देवकोटाको प्रमिथस अवतार
प्रमिथसलाई विषय बनाएर संसारमा धेरै लेखिएका छन् । एस्किलसले 'प्रमिथस बाउन्ड'लेखे, शेलीले 'प्रमिथस अनबाउन्ड' लेखे । दुवै प्रसिद्ध नाट्य कृति हुन् । प्रमिथसलाई विषय बनाएर कविता, कथा, निबन्ध आदि पनि रचिएका छन् । आज पनि यस विषयमा लेखिँदैछ र आउँदा दिनहरूमा पनि लेखिनेछ । प्रमिथसको अद्वितीयता नै प्रमिथस लेखनको विषय बन्नुको मूल कारण हो ।
ग्रिक पूरा कथाका यी पात्र संघर्ष र न्यायको, मानवप्रेम र सत्यको, त्याग र बलिदानको, स्वाभिमान, साहस, निर्भिकता र वीरताको प्रतीक हुन् । हजारौं वर्षपहिले निर्मित मिथकीय पात्रमा अन्तर्निहित यही चरित्रले स्रष्टाहरूलाई आकर्षित गर्यो र गरिरहेछ । उनीहरूले आफ्नो समय र परिवेशसहित उनलाई आफ्नो रचनामा स्थान दिए र दिइरहेछन् । प्रमिथसलाई विषय बनाउनु भनेको अन्यायविरुद्धको संघर्षलाई विषय बनाउनु हो; स्वतन्त्रता, समानता र न्यायको पक्षमा उभिनु हो; आममानिसका पक्षमा उभिएर उत्पीडकहरूको सत्तालाई चुनौती दिनु हो; उज्यालाका निम्ति अँध्यारोकाविरुद्ध संघर्ष गर्नु हो र एक सुन्दर समाज निर्माणको स्वप्न देख्नु हो ।
जसजसले प्रमिथसलाई आफ्नो रचनाको विषय बनाएका छन्, खुला वा प्रच्छन्न रूपमा तिनले यिनै कुराहरूलाई अभिव्यक्ति दिएका छन् । देवकोटाले पनि यही गरेका छन् ।
प्रमिथस टाइटन देव थिए । उनी बुद्धिमान्, साहसी र वीर थिए । उनमा अद्वितीय मानवप्रेम थियो । उनी मनुष्यलाई सबै दृष्टिले समृद्ध गर्न र पृथ्वीलाई सुन्दर बनाउन चाहन्थे । उनी देवता र मनुष्य, स्वर्ग र पृथ्वीबीचको विभेदको विपक्षमा थिए । प्रमिथसको यस विचार र कार्यले देवताहरूलाई सशंकित बनायो । उनीहरू कतै आफ्नो वैभवमाथि संकट आउने त होइन भनी त्रस्त हुन थाले । प्रमिथसको मानव र धर्ती प्रेम उनीहरूका निम्ति असह्य हुन थाल्यो ।
ओलिम्पसका राजा जिउस यस विषयलाई लिएर गम्भीर भए । जिउसमा मानव प्रेम थिएन । उनी मानव सम्पन्न र सुखी बनून् भन्ने चाहन्नथे । प्रमिथसको गतिविधि उनलाई मन नपर्नु स्वाभाविक थियो । यसले प्रमिथस र उनीबीचको सम्बन्धलाई चिसो बनाउँदै लग्यो । यसैबीच प्रमिथस र जिउसबीचको सम्बन्धलाई समाप्त गर्ने र द्वन्द्वपूर्ण बनाउने एक महत्त्वपूर्ण घटना घट्यो । प्रमिथसले एक गोरु मारेर त्यसको छालाबाट दुईवटा थैला बनाए ।
महाकवि देवकोटा प्रमिथसले जस्तै 'आगो चोरेर' आफ्नो समाजको अन्धकार र अज्ञानतालाई समाप्त गर्न चाहन्थे । यसले नै उनलाई प्रमिथसको नजिक पुर्यायो । उनले आफ्नो महाकाव्यको विषय प्रमिथसलाई बनाए । देवकोटा स्वयम् नेपाली समाजका एक प्रमिथस थिए ।
एउटा थैलोमा त्यस गोरुको मासुमात्र राखे । अर्को थैलोमा हाडहरूमात्र राखेर माथिबाट बोसोले छोपिदिए । उनले जिउसलाई एउटा थैलो रोज्न भने । हाडवाला थैलो जिउसलाई पर्यो । यसबाट उनी क्रुद्ध भए । सिक्यानमा एक दिन मनुष्यद्वारा बलि दिइएको गोरुको शरीरको कुन भाग देवतालाई अर्पित गर्ने भन्ने विषयमा विवाद भएपछि प्रमिथसलाई मध्यस्थता गर्ने र समस्याको सामाधान खोज्ने जिम्मेवारी दिइएको थियो । यसै क्रममा प्रमिथसबाट यो कार्य भएको थियो ।
आक्रोशित जिउसले मनुष्यलाई आगोबाट वञ्चित गर्ने निर्णय सुनाए र ओलिम्पस फर्किए । उनले मनुष्यले सधैं काँचो मासुमात्र खान परोस् भनी श्राप दिए । प्रमिथसलाई यसबाट गम्भीर चोट लाग्यो । उनी उदास भए तर हिम्मत हारेनन् । आगोको अभावमा उनको मानव र पृथ्वी प्रेमले, त्यसलाई सुन्दर र समुन्नत बनाउने उनको स्वप्नले साकार रूप ग्रहण गर्न सम्भव थिएन । मानव जीवन असीम अष्टको सिकार हुनु स्वाभाविक थियो ।
प्रमिथसले आगो चोर्ने निश्चय गरे । त्यसका निम्ति ओलिम्पस पर्वततर्फ प्रस्थान गरे । उनी स्वर्गबाट मानव जातिका निम्ति आगो चोर्न सफल भए । यसबाट क्रुद्ध जिउसले प्रमिथसलाई कठोर दण्ड दिए । प्रमिथस कठोर दण्डलाई सहर्ष खप्न तयार भए । उनलाई ककेसस पर्वतमा लगियो र असंख्य यातनाका निम्ति चट्टानमा बाँधेर छोडियो । नग्न प्रमिथस अकथनीय यन्त्रणा खप्न बाध्य भए ।
प्रमिथस र जिउसबीचको द्वन्द्वको अर्को महत्त्वपूर्ण कारण आफ्नै पुत्रले जिउसलाई अपदस्थ गर्नेछ भन्ने प्रमिथसको भविष्यवाणी पनि थियो । जिउसद्वारा कठोर दण्ड दिइए पनि उनले माफी मागेनन् । भयानक यातनाबाट मुक्तिका निम्ति याचना गरेनन् । संक्षेपमा प्रमिथसबारे ग्रिक पूराकथामा उल्लेख गरिएको कुरा यही हो । कठोर यातनाहरू खप्दै अन्याय र अत्याचारका विरुद्ध संघर्ष गर्ने उनको यही दृढ अठोट र त्यागले नै उनलाई अमर बनायो र उनलाई स्वतन्त्रता, समानता र न्यायको प्रतीकका रूपमा मानवजातिले ग्रहण गर्यो ।
प्रमिथसको यही चरित्रबाट देवकोटा प्रभावित थिए । उनलाई ग्रिक पुराकथाहरूको राम्रो अध्ययन थियो । उनले पश्चिममा प्रमिथसलाई विषय बनाएर लेखिएका रचनाहरूको अध्ययन पनि गरेका थिए । एस्किलसको 'प्रमिथस बाउन्ड' र शेलीको 'प्रमिथस अनबाउन्ड'बाट उनी प्रभावित थिए । देवकोटामा प्रमिथसको प्रभाव अलि पहिल्यैदेखि परेको थियो । लक्ष्मी निबन्धसंग्रहभित्रको 'वीरहरू' निबन्ध यसको उदाहरण हो ।
ग्रिक पूरा कथाको विशेष प्रयोग भने देवकोटाले आफ्नो काव्ययात्राको उत्तराद्र्धबाट गर्न थालेका हुन् । 'सृजामाता' र 'मायाविनी सर्सी' खण्डकाव्यमा ग्रिक पुराकथाको प्रयोग गरिएको छ । प्रमिथस महाकाव्यसम्म आइपुग्दा यो प्रयोग विशिष्ट बनेको पाइन्छ । प्रमिथस देवकोटाको गद्यमा लेखिएको सबैभन्दा पछिल्लो महाकाव्य हो । यस महाकाव्यको लेखन आरम्भ २००७ सालमा भएको थियो । २०१० सालको 'प्रगति'को अंकमा यसका प्रथम सर्गका केही अंश प्रकाशित भएका थिए ।
पुस्तकका रूपमा यसको प्रकाशन २०२८ सालमा मात्र भएको थियो । यस महाकाव्यमा ११ सर्ग छन् । छैटौं सर्गसम्मको कथानक ग्रिक पुराकथाबाट र त्यसपछिको कथानक एस्किलसको क्लासिकल नाटक 'प्रमिथस बाउन्ड'बाट लिइएको पाइन्छ । देवकोटाले ग्रिक पुराकथालाई आफ्नो समय सन्दर्भसहित प्रस्तुत गरेका छन् ।
देवकोटाको काव्य यात्राका विभिन्न मोड छन् । देवकोटा आफ्नो काव्य यात्रामा निष्क्रिय स्वच्छन्दतावादबाट क्रमशः विद्रोही र परिवर्तनधर्मी बन्दै गएका पाइन्छन् । प्रमिथसको छनोट उनमा आएको यही परिवर्तनसँग जोडिएको छ । देवकोटा स्वतन्त्रता, समानता र न्यायका पक्षमा थिए । उनी उत्पीडनको अन्त्य चाहन्थे ।
सत्यम्, शिवम् र सुन्दरम्को पक्षमा उभिनु, विभेदहरूको अन्त चाहनु र एक स्वाधीन र समृद्ध मुलुक निर्माणको स्वप्न देख्नु उनका महत्त्वपूर्ण विशेषता थिए । उनी प्रमिथसले जस्तै 'आगो चोरेर' आफ्नो समाजको अन्धकार र अज्ञानतालाई समाप्त गर्न चाहन्थे, अन्याय र उत्पीडनको अन्त्य एवं स्वतन्त्रता, समानता र न्यायको स्थापना गर्न चाहन्थे । प्रमिथसमा जस्तै उनमा अद्वितीय मानवप्रेम थियो, त्यसका निम्ति संघर्ष गर्ने र विचलित नहुने आँट थियो, सुन्दरको स्वप्न र न्यायको भोक थियो ।
यसले नै उनलाई प्रमिथसको नजिक पुर्यायो । उनले आफ्नो महाकाव्यको विषय प्रमिथसलाई बनाए । देवकोटा स्वयं नेपाली समाजका एक प्रमिथस थिए । देवकोटाको जीवनमा प्रमिथस आउनु कुनै संयोग थिएन । देवकोटा जीवनभर जुन कुराका निम्ति संघर्षरत रहे, त्यही कुरा आफ्नो समयमा प्रमिथसले गरेका थिए । राणाशाहीविरुद्धको संघर्ष र लोकतन्त्रको स्थापनाका निम्ति देवकोटाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
भूमिका निर्वाह गर्दा असीम यन्त्रणाको सिकार भएका थिए । नेपाली जनताले परिवर्तनका निम्ति गरेको संघर्ष, त्यसका निम्ति खपेको अकथनीय दमन र कष्ट, सहिदहरूको बलिदान र परिवर्तनका स्वप्नलाई उनी एक अमर पात्रका माध्यमबाट काव्यात्मक अभिव्यक्ति दिन चाहन्थे । देवकोटाले प्रमिथस महाकाव्यका माध्यमबाट यही गरेका छन् । महाकाव्यमा प्रमिथस परिवर्तनका निम्ति लडेका सहिदहरूको प्रतीकका रूपमा आएका छन् ।
यस महाकाव्यका माध्यमबाट देवकोटाले परिवर्तनपछि पनि जागरुकता, संघर्षशीलता, परिवर्तनधर्मिता र नयाँको भोकलाई मर्न दिन नहुने सन्देश दिएका छन् । उज्यालो र अँध्यारो, असल र खराब, न्याय र अन्याय, कुरूप र सुन्दरबीच संघर्ष चलिरहन्छ र त्यसका निम्ति प्रमिथसले हामीलाई ऊर्जा प्रदान गरिरहन्छन् भन्ने दृष्टिकोण पनि प्रमिथस महाकाव्यमा पाइन्छ ।
महाकाव्यमा देवकोटाले पुराकथाको प्रयोग परिवर्तनधर्मी चेतनासहित गरेका छन् ।
यस्तो चेतना 'सृजामाता' र 'मायाविनी सर्सी'मा पाइन्न । प्रमिथसमा देवकोटा आफ्नो समय र समाजसँग जोडिएका छन्, त्यसका उज्याला-अँध्यारा पक्षबीच चल्ने द्वन्द्वसँग गाँसिएका छन् र परिवर्तनका पक्षमा उभिएका छन् । प्रमिथसमा अतीत प्रेम छैन । त्यसतिर फर्कने आग्रह र चेष्टा छैन । त्यहाँ क्रान्तिचेत छ । निरंकुशता र अत्याचारी शासनसत्ताविरुद्ध विद्रोहको हुंकार छ । मेरो विचारमा प्रमिथस देवकोटाको सबैभन्दा श्रेष्ठ महाकाव्य हो ।
'शाकुन्तल'लाई देवकोटाको श्रेष्ठ महाकाव्य भनिन्छ तर साहित्यको महत्त्वलाई युगजीवन र समाजसँग गाँसेर हेर्ने र त्यसलाई परिवर्तनधर्मी भूमिकामा खोज्ने हो भने प्रमिथसलाई देवकोटाको श्रेष्ठ महाकाव्यका रूपमा लिनैपर्ने हुन्छ । देवकोटाले प्रमिथसलाई महाकाव्यको विषयवस्तु बनाएर आफ्नो समयको ऊध्र्वगामी चेतना र त्यसको संघर्षलाई अमरवाणी दिएका छन् । मानव स्वतन्त्रता, विभेद र उत्पीडनबाट मुक्तिको पक्षमा उभिएका छन् । यही नै यस महाकाव्यको मुख्य प्राप्ति हो ।
प्रतिक्रिया दिनुहोस !