ट्रियताले केही ने केही आमाको रूप पनि लिनुपर्छ ।

यस्तो राष्ट्रियता किन आवश्यक छ भन्ने लाग्छ ?

मेरो विचार सोध्नुभएको हो भने, म आफूलाई नेपाली नागरिक हुँ भन्छु तर नेपाली राष्ट्रवादी होइन किनभने राष्ट्रियताले धेरै हानि पनि गरेको छ । राष्ट्रियताले धेरै नरसंहार पनि गरेको छ । ‘हामी' र ‘तिमी' भनेर छुट्टाउने नै राष्ट्रवाद हो । राष्ट्रियता युरोपको देन हो । दक्षिण एसियामा यस्तो भावना थिएन । यो त कल्चरल स्पेस (सांस्कृतिक भूमि) थियो । १९ औं शताब्दीमा आएर युरोपले भारतलगायत आफूले शासन गरेको भू-भागमा राजनीतिक राष्ट्रवाद प्रवेश गराइदियो ।

 यहाँनेर अलिकति विरोधाभास भयो । तपाईं एकातिर राष्ट्रियता आवश्यक छ पनि भन्नुहुन्छ, अर्कोतर्फ गलत पनि भन्नुहुन्छ ।

अहिलेको सन्दर्भमा राष्ट्रवाद आवश्यक पनि छ किनभने राष्ट्रलाई बाँधेर पनि त राख्नुपर्यो । एकदमै प्ल्युरल, इन्डिपेन्डेन्ट गर्दियौं भने त नेसन भन्ने नै हराउँछ । हामी परिपक्व भइसकेका छैनौं । प्रजातन्त्रभन्दा पनि प्रजातान्त्रिक भावना हामीमा भइदिएको भए वा रामराज्य जस्तो भएको भए नेसनको आवश्यकता पर्दैनथ्यो । हामी अहिले निर्माणको चरणमा छौं, त्यसैले हामीलाई राष्ट्रवाद आवश्यक छ ।

त्यसोभए तपाईं नेपालको सार्वभौमिकता जोगाउनकै लागि पनि राष्ट्रवाद आवश्यक छ भन्नुहुन्छ ?

नेसनको फर्मेसनमा प्रजातन्त्रको राम्रो अभ्यास भयो भने बहुसंस्कृतिवाद, संघीयताजस्ता प्लुरल धारणाहरू आफैं ठीक हुन सक्छन् । तर म बडो कन्फ्युजनमा छु । म समाधान दिन सक्दिनँ । एकातिर म राष्ट्रवादको आवश्यकता पनि देख्छु । अर्कोतिर, एउटा सिंगुलर धारणाले मलाई राम्रो÷नराम्रो बनाउन सक्दैन ।

म आफूलाई एकदमै नेपाली मान्छु तर म राष्ट्रवादी हुन सक्दिनँ किनभने राष्ट्रवादका खतरा धेरै छन् । तर, पनि नेपालको निर्माण गर्नका लागि राष्ट्रवादलाई केही प्रजातान्त्रिक अवधारणासहित विकास गर्न जरुरी छ ।

तपाईंले यसो भन्दै गर्दा पनि केही न केही प्रारूपको राष्ट्रवाद परिकल्पना गरिरहनुभएकै होला । तपाईंले परिकल्पना गर्नुभएको राष्ट्रवाद र राजा महेन्द्रले परिकल्पना गरेको राष्ट्रवादमा के समानता वा असमानता छन् ?

आर्थिक सहकार्यका लागि हामी राष्ट्रवादको अवधारणाबाट बाहिर जानैपर्छ । मलाई कुनै पनि पुरानो राष्ट्रवादको धारणा मन पर्दैन चाहे त्यो महेन्द्रको होस् वा अहिलेका राजनीतिज्ञहरूको । म राष्ट्रवादलाई एउटा फङ्कसनल क्याटेगोरी (क्रियात्मक श्रेणी) को रूपमा लिन्छु । एउटा राष्ट्रको रूपमा नेपाल यो हो भन्ने मान्यतालाई म मान्छु तर उग्र राष्ट्रवादको विरोधी हुँ । सबै पहिचानलाई समावेश गरेर नेपाली राष्ट्रियतालाई पुनः परिभाषित गर्नुपर्छ भन्छु म । मलाई सांस्कृतिक राष्ट्रवाद मनपर्छ । यसले हामीलाई उग्रराष्ट्रवादबाट बचाउँछ ।


सांस्कृतिक राष्ट्रवाद भन्नाले ?

हाम्रो भूमि सांस्कृतिक हो । मैले हिन्दुत्ववाला सांस्कृतिक अवधारणाको कुरा गरिरहेको छैन । दक्षिण एसिया सिंगै नै हिन्दुत्वको छातामुनि बस्नुपर्छ भन्नेखालको सांस्कृतिक अवधारणा होइन । मैले भनेको सांस्कृतिक राष्ट्रवाद ऐतिहासिकतासँग जोडिन्छ । हामी प्रशान्त तामाङको पक्षमा उभियौं । त्यो ‘नेपाली' हौं भन्ने मानसिकता हो । सांस्कृतिक राष्ट्रवाद त्यही हो । त्यसलाई सीमाले बाँध्दैन । 

नेपाली सांस्कृतिक राष्ट्रवादले पनि नेपाली सरहदभित्र रहेका अन्य संस्कृतिलाई समेट्न सकेन भन्ने छ नि ? 

त्यो त सक्दै सक्दैन । राष्ट्रवाद भन्नासाथ त्यसले सबैलाई समेट्न सक्दैन ।

त्यसोभए सांस्कृतिक सीमाहरू कसरी तोड्ने ?

समस्या नै त्यही हो । राष्ट्रवादलाई सिंगुलर अवधारणाको रूपमा मात्रै लिइयो भने हाम्रो हजारौं वर्षको सभ्यता नै बिर्सिइन्छ । कल्चरल स्पेसको पनि राम्रो नराम्रो दुवै छ । कुनै पनि क्याटेगोरी आफैंमा परिपूर्ण हुँदैन । हरेकको राम्रा नराम्रा दुवै पक्ष हुन्छन् । राष्ट्रिय सीमा हटाइयो वा राष्ट्रलाई धेरै छिद्र पारियो भने त्यो सिंगो राष्ट्र नै बन्दैन ।

तर राष्ट्रलाई एकदमै रिजिडको रूपमा राख्दियो भने पनि त्यसले अर्को समस्या निम्त्याउँछ । जस्तै हामीलाई नेपाली भाषाले मात्रै चिनाउँछ भन्न थाल्यौं भने अरु भाषाभाषी, संस्कृति ओझेलमा पर्छ । मेरो समस्या नै त्यही हो । यो डबल बाइन्डको समस्या हो । यसको जवाफ राजनीतिज्ञहरूले नै सोच्नुपर्छ ।


अस्ति यहाँ असनमा इन्द्रजात्रा मनाइरहँदा त्यही जात्रा अमेरिकामा बस्ने नेपालीहरूले पनि मनाएको फोटोहरू छापाहरूमा देखिए । तर, यहाँभन्दा फरक त्यहाँ नेवारबाहेक अरू जातजाति पनि सहभागी भए । यसले के बताउँछ ?

मेरो विचारमा यस्ता चाडपर्वले स्मृतिलाई उजागर गर्छ । यहाँ इन्द्रजात्रा नेवारहरूको मात्रै चाड जस्तो देखिन्छ । तर बाहिर गएपछि त्यो सबैको स्मृतिसँग जोडियो । त्यसबेला नेपाली राष्ट्रियता सिंगुलर क्याटेगोरीको रूपमा मात्रै रहेन । त्यो सीमाभन्दा बाहिर आयो । यस्तै प्रसंग भानुभक्तसँग पनि जोडिन्छ । नेपालको सरहदभित्र विवादमा रहेका भानुभक्त दार्जिलिङका सबै जातजातिका नेपालीभाषीका लागि एकताको सूत्र बनिरहेका छन् । त्यहाँका नेपालीभाषीहरूले मिलेर भव्यतापूर्वक भानुजयन्ती मनाइरहेका हुन्छन् ।


एकातिर हामी मौलिक संस्कृतिको कुरा गरिरहेका छौं । अर्कोतिर सांस्कृतिक साम्राज्यवादको पनि त्यत्तिकै चर्चा गर्छौं । के हाम्रो मौलिक संस्कृति भन्ने सधैं कायम रहन्छ ? कि हाम्रा संस्कृतिहरू धरापमा पो छन् ?

संस्कृति जहिल्यै पनि धरापमा हुन्छ । यो सधैं तरल अवस्थामा हुन्छ । हरेक संस्कृति हरबखत बन्ने, भत्कने भइरहन्छ । नेवारी संस्कृतिकै कुरा गर्ने हो भने पनि, यो हजारौं वर्षको इतिहासमा जहिल्यै पनि एक अर्कोसँग मिलेरै बनेको भेटिन्छ । हरेक संस्कृति यसरी नै मिलेर बनेको हुन्छ, जस्तै क्रिकेट संस्कृति हेरौं ।

नेसनको फर्मेसनमा प्रजातन्त्रको राम्रो अभ्यास भयो भने बहुसंस्कृतिवाद, संघीयताजस्ता प्लुरल धारणाहरू आफैं ठीक हुन सक्छन् । तर, म बडो कन्फ्युजनमा छु । म आफूलाई एकदमै नेपाली मान्छु तर म राष्ट्रवादी हुन सक्दिनँ किनभने राष्ट्रवादका खतरा धेरै छन् ।

क्रिकेट दक्षिण एसियाको संस्कृति होइन तर क्रिकेटलाई भारत, पाकिस्तान, बंगलादेशले आत्मसात् गरेका छन् । तीन-चार वर्षपछि नेपालले पनि आत्मसात् गर्नेछ । क्रिकेटबारे होमी भावाले लेखेका छन्, ‘जबजब भारतको टिम बेलायतमा खेल्न जान्छ त्यतिबेला ब्रिटिस इन्डियनहरूले पनि भारतकै समर्थन गर्छन् ।'

भावाले यसलाई कल्चरल नेसनलिज्म (सांस्कृतिक राष्ट्रवाद) भनेका छन् । जुन भूभागमा बसे पनि मानिसले आफ्नो संस्कृतिको जरा बोकेर हिँडेका हुन्छन् । मानिसले जहाँ गए पनि आफ्नो जरा र स्मृति बिर्सन सक्दैन । कुनै पनि भूभागले उसलाई बाँध्न सक्दैन । पासपोर्टले रोक्न सक्दैन ।

 यहाँ मौलिक संस्कृतिको कुरा गरिरहँदा सांस्कृतिक साम्राज्यवाद भन्नाले के बुझ्ने ?

पश्चिमा संस्कृतिको अति साह्रो प्रभाव । पहिले पहिले बेलायती सांस्कृतिक साम्राज्यवाद बढी शक्तिशाली थियो अहिले अमेरिकी शक्तिशाली भएको छ । त्यसको खास उदाहरण अमेरिका-भियतनाम युद्ध हो । युद्धमा अमेरिका हार्‍यो । तर, त्यो सैन्य हारमात्रै थियो सांस्कृतिक रूपमा हारेको थिएन किनभने लिभाइस जिन्सदेखि साइबर क्याफेलगायत अमेरिकी संस्कृति भियतनाममा झन् प्रख्यात भयो ।

अमेरिकाको सांस्कृतिक प्रभुत्व (हेजीमोनी) कायम भयो । खासमा भन्दा कुनै पनि संस्कृतिको प्रभाव अर्कोमा हावी हुनु नै सांस्कृतिक साम्राज्यवाद हो । अहिले पश्चिमा संस्कृतिको प्रभाव हाबी छ ।

नेपालमा बलिउड मुभीको प्रभाव धेरै छ । के यो पनि भारतीय संस्कृतिको हेजिमोनी हो ?
हेजिमोनी शब्द अलि क्रिटिकल छ । जब मान्ने र मनाउनेबीच समझदारी हुन्छ त्यो हेजिमोनी हो । जस्तै प्रजातन्त्र पनि एक प्रकारको हेजिमोनी हो । हामी मान्छौं नि त- यति निर्वाचित मानिसले हामीलाई शासन गरुन् । त्यसैले सांस्कृतिक साम्राज्यवादलाई हेजिमोनी पनि भन्न सकिन्छ । म नेपाली विवाह हेर्दा पनि त्यस्तो देख्छु ।

पञ्जेबाजा पनि हुन्छ, दूबोको माला पनि हुन्छ, फेरि टाई सुट पनि हुन्छ, झन् त्यसमाथि नेपाली टोपी पनि खप्टिएको हुन्छ । कस्तो ठिमाहापन देखिन्छ ! तर समस्या के हो भने यो यति जटिल ढंगले मि श्रण भइसकेको छ, त्यसबाट निस्कन गाह्रो छ । त्यो ठिमाहापन नै हाम्रो संस्कृति भइसक्यो ।

त्यसैले भनेको संस्कृति धरापमा हुन्छ जहिले पनि । पहिले त्यस्तो हेजिमोनी कम थियो किनभने संस्कृति घोडा चढेर आउँथ्यो अहिले एक सेकेन्डमै मोबाइलबाट आइरहेको हुन्छ ।


संस्कृतिमा भइरहेको यस्तो हेजिमोनीले हामीलाई समृद्ध त बनाउँदैन होला नि है ?

अलि फरक तरिकाले पनि हेर्नुपर्छ । जस्तै अंग्रेजी भाषालाई हेरौं । पहिले फ्रान्सेली भाषाको प्रभाव थियो । पछि बेलायती साम्राज्य विकास हुँदै जाँदा अंग्रेजी भाषाको प्रभाव बढ्यो किनभने ऊ समृद्ध भयो ।

एकातिर शेक्सपियरजस्ता साहित्यकारले नै नयाँनयाँ शब्द दिए भने साम्राज्य विस्तार हुँदै जाँदा अंग्रेजी भाषाले धेरै भाषाबाट नयाँनयाँ शब्द लियो । त्यसले अंग्रेजी भाषालाई समृद्ध बनायो । भाषाकै शक्तिले बेलायती संस्कृति हाबी भयो । तर, जापानले त्यस्तो गर्न सकेन । जापान पनि एसियामा प्रभाव पार्छु भनेरै आएको थियो ।

जापानी बुद्धिजीवीहरू आफूलाई सबैभन्दा बढी आधुनिक ठान्थे । तर, जापानी भाषा अंग्रेजीजस्तो सरल र सहज हुन सकेन । अरू भाषाबाट धेरै लिन सकेन । जापानी भाषाको शुद्धतावादले उसलाई कमजोर बनायो । म त नेपालीहरूलाई संस्कृतिको मामिलामा बुद्धिमान मान्छु । हामीलाई धेरै संस्कृति थाहा छ- अमेरिकीदेखि नेपालीसम्म ।


संस्कृति र मिथकबीच नजिकको सम्बन्ध हुन्छ । त्यो सम्बन्धबारे कुरा गरौं न । मिथक के हो ?

मिथकलाई भिन्दाभिन्दै पाँच रूपमा लिन सकिन्छः कथा, इतिहास, परम्परा, म्याजिक, कग्निसन (ज्ञान) । रामको प्रसंग लिउँ । उनी मिथक हुन् । कसैले उनलाई कथाको रूपमा मात्रै लिन्छन्, कसैले ऐतिहासिक व्यक्ति भन्छन् । अयोध्या काण्ड पनि त्यही हो । उनी ऐतिहासिक पात्र हुन्, उनी अयोध्यामै जन्मेका थिए भन्ने दृष्टिकोणले त्यो समस्या निम्त्यायो । पछि गएर लक्ष्मीप्रसाद देवकोटा नै पनि त्यस्तै मिथक बन्न सक्छन् । देवकोटा यस्ता थिए, उस्ता थिए भन्दाभन्दै लिजेन्ड बनाइन्छन् । लिजेन्ड जहिल्यै आधा सत्य र आधा असत्य मिलेर बनेको हुन्छ ।

मिथक र सत्यबीच कति नजिकको दुरी हुन्छ ?

यसबारे मेरो किताब ‘गडेस अफ काठमान्डु' मा उल्लेख गरेको छु । मिथकलाई कथाको रूपमा लिने हो भने सत्यमा आधारित भन्न सकिन्छ । त्यस्ता कथा सबै संस्कृतिमा हुन्छन् । यसैले परम्परा बनाउँछ । एउटा उदाहरण दिन्छुः म सानो छँदा मेरो गाउँ (कपिलवस्तु) मा एउटा परम्परा थियो ।

वर्षायाममा लामो समयसम्म खडेरी परेपछि एकजना महिला र एकजना पुरुष हलो लिएर राती नांगै खेतमा जान्थे । राति महिला र पुरुषले नांगै खेत जोतेपछि पानी पर्छ भन्ने धारणा थियो । उनीहरूबीच के भयो ? कसैले सोध्दैनथ्यो । खेत जोत्ने भनेको त गर्भाधान प्रक्रियाको प्रतीक हो । त्यसले यौनिकता (सेक्सुआलिटी) पनि झल्काउँछ ।

त्यसैको उपासना गर्न महिला र पुरुष खेतमा जान्थे । मलाई याद छ, उनीहरूलाई बाजा बजाउँदै लगिन्थ्यो । हामी आमालाई सोध्थ्यौं, के हो भनेर । आमाले ठूलो भएपछि थाहा पाउँछस् भन्नुहुन्थ्यो । विचार गरिहेर्दा, नांगै खेत जोतेर त पानी आउँदैन । त्यो त सत्य होइन ।

तर मानिसले जहिल्यै पनि प्राकृतिक विशेषताको उपासना गर्छ । त्यो प्रकृतिसँगको सामीप्यता पनि हो । त्यस अर्थमा लियो भने मिथकमा यस्तोखाले सत्यता भेटिन्छ । सही र गलत भन्ने होइन । पानी आए पनि नआए पनि त्यो मिथकले प्राकृतिक विशेषता झल्काउँछ । तर, हामी प्रकृतिबाट यति टाढा भएका छौं, पिकनिक गयौं भने पनि खानादेखि सांस्कृतिक साधनहरू पनि बोकेर जान्छौं र जंगल फोहोर गरेर आउछौं ।


मिथक र जीवनबीच कस्तो सामीप्यता हुन्छ ?

एकजना विदेशी साथीले सोधेका थिए- ‘तिमीहरूसँग यति धेरै देवीदेवता छन् यसलाई कसरी लिने ? ' मेरो जवाफ थियो, ‘यदि एउटा संस्कृतिले सयौं देवी देवताहरू बनाएको छ भने यसबाट बुझ्नुपर्छ उसले प्राकृतिक स्रोत, शक्तिको विशेषता धेरै पहिल्याउन सक्छ ।' मान्छेले हजारौं शक्तिको नामकरण गरेको छ ।

चाहे त्यो शीतलामाईको कथा होस् वा शिव, ब्रह्माको वा शिवको नृत्यको मिथक होस् वा अरू देवीदेवताहरू हुन्, यी सबैले प्राकृतिक विशेषताको पहिचान गर्ने क्षमताको प्रतिविम्बन गर्छन् । लाखौं देवता हुनुको अर्थ पूर्वीय संस्कृतिले लाखौं प्राकृतिक स्रोत पहिचान गरेको संकेत हो ।


अर्थात् तपाईंले मिथकलाई कथाको दृष्टिकोणबाट हेर्नुभयो ?

हो, कथाबाट । तर, मैले माथि उल्लेख गरेका पाँचवटै दृष्टिकोण एकअर्कासँग सम्बन्धित छन् । कथाले धारणाको निर्माण गर्छ । ऐतिहासिकताले पनि कथा जन्माउँछ ।


मिथक कसरी बन्छ ?

जर्मन मिथोलोजिस्ट कार्ल युंगले भनेका छन्, ‘मानिसमा मिथोपोयटिक एबिलिटी हुन्छ ।' मिथोपोयटिक एबिलिटी भनेको मिथक बनाउने क्षमता । मानिसलाई थाहा नभएको रहस्यबारे कल्पना गरेर कथा बनाउने क्षमता । जस्तैः टन्न बाली पाकेको यथार्थ देखेर अन्नपूर्णाको कल्पना गर्‍यो । हुरी लागेर बाली नष्ट हुँदा राक्षसको कल्पना गर्‍यो । मानिसले हामीभन्दा पर केही न केही त छ भन्ने डर र आशाले बाँचेको संसारभन्दा परको कल्पना गर्‍यो ।

यो कल्पनाशीलताले मान्छेलाई सिर्जनशील बनाएको छ । यस्तो कल्पनाशीलतालाई मानिसले पूर्णतः विश्वास गर्छ । कसैले कथाको रूपमा मात्रै लिन्छ, कसैले ज्ञानको रूपमा । सारमा, मिथक बन्ने प्रक्रिया मानिसको कल्पनाशीलतासँग जोडिएको हुन्छ । यस्तो कल्पनाशीलता अहिले पनि पाइन्छ ।
जस्तैः गड्स आई (भगवान्को आँखा) । कुनै नेबुलाको फोटो खिचेर आँखाजस्तो देखिएकाले मानिसले गड्स आई भन्दियो । त्यसैमा आधारित भएर थुप्रै कथा पनि लेखिइरहेछन् । प्रविधिले नेबुलाको फोटो खिच्यो, मानिसको कल्पनाशीलताले कथा बुन्यो ।


 सामाजिक संरचनाले मिथक बनाउने प्रक्रियामा केही प्रभाव पार्छ कि पार्दैन ?

अवश्य पार्छ । जस्तै पुरुषप्रधान समाजले आफू अनुकूलको मिथक तयार पार्छ वा घटनाहरूको व्याख्या त्यसैअनुरूप गरेको हुन्छ । सीताकै सन्दर्भ लिऔं। सीताको मिथकले पुरुषप्रधान समाजले चाहेको ‘आदर्शवान' नारीको प्रतिविम्बन गर्छ ।

आदर्शवान नारी भनेको सीताजस्तो हो । सामाजिक संरचनाले आफू अनुकूल मिथक बनाउँछ, त्यो मिथकले सामाजिक चिन्तन निर्माण गर्छ जसले शासन र शासकलाई सजिलो बनाउँछ । मिथकहरू एकदमै शक्तिशाली टेक्स्ट हुन् । त्यस्तै धर्म मिथको मिथको संस्थाकरण हो । यो संस्थागत मिथक हो । यसले सही र गलत, ठीक र बेठीक छुट्याउँछ ।


तपाईंले ‘गडेस अफ काठमान्डु'मा नेपाली मिथकहरूको चर्चा गर्नुभएको छ । किताबको लागि गर्नुभएको रिसर्चमा नयाँ के पाउनुभयो ?

मैले दुईवटा तथ्य फेला पारेँ । एउटा- इकोलोजिकल सेन्सिटिबिलिटी (पर्यावरणीय चेत) । देवीदेवताहरूको अध्ययन गर्दा के थाहा हुन्छ भने नेपाल र दक्षिण एसियाकै चिन्तन पर्यावरणसँग जोडिएको छ । प्रकृतिका हरेक वस्तु उत्तिकै बराबर महत्वपूर्ण छन् भन्ने बोध पाइन्छ । अर्को तथ्य हो, काठमाडौं र दक्षिण एसियाकै संस्कृतिमा धेरै देवीहरू ज्ञानका देवी छन् ।

सरस्वतीमात्रै होइन धेरैजसो देवीहरू ज्ञानरूपी छन् । देवीहरूलाई ज्ञानको रूपमा मान्ने यस्तो विशेषता मैले अरू संस्कृतिमा पाएको छैन । सबैजसो देवीहरूमा केही न केही ज्ञान रूप पाइन्छ । जस्तै दुर्गाको मिथक लिनुहोस्, चण्डी पाठमा उल्लेख छ, दुर्गाले लड्दा-लड्दै पनि महिषासुर मार्न नसकेपछि शरीरबाट मातृका देवीहरू निकालिन्- इन्द्रायणी, ब्रम्हायणीजस्ता मातृका देवीहरू क्रूर र डरलाग्दा थिए ।

कोही रगत खाने, कोही अहंकारका, कोही नकारात्मक शक्तिका । उनीहरू महिषासुरजस्तै थिए । आमाको रूपमा हराउन गाह्रो भइरहेकोले नकारात्मक शक्तिको रूप निकालेर दुर्गाले महिषासुर वध गरिन् ।

अब यहाँनेर संस्कृतिको ट्रान्सफर्मेसन हेर्नुपर्छ । साँखु वा धुम्मावतीतिरका देवीहरूलाई हेर्नुभयो भने हरेक देवीहरूमा केही न केही ज्ञानको प्रतीक पाइन्छ- कोही मायाको, कोही प्रतिविम्बको ।संस्कृतिले कथामा महत्वपूर्ण भूमिका निभाएका देवीलाई इज्जत र सम्मान दियो । उनीहरूसँग ज्ञान जोडेर पूज्य बनाइदियो ।

सीताको मिथकले पुरुषप्रधान समाजले चाहेको ‘आदर्शवान' नारीको प्रतिविम्बन गर्छ । आदर्शवान नारी भनेको सीताजस्तो हो । सामाजिक संरचनाले आफू अनुकूल मिथक बनाउँछ, त्यो मिथकले सामाजिक चिन्तन निर्माण गर्छ जसले शासन र शासकलाई सजिलो बनाउँछ ।


तपाईंले ओभरल्यापिङ मेटाफोर्स (खप्टिएका बिम्बहरू) बारे चर्चा गर्नुभएको छ । हामीसँग के छन् त्यस्ता बिम्बहरू ?

पश्चिमा सभ्यतामा सही र गलत, उज्यालो र अँध्यारो छुट्याइएको छ । तर हाम्रो सभ्यतामा महाविकराल रूप पनि आमाजस्तो छ । कुनै पनि एउटा प्रवृत्ति हावी छैन ।


 तपाईं यी मिथकहरू परिवर्तन भइरहेका छन् पनि भन्नुहुन्छ । मूर्ति नै फेरिइरहेको छ पनि भन्नुहुन्छ । स्पष्ट पारिदिनोस् न ।

अहिले बनिरहेका मूर्तिहरू हेर्ने हो भने हिरोइनको अनुहारजस्ता लाग्छन् । मूर्तिमा ग्ल्यामर जोडिएको पाइन्छ । एकपटक एउटी देवीको अनुहार बलिउड कलाकार हेमा मालिनीजस्तो देखियो भनेर व्यापक विवाद भएको थियो । यो उपभोक्तावादी संस्कृतिको प्रभावको परिणाम हो । एकपटक म भैरहवाबाट आमालाई लिएर जिपमा गाउँ गइरहेको थिएँ । ड्राइभर भजन बजाइरहेको थियो । मलाई भने अर्कै गीतको धुनजस्तो लागिरह्यो । पछि यसो सोचेको त त्यो त ‘काँटा लगा'को धुनमा रैछ । शब्द त भजन नै हो, स्तुति नै हो तर धुन भने बलिउड फिल्मी गीतको । यस्ता गीतहरू भारतको अल्मोडातिर बनाउँछन् ।


देवीहरूका मूर्ति निकै डरलाग्दा हुन्छन् तर तपार्इं तिनलाई ‘टेरिबल ब्युटी' भन्नुहुन्छ, कसरी ?

मेरो किताबको सिक्वेल यसैबारे लेखिरहेछु । अचम्मलाग्दो छ, भयानक छ तर सुन्दर पनि । दुर्गाको पुरानो मूर्तिलाई नियालेर हेर्ने हो भने, महिषासुरजस्ता राक्षसलाई हेरेर मारेको हुँदैन । टाढा हेरिरहेको हुन्छ । कथामा के छ भने महिषासुरले दुर्गालाई विवाहको, मिलनको प्रस्ताव गरेको थियो ।

अनि दुर्गाले ‘ठीक छ म तँसँग मिलन त गर्छु तर आमाले जसरी' भनेकी थिइन् । त्यसैले अन्तिममा उनले आत्मसात् गरेकी हुन् । त्यो मारेकै होइन, असलले पनि खराबलाई आत्मसात् गरेको हो । त्यसमा कसरी सौन्दर्य लुकेको छ भनेर खोजिरहेको छु । जस्तै काठमाडौंको हनुमानढोका परिसरको महाकाल मूर्ति हेर्नुभयो भने एउटा हात छातीमा छ । त्यो करुणाको प्रतीक हो । यस्तो सानो-सानो चिजले पनि विभिन्न प्रतीक दिन्छन् ।


मन्दिरका टुँडालहरूमा व्यापक यौनिकता देखिन्छ । यो के हो ?कतै त्यो कालिगढहरूको कुण्ठा त होइन ?

हाम्रो संस्कृतिको एउटा आयाम के छ भने, जबसम्म दुई विपरीत भावना एकठाउँमा बस्दैन तबसम्म समर्पण, आस्था (फेथ) को निर्माण हुँदैन । जस्तै बज्रयोगिनीको मन्दिर हेर्नुस्, बाहिरबाट हेर्दा एकदम सुन्दर छ तर भित्र एउटा सानो ढुंगामात्र छ । त्यत्रो मन्दिर बनाउनेले एउटा राम्रो मूर्ति बनाउन सक्दैनथ्यो होला त ?  यो दुईवटा विपरीत ध्रुवको मि श्रण हो । यसले मानिसको मनोविज्ञानलाई हल्लाउँछ र आस्थाको निर्माण गर्छ । यो दक्षिण एसियाली संस्कृतिकै विशेषता हो । दुवै पक्ष नमिलेसम्म पूर्णता हुँदैन भन्ने विश्वास गर्छ । जस्तै अर्जुन भन्छन्,- म लड्न तयार गर्छु । तर, कृष्णले भन्छन्- ‘तिमी तयार छैनौं किनभने तिमीमा सबै चरित्र भए पनि नारीचरित्र छैन, जबसम्म तिमी पुरुष वा महिलामात्र भएर वीर हुँदैनौ ।' दुईवटा एक्स्ट्रिम (अतिपना) ले मात्रै पूर्णता निर्माण गर्छ भन्ने हाम्रो पूर्वीय दर्शनले ठान्दछ ।

 तपाईंले भनिरहनुभएको ‘हाम्रो'ले कसलाई बताउँछ ?

दक्षिण एसियाली भन्न खोजेको । म मुख्यतः हिन्दु र बौद्ध संस्कृतिको कुरा गरिरहेछु । तर, बृहत्तररूपमा गैर-पश्चिमेली सभ्यता आउँछ । हिन्दु, मुस्लिम, बौद्ध र अरू पनि ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.