फूल र तिहार
‘आउँछ कि चेली भनेर आमा यो बाटो धाइथी’ भूपीको गीतबाट थालेँ । ‘के शृंगार गुलाफलाई कमलैलाई म धोउँ किन’ शकुन्तला महाकाव्यको एक हरफ यो हो । महाकवि लक्ष्मी प्रसाद देवकोटा यसका उद्गाता हुन् । ‘अभिशान शकुन्तला’ शीर्षकको संस्कृतमा नाटक छ । त्यो नाटक संस्कृत भाषाका महाकवि कालीदासले रचेका हुन् ।
भाषाशास्त्री बालकृष्ण पोख्रेल नेपाली जाति एक छन् । उनले निर्वाचन पहिल्याउने ठूलो ग्रन्थ लेखेका छन् । त्यस ग्रन्थको नाम हो ‘खस जातिको इतिहास’ त्यस अनुसार पृथाबाट पार्थ शब्द बनेको हो । पार्थ शब्दले महाभारतमा अर्जुनलाई सम्बोधन गरेको विषय उल्लेख छ ।
भाषा शास्त्रीय मान्यतामा निर्वाचनलाई शब्दको उत्पत्ति र व्युत्पादनलाई लिइन्छ । व्युत्पादन भनेको निर्माण हो । पार्थ भन्ने जातिले एसियामा सभ्यता हाँकेका थिए । त्यसैलाई लिएर शकुन्तलाको कोख फलाइएको छ । पुराकथामा काव्य महाकाव्य उपव्यास लेख्ने चलनको शृंखला बेग्लै छ । शकुन्तलामाथि देवकोटाको पनि ध्यान गयो । महाकाव्यको अभाव पूरा गर्न नेपाली भाषामा तीन महिनामा लेखिएको शकुन्तलामा ११ सय ठाउँमा फूलको सन्दर्भ छ ।
‘गुलाफलाई देखेर राम्रो हे भाइ नछुनू÷लोभले हेर्यो मोहनी गर्यो जंगली नहुनु’ उनैले लेखे । यहाँ गुलाफको न्यार्थ छोरी मान्छे छ । कसैलाई कोही राम्रा लाग्छन् । अधिकांश भालेलाई पोथी राम्रा लाग्छन् । ढुकुरले ढुकुर्नी फकाएका, परेवाले परेवी फकाएका साहित्य कति पढिए कति ।
मान्छेको समाज पनि केटी फकाउन कम छैन या मान्छेको समाज पनि केटा फकाउन कम छैन । आजको फेसबुकमा सबभन्दा बढी दोहोरी मच्याउने पीङ त भेटिन्छ । सामाजिक संजाललाई आफ्नो ‘स्क्रोल’ मा नराख्ने प्रसार प्रचार कुन चैं छ ? विज्ञापनमा सबैभन्दा बढी ‘घुरुमा घुरु परेवा घुर्योब’ नै संसारभर सुटिङमा छ । रेकर्ड मा छ । लाइभमा छ । पिरती गाँस्ने दुइ पाटा छन् : कामको पिरती र नौलो चाडका थिती बसाउने पिरती ।
पहिले पहिले यम–यमीको कथाले र ती कामको नीति तिहार मनाए । कथाले पुरानो पन्तुरो फुकाउँदा त्यही भन्छ । पछि-पछि दाजु बहिनीको हार्दिकता सहृदयता र स्नेहले भाइटीकाको रूपमा लियो । यसमा वात्स्यायन पस्नुहुन्न, फ्रायड पस्नुहुन्न भन्ने मान्यता छ ।
‘गाई दोभानैमा नलाउ है पिरती यो जोवानैमा’ । मेरो खाल्लेमा तिहारको याममा लफ्रक्कै शीत पर्छ । कान्लामा बोडी लटरम्म फल्दछन् । डिलमाथि सयपत्री रोपिएका हुन्छन् । एकाछेउमा मखमली हुन्छन् । गुजमुज्जेका अलि अग्ला बोट वरिपरि गोदावरी हुन्छन् । यी फूल तिहारलाई नै भनेर रोपिन्छन् । गोडिन्छन् । हुर्काइन्छन् । रोप्ने, हेरचाह गर्नेमा सबै चेली नै हुन्छन् । चेली चैं फूलमा औधी रसिन्छन् र रमाउँछन् । फूल फूलाउन कस्सिन्छन् । फूलका बोटसँगै आफ्ना रङ हेर्छन् । रूप हेर्छन् । पुराना पात झार्छन् । नयाँ पात सुम्सुम्याउँछन् । कोपिला लागेपिच्छे कपाल कोर्छन् । कन्पारा छाम्छन् । गाला कन्याउँछन् । रसिक हुन्छन् ।
चेली चैं फूलमा औधी रसिन्छन् र रमाउँछन् । फूल फूलाउन कस्सिन्छन् । फूलका बोटसँगै आफ्ना रङ हेर्छन् । रूप हेर्छन् । पुराना पात झार्छन् । नयाँ पात सुम्सुम्याउँछन् । कोपिला लागेपिच्छे कपाल कोर्छन् । कन्पारा छाम्छन् । गाला कन्याउँछन् । रसिक हुन्छन् ।
‘फूल फूल्यो तोरी ÷पार्वती नाम हो बाबुकी छोरी’ सानामा छँदा छोरीले बाबु मनपराउँछन् । छोराले आमा मन पराउँछन् । मनोवेत्ताका भनाइको निधो दही छ । अलिखित साहित्य बोल्छन् । लोक साहित्य रच्दछन् । पारि बाम्राङमा लालबहादुर चालिङ थिए । फुत्त डिल मुनिको गोरेटोबाट निस्किन्थे । भन्थे ‘चमेली चम्पा बेली हो । लौ सुन्दै जानु होस् चेली हो ।’ होइन फूललाई मान्छेले कति मनपराएका ? पुराण लेख्नेले फूलैकाका सन्दर्भ ल्याउँछन् । ‘मन्दार मालांक लिताल कायै’ महाकवि बनेर संस्कृतिमा आउँछन् । ‘शिरिस पुष्पाधिक सौकुमार्या’ (शिरीषको फूलभन्दा सुकुमारी), यो विषयमा नेपाली साहित्यमा विष्णुकुमारी वाइवाले आफ्नो साहित्यिक नाममै पारिजात राखिन् । उनले जीवनको लागि सबभन्दा मार्मिक कृति ‘शिरीषको फूल’ उपन्यास लेखिन् । त्यसो त अर्को महाकाव्य ‘वनकुसुम’ देवकोटाले लेखे ।
‘वन उपवनमा फुलिरहेछन् लाखौं सुन्दर सुन्दर फूल-सुषमा सौरभलाई छरेर हेर्छन् मानव मनको सूल’ कलिलो उमेरमै मैले यो कविता पढेथेँ । ऋषभदेव शर्माको कविता पाठ्य पुस्तकमै थियो । पढ्दा कवितालाई उच्चारण दिएपछि मनमा अनेक तरंग खेल्दछन् । रस उत्पन्न हुन्छ । रस प्रादुर्भवको त्यो क्षणमा अन्य सन्दर्भमा पढेका - सुनेका - जानेका कुराले मन हुँडलिन्छ । कहाँ–कहाँ बतासिन्छ । धरानमा रहेको बेला पढेको मैले झट्ट पहाडका फुलबारीमा गाएको सम्झें- ‘फूल टिपी माला नटिप चेली हो ओइलेर जाला ।’
हाम्रो पहाडमा शिशिर ऋतुमा फूलने दुइटा फूललाई जताततै सम्झन्छु । एउटाको नाम हो धुर्सुल । अर्कोका नाम हो – भीमसेन पाती । भीमसेन पातीलाई भैरम पाती पनि भन्छन् । रुखो ठाउँमा उम्रेर, दह्रोसँग हुर्किएर फूल्ने खस्रो पात हुने यी दुवै फूलले फूलपाती मरणको प्रकृतिमा चैं सृष्टिलाई सघाइरहेका हुन्छन् ।
एकताका ‘फूल पात पत्कर’ शीर्षकमा दार्जिलिङमा पत्रिका निकालेथे । त्यो साहित्यिक पत्रिकामा नै हो तेस्रो आयामको उद्घोष आएको । ‘एक तिहारमा फूलेका सयपत्रीहरू मर्छन् बारीका डिल डिल र पाटाहरूमा÷तर तिमीसँगको परिचय र आत्मीयताका दिनहरू कहिल्यै मर्ने छैनन् म मरेको ठाउँ र मेरा चिहानका माटाहरूमा’ यो मुक्तक हरेकदिन म दोहोर्याइरहन्छु । प्रेम शेर्मा विरोकी नामका कवि छन् । दार्जिलिङ मै जन्मी हुर्केका शिक्षक शेर्पालाई मैले भेटेको छुइन । नेपालमा भीम दर्शन रोकाले मुक्तकमा योगदान दिए वापत उनको लासबाट फूलगुच्छा उठाएर घरको फूलदानीमा सजाएको छु । दुवैजना मुक्तक विधाका साहित्य शिरोमणि मान्दछु । सिम फूलका बारेमा भीमदर्शन जति मर्म दाँज्दछन् । त्यति अरुमा मैले भेटेको छुइन । माटो र पानीहरूको हकहानीमा जीवन र फूल नदाँजिएको साहित्य संसारमै छैन ।
गाब्रिएला मिस्त्राल र पल्र्स वक जस्ता छोरी साहित्यकारलाई परराष्ट्रमा धेरै-धेरै भेटेको छु । फेरि किन किन छोरी जाति र फूलका बीचमा अभिव्यक्ति पाइन्छ । अचम्म गरी भने जस्तो लाग्ने र सुन्दरताको उपलल्लो भाग छोरी र फूलमै भेट्ने कवि हृदय संसार व्यापी छ । ललितकला विश्वविद्यालयको चौरमा जुन दिन सम्म छात्राहरू थिएनन् त्यो दिनसम्म फूलहरू पनि थिएनन् भन्ने मेरो मान्यता छ ।
‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फूल नानी हो दया र धर्म भाग्दछ’
यति दुई हरफ माथि कलावादी निबन्ध लेख्नेले कति पाना लेख्दा हुन् । खासगरी कलरिज र विश्वनाथलाई भेट्दा थाहा हुन्छ फूल र कल्पना अनि फूल र रस । घरबारीमा तोरी फूलेकोमा, बागवानीमा आरु फूलेकोमा, मन्वारीमा प्रित फूलेकोमा मौरी घुमाउनेहरू र फूलमा भँमरा भन्नेलाई थाहा छ । प्रित बाजी बोल्नेका थिति मृदुभाषीका थिति फूलले दिएको उत्प्रेरणा निदाउने बेलामा सम्झिएर सुतेको मान्छेले एेठन भोग्दैन ।
ललितकला विश्वविद्यालयको चौरमा जुन दिनसम्म छात्राहरू थिएनन् त्यो दिनसम्म फूलहरू पनि थिएनन् भन्ने मेरो मान्यता छ ।
‘फूल् गुदावरी- छ भनेमाया लाउँ बराबरी’:दाजु बहिनी या दिदी भाइको साइनोमा नैतिक मूल्य राखि राख्न प्रयत्न गरेको ‘भाइटीका’ मा हाम्रो समाज पुग्दो गरी भिजेको छ । इन्डियनको राखिले रस बोक्दैन हाम्रो फूलले सुवास पनि बोक्दछ । किनकिन बारीबाट टिपेर ल्याएको वनस्पति फूलमा कागजका रंगीन फूलभन्दा ज्यानी अनुभव हुन्छ । मलाई मनपर्ने तिहारमा कि त हली तिहार हो कि त भाइ तिहार हो । हली तिहारमा श्रम गर्ने व्यक्ति पुजिन्छ । तीजमा माइत ल्याएकी समेत चेलीले भेला भएका कन्या चेलीसँग मिलेर माइती भाइलाई मखमली माला लगाइ दिएको अचम्मै मीठो लाग्दछ । उमङ्ग गाँसिएको छ । उत्साहले भेट्नु पाएको छ । जीवनका भाँतीमा धुकधुकी मिसिएको छ । तर वासनाका थिति होइन । जीवनको सुगन्धका लागि चैं हो । विष्णु राईले ‘दिदी’ कविता लेखेका छन् । साह्रै मार्मिक छ । दिदी कवितामाथि सानो समीक्षा दिएको छु ।
‘भन्थे नि दाईले ÷भाईटिकामा बहिनी फर्केला क्षितिजमा÷जस्तै निधारमा मेरो इन्द्रेनी लर्कोला ।’ एउटा थकालीको छोराको लेखेका हरफ हुन यी । भूपी शेरचन यस गीतका रचयिता हुन् । क्षितिज र इन्द्रेणी गीतमा कति रचना रचिन्छन् रचिन्छन् । हाम्रा क्षितिजमा भञ्याङ हुन्छन् । नेटो हुन्छन् । ढिस्कना हुन्छन् । दंस्याइला उकाला हुन्छन् । भिराला ओराला हुन्छन् । कान्ला हुन्छन् । पाखा हुन्छन् । भित्ता हुन्छन् । छेउ हुन्छन् । कुना हुन्छन् । खोल्सा हुन्छन् । चौर हुन्छन् । रमिते ढंगा हुन्छन् । तरिभिर हुन्छन् । रायोवारी हुन्छन् । तोरीवारी हुन्छन् । मुलावारी हुन्छन् । जौवारी हुन्छन् । फापरवारी हुन्छन् । सबैभन्दा उम्दा त फूलबारी हुन्छन् । ‘हत्केलामा मायाको गुराँस फूलाउने’ हुन्छन् । झ्याँकिरी बास्ने रुखका हाँगामा क्षितिज पर्दछन् । भाले कुखुराले डाक छोड्ने कौसीमा पनि क्षितिज हुन्छन् । हिमाली लाली लसेर आउँदा प्रथम गुलाफ सृष्टिको पहिलो ललित रंग घन्काउँथ्यो । रवाफ हिमाल चुलीदेखि झुल्का झरेका बेसीसम्म परेका इन्द्रेणीमा सातै रंग हुन्छन् । घामका उषाकिरणदेखि अस्तायलका सन्ध्या किरणसम्मका आभास दिने इन्द्रेणी हामी निधारमा लर्काउँछौं । फूल र तिहारले ललित चढ्यो अब लाली भन्छन् । गुलाफ फँक्रदा जस्को मन हर्षित हुँदैन । त्यसको हृदय सुकेको भन्छन् बीपी कोइराला ।