दोहोरो रौनक
फोटोग्राफीको ‘कुलत’मा फसेकाहरूको दसैंतिहार ‘बाई वान गेट वान फ्री’ टाइपको अफरजस्तो दोहोरो रौनकले भरिन्छ । एकातिर चाडबाडको फेस्टिभ मुड र धपेडी छँदैछ, अर्कौतिर फोटो खिच्ने वर्षकै उत्कृष्ट मौसम छोप्ने चटारो ।
यो याम फोटोकारिता गर्नेका लागि वर्षकै उत्कृष्ट समय हो । त्यसमा पनि ल्यान्डस्केप वा प्राकृतिक दृश्यको फोटोका लागि त यो महोत्सव नै हो । वर्षापछि सिनित्तै पखालिएको जमिन, बादल बढारिएको आकाश, तुँवालो हटेको परिवेश, अनि कोमल प्रकाश । प्रकृतिको हर छटा भाइब्रेन्ट रंगमा पोतिएको हुन्छ ।
यो बेला काठमाडौं भूपिको ‘चिसो एस्ट्रे’ जत्तिको निष्ठुरी भइसकेको हुँदैन । अझ भनौं, काठमाडौं सबैभन्दा जीवन्त हुने याम नै यही हो । आफ्नो बचेखुचेको सौन्दर्य निखारेर हामीलाई ‘अपिल’ गर्ने याम पनि हो यो ।
अहिले खाल्डोको काँठमा धान पाकेर पहेँलपुर छ, तोरीबारीमा भ्रमर मेला लागेको हुन्छ, सयपत्री र मखमलीले ‘फेस्टिभ मुड’मा थप काउकुती लगाउँछन् । शीतले लपक्कै भिजेको खेत खलियानबाट अनौठो सुगन्ध आँउछ । पारिलो घाम झुल्केसँगै धानका बालामा लर्किएका शीत मोतीझैँ झलमलाउँछन् । बचेखुचेका ताल, कुण्ड, खोला र खोल्सा हुस्सु र कुहिरोको बर्को ओढेर बडो रहस्यमयी लाग्छन् ।
जनजीवन उस्तै सक्रिय हुन्छ । कसैलाई पाकेको धान काट्न चटारो छ, कोही सहरतिर हुस्सुमा जीउ ठिहिर्याउँदै सहरतिर दूध, सागसब्जी ओसार्न व्यस्त छन्, कसैलाई तिहारमा माला उन्ने सयपत्री र मखमली जोगाउन हम्मेहम्मे छ ।
अलि किशोरवयका रुमानी युवकयुवती आदिनाथ, मञ्जु श्री गुफा, जलविनायक आदितिर घुम्ने बहानामा आँखा चार गर्न ताँती लागेर आउँछन् । फुर्सदिला पाकाहरू भजन गाउँदै तीर्थ चहार्छन् । साँच्चै जीवन्त लाग्छ यस बेला यो सहरको पुछार ।
कुनै बिहान अबेर उठिएछ भने यो नजराना हेर्न वा फोटोमा कैद गर्न भुलेर ठूलै माछा उम्केझैं दिनभर पछुतो भइरहन्छ । त्यसैले घडीमा अलार्म राखेर म झिसमिसेमै ब्यूँझन्छु । बालकोटदेखि काठमाडौंको पुछारतिर सूर्यादयअगावै पुग्छु । एकाध दृश्य क्यामेरामा कैद गर्छु ।
हतार हुन्छ, कुनै दृश्य छुट्ने हो कि भनेर । अलि फुर्सद भएपछि चोभार डाँडातिरको ‘समाजवादी पसल’मा पारिलो घाममा बसेर चिया र सेलरोटी खाएर तृप्त हुन्छु । आँखाबाट यी दृश्यपान गरेर अझ बढी तृप्त हुन्छु ।