प्रसार कि प्रभुत्व ?
‘यो मारुनीको भेषभूषा हो र ? ’ तल घाँघरजस्तो, माथि कुर्ताजस्तो, यसो हेर्दा मारुनीजस्तो भेष गरेर त्यसमा कपडा बटारेर मोटो डोरीजस्तो बनाएर भिरेको एक युवकलाई भैलोमा देखेपछि सोधें मैले ।
‘होइन यो मारुनी होइन’, केटोले जवाफ दिन नभ्याउँदै छेउको केटीले जवाफ दिई, ‘मराठी ड्रेस हो । मराठी राजा बनेको ।’ म छक्क परेँ । जसले प्रत्यक्ष मराठी जाति देखेकै छैन उही मराठी भेषको नक्कल गर्दैछ ।
गत दुई/तीन वर्षदेखि तिहारमा घरअगाडि ‘रंगोली’ बनाउने प्रचलन बढ्दो छ । नेपाली संस्कृतिमा नेवार, मगरले पहिलेदेखि नै घरअगाडि यस्ता आकृति बनाउँछन् । यी प्रतीक हुन् । संस्कृतिमा प्रतीकका अर्थ हुन्छन् । नेवारहरू मण्डला बनाउँछन् । तर रंगोली नेपालीहरूको चलन होइन ।
कहाँबाट आयो मराठी भेष र रंगोली ? यी प्रश्नहरूको उत्तर खोज्दै जाँदा हामी सांस्कृतिक प्रभुत्वको गहिराइमा पुग्छौं ।
मानवशास्त्रमा सांस्कृतिक प्रसार (कल्चरल डिफ्युजन) भन्ने चर्चित सिद्धान्त छ । जी.इं स्मिथ, विलियम जे. पेरी, रिभरलगायत मानवशास्त्रीहरूले सांस्कृतिक एकरूपीय उद्भववादको खण्डनमा यो सिद्धान्त ल्याए । प्रसारवाद अनुसार कुनै विशेष स्थानमा उद्भव भएको संस्कृति अन्य मानव समुदायमा प्रसार हुँदै जान्छ । स्मिथ र पेरीले इजिप्टमा उद्भव भएको संस्कृति युरोपमा प्रसार भएको दाबी गरेका थिए ।
संस्कृति प्रसारका तीनवटा पाटा भएको मानवशास्त्री व्याख्या गर्दछन् । एक, प्रत्यक्ष सम्बन्धबाट संस्कृति प्रसार हुन्छ । सुर्तीको प्रयोग, कागजको उत्पादन यसरी नै भएको थियो । दोस्रो, मध्यस्थमार्फत प्रसार । विशेषगरी व्यापारीहरूमार्फत एवं जाती र अर्को जाति, एक देश र अर्को देशमा संस्कृति प्रसार भयो । तेस्रो, जस्ताको तस्तै ग्रहण गरी परिमार्जित गरेर । धेरैजसो लिपिहरू यसरी नै विकसित भएका हुन् ।
तर, के संस्कृति सधैंभरि प्रसारित मात्र हुन्छ ? कि सांस्कृतिक प्रभुत्व पनि विद्यमान हुन्छ ?
इटलिका चिन्तक अन्टोनियो ग्राम्सीले हेजेमोनी (प्रभुत्व) को निकै गहन चर्चा गरेका छन् । त्यही अवधारणालाई संस्कृतिको सन्दर्भमा हेर्ने हो भने संस्कृति प्रभुत्व महसुस हुन्छ ।
प्रश्न सांस्कृतिक प्रभुत्वको हो । चाडपर्वहरू उत्सव हुन् । ऐतिहासिक कारणले सुरुवात भएका चाडपर्वहरूमा आमजनता उल्लासपूर्वक सहभागी हुन्छन् । ल्याटिन अमेरिकी चिन्तक एडुवार्डो ग्यालिआनोले भनेका छन्, ‘भित्ताहरू जनताका छापाखाना हुन् ।’
प्रा. डा. अरुण गुप्तोले ‘डिस्कोर्स अन लिटरेचर एन्ड कल्चर’ पुस्तकमा भियतनाम माथि अमेरिकी सांस्कृतिक प्रभुत्वको चर्चा गरेका छन् । सन् १९७० को दशकमा अमेरिका सैन्य रूपले भियतनाममा परास्त भयो । अमेरिकी सेनाले भियतनाम छोड्यो । तर, अमेरिकी संस्कृति भियतनाममै छोडियो । अमेरिकी फिल्म, खाद्य संस्कृति, कफी क्याफे र साइबर भियतनाममै रहिरहे ।
दोस्रो विश्वयुद्धपछि प्रत्यक्ष औपनिवेशीकरणमा कमी त आयो तर पश्चिमा संस्कृति व्यापक हुँदै आयो । एकातर्फ विश्व बैंक, बहुराष्ट्रिय कम्पनी, विश्व व्यापार संगठनले वित्तीय तथा आर्थिक हैकम लाद्दै गए भने अर्कोतर्फ पश्चिमा संस्कृति पनि मिडियामार्फत व्यापक हुँदै गयो ।
‘चिसो भनेकै कोकाकोला’ विज्ञापनले कोकाकोलाको प्रचारमात्रै गरेको छैन पश्चिमा खाद्य संस्कृति पनि थोपरिरहेको छ । बोल्ने शैली, अंग्रेजी भाषाको मोह, पश्चिमा लुगा आदिले संस्कृति थोपरेको मात्र छैन चिन्तनमा पनि असर पारिरहेको छ । सांस्कृतिक प्रभुत्वले आत्महीनता सिर्जना गर्छ । पश्चिमा संस्कृति हाम्रोभन्दा उत्कृष्ट हो भन्ने हीनताबोध पैदा गर्छ । फलतः समुदायले आफ्नो गुमाउँदै पराइपन अपनाउँछ ।
सांस्कृतिक आधिपत्यसँगै राजनीतिक प्रणाली पनि भित्रिन्छ । नेपालजस्तो अल्पविकसित, अघोषित औपनिवेशीकरण व्यहोरेको देशमा बेलायती मोडलको प्रजातन्त्र स्वीकारिनु र मल्लकालीन मौलिक शैली त्यागेर बेलायती शैलीको सिंहदरबार बनाइनुबीच के कुनै मनोवैज्ञानिक सम्बन्ध नहोला ? त्यसैले आजका मानवशास्त्री र सामाजिक–सांस्कृतिक अध्येतालाई नयाँ प्रश्न तेर्सिएको छ – कतिलाई सांस्कृतिक प्रसार मान्ने कतिलाई प्रभुत्व ?
पहिचानको मुद्दा उठ्दै गएपछि नेपालका विभिन्न जाति, जनजातिले आ–आफ्नो भेषभूषाको प्रचार गर्न थाले । यही क्रममा मगर पोसाक निकै लोकप्रिय हुँदै गयो । अन्य जाति, समुदायले पनि मगर पोसाक अपनाए । त्यस्तै नेवार परिकार, थकालीको ढुकुटी प्रथा अन्य जातिमा प्रसारित भयो । नेवारी संस्कृति र कलामा मिथिला संस्कृतिको प्रभाव प्रत्यक्ष सम्बन्धमार्फत प्रसारित भएको हो । यसरी नेपाली समुदायबीच प्रत्यक्ष माध्यमबाट संस्कृति प्रसार भइरहेको छ ।
तिहारमा बनाइएको ‘रंगोली’ वा मराठी ड्रेस सांस्कृतिक प्रसार होइन । यी हिन्दी टेलिभिजनका सिरियल र विज्ञापन हेरेर अपनाइएका हुन् । यो मिडियाले थोपरेको हो । अरुण गुप्तोको भाषामा यो मिडिया हेजेमोनी हो । जसको मिडिया शक्ति बलियो छ उसकै संस्कृतिको प्रभुत्व कायम हुन्छ ।
आमसञ्चारमा बलियो नियन्त्रण गर्नेले लुगा, खानादेखि चिन्तनमा पनि नियन्त्रण कायम गर्छ । यसैलाई भनिन्छ, मिडिया हेजेमोनी । पश्चिमा मिडिया साम्राज्यले पश्चिमा संस्कृतिलाई श्रेष्ठ घोषणा गर्दै यो थोपरिरहेछन् । यो नदेखिने लडाइँमा आफ्नो संस्कृति गुमाउँदै गएका समुदायहरूमा आत्महीनता पलाइरहेछ ।
‘रंगोली’ बनाइरहँदा नेवार जातिले मण्डला बिर्सिरहेका मात्र छैनन्, आफ्नो मण्डलाप्रति हेय भाव पनि हुर्काइरहेका छन् । मारुनी फ्याँकेर मराठी पोसाक अंगाल्दा आफ्नो पोसाकप्रति हीनताबोध हुर्किरहेको बुझ्न समय त लाग्ला नै, ढिलो पनि भइसकेको हुनेछ । मिडिया साम्राज्य भने खतरनाक तरिकाले बढ्दो छ ।
त्यसले मगर पोसाक लगाइरहेका चेलीहरूको ‘चोलो’लाई हिन्दी सिरियलका खुंखार नायिकाहरूको पछाडि काटिएको ‘ब्लाउज’मा फेरिदिएको छ । भारतीय मिडियाको यो प्रभुत्वले अंग्रेजीभाषी बोर्डिङ स्कुलमा पढ्ने बच्चाहरूलाई नेपाली अप्ठेरो बनाइदिएको छ, हिन्दीमा बात मार्ने र गीत गाउने तुल्याइदिएको छ ।
‘पहिचान’को लडाइँ लडिरहेको नेपाली समुदाय यो प्रभुत्वबारे सचेत छ कि छैन ? यो मिडिया हेजेमोनीविरुद्ध नेपाली मिडिया र मिडियाम्यान कत्तिको सचेततापूर्वक अभ्यासरत छन् ? के नेपाली मिडिया विभिन्न जातजातिको मौलिक संस्कृतिको प्रचारप्रसारमा प्रतिबद्ध छन् ?
मिडिया क्षेत्रलाई बहसमा उभ्याउँदै गर्दा उत्तिकै जिम्मेवारी बहन गर्ने पंक्तिमा आउँछन् संस्कृतिकर्मी पनि । नेपाली संस्कृतिकर्मीहरू सांस्कृतिक प्रभुत्वबारे सचेत छन् छैनन् त्यसका आ–आफ्नै तर्क होलान् तथापि केही विद्वानमा भने अराजकतावादी दृष्टिकोण हावी देखिन्छ । लामो समयदेखि पहिचान पक्षमा बहस गरिरहेका लेखक आहुतीले संगठित भैलो खेल्नुलाई हिन्दुकरणलाई प्राथमिकता दिएको आरोप लगाए । हिन्दुकरणबारे बहस गर्दै गरौंला ।
प्रश्न सांस्कृतिक प्रभुत्वको हो । चाडपर्वहरू उत्सव हुन् । ऐतिहासिक कारणले सुरुवात भएका चाडपर्वहरूमा आमजनता उल्लासपूर्वक सहभागी हुन्छन् । ल्याटिन अमेरिकी चिन्तक एडुवार्डो ग्यालिआनोले भनेका छन्, ‘भित्ताहरू जनताका छापाखाना हुन् ।’ यही कथनलाई हाम्रो सन्दर्भमा विस्तार गर्दै भन्न सक्छौं, ‘देउसी–भैलो, तीज, माघी, उभौली, उधौलीजस्ता सांस्कृतिक गतिविधि जनताका मञ्च हुन् ।’
यी आमसञ्चारका जनस्वरूप हुन् । यी जनसञ्चारलाई उपयोग नगर्नुले कसलाई फाइदा गर्छ ? जनसहभागिताका यी मञ्च बहिस्कार गरिहिँड्नु रूपान्तरणको प्रक्रियालाई अस्वीकार गर्नु हो । धर्म, रीतिरिवाज, संस्कारलाई एकै ठाउँमा छ्यासमिस पारेर हेर्नु संस्कृति अध्ययनको गलत तरिका हो । बहिष्कारले भ्याकुममात्रै सिर्जना गर्छ । समयको उपयोग गर्दै मौलिक र प्रगतिशील संस्कृतिलाई नै जोड दिनु नै श्रेयष्कर हुन्छ ।
प्रतिक्रिया दिनुहोस !