मातृभाषा कोलममा ‘नेपाली
(उसले आफ्ना दाजु-भाइहरूलाई हेर्योः ‘त्योभन्दा म गोरो छु, म भिन्दै हुँ । त्योभन्दा म साँवलो छु, म भिन्दै हुँ । मेरो नाक त्यसको भन्दा समतल तर त्यसकोभन्दा डाँडे, म भिन्दै हुँ !...'
उसलाई मुख बाउँदो एउटा शंकाले सलक्क निल्छः हामी हौं के एकै जातीय सन्तान ? हौं के हामी एउटै जाति ? )
-
पहाड र खोलाहरू र इन्द्रबहादुर राई
सान्दर्भिक प्रश्नहरू र निर्णयले हाम्रो जातिको खोला ठाउँठाउँमा भँगाल्न खोज्दैछन् । अँगालोबाट भँगालो छुट्ने दुख्दो झट्काहरू पाउन थालिसकेका छौं ।
आर्य मूल अनि किराँत, म्लेच्छ तथा मंगोल मूलबाट विकसित थुप्रै विभिन्न जातहरूको एक जातिगोष्ठी छ नेपाली जाति । नेपाल राष्ट्रभित्र नेपाली जातिका विभिन्न जात अनि जातिहरूलाई जातीयतासँगसँगै त्यहाँको राष्ट्रियताले अझ कस्सिलो बाँधेर राखेको छ । त्यहाँ नेपाली जातीयताको दाम्लो खुकुलो भए पनि राष्ट्रियताको साङ्लो बलियो रहन्छ ।
तर, नेपाल राष्ट्रबाहिर हामी भिन्दाभिन्दै जातका भारतीय नेपालीहरू सुगौली सन्धिले छुट्याएदेखि यसो नै एक सिंगो जातीय एकाइमा बद्ध छौं, र त्यो एकाइ हो नेपाली जाति अर्थात् गोर्खा जाति । भनौं भने ‘नेपाली जाति'को निर्माण नै भारतमा, विशेष दार्जिलिङ पहाडमा, भएको हो । आज भारतका विभिन्न राज्यहरूमा बसोबास गर्ने हामी एक करोड भारतीय नेपालीहरू विशेष यही फाँटिलो जातित्वको उज्यालोले टड्कारो चिन्हित छौं ।
यता केही समयदेखि तर हामीमध्ये कतिपयले यो उज्यालो फाँटको मञ्चदेखि नेपथ्यतिर सर्दै अर्कै ससाना मञ्चहरूमा अवतरित हुने कार्यक्रमहरू लिइरहेका छौं । हाम्रो जातिबाट यौटा-यौटा जात छुट्टिएर जाने आशंकाको सिरेटो बहन थालिसकेको छ । यता भारतमा हामीले जात (एथ्निक ग्रुप) मात्र भन्दै आएका नेपाली जातिभित्रका जातहरू तर उता नेपालको निजी सामाजिक-राजनैतिक-आर्थिक परिवेशमा सिंगो-सिंगो जाति (रेस) मै दरिएर नेपाल राष्ट्रअन्तर्गत जातीय पहिचानको मुद्दासित स्व-अस्तित्व र स्वायत्तता स्थापित गर्न जुर्मुराइ उठेका छन् ।
यता हाम्रो राष्ट्र भारतमा हाम्रो सामाजिक तथा राजनैतिक स्थिति नितान्त छुट्टै छ । उता जाति ठानिएकाहरू यता सधैं जात नै रहेर हाम्रो जातीय ऐक्यमा सम्मिलित भइरहनुपर्छ जात र जातिकै निमित्त ।
हो, बाहुन-छेत्री अर्थात् तागाधारी र कामी-दमाई-सार्कीबाहेक हाम्रा अरू जातहरूका आ-आफ्नै भाषा तथा बोलीहरू (डाइलेक्ट) छन् जो कति लुप्तप्राय भइरहेछन् भने कति पुनरुद्वारको मधुरो प्रकाशमा उघ्रिँदैछन् । तथापि हामीले पहिल्यैदेखि कुनै कार्यालयीय फारमहरूमा मातृभाषाको कोलम भर्नुपर्दा ‘नेपाली' नै लेख्दै आइरहेका छौं ।
यताका हामीले चुलादेखि चोकसम्म मात्र होइन तर विपनादेखि सपनासम्म यौटै भाषा ‘नेपाली भाषा' बोल्दै-लेख्दै आइरहेको भए तापनि यति चाहिँ भन्नैपर्छ कि विलीन हुँदै गइरहेका हाम्रा विभिन्न बोलीहरूको पुनरुत्थान कार्य सराहनीय मात्र नभई वाञ्छनीय पनि छ किनभने ती भाषाहरू हाम्रा साझा जातीय सभ्यता र संस्कृतिका अमूल्य निधिहरू हुन् जसबाट आजको नेपाली भाषा कम प्रभावित छैन ।
यिनीहरूको पुनरुत्थानको उत्साही कसरत तर साझा नेपाली जाति र भाषाको सम्पूर्णतामा क्षयीकरण नभएर सहाय्य बनोस् । जातजातको सचेतता र बल फराकिलो ‘जाति-घर'को मजबुत घडेरी बनोस् ।
नेपालमा त्यहाँका भिन्दाभिन्दै जात र जातिहरू यौटै राष्ट्रियताको आँगनमा आ-आफ्नो नाच प्रदर्शन गरी आफू-आफू सिंगा-सिंगो थुम्का-थुम्की उठ्न सक्छन् तर यता भारतीय राष्ट्रियता भएका हामीले नेपाली (गोर्खा) जातीय समग्रता नै स्याहार्नुपर्छ । नेपाली जातीय समग्रतामै हामी छौं, हामीमै हाम्रो जातित्वको समग्रता छ ।
उहाँ (नेपालमा) ‘नेपाली'मा राष्ट्रियता बढी ध्वनित हुन्छ, यहाँ ‘नेपाली' भन्नाले एक सिंगो जातीय संवेदनशीलता बुझिन्छ । यसभन्दा पर र माथि यसको दोस्रो अर्थ छैन ।
यही नेपाली जातिभित्र, पुनस्र्थापनको बिहानीमा रम्न पाएको हाम्रो यौटा विशिष्ट भाषा छ- लिम्बू भाषा जससित आफ्नै लिपि हुनुको गर्व पनि छ अनि जसलाई सिक्किममा एक राज्य भाषाको रूपमा मान्यता प्राप्त छ मात्र होइन तर महाविद्यालयस्तरसम्मको शिक्षण व्यवस्था पनि छ ।
यही लिम्बू भाषा र संस्कृतिको प्रचारप्रसार गर्दै एकपल्ट नेपालबाट दार्जिलिङतिर पनि प्रवासिएका एक अत्यधिक उत्साही वीर नेम्बाङ ‘अकेला' आफ्नो लेख ‘लिम्बू संस्कृतिका केही विशेषताहरू'को अन्तिम परिच्छेदमा लेख्छन् -‘खुसीको कुरा केही वर्ष यसो लिम्बू जातिका नयाँ पिढीकाहरूले आर्य देवी दुर्गाले अनार्य राजा महिषासुरलाई मारेको तथा आर्य राजा रामले अनार्य राजा रावणलाई मारेको विजयोल्लासमा मनाउने गरेको बडा दसैं र चैते दसैंजस्ता हिन्दु चाडहरूलाई मान्न छाड्नुपर्छ भनिरहेछन् । छाड्दै पनि छन् । किनभने अनार्य महिषासुर र रावण झैं लिम्बूहरू पनि अनार्य नै हुन् । यसबाट ढिलै भए पनि लिम्बू समुदायमा सांस्कृतिक पुनर्जागरण आएकै मान्नुपर्छ ।'
हिन्दु धर्मावलम्बीहरूका आख्यानमा महिषासुर र रावणजस्ता पात्रहरू दुर्गुणका प्रतीकात्मक प्रस्तुति (एलिगरिकल प्रिजेन्टेसन) मात्र हुन् । यिनै आसुरी प्रवृत्तिका प्रतीकहरूलाई आफ्नो जातीय वंशको अनुरूप ठान्नु कति हदसम्म स्वागतयोग्य कुरा हो, लिम्बूहरूले सोच्नुपर्नेछ, खोज्नुपर्नेछ । यही खल्बलमा खल्बल थप्न उठेका छन् राई, याक्खा र अरू पनि । दसैं-तिहारको बहिष्करणमा तामाङ, गुरुङ र अन्य कतिपय मंगोल मूलका नेपालीहरू समेतले थ्याप्चे थपिरहेछन् ।
जातजातिको आ-आफ्नो संस्कृतिप्रति सचेत भइरहने उत्तरदायित्व त्यस विशेष जातकाहरूमाथि मात्र नभएर सम्पूर्ण नेपाली जातिमाथि नै छ किनकि जात-जातको संस्कृतिहरूको सँगालो नै यौटै नेपाली जातीय संस्कृति बनेको हो । जात-जातका विविध संगीत र संस्कार, रिवाज र मान्यताहरूकै अर्केस्ट्रल ऐक्य नै त नेपाली संस्कृति हो ।
यो जातीय अर्केस्ट्राबाट जात-जातका यी छुट्टाछुट्टै सांस्कृतिक अंग-प्रत्यंगहरू विच्छिन्न भए ‘नेपाली संस्कृति' नामको अस्तित्वै कहाँ रहन्छ र ! हाम्रो जातिबाट जात-जात छुट्टिएर गएपछि नेपाली जाति वा गोर्खा जाति भन्ने अस्तित्वै कसरी बाँच्ला !
आजसम्म हामीले मनाउँदै आइरहेका हाम्रा सांस्कृतिक चाड, पर्वहरू धार्मिकभन्दा बढी जातीय चिनिन्छन् । हो, दसैं, तिहार, माघेसंक्रान्ति, चैते दसैं आदि सारा हिन्दुहरूका पर्व हुन् ।
तर यी पर्वहरूलाई हामी नेपाली जातिले यस्तो विशिष्ट रूप र रङ दिएर आफ्नै बनाएका छौं जसको हिन्दुत्वसित कुनै सरोकार छैन । यी पर्वहरू हामी जसरी मनाउँछौँ ‘त्यसरी' नै चाहिँ हामी नेपाली जातिले मात्रै मान्ने गर्छौं । हिन्दु धर्मावलम्बी अन्य जातिहरूमा हाम्रोपनको एकांश पनि छैन ।
बडादसैंको दिन मूलघरमा परिवारका जम्मै भेला हुनु तथा साइनोमा आफूभन्दा ठूलाकहाँ कोसेली लिई आशीर्वाद थाप्न जानु, आफूभन्दा ठूलाले पलेँटी कसेर बस्न लगाई दहीमा मुछेको चामलको टीका दियो-कलशले सजिएको काँसको थालबाट दुई हातले उठाई निधारभरि आशीर्वाद टाँसिदिनु हामीले मात्र जानेको-चिनेको आफ्नोपन हो । यथार्थमा यो दिन प्रत्येक नेपाली परिवारको निम्ति पारिवारिक पुनर्मिलन (फ्यामिली रियुनियन) को दिन हो जो सुकोमल भावनाले अत्यन्त लयालु भएको हुन्छ । परिवार जोड्ने दिन हो यो, तोड्ने दिन होइन ।
बाहुन-छेत्री अर्थात् तागाधारी र कामी-दमाई-सार्कीबाहेक हाम्रा अरू जातहरूका आ-आफ्नै भाषा तथा बोलीहरू (डाइलेक्ट) छन् जो कति लुप्तप्राय भइरहेछन् भने कति पुनरुद्वारको मधुरो प्रकाशमा उघ्रिँदैछन् । तथापि हामीले पहिल्यैदेखि कुनै कार्यालयीय फारमहरूमा मातृभाषाको कोलम भर्नुपर्दा ‘नेपाली' नै लेख्दै आइरहेका छौं ।
टीका (दशमी) को त्यो यौटा दिनले नपुगेर हामी त्यस दिनपछि पूर्णेसम्म दसैंको टीका लाउन-लगाइदिन भेटघाट गरिरहन्छौं । यसरी टाढा-टाढाका आफन्तहरूमाझ भेटघाट गरी दही, चामलको टीकासित आशीर्वाद र श्रद्धा आदानप्रदान गर्ने यो मीठो प्रथासित हिन्दु धर्मको के सम्बन्ध छ र !
अझ हामी किराँती (राई, लिम्बू, याक्खा) त पछि औंसी (लक्ष्मी पूजा) सम्मै दसैंको टीका थाप्न पुगिराखेका हुन्छौं । छोरी-ज्वाईंहरू ससुराली मूलघरमा मात्र होइन, काका, मामा, फुपूका घरमा पनि टीका थाप्न जानैपर्ने परम्परा छ । अघिअघि ‘सिसार' बोक्थे, अचेल मिठाई, फलफूल इत्यादि । यस्तो सुमधुर भेटघाटको यो चाड हाम्रो आफ्नो, नितान्त आफ्नो जातीय सांस्कृतिक चाड हो ।
तिहार सबै हिन्दुहरू मनाउँछन्, तर गाउँघरको दैलो-दैलो गई मीठो भाका हालेर भैलो खेल्न हाम्रै छोरीचेलीहरू मात्र जान्दछन् । अर्को दिन अनि त्यसपछि आउने भाइटीकामा देउसी खेल्ने हुकुम बलिराजले हामी नेपालीहरूलाई मात्र दिएका छन्, अरूलाई होइन । भैलेनी र देउसेलाई ससम्मान दान निकाल्ने हाम्रो रीति पनि उस्तै माधुर्यपूर्ण छ ।
भाइटीकाको दिन नुहाएर उपवास बसी ताजा र झरिलो फूलहरूको कलश भरी, दियो बाली माइतीको निधारमा मृत्युञ्जयी इन्द्रेणी टीका लगाइदिने, सयपत्री तथा मखमली फूलको माला पहिराइदिने अनि माइतीको सुरक्षाको कामना गर्दै यमराजको शिर ओखर सँघारमा फोर्ने स्नेहमयी चेलीहरू नेपाली जातिमा मात्र छन् । चेली-माइतीको पवित्र साइनोलाई यति मार्मिक ढंगमा अभिव्यक्त गर्ने यो वैशिष्ट्य नेपाली जातिमात्रको आफ्नो हो ।
यी दसैं र तिहारसित आत्मीयता स्थापित भएको सयपत्री र मखमली फूललाई हामीले आफ्नै जातीय फूल बनाइसकेका छौं । सयपत्री फूल मधेसमा सुगन्धहीन व्यावसायिकतासित वर्षैभरि फुलाइन्छ, तर हामी भने यसलाई दसैं, तिहारकै छेकमा मात्र फुलाउने गर्नुमा हाम्रो मीठो सांस्कृतिक विशेषता छ । सत्तरी प्रतिशत हिन्दु धर्मावलम्बी भएको विशाल देश भारतमा कुनै हिन्दुले यसरी दसैं, तिहार मनाउँदैनन्, किनकि उनीहरू विशिष्ट नेपाली जातीय सांस्कृतिक गोष्ठीभित्र पर्दैनन् ।
उसरी नै माघेसंक्रान्ति पनि हामी आफ्नै पाराले मनाउने गर्छौं । हिन्दु धर्मानुयायी अन्य जातिकाहरू यस दिन गंगा स्नान गरेर आफूलाई धन्य ठान्छन् । नभए घरमै नुहाएर पूजापाठ गर्छन् अर्थात् मन्दिरतिर जान्छन् । हामी भने यो दिन बिहानै घरमै या त पधेँरामा वा खोलामा गई नुहाएर प्रथमतः काँचो वनतरुलको सेतो टीका लाउँछौं अनि थरीथरीका तरुलहरू उसिनेर अन्यान्य पकवानहरूसित खाने अनि छरछिमेकीसित आदानप्रदान गर्ने गर्छौं ।
तरुलहरू उसिनेर खानु मात्रमा केही विशेषता छैन, तर यी कन्दमूल खाने विशेष दिन माघेसंक्रान्ति नै पार्नमा हाम्रो जातीय विशेषता छ । यसैले यी जम्मै पर्वहरू हाम्रो निम्ति धार्मिकभन्दा बढी जातीय भएर हाम्रा परिचायक बनेका छन् । अन्य हिन्दुहरूमा यी पर्वहरूले धार्मिक महत्व राख्लान् तर हामीलाई यी चाडहरू निज जातीय महत्वका छन्, हाम्रा जातीय संस्कृतिका पहिचानहरू छन् ।
आ-आफ्नै इष्टदेवदेवीहरू र आ-आफ्नै धार्मिक विधि-विधानहरू भएका किरातीहरू, महायान बौद्ध धर्मास्थाका तामाङ, गुरुङ अनि बौद्धमार्गी कतिपय नेवारहरूले पुस्तौंदेखि यी चाडहरू मान्दै आइरहेका छन् भने उनीहरूले यी चाड हिन्दु धर्मको निर्देशानुसार होइन तर आफूलाई नेपाली जातिको अविच्छिन्न अंग ठानेर जातीय संस्कृतिको रूपमा मान्दै आइरहेका छन् । हिन्दु पृष्ठभूमिमा बिरुवा उम्रेका तर जातीयताको अग्रभूमिमा सारिएर हुर्केका यी चाडहरू कहिले-कहिलेदेखिका हाम्रा साझा सांस्कृतिक सौन्दर्यका बहुरंगी प्रस्फुटन बनेका हुन् ।
विभिन्न जातका हामी यौटै जातिगोष्ठी छौं - नेपाली जाति ।
विभिन्न इष्टदेवका हामी यौटै जाति छौं - नेपाली जाति ।
धार्मिक पर्व (अनुष्ठान) विभिन्न ठाउँका विभिन्न जातिहरूमाझ मोटामोटी समान विधिले मनाइन्छ, तर जातीय तथा सांस्कृतिक पर्व एक विशेष जातिको चारित्रिकता उद्घाटित गर्ने हुन्छ । हरेक धर्म विविध विधि र कर्मकाण्डमा बाँधिँदै अनुशासकमात्र होइन तर कहीँ शासक र बाधकसमेत भइदिन्छ भने संस्कृति हार्दिक कोमलता र उदारतासित त्यस विशेष जातिको संवेदनशीलताको हृदयस्पर्शी अभिव्यक्ति बन्छ ।
हाम्रो संस्कृति हाम्रो जातिको सामूहिक भावना अर्थात् सामूहिक संवेदनशीलताको कोमल अभिव्यक्ति हो । हाम्रो संस्कृति त्यो विशिष्ट कलाकृति हो जसको सिंगो रूप विविध रङ र रेखा, गति र लयले सिर्जित छ । यस कलाकृतिबाट यौटा रङ उप्किएर जाँदा, यौटा रेखा चुँडिएर जाँदा त्यो कलाकृति त आफ्नो घाउ लिएर बाँचिरहला, तर त्यो उप्किएर छुटेको एक्लो रङ, चुँडिएर गएको त्यो एक्लो टुक्रा रेखाको पृथक् अस्तित्व कम टिठलाग्दो नहोला !
उता नेपाल राष्ट्रभित्र रहेका जात-जातको पृथक्-पृथक् एकाइको अस्तित्व राष्ट्रिय सम्मानसित उभिएको होला । तर, भारतमा हामी भारतीय नेपालीहरू एक विशिष्ट नेपाली जातिको रूपमा चिन्हित र मानित छौं, अलग-अलग जातका टुक्राहरूमा होइन ।
नेपाल राष्ट्रभित्रका विभिन्न जात र जातिलाई ‘नेपाली राष्ट्रियता'ले एक राजनैतिक सूत्रमा बाँधेको छ भने भारतमा नेपाली जातिगोष्ठीभित्र पर्ने विभिन्न जातलाई ‘नेपाली जातित्व'ले एकमुष्ठ पारी सबल तुल्याएको छ जुन सबलताको शस्त्र लिएर हामीले एक-दुई राष्ट्रिय अधिकारहरू प्राप्त गरिसकेका छौं, अझ केही बृहत्तर अधिकारहरू हासिल गर्न बाँकी नै छ ।
तर, नेपाली अर्थात् गोर्खा जातित्वको यो मुठ्ठी छुट्टाछुट्टै औंला र आँख्लाहरूमा विभाजित भएर गए केही हासिल गर्नु त परै जाओस्, हाम्रो पहिचान नै लोप भएर जाने स्थितिमात्र हात लाग्नेछ । तसर्थ दोहोर्याउँछु फेरि कि जात-जातको पुनस्र्थापन साझा नेपाली जाति र भाषाको सम्पूर्णतामा क्षयीकरण नभएर सहाय्य बनोस् । जात-जातको सचेतता र बल फराकिलो ‘जाति-घर'को मजबुत घडेरी बनोस् ।