बाल उद्धार

बाल उद्धार

संविधानले शिक्षालाई मौलिक अधिकारको सूचीमा राखेको छ । त्यसको अर्थ हो सबै नागरिक अर्थात् विद्योपार्जन उमेर समूहमा रहेका बालबालिकाका लागि गुणस्तरीय शिक्षामा पहुँच दिनु सरकारको दायित्व हो । त्यो सुनिश्चित नगर्नु (कानुन बनेको अवस्थामा) सरकार मौलिक हक उल्लंघनकर्ता बन्नु र दण्डको भागीदार बन्नु हो । नेपालमा अहिले त्यही स्थिति विद्यमान छ ।

गुणस्तरीय शिक्षाको सुविधा खासगरी राजधानी र सहरी केन्द्रहरूमा छन्, तिनीहरूमध्ये अत्यधिक संख्यामा निजी तथा बोर्डिङ स्कुलहरू छन्, जहाँ आर्थिक रूपमा विपन्नहरूको पहुँच सम्भव छैन । अहिले पनि ग्रामीण र सुदूर इलाकाका विपन्न बालबालिका लामो छुट्टीको समयमा परिवार पोषणको लागि सहरी क्षेत्र तथा सीमापारि भारत जाने गर्छन् । त्यसले उनीहरूको अध्ययनलाई प्रतिकुल रूपमा प्रभावित पारे पनि बाँच्नु पहिलो विकल्प भएकाले त्यो उनीहरूको सर्वोच्च प्राथमिकता बनेको छ, बन्छ नै । प्रमाण यथेष्ट छन् ।

तर केही हृदयविदारक घटनाले सम्भवतः सरकार बालबालिकाको भविष्य, स्वास्थ्य, शिक्षा मात्र हैन, उनीहरूको सुरक्षाको लागिसमेत बढी सचेत, सक्रिया र समर्पित हुनुपर्ने देखिन्छ । नेपालसम्मको सीमावर्ती भारतीय राज्य विहारको एउटा बालकेन्द्रमा ३२ जना बालक बेसहारा बनेको अवस्थामा छन् अहिले । मजदुरीका क्रममा प्रहरीले 'बाल श्रमिक' हरूलाई त्यहाँ पुर्‌याएको र तीमध्ये केही छुटेर परिवारको सम्पर्कमा आएपछि यो रहस्योद्घाटन भएको हो ।

सकुशल उद्धार र परिवारसँगको मिलन उनीहरूको अधिकार हो, त्यो सुनिश्चित गर्नु नेपाल सरकारको दायित्व हो । यस्तो नियति भोगिरहेका बालबालिका थुप्रै छन् भन्ने सोचबाट ती २२ बालबालिकाको उद्धारमा ढिलाइ गर्नु अर्को चरम लापरबाही मानिनेछ ।

यसअघि जोखिमपूर्ण सर्कसमा र उत्तर प्रदेश तथा बिहारका चुरा, इँटा र गलैंचा कारखानामा हजारौं नेपाली बालबालिकाले काम गर्ने गरेको र विभिन्न बालअधिकारसँग सरोकार राख्ने संस्था, अझ खासगरी नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको सक्रियताका कारण उनीहरूको उद्धार भएको छ हजारौंको संख्यामा अनि परिवारसँग पुनर्मिलन भएको छ । अहिले त्यो प्रवृत्ति र आवरणमा नेपाली बाल श्रम भारतमा बेचिने घटनामा न्यूनता आए पनि पूर्णरूपमा बन्द नभएको बिहारको यो घटनाले सावित गरेको छ ।

सरकारबाट उनीहरूको सकुशल उद्धारमा ढिलाइ हुनु हुँदैन । तर यो कार्य त्यतिमा मात्र सीमित हुनु हुँदैन । ती बालबालिकालाई श्रम शोषणको अवस्थामा पुर्‌याउन उनीहरूका आफन्त या भारतीय रोजगारदाताका नेपाली दलाल सक्रिय रहेको बालकल्याण केन्द्रबाट छुटेर आएका तीनजनाबाट थाहा भएको छ । उचित छानबिनपछि ती दलालको पहिचान र उनीहरूलाई कारबाहीको दायरामा ल्याउने दायित्वलाई पनि सरकारले इमानदारी र सक्रियताका साथ पूरा गर्नु आवश्यक छ ।

भारत र नेपाल दुवै बाल श्रम उन्मूलन महासन्धिमा हस्ताक्षरकर्ता मुलुक हुन् र दाक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मानव तस्करी तथा बेचबिखनविरुद्धको सहमतिका पक्ष हुन् । त्यस अर्थमा भारत सरकारले उनीहरूलाई बाल श्रमबाट रोकेर बालकल्याण केन्द्रमा राखी आफ्नो प्रारम्भिक दायित्व निर्वाह गरको छ ।

तर त्यहाँ उनीहरूलाई श्रमिकका रूपमा प्रयोग गर्ने संस्था या व्यक्तिविरुद्ध कारबाही गर्ने र बाल श्रमिकलाई क्षतिपूर्ति दिलाउने दायित्वबाट पनि ऊ मुक्त हुन सक्दैन, तर त्यसको लागि त्यो केन्द्रमा रहेका ३२ जनाको तत्काल उद्धारको विशेष पहल सरकारले विनाविलम्ब उठाउनु आवश्यक छ । बाल श्रमप्रतिको उदासीनता मुलुकको भविष्यप्रतिको संवेदनहीनताको अर्को रूप हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.