देवकोटाको प्रमिथस अवतार

देवकोटाको प्रमिथस अवतार

प्रमिथसलाई विषय बनाएर संसारमा धेरै लेखिएका छन् । एस्किलसले 'प्रमिथस बाउन्ड'लेखे, शेलीले 'प्रमिथस अनबाउन्ड' लेखे । दुवै प्रसिद्ध नाट्य कृति हुन् । प्रमिथसलाई विषय बनाएर कविता, कथा, निबन्ध आदि पनि रचिएका छन् । आज पनि यस विषयमा लेखिँदैछ र आउँदा दिनहरूमा पनि लेखिनेछ । प्रमिथसको अद्वितीयता नै प्रमिथस लेखनको विषय बन्नुको मूल कारण हो ।

ग्रिक पूरा कथाका यी पात्र संघर्ष र न्यायको, मानवप्रेम र सत्यको, त्याग र बलिदानको, स्वाभिमान, साहस, निर्भिकता र वीरताको प्रतीक हुन् । हजारौं वर्षपहिले निर्मित मिथकीय पात्रमा अन्तर्निहित यही चरित्रले स्रष्टाहरूलाई आकर्षित गर्‌यो र गरिरहेछ । उनीहरूले आफ्नो समय र परिवेशसहित उनलाई आफ्नो रचनामा स्थान दिए र दिइरहेछन् । प्रमिथसलाई विषय बनाउनु भनेको अन्यायविरुद्धको संघर्षलाई विषय बनाउनु हो; स्वतन्त्रता, समानता र न्यायको पक्षमा उभिनु हो; आममानिसका पक्षमा उभिएर उत्पीडकहरूको सत्तालाई चुनौती दिनु हो; उज्यालाका निम्ति अँध्यारोकाविरुद्ध संघर्ष गर्नु हो र एक सुन्दर समाज निर्माणको स्वप्न देख्नु हो ।

जसजसले प्रमिथसलाई आफ्नो रचनाको विषय बनाएका छन्, खुला वा प्रच्छन्न रूपमा तिनले यिनै कुराहरूलाई अभिव्यक्ति दिएका छन् । देवकोटाले पनि यही गरेका छन् ।

प्रमिथस टाइटन देव थिए । उनी बुद्धिमान्, साहसी र वीर थिए । उनमा अद्वितीय मानवप्रेम थियो । उनी मनुष्यलाई सबै दृष्टिले समृद्ध गर्न र पृथ्वीलाई सुन्दर बनाउन चाहन्थे । उनी देवता र मनुष्य, स्वर्ग र पृथ्वीबीचको विभेदको विपक्षमा थिए । प्रमिथसको यस विचार र कार्यले देवताहरूलाई सशंकित बनायो । उनीहरू कतै आफ्नो वैभवमाथि संकट आउने त होइन भनी त्रस्त हुन थाले । प्रमिथसको मानव र धर्ती प्रेम उनीहरूका निम्ति असह्य हुन थाल्यो ।

ओलिम्पसका राजा जिउस यस विषयलाई लिएर गम्भीर भए । जिउसमा मानव प्रेम थिएन । उनी मानव सम्पन्न र सुखी बनून् भन्ने चाहन्नथे । प्रमिथसको गतिविधि उनलाई मन नपर्नु स्वाभाविक थियो । यसले प्रमिथस र उनीबीचको सम्बन्धलाई चिसो बनाउँदै लग्यो । यसैबीच प्रमिथस र जिउसबीचको सम्बन्धलाई समाप्त गर्ने र द्वन्द्वपूर्ण बनाउने एक महत्त्वपूर्ण घटना घट्यो । प्रमिथसले एक गोरु मारेर त्यसको छालाबाट दुईवटा थैला बनाए ।

महाकवि देवकोटा प्रमिथसले जस्तै 'आगो चोरेर' आफ्नो समाजको अन्धकार र अज्ञानतालाई समाप्त गर्न चाहन्थे । यसले नै उनलाई प्रमिथसको नजिक पुर्‌यायो । उनले आफ्नो महाकाव्यको विषय प्रमिथसलाई बनाए । देवकोटा स्वयम् नेपाली समाजका एक प्रमिथस थिए ।

एउटा थैलोमा त्यस गोरुको मासुमात्र राखे । अर्को थैलोमा हाडहरूमात्र राखेर माथिबाट बोसोले छोपिदिए । उनले जिउसलाई एउटा थैलो रोज्न भने । हाडवाला थैलो जिउसलाई पर्‌यो । यसबाट उनी क्रुद्ध भए । सिक्यानमा एक दिन मनुष्यद्वारा बलि दिइएको गोरुको शरीरको कुन भाग देवतालाई अर्पित गर्ने भन्ने विषयमा विवाद भएपछि प्रमिथसलाई मध्यस्थता गर्ने र समस्याको सामाधान खोज्ने जिम्मेवारी दिइएको थियो । यसै क्रममा प्रमिथसबाट यो कार्य भएको थियो ।

आक्रोशित जिउसले मनुष्यलाई आगोबाट वञ्चित गर्ने निर्णय सुनाए र ओलिम्पस फर्किए । उनले मनुष्यले सधैं काँचो मासुमात्र खान परोस् भनी श्राप दिए । प्रमिथसलाई यसबाट गम्भीर चोट लाग्यो । उनी उदास भए तर हिम्मत हारेनन् । आगोको अभावमा उनको मानव र पृथ्वी प्रेमले, त्यसलाई सुन्दर र समुन्नत बनाउने उनको स्वप्नले साकार रूप ग्रहण गर्न सम्भव थिएन । मानव जीवन असीम अष्टको सिकार हुनु स्वाभाविक थियो ।

प्रमिथसले आगो चोर्ने निश्चय गरे । त्यसका निम्ति ओलिम्पस पर्वततर्फ प्रस्थान गरे । उनी स्वर्गबाट मानव जातिका निम्ति आगो चोर्न सफल भए । यसबाट क्रुद्ध जिउसले प्रमिथसलाई कठोर दण्ड दिए । प्रमिथस कठोर दण्डलाई सहर्ष खप्न तयार भए । उनलाई ककेसस पर्वतमा लगियो र असंख्य यातनाका निम्ति चट्टानमा बाँधेर छोडियो । नग्न प्रमिथस अकथनीय यन्त्रणा खप्न बाध्य भए ।

प्रमिथस र जिउसबीचको द्वन्द्वको अर्को महत्त्वपूर्ण कारण आफ्नै पुत्रले जिउसलाई अपदस्थ गर्नेछ भन्ने प्रमिथसको भविष्यवाणी पनि थियो । जिउसद्वारा कठोर दण्ड दिइए पनि उनले माफी मागेनन् । भयानक यातनाबाट मुक्तिका निम्ति याचना गरेनन् । संक्षेपमा प्रमिथसबारे ग्रिक पूराकथामा उल्लेख गरिएको कुरा यही हो । कठोर यातनाहरू खप्दै अन्याय र अत्याचारका विरुद्ध संघर्ष गर्ने उनको यही दृढ अठोट र त्यागले नै उनलाई अमर बनायो र उनलाई स्वतन्त्रता, समानता र न्यायको प्रतीकका रूपमा मानवजातिले ग्रहण गर्‌यो ।

प्रमिथसको यही चरित्रबाट देवकोटा प्रभावित थिए । उनलाई ग्रिक पुराकथाहरूको राम्रो अध्ययन थियो । उनले पश्चिममा प्रमिथसलाई विषय बनाएर लेखिएका रचनाहरूको अध्ययन पनि गरेका थिए । एस्किलसको 'प्रमिथस बाउन्ड' र शेलीको 'प्रमिथस अनबाउन्ड'बाट उनी प्रभावित थिए । देवकोटामा प्रमिथसको प्रभाव अलि पहिल्यैदेखि परेको थियो । लक्ष्मी निबन्धसंग्रहभित्रको 'वीरहरू' निबन्ध यसको उदाहरण हो ।

ग्रिक पूरा कथाको विशेष प्रयोग भने देवकोटाले आफ्नो काव्ययात्राको उत्तराद्र्धबाट गर्न थालेका हुन् । 'सृजामाता' र 'मायाविनी सर्सी' खण्डकाव्यमा ग्रिक पुराकथाको प्रयोग गरिएको छ । प्रमिथस महाकाव्यसम्म आइपुग्दा यो प्रयोग विशिष्ट बनेको पाइन्छ । प्रमिथस देवकोटाको गद्यमा लेखिएको सबैभन्दा पछिल्लो महाकाव्य हो । यस महाकाव्यको लेखन आरम्भ २००७ सालमा भएको थियो । २०१० सालको 'प्रगति'को अंकमा यसका प्रथम सर्गका केही अंश प्रकाशित भएका थिए ।

पुस्तकका रूपमा यसको प्रकाशन २०२८ सालमा मात्र भएको थियो । यस महाकाव्यमा ११ सर्ग छन् । छैटौं सर्गसम्मको कथानक ग्रिक पुराकथाबाट र त्यसपछिको कथानक एस्किलसको क्लासिकल नाटक 'प्रमिथस बाउन्ड'बाट लिइएको पाइन्छ । देवकोटाले ग्रिक पुराकथालाई आफ्नो समय सन्दर्भसहित प्रस्तुत गरेका छन् ।

देवकोटाको काव्य यात्राका विभिन्न मोड छन् । देवकोटा आफ्नो काव्य यात्रामा निष्क्रिय स्वच्छन्दतावादबाट क्रमशः विद्रोही र परिवर्तनधर्मी बन्दै गएका पाइन्छन् । प्रमिथसको छनोट उनमा आएको यही परिवर्तनसँग जोडिएको छ । देवकोटा स्वतन्त्रता, समानता र न्यायका पक्षमा थिए । उनी उत्पीडनको अन्त्य चाहन्थे ।

सत्यम्, शिवम् र सुन्दरम्को पक्षमा उभिनु, विभेदहरूको अन्त चाहनु र एक स्वाधीन र समृद्ध मुलुक निर्माणको स्वप्न देख्नु उनका महत्त्वपूर्ण विशेषता थिए । उनी प्रमिथसले जस्तै 'आगो चोरेर' आफ्नो समाजको अन्धकार र अज्ञानतालाई समाप्त गर्न चाहन्थे, अन्याय र उत्पीडनको अन्त्य एवं स्वतन्त्रता, समानता र न्यायको स्थापना गर्न चाहन्थे । प्रमिथसमा जस्तै उनमा अद्वितीय मानवप्रेम थियो, त्यसका निम्ति संघर्ष गर्ने र विचलित नहुने आँट थियो, सुन्दरको स्वप्न र न्यायको भोक थियो ।

यसले नै उनलाई प्रमिथसको नजिक पुर्‌यायो । उनले आफ्नो महाकाव्यको विषय प्रमिथसलाई बनाए । देवकोटा स्वयं नेपाली समाजका एक प्रमिथस थिए । देवकोटाको जीवनमा प्रमिथस आउनु कुनै संयोग थिएन । देवकोटा जीवनभर जुन कुराका निम्ति संघर्षरत रहे, त्यही कुरा आफ्नो समयमा प्रमिथसले गरेका थिए । राणाशाहीविरुद्धको संघर्ष र लोकतन्त्रको स्थापनाका निम्ति देवकोटाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

भूमिका निर्वाह गर्दा असीम यन्त्रणाको सिकार भएका थिए । नेपाली जनताले परिवर्तनका निम्ति गरेको संघर्ष, त्यसका निम्ति खपेको अकथनीय दमन र कष्ट, सहिदहरूको बलिदान र परिवर्तनका स्वप्नलाई उनी एक अमर पात्रका माध्यमबाट काव्यात्मक अभिव्यक्ति दिन चाहन्थे । देवकोटाले प्रमिथस महाकाव्यका माध्यमबाट यही गरेका छन् । महाकाव्यमा प्रमिथस परिवर्तनका निम्ति लडेका सहिदहरूको प्रतीकका रूपमा आएका छन् ।

यस महाकाव्यका माध्यमबाट देवकोटाले परिवर्तनपछि पनि जागरुकता, संघर्षशीलता, परिवर्तनधर्मिता र नयाँको भोकलाई मर्न दिन नहुने सन्देश दिएका छन् । उज्यालो र अँध्यारो, असल र खराब, न्याय र अन्याय, कुरूप र सुन्दरबीच संघर्ष चलिरहन्छ र त्यसका निम्ति प्रमिथसले हामीलाई ऊर्जा प्रदान गरिरहन्छन् भन्ने दृष्टिकोण पनि प्रमिथस महाकाव्यमा पाइन्छ ।
महाकाव्यमा देवकोटाले पुराकथाको प्रयोग परिवर्तनधर्मी चेतनासहित गरेका छन् ।

यस्तो चेतना 'सृजामाता' र 'मायाविनी सर्सी'मा पाइन्न । प्रमिथसमा देवकोटा आफ्नो समय र समाजसँग जोडिएका छन्, त्यसका उज्याला-अँध्यारा पक्षबीच चल्ने द्वन्द्वसँग गाँसिएका छन् र परिवर्तनका पक्षमा उभिएका छन् । प्रमिथसमा अतीत प्रेम छैन । त्यसतिर फर्कने आग्रह र चेष्टा छैन । त्यहाँ क्रान्तिचेत छ । निरंकुशता र अत्याचारी शासनसत्ताविरुद्ध विद्रोहको हुंकार छ । मेरो विचारमा प्रमिथस देवकोटाको सबैभन्दा श्रेष्ठ महाकाव्य हो ।

'शाकुन्तल'लाई देवकोटाको श्रेष्ठ महाकाव्य भनिन्छ तर साहित्यको महत्त्वलाई युगजीवन र समाजसँग गाँसेर हेर्ने र त्यसलाई परिवर्तनधर्मी भूमिकामा खोज्ने हो भने प्रमिथसलाई देवकोटाको श्रेष्ठ महाकाव्यका रूपमा लिनैपर्ने हुन्छ । देवकोटाले प्रमिथसलाई महाकाव्यको विषयवस्तु बनाएर आफ्नो समयको ऊध्र्वगामी चेतना र त्यसको संघर्षलाई अमरवाणी दिएका छन् । मानव स्वतन्त्रता, विभेद र उत्पीडनबाट मुक्तिको पक्षमा उभिएका छन् । यही नै यस महाकाव्यको मुख्य प्राप्ति हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.