हाम्रा लेखकका अनुहार

हाम्रा लेखकका अनुहार

‘आहा, गजबकै किताब निस्किएछ यो !’

पुस्तक पसलको मुख्यद्वारमै एउटा नयाँ किताब देखेपछि आफ्नो किताबी–मोहअनुरूप मैले सो किताब हातमा उठाइहालेँ । यसरी हातमा छिटछिटो उठाइहाल्नुको खास कारण के थियो भने उक्त किताबको लेखक साहित्यिक समाजमा अत्यन्तै ‘चर्चित’ थिए । (लोकप्रिय चाहिँ थिए कि थिएनन्, भन्न सक्दिनँ ।)
यो घटना कुन दिन वा समयको हो ? यकिन मिति भन्न गाह्रो छ । अथवा यसो भनुँ, त्यो मिति भन्न चाहन्नँ ।

ठूलो भोल्युमका थियो किताब । मल्टिपल कलरको कभरमा दुलहीभै सजिएको, निकै आकर्षक ! निकैबेर ओल्टाई–पल्टाई हेरिरहेँ किताबलाई, र सुमसुम्याई पनि रहेँ ।
जब भित्री पृष्ठ पल्टाउन के लागेको थिएँ, पुस्तक पसलेले हस्तक्षेप गर्दै मलाई एउटा आदेशात्मक आग्रह गरे– ‘महाशय, किताब त्यत्तिकै नपल्टाउनोस् । किनेर पढ्ने बानी बसाल्नोस् !’

संयोगले किताबका चिरपरिचित लेखकज्यू त्यही किताब–पसलमै हुनु हुँदोरहेछ । त्यसै पनि त, यस किताबका लेखक मैले मन पराउने लेखकहरूमध्येकै एक हुनुहुन्थ्यो ।

लेखकज्यूको अपमान पो गरेछु कि भैं अनुभूति भयो मलाई । त्यसैले हत्तपत्त साष्टाङ्ग दण्डवत् गरेँ मेरो देशका विभूति... महान् लेखकज्यूलाई ।

किताबको निश्चित मूल्य पसलेलाई तिरेर म लागेँ आफ्नो निवासतर्फ । मन तुलबुलिरहेको थियो, कहिले घर पुगुँ र किताब पढ्न सुरु गरुँ ?
तर बाटैमा फेरि अर्को संयोग !

मैले किनेर ल्याएको किताब, जुन छापाखानामा छापिएको थियो तिनै छापाखानाका पूर्वपरिचित सञ्चालकसँग जम्काभेट भयो ।
(यहाँ, छापाखाना र त्यसका सञ्चालकको नाम दिन म उपयुक्त ठान्दिनँ ।)

यत्ति भनुँ, राजधानीमा अवस्थित यो एक पुरानो र प्रतिष्ठित छापाखाना हो । छापाखानाका सञ्चालकसँग भेट हुनु के थियो उनको आग्रहमा म उनीसँगै उनको छापाखानामा पुगेँ ।

सर्वप्रथम, छापाखानाको कार्यकक्षमा पुगेपछि केही भन्नुअघि, मेलै भर्खर खरिद गरेको किताबतर्पm हेर्दै उनी मुस्कुराए । यसरी मुस्कुराए, मानौं यस्तो किताब छापेर उनले सगरमाथा आरोहण गरे भै ठूलै गर्व महसुस गरिरहेछन् । तर, मैले त्यो मुस्कानको अर्थ के लगाइरहेको थिएँ भने उनी त्यो किताबप्रति गर्व होइन व्यंग्य गरिरहेछन् । व्यंग्य यसकारण गरिरहेका थिए कि उनकै भनाइमा ‘लेखक भन्ने शब्द समाजमा राम्रो मान्छे भनेर चिनिनुका लागि प्रयोग गरिने औजारमात्रै भएको छ आजभोलि । वास्तवमा...’
– वास्तवमा ? ...

‘मदन पुरस्कार विजेता एकजना युवा लेखकले कागजका लागि भनेर सायद ८–१० हजार दिएका थिए मलाई । हार्ड कभर राखेर पाँच सय प्रति किताब निकाल्न लगाए । सायद तीन सय प्रति जति लिएर पनि गए । त्यसपछि अरू प्रति लिन पनि आएनन्, पैसा पनि दिएनन् ।’

‘वास्तवमा आजका कतिपय लेखक भनेर चिनिएकाहरू बडा आडम्बरी, पाखण्डी र धूर्त छन् ।’ उनले एकसाथ निकैवटा उपमाले विभूषित गरिदिएर तीतो पोखे लेखक वर्गप्रति ।

मैले तत्कालै उनको धारणामाथि हस्तक्षेप गरेँ, ‘हैन दाइ, के कुरो गर्नुभएको ? म स्वयम् लेखन–कर्ममा आस्था राख्छु । मेरो अनुभवमा, समाजमा विशेष गरेर यिनै लेखक नै त्यस्ता वर्ग हुन् जो देश र समाजका लागि इमानदार छन् ।’
‘एकदमै गलत...’ उनी एकाएक रन्किए, ‘तपाईंले यहाँका मै हुँ भन्ने लेखकहरूलाई चिन्नुभएकै छैन ।’
म अचम्मित ! !
खोइ किन हाम्रा लेखक वर्गप्रति उनी यति साह्रो रुष्ट भइरहेका थिए कुन्नि !

सम्भवतः मेरो मनमा उठेको जिज्ञासालाई उनले अनुभूत गरे क्यार, उनको अनुहारमा देखिएको प्रतिक्रियाले मलाई त्यस्तो महसुस गरायो । उनी केही रहस्यात्मक पाराले बोल्न लागे, ‘हेर्नुस्, म तपाईंलाई केही लेखकको चर्तिकला बताउँछु ।’

लेखक वर्गसँग जोडिएको विरोधाभासपूर्ण यस्तो शब्द प्रथमपटक सुन्दै थिएँ म । तसर्थ नसोधीकन रहनै सकिनँ, ‘हैन, कस्तो चर्तिकला ? ...’
– ‘त्यही त बताउन लाग्दै छु । तर...’

‘तर’मा एकछिन अलमल गरेपछि उनले मेरो सामु अनौठो प्रस्ताव राखे, ‘तर तपाईंले यो कुरा कहीँ–कतै अखबारमा लेख्न पाउनुहुन्न ।’

‘समाजमा प्रतिष्ठित यस्तो वर्गको सम्बन्धमा तपाईंले बताउन खोज्नुभएको नयाँ कुरो...झन् सबैलाई थाहा दिनु राम्रो होइन र ? ’ मैले आफ्नो धारणा राखेँ ।
– ‘त्यो त हो..., तर पनि केही लेखकका कर्तुत बताएर, समाजमा लेखक वर्गप्रति स्थापित सम्पूर्ण आस्थामाथि म मानमर्दन गर्न चाहन्नँ ।’
अन्ततः ती लेखकहरूका नाम नलेख्ने सर्तमा उनी उनका कुरा बताउनका लागि तयार भए ।

 

‘यो जुन किताब छ तपाईंको हातमा, यो किताबका लेखकको अघिल्लो पुस्तकले कति चर्चा बटुल्यो, तपाईंलाई थाहै छ । तर त्यो किताब जुन छापाखानामा छापिएको थियो, त्यहाँ उनले एक पैसा पनि तिरेका रहेनछन् । मैले आजैमात्र यो कुरा चाल पाएँ । अब, मैले छापिदिएको यो किताबको पैसा पनि मैले पाउने कुरोमा मलाई पूरै शंका छ ।’
– ‘किन ? ’
– ‘किनकि मेरो लामो अनुभवले यही बताउँछ ।’
– ‘कस्तो अनुभव ? ’ मेरो कौतुहल ।

उनी आफ्नो अनुभव बताउन लागे, ‘एक लेखक छन्, जो नेपाल एकेडेमीमा प्राज्ञ भइसकेका; सायद एक दशक नै बितिसक्यो, उनको एउटा किताब मैले छापिदिएको थिएँ । छापिएका सबै किताब लिएर गए उनले, तर मलाई त्यो किताब छापेबापतमात्रै होइन, किताब छापिएको कागजको समेत पैसा दिएनन् । तपाई कल्पनै गर्न सक्नुहुन्न, को होलान् ती ? ’

केही क्षण रोकिएर उनले ती प्राज्ञका नाम बताएपछि साँच्चै म सोचमग्न भएँ, पैसाको मामलामा यिनी यति कमजोर ?

‘अर्को पनि एउटा लेखकको नाम सुन्नुस्, जो नेपालका प्रतिष्ठित मदन पुरस्कार विजेता युवा लेखक हुन् ।’ र, उनले तिनका नाम बताइसकेपछि म आश्चर्यचकित हुँदाहुँदै बोले– ‘तिनले कागजका लागि भनेर सायद ८–१० हजार दिएका थिए मलाई । हार्ड कभर राखेर पाँच सय प्रति किताब निकाल्न लगाए । सायद तीन सय सय प्रति जति लिएर पनि गए । त्यसपछि अरू प्रति लिन पनि आएनन्, पैसा पनि दिएनन् ।’ छापाखाना सञ्चालकले मन अमिलो पारे ।
उनले दिएको अन्य विवरण यस्तो थियो-

‘१२ वर्ष जति अगाडि हुनुपर्छ, पोखराका एक प्रतिष्ठित लेखक, जसले मेरो छापाखानाबाट आफ्नो नयाँ किताबको दुई हजार प्रति निकाल्न लगाए र पोखराबाटै फोन गरेर भने– ‘पर्सि मेरो किताबको विमोचन छ । चार वा पाँच सय कपी आजै कुरियर गरेर मलाई पठाइदिनु होला । म तपाईंलाई पैसा पठाइदिईहाल्छु ।’ मैले आफ्नै खर्चमा पाँच सयवटा किताब पठाइदिएँ । विमोचनको लगत्तै उनले फेरि फोन गरे, ‘विमोचनमा चार प्रति किताब बिक्री भयो । म तपाईंलाई ड्राफ्ट पठाइदिन्छु ।’

उनी भन्दै गए– ‘तर महिनौंसम्म पनि ड्राफ्ट आएन । कामको सिलसिलामा केही महिनापछि आपूm पोखरा पुगेर उनको घरमै पनि गएँ । उनले दर्शनभेटसम्म दिएनन् । बरु ‘एक्कैचोटि सबै हिसाब गर्छु’ भनेर उनले केही समयपछि अरू प्रति किताब पनि मगाए । छापिइसकेको किताब मसँग राखेर के गर्नु ? पठाइदिएँ । तर दशकौं बित्यो, एक पैसा उनीबाट प्राप्त भएन ।’

आपफूमाथि भएको लेखकको शोषण क्रम जोड्दै गए उनी-

‘एकपटक एकअर्का प्रतिष्ठित लेखक मेरामा आए, जो नेपालका एक पुरानो साहित्यिक संस्थाका सभापतिसमेत थिए । उनी दुईवटा पुस्तक एकसाथ छाप्ने प्रस्ताव लिएर आएका थिए । उनीजस्ता गन्यमान्य व्यक्ति ! मैले सहर्ष काम जिम्मा लिएँ । किताब छापिएपछि एउटा सीमित रकम दिएर एकैचोटी सबै किताब लिएर गए । त्यसपछि, उनीसँग कतिपटक भेट भयो, तर अहँ उनले बाँकी बक्यौता चुक्ता गरेनन् ।’

म सुन्दै रहेँ, आफ्नो व्यवसायलाई भगवान् मान्ने त्यो श्रमजीवीको प्रेस-पीडा ।

‘अर्का एक थिए, आफ्नो पुस्तामा नाम कहलिएका युवा लेखक, अहिले अमेरिकामा स्थायी बसोबास गर्छन् । उनीसँग पनि मेरो पैसा लिन बाँकी छ । सबभन्दा पहिले एउटा किताब छाप्न लगाएर त्यसबापत आधाउधी पैसा दिएका थिए, फेरि कागज किन्ने आवश्यक रकम दिन्छु भनेर अर्को किताब पनि छाप्नका लगाए, त्यसको पनि पैसा दिएनन् ।

अझ, ‘तेस्रो किताब छापिदिनुस्, सबै एक्कैचोटी पैसा दिन्छु’ भन्दै थिए । मैले, ‘पहिलेको बाँकी हिसाब मिलाइनिुस्, अनि छापौंला’ भनेपछि उनले मेरो प्रेसमा कहिल्यै पाइलै टेकेनन् ।’

माथि उल्लिखित सबैलाई विधा–वर्गीकरण नगरी मैले यहाँ केवल ‘लेखक’ भनेको छु । किनकि, ती लेखकलाई कवि, कथाकार, उपन्यासकार या गीतकार–गजलकार भनेर तिनको स्पष्ट परिचय यहाँ खोलियो भने प्रेस–सञ्चालकसँग भएको मेरो वाचा भंग हुन पुग्छ । केवल, यत्ति बोल्न भने चाहन्छु-
‘सावधान ! सफासुग्घर स्थानमा ‘यहाँ लेख्न मनाही छ’ भनेर सूचना लेख्ने कलमधारी महारथीहरूबाट सावधान ! ! !’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.