विद्रोही–स्वर र जे. पापी

 विद्रोही–स्वर र जे. पापी

 कसैले भन्थे, मुराकामीले पाउँछ । कोही च्युँडोमा औंला टेकेर गम्थे, यसपालि त एडोनिसकै पक्का । ‘लेखेरै राखे हुन्छ फिलिप रोथले नै पाउँछ’ कसैले बाजी नै ठोक्ने शैलीमा भन्थे । कसैको सानो स्वर हुन्थ्यो, ‘नुगी वा थोङ पनि अगाडि नै छ नि, त्यति खेलाँची नगरे हुन्छ ।’ दुवै धु्रव र पाँचै महादेशका महानुभावहरूका आ–आफ्नै अनुमान रहे । तर, नोबेल एकेडेमीले भने ‘ठूलै राजनीति’ ग¥यो र एकजना अमेरिकी गायकलाई नोबेल साहित्य सम्मान अर्पण गर्ने टुंगो लगायो । अक्षरका कुटो–कोदालो चलाउनेहरू, अक्षरकै आली सम्याउनेहरूलाई वर्षौंदेखि सुम्पिँदै आएको नोबेल साहित्य पुरस्कार बब डेलनले पाएपछि संगीतका ज्ञाता आभास नलेखी बस्न के सक्थे र ? लेखिहाले उनले, ‘गायक, गीतकार, कवि, कलाकार बब डेलनले यस वर्षको साहित्यतर्फको नोबेल प्राइज पाए, अब हाम्रातिर पनि गीत, संगीतलाई मनोरञ्जन मात्र मानिन्न कि ?’

 साँच्चै, तोडियो परम्परा । मोटा–मोटा ग्रन्थ लेख्नेहरूले मात्र होइन, गीत सिर्जना र गायनमा संसारभर पकड बनाएकाहरू पनि नोबेल साहित्य पाउन लायक हुन्छन्÷छन् भन्ने मापदण्ड स्थापित भयो । पिट सिगर र बब मार्लेहरू पनि अब जुर्मुराउनुपर्ने दिन आयो । हुँदाहुँदा अब त हाम्रा झन्डाशेखर दाहालले पनि नोबेल साहित्य पुरस्कारको दाबी गर्ने बाटो सहजै खुल्यो । डेलनले खुलाइदियो, त्यो बाटो । को झन्डाशेखर ? के उनी पनि गायक हुन् ?

 ००

अचेल झन्डाशेखर नेपालको मौलिक झन्डा बोक्न र त्यही झन्डामुनि रहेर चेतना–प्रवाह गर्ने गीत÷संगीतमा रमाउन व्यस्त छन् भन्दा उनको बदख्वाइँ गरेको नठहरिएला । झन्डाशेखर अर्थात् गायक जे. पापी । सडकमा गाउन मज्जा आउँछ उनलाई अचेल । कसैले ‘सडकका गायक’ भन्दा आपत्ति मान्दैनन् उनी ।

 उसै त काठमाडौं जामको चक्करमा फस्छ, हरेक दिन । रत्नपार्क आसपास त बेलुकीपख झनै हुन्छ– जाम, जाममा थोपरिएको गाडीको कर्कश हर्न, मान्छेहरूका भीड । केही समयअघि भोटाहिटीको मुखैनेर उनले उराले, राष्ट्रवादी स्वर । ‘सडकमा उभिएर जनतालाई जगाउने काममा हामी लागिपरेका छौं ।’ कुनै बेला, राजेश्वर देवकोटाले स्थापना गरेको ‘ट्वान्टी फाइभ प्लसको समूह’ मा आबद्ध भएयता सडकमा स्वर उराल्न व्यस्त बनेका छन् उनी र उनीसँगै छन्, अर्का गायक शिशिर योगी पनि । सूर्यनाथ उपाध्याय, डा. उपेन्द्र देवकोटा, बुद्धिनारायण श्रेष्ठलगायत पनि सोही समूहका अभियन्ता हुन् ।Bibas-Bastijpg

 अहिलेसम्म उपत्यकाका रत्नपार्क, लगनखेल, गोंगबु, चाबहिल, कोटेश्वरका साथै नेपालगन्ज र झापामा पनि पापीले जनता जगाउने स्वर अर्पण गरिसकेका छन् ।

 देश बिगार्ने नेताहरूलाई सचेत तुल्याउने र सातो टिप्ने शब्दअंकित उनका गीतहरू चेतना–प्रवाहमा कोसी, कर्णाली र त्रिशूलीभन्दा कुनै पनि हिसाबले प्रवाहहीन लाग्दैनन् र त आँसु खसाल्दै उनी गाउँछन्, ‘यो देशको काट्टो खानेहरूले...।’ सानैमा घर छाडेका उनमा विद्रोह भावले प्रवेश पाउनु सामान्य कुरा हो । भन्छन्, ‘म डेढ वर्षको हुँदा भाइ जन्मिएको रहेछ । दुइटा बच्चालाई आमाको दूध नपुग्ने भएको हुँदा मलाई मावलमा लगेर छाडिएको रहेछ । त्यसपछि म घरभन्दा बाहिरै रहेँ र मेरो जिन्दगी नै बाहिरफेर घुम्दै र बस्दैमा बित्यो ।’

 शताब्दीयौंदेखि नकोरिएको, नबाटिएको र नछाटिएको, कुनै काइँयोले स्पर्श नगरेको जस्तो देखिने लामो कपाल पालेका एकजना अधबैंसे विरक्तलाग्दो मुद्रामा सडकमा रन्थनिँदै, भौंतारिँदै र अनियन्त्रित तरिकाले हिँडिरहेका छन्– गन्तव्यविहीन । आफ्नो अनियन्त्रित हिँडाइ, शारीरिक रूप र चालढालप्रति रत्तिभर बेवास्ता छैन उनी अर्थात् जे.पापीलाई ।

 तर, सानैदेखि फिरन्ते भए पनि उनले गृहस्थ भने अहिलेसम्म सम्हाल्दै आएका छन् । बानेश्वर हाटइमा श्रीमती र छोरीसँग बस्छन् उनी । भन्छन्, ‘बुबा र आमा मधेसमा बस्नुहुन्छ । तर, वर्षमा तीन÷चार महिना काठमाडौंमै आएर पनि बस्नुहुन्छ ।’ यी ‘विद्रोही गायक’ले अचेल गाउने गीतहरूमा राष्ट्रवादी स्वरका रङहरू प्रखर र गाढा ढंगले पोतिन्छन् ।

करिब १० वर्षअघिको कुरा हो । भौगोलिक आयतनका हिसाबले सानो भए पनि सुन्दर, शान्त र जैविक÷प्राकृतिक विविधताले समृद्ध हिमाली देश नेपाललाई अरुहरूले हेय दृष्टि फ्याँक्न थाले । उनलाई मन परेन, अरूहरूको हेपाहा प्रवृत्ति । अझ, खुला सिमाना भएको कारण जो पनि नेपालमा छिर्ने र सहजै नागरिकता लिने गरेको देखेपछि उनको चित्त शरद यामको बादलझैं नराम्ररी फाट्न पुग्यो । त्यही रनाहामा उनले एउटा गीत दन्काइहाले–

‘रामलखन, खै तेरो घरको ढोका ?

जो पसे नि हुने, जे गरे नि हुने

चाल्दै चोटा र कोठा...।’

उनले अचेल सडकमा गाउने गीतहरूमा रामलखनलाई सम्बोधन गरेर लेखिएको यही गीतका साथै नेपालको समृद्धिको परिकल्पना गरेर रचिएको अर्को गीत पनि छ । त्यो हो–

‘कञ्चनजंघा, सगरमाथा, माछापुछ्रे, अपी हिमालै

सलल हिमाली काखमा दौडिन्छ अब नेपाली रेलै’

००

रित्तो छ सडक । र, सुनसान पनि । त्यही रित्तो र सुनसान सडकमा पाइला चाल्दाचाल्दै एउटा पुल आउँछ । शताब्दीयौंदेखि नकोरिएको, नबाटिएको र नछाटिएको कुनै काइँयोले स्पर्श नगरेकोजस्तो देखिने लामो कपाल पालेका एकजना अधबैंसे विरक्तलाग्दो मुन्द्रामा सडकमा रन्थनिँदै, भौंतारिँदै र अनियन्त्रित तरिकाले हिँडिरहेका छन् । यस्तो लाग्छ, ती अधबैंसे गन्तव्यविहीन छन् । आफ्नो अनियन्त्रित हिँडाइ, शारीरिक रूप र चालढालप्रति रत्तिभर बेवास्ता छैन उनलाई । त्यही पुलमाथि एकोहोरो हिँडिरहेका बेला उनको मन भक्कानिएर आउँछ । एकाएक आँखाबाट चस्मा फुकाल्छन् र छुट्नै लागेको भक्कानोलाई अनायासै रोकेर आँखाबाट तप्किरहेका आँसु पुछ्न थाल्छन्...।

 यो दृश्यांश, जे पापीको हो, जुन उपनाम उनलाई सानै छँदा आफ्नी प्यारी आमाले दिएकी थिइन् । हुन पनि, एकदिन उनलाई आमाले ‘पापी’ भनिछन् । अहो, अत्यन्तै मीठो र आत्मीय लागेछ उनलाई यो शब्द । र, झुन्ड्याए त्यसलाई आफ्नो नामपछाडि, आफ्नै थरको सिङ–पुच्छरै काटेर । पहिल्यै, झन्डाशेखरलाई अंग्रेजीकृत गरिसकेका थिए उनले । झन्डाशेखर अर्थात् जे., आमाले ‘पापी’ उपनाम थम्याइदिएपछि त उनले ‘दाहाल’ थर पनि फ्याँकेर भकारोमा गाडे र लेख्न थाले– जे. पापी । भन्छन्, ‘मेरा गीतहरू फरक खालका नै हुन्छन् ।’

हुन पनि, उनीभित्र विद्रोहका अनगिन्ति छालहरू सल्बलाइरहेका हुन्छन् सदैव । कताबाट आउँछ हँ यस्तो विद्रोही आवाज ? तर, देशलाई कंगाल बनाउनेहरूसित भने उनी एकबित्ता पनि डग्मगाउन चाहँदैनन् । सीमित गीत÷संगीतमा विद्रोही चेतले भरिपूर्ण स्वर भरेका पापीले प्रायः राजनीतिक विसंगतिबोधलाई नै आफ्नो सिर्जनाको प्रथम आधार बनाउँदै आएका छन् र त्यो क्रमले निरन्तरता पाउँदै आइरहेको छ, आजपर्यन्त । उनलाई दीककालविहीन स्रष्टाका रूपमा नहेरेर आफू बाँचिरहेको समय र परिवेशमा व्याप्त शोक, रोग र भोकलाई सम्बोधन गर्ने स्रष्टाको रूपमा हेरिनु न्यायोचित होला जस्तो लाग्छ ? अर्थात्, बब डेलनलाई हेर्नेजस्तै नजरले हेर्नु उचित होला कि ? यस्तो मूल्यांकनलाई ‘बढी’ नै ठानिने हो भने हाम्रै माटोका रामेश, रायन, श्याम तमोट, जीवन शर्माहरूलाई हेर्नेजस्तै नजरले हेर्ने हो कि ? अरु कसैका नजरले नहेरे पनि उनलाई जे. पापीकै नजरले हेर्दा पनि फरक पर्दैन ।

 देशप्रति घात÷प्रतिघात गर्नेहरू सदैव उनको नजरमा ‘तारो’ बन्दै आएका छन् । उनको ‘तारो’ यति लक्ष्यभेदी छ कि, त्यसले नाभीस्थलमै सीधै प्रहार गर्छ। कतिपयलाई उनका शब्दहरू सुपाच्य नलाग्न सक्लान् । किनकि, कुनै विम्ब वा प्रतीकको सहारा लिएर उनले देशप्रति गद्दार गर्नेहरूलाई लल्कारेका छैनन् । उनी जे भन्छन्, सीधै र प्रहारात्मक तरिकाले भन्छन् । आखिर, सिकारीले आफ्नो ‘सिकार’ लाई सीधै त ताक्छन् नि । बांगोटेडो भयो भने कहाँ सिकार हात लाग्छ र ? त्यसैले उनी पनि कसैलाई पनि घुमाएर हान्दैनन्, सीधै प्रहार गर्छन् । उनको गीतले त्यही सिकारीको जस्तै मनोभाव झल्काउँछ–

‘सेता–सेता कपडामा काला–काला मान्छे

जनताद्वारा जनताले जनतालाई भन्थे

कंगाल भए जनता नांगो पारेर

यो देशको काट्टो खानेहरूले...

शरणार्थीजस्तो जीवन आफ्नै देशभित्र

डर लाग्छ देख्दा संगी, साथी, मित्र

डर लाग्छ आफ्नो दैलोभित्र छिर्न

भीडको भारी बोक्नेहरू यी गर्भका भ्रूण...’

००

भित्री मधेसमा पर्छ, सिन्धुलीका केही भूभाग । पूर्वतिर एउटा खोला बग्छ, कमला । र, पश्चिमतिर हानिन्छ, मरिन खोला । सीमान्तकृत माझी, दनुवारहरूको बस्ती हो, मरिन । कमलामा पनि सीमान्तकृत दनुवारहरूकै बाहुल्य छ । अहिले त आदिवासीमात्र होइन, जनजाति र धनजाति सप्पै बस्छन्, मरिन खोला किनारमा । खोला आसपासका बस्तीहरू अत्यन्तै रमणीय छन् । आँप, भुइँकटहर, रूखकटहर, लिच्ची, केरा, कटुस, थाकल, चुवाको मग्मगाउँदो बास्ना– मरिन खोलाका समृद्धिका अंशहरू हुन् ।

त्यही मरिन खोलाका स्वादिला माछा खाँदै र दैनिकी उतार्दै बाल्यकाल बिताएका विद्रोही पापीलाई पहिल्यैदेखि नै भावुकताले गाँज्थ्यो, अति नै । महाभारत पर्वत शृंखलाबाट बग्दै आउने धनमान, सिम्ले जस्ता स–साना खोलाहरू मिसिँदै कुसुमटारसम्म आइपुगेपछि मरिन खोलाले छाती खुलाएर बग्न पाउँछ । अर्थात् कुसुमटारबाट फराकिला नापनक्सामा फैलिने मरिन खोला पापीको जीवनका मैलाधैला पत्रहरूबाट कहिल्यै उप्किदैनन् सायद । त्यही मरिन खोलावरिपरि जीवन निर्वाह गर्ने अचेल भन्न थालिएको सीमान्तकृत माझी समुदायका दुःख, कष्ट, हैरानी र सोझोपन देख्दा उनमा भावुकताको पर्खाल नपत्याउँदो गरी उभिन्थ्यो । मरिन किनारका आदिवासी माझीहरूले आफ्ना हजारौं बिघा जमिन कसरी थापाकाजी र ढकालहरूका चंगुलमा फसेर गुमाए ? यस्ता पक्षका किस्सा आफ्ना बाउबाजेबाट सुनेका यिनले माझी समुदायका संगत पनि बेहोरे र उनीहरूका विरहलाग्दा गीत अर्थात् ‘ब्लुज’हरू सुन्दै जाँदा उनमा गायनको नशा चढ्यो । त्यो यस्तो नशा थियो कि, माझी समुदायले प्युँने छिप्पिएको जाँडभन्दा कुनै पनि हिसाबले तल थिएन । र, गाउन थाले गीतहरू । आफ्नै परिवेश, समुदाय र वर्गहरूका गीत गाउनमा उनले रुचि देखाए ।

 मरिन खोलाकिनारको सुन्दर बस्ती डाडीगुराँसेमा आठ वटा हिउँद–वर्षा गुजारेपछि उनका सपरिवारै झरे, सर्लाहीको हरिवनतिर । बर्मा गए पनि उनले कर्म त साथमै लगेका थिए । चुरे भावरका समथर प्रदेश टेके पनि उनले बाल्यकालदेखि नै पलाएको आफ्नो प्रतिभा–संसारलाई खुम्च्याउन चाहेनन् । चुरे भावर क्षेत्रमा पर्ने हरिवनले उनको गायन कलालाई अझ तिखा¥यो । उमेरले आधा शताब्दी टेक्दै लागेका तर ऊर्जा र उत्साहले हेर्दा भने गणेशचौथीको तिथि पारेर कसैको घु¥यानमा फलेका बडेमानको काँक्रो चोर्ने कुनै उत्साही किशोरझैं लाग्ने यिनले बाह्र÷तेह्र वर्षकै उमेरमा गाउन थाले, अति नै उत्साहित हुँदै गाउन थाले,

‘कान्छी नानी चमेली आलीमा टुसुक्क

माली गाईले चमेली धान खायो भुसुक्क...।’

जीवनमा भौँतारिदै हिँड्दा उनले कुनै बेला वीरगन्जमा बसको टिकट पनि काटे । भन्छन्, ‘म बसको टिकट काट्थेँ र विद्यार्थी भएको हुँदा बसमा चेकिङ गर्न पनि जान्थेँ ।’ तर, २०३६ सालको आन्दोलनले अध्ययनमा बाधा पु¥याएपछि उनी कलकत्तातिर लागे । कलकत्तामा धेरै समय गुजार्ने सौभाग्य नमिले पनि त्यहाँ रहँदा नेपाली र हिन्दीमा गीत गाउने आफ्नो बानीलाई भने उनले रत्तिभर सुधारेनन् ।

 

त्यही बेला, जनकपुर चुरोट कारखानामा खरिदार पदको विज्ञापन खुलेको रहेछ । दिदीले फर्म भरिदिएकी थिइन् । उनले जाँच दिए र उत्तीर्ण पनि भए । कुनै बेला, राज्यलाई कर तिर्ने त्यो अग्रणी संस्था अहिले मरणासन्न छ । तर, चुरोट कारखानामा उनले नित्य २४ वर्ष बिताए । भन्छन्, ‘मैले खरिदारबाट जागिर सुरु गरेँ र छाड्दा सुब्बा तहमा बढुवा भएँ ।’ त्यसो त, चुरोट कारखानामा रहँदा उनले देशका धेरै जिल्लाहरूमा घुम्ने औसर पनि पाए ।

 ‘म गाँजा, चरेस, भाङ, धतुरो सबै खान्थेँ,’ विगततिर हेर्दै उनी भन्छन् । तर, धुँवाजन्य वस्तु भने उनले २०४९ सालमै छाडे । त्यतिबेला, उनी कलाकार अर्जुनजंग शाहीसँगै कैलाश, मानसरोवरको यात्रामा गएका थिए । चुरोट र अरु नशालु पदार्थहरूको सेवनमा रम्ने पापीलाई शाहीले एउटा अनौठो प्रस्ताव राखे, ‘ए, पापी । यहाँ आएपछि त एउटा कुनै लत छाड्नुपर्छ । के छाड्छौ ? ’ उनले अनायासै ‘धुवाँ’ भनेछन् । त्यसयता उनले चुरोट सल्काएका छैनन् । विगतमा चुरोट बेच्ने उद्यममा गाउँ, बस्ती, सहरका पसलहरू चहारे पनि उनको धुवाँसँगको सम्बन्ध भने पूरै विच्छेद भइसकेको छ ।

जीवनमा भौँतारिँदै हिँड्दा उनले कुनै बेला वीरगन्जमा बसको टिकट पनि काटे । भन्छन्, ‘म बसको टिकट काट्थेँ र विद्यार्थी भएको हुँदा बसमा चेकिङ गर्न पनि जान्थेँ ।’ तर, ०३६ सालको आन्दोलनले अध्ययनमा बाधा पु¥याएपछि उनी कलकत्तातिर लागे ।

 जीवनका अनगिन्ती कुइनेटाहरू छिचोल्दै जाँदा २०५५ साल भने उनको जीवनमा नौलो र रोमाञ्चित रूपले प्रस्तुत भयो । त्यही वर्षदेखि नै सबैले उनको हुलिया थाहा पाए । उनले निर्विघ्न र निष्फिक्री तरिकाले, कसैको पर्वाह नगरी गाए– ‘माछी मार्न जाऊ न दाजै कालापानीमा...।’ विजय श्रेष्ठको आक्रमक शब्द र संगीतमा सजिएको यो गीतमा उनीसँगै गाउनेमा परे, विधान श्रेष्ठ पनि । बाबु विजयको शब्द र पुत्र विधानको स्वरसँगै उनले पनि ‘कालापानीमा माछी मार्न जान’ सबैलाई उकासे । उनले कुनै बेला भनेका पनि थिए– ‘मैले यस्तै यस्तै गीत गाउँछु भन्ने थाहा पाएपछि उहाँहरूले गाउनमा जोड गर्नुभएको रहेछ ।’

 कालापानी धेरै ठाउँमा छ । नेपालमा त कति–कति । मैले पत्तो लगाएअनुसार, महोत्तरी जिल्लामा छ, एउटा । मोरङमा पनि रहेछ अर्को । अरू जिल्लामा पनि थुप्रै कालापानी नामक थलो छ । तर, नेपाल–भारत सीमा विवादको कुरा उठ्नेबित्तिकै दार्चुलातिरको कालापानीको कुरा कसले नउठाउँला र ? कालापानी शब्द र सीमा विवादको तीव्र गन्ध आउने गीत भएको हुँदा सबै पक्षलाई सुपाच्य नभए पनि केही केहीले भने औधी रुचाए । तर, उनी यसलाई बिल्कुलै चेतना–प्रवाह गर्ने गीत ठान्छन् । हुन पनि गीत÷संगीतबाट चेतनाको प्रवाह गर्नु उनलाई असाध्यै गजब लाग्छ । यसअघि पनि ‘सुत सुत निदा काठमाडौं सहर...’ जस्ता गीत उनले गाइसकेका थिए । केन्द्रीकृत सोचमा झुमिरहेको काठमाडौंलाई झक्झकाउने हेतुले मोफसलको जस्केलोबाट हेरिरहेका उनले यस्तै जागरणमुखी काव्य–झंकार उरालेका थिए । बब डेलनभन्दा के कम उनी पनि ? अर्थात्, हाम्रा झन्डाशेखर ।

 पुर्खाप्रति गौरव छ उनलाई । फिरंगीहरूलाई आफ्ना शक्तिशाली पुर्खाहरूले लखेटेको इतिहास उनको मनमस्तिष्कमा ताजै र गाढै छ अझै । उनलाई लाग्छ, कहिलेकाहीँ, यदि पुर्खाहरूले फिरंगीहरूमाथि सिन्धुलीगढी लेकको तिखा र धारिला ढुंगाहरू नबर्साएका भए, अल्लो र सिस्नुका घारीभित्रभित्रै शत्रुहरूलाई नलेखटेका भए र अरिंगालका काला गोलाहरूमा गुलेली चलाएर अरिंगालहरूलाई बिच्क्याएर शत्रुहरूको चिल्ला गालाहरूमा चिल्न नसघाएका भए कसरी जितिन्थ्यो, त्यो ऐतिहासिक युद्ध ? कसरी रहन्थ्यो नेपालको नाम ? इतिहासमा पुर्खाहरूले चालेका कदमप्रति गर्व गर्छन् उनी । तर, वर्तमान पुस्तामा इतिहासलाई बिर्सने बानी पलाएकोमा भने उनलाई उत्तिकै चिन्ता पनि छ । त्यही भएर त उनले गाए पनि–

‘बाह्र बजे तोप चल्थ्यो

एउटा इतिहास बोल्थ्यो

दुश्मनको छातीभित्र

आँधी कतै आगो बल्थ्यो

सिन्धुलीगढी दरबार, बैरीको गथ्र्यो खबरदार

आप्पाको छोरा ठूल्कान्छा

छैन है तेरो तरबारमा धार...’

०००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.