कामकुरो एकातिर, कुम्लो बोकी 'कुसुम'तिर

कामकुरो एकातिर, कुम्लो बोकी 'कुसुम'तिर

गोरखाकी कुसुम श्रेष्ठ तरकारी बोकेर बजार आइन् । यसो गर्नु उनका लागि नौलो थिएन । तैपनि, उनको फोटो सामाजिक सञ्जालमा छापियो । यहाँसम्म ठीकै थियो । त्यसपछि उटपट्याङमा रमाउने भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनी छाइन् । यसपछि हाम्रा सञ्चारमाध्यममा आइन् ।

विदेशमा धेरै प्रचार पाएकी कुसुमबारे अलिअलि जानकारी हाम्रा सञ्चारमाध्यममा आयो । यसले केही नेपालीमा रहेको कुसुमबारेको खसखस मेटाइदियो । यतिसम्म त ठीकै थियो तर विस्तारै हाम्रा सञ्चारमाध्यम उनका पछि ज्यान दिएर लागे । नेपाली सामाजिक सञ्जालमा सञ्चारमाध्यमको यस्तो प्रवृत्तिको आलोचना भयो । काम न काजका विषयमा ध्यान दिएको भनी सञ्चारमाध्यममाथि निकै रिस पोखियो ।

हामी बेलाबेलामा कम महत्त्वपूर्ण विषयका पछाडि लाग्छौं । कहिलेकाहीँ त पछि लाग्नै नहुने विषयका पछि लाग्छौं । यसका केही बेफाइदा छन्- पहिलो, पत्रकारितामा आउने नयाँ मानिसलाई पत्रकारिता भनेको यही रहेछ भन्ने भान पर्छ । दोस्रो, यस्ता काम बारम्बार दोहोर्‌याउँदै जाँदा हामी पहिलेदेखि पत्रकारिता गरिराखेका मानिसलाई पनि नपत्रकारिता पनि पत्रकारिताजस्तो लाग्न थाल्छ । तैपनि हामी यसो गरिरहन्छौं । नपत्याए हामीले गरेका केही नकामका उदाहरण हेरौं ।

२०६७ साल कात्तिकमा हामी काठमाडौंका पत्रकारलाई ठूलो औडाहा भयो (संयोगवश, सञ्चारमाध्यम कुसुमका पछि लागेको ताजा घटना पनि कात्तिकमै भएको रहेछ) । हामीहरू समाचार जहाँ छ त्यहाँसम्म पुग्न नपाइने भयो भनेर छटपटियौं । हामीलाई समाचार भएका ठाउँमा पुगेर कति बेला आफ्ना श्रोता/दर्शक/पाठकलाई समाचार सुनाउने/देखाउने/पढाउने भन्ने चिन्ता थियो । हामी यसरी चिन्तित हुनु पेसाप्रतिको हाम्रो निष्ठाको प्रमाण हो । आफ्ना श्रोता/दर्शक/पाठकलाई नयाँ, उपयोगी र रुचिकर खबर सकेसम्म चाँडो पुर्‌याउनु हाम्रो धर्म हो ।

त्यो प्रसंग यस्तो थियो- सरकार गठन गर्ने, संविधान बनाउने र बजेट ल्याउने काममा खडा भएका राजनीतिक समस्या हल गर्नका लागि राजनीतिक दलका उच्च तहका नेताहरू काठमाडौं उपत्यकाको हात्तीवन जाने भएछन् । यसअघि नजिकै कतै वार्ता गर्दा पत्रकारले हैरान पारेकाले उनीहरू त्यहाँ गएका रहेछन् । त्यसैले वार्ता गर्ने ठाउँसम्म पत्रकारलाई पुग्न नदिन प्रहरी तैनाथ गरिएको रहेछ । हामी पत्रकारहरू भने हात्तीवन कसरी पुग्ने भनेर चिन्तित बनेका थियौं ।

तर, जुन समाचार पठाउन हामी यत्ति आतुर थियौं त्यो समाचार नयाँ थियो ? उपयोगी हुन सक्थ्यो ? रुचिकर थियो ? यो समाचार चाँडोभन्दा चाँडो नदिँदा कसैको ज्यान जोखिममा पथ्र्यो ? यो समाचार चाँडो दिँदा क्षति कम हुन्थ्यो ? अहँ । यो विषय नौलो थिएन । किनभने यही कामका लागि भनेर ती नेताहरूले यसअघि घरिघरि वार्ता गरेका थिए । त्यस्ता वार्तामा सधैं एउटै सहमति हुन्थ्यो- फेरि वार्ता गर्ने । ती वार्ताका समाचार हामीले बारम्बार दिएका थियौं । यस वार्ताबाट नयाँ निचोड आउने आशा हामी पत्रकारबाहेक अरूले गरेका थिएनन् । वार्ता गर्न जानेले पनि यस्तो आशा गरेका थिएनन् होला ।

उनीहरू वार्ता गर्दैछौं भन्ने देखाउनका लागि मात्र वार्ता गर्दै थिए जस्तो लाग्छ । त्यति बेला माधव नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको साढे तीन महिना बितिसकेको थियो । नयाँ सरकार धेरै पहिले गठन भइसक्नु पथ्र्यो । संविधान बनाउनका लागि थपिएको म्यादभित्र संविधान बनाउन गर्नुपर्ने धेरै काम त्यत्तिकै थाती राखिएका थिए । वार्षिक बजेट ल्याउन झन्डै साढे तीन महिना ढिला भइसकेको थियो । यी सबै काम राजनीतिक नेताले गर्नुपथ्र्यो । तर आफूले गर्नुपर्ने यति जरुरी काम नगरेर उनीहरूले आफ्नो नालायकीपन देखाइसकेका थिए । उनीहरूका पछाडि लाग्न हामी पत्रकारहरूले जुन उत्साह देखायौं त्यसले हामी उनीहरूभन्दा पनि नालायक रहेछौं भन्ने पो देखायो ।

त्यस बैठकले नयाँ निचोड दिने निश्चित भएको भए पनि त्यसको समाचार दिन के त्यति हतार गर्नुपर्ने थियो जति हामीले गर्‌यौं ? उनीहरूले मिटिङ सकेर, प्रेस सम्मेलन गरुन्जेल पर्खेर समाचार दिएको भए नेपाली जनताको केही बिग्रन्थ्यो ? केही पनि बिग्रने थिएन । तर, हामी पत्रकार चूप लागेर घर फर्कनुको सट्टा मिटिङ भएको ठाउँबाहिर, प्रहरीको दपेटाइ सहेर, भोकैतिर्खै, कहिले मिटिङ सक्लान् र समाचार दिऊँला भनेर बस्यौं ।

त्यति गरेर हामीले के समाचार दियौं, सम्झना छ ? यसभन्दा अघि धेरै चोटि दिइसकेको जस्तै बेहोराको होइन त ? -बैठक असफल । नेताहरूले फेरि मन्थन गर्ने बाचा गरे । त्यो विषय नौलो थिएन । हामीले दिन लागेको यो समाचार धेरै पहिले नै रुचिकर बन्न छाडेको थियो । त्यो समाचार दिन हतार नगर्दा कसैको ज्यान जाँदैनथ्यो । कसैको केही क्षति हुँदैनथ्यो ।

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान हाम्रा कामलाई व्यक्त गर्न कुनै दिन काम लाग्ला भनेर हाम्रा पुर्खाहरूले बनाएका रहेछन् ।

पत्रकारले हतार गर्नुपर्ने एउटा उदाहरण हेरौं । मानिलिऊँ, पहाडबाट आएको ठूलो बाढी पूर्वपश्चिम राजमार्गमा पर्ने लोथरको पुलमा आइपुग्यो । अबको केही घन्टामा यो बाढी तल्लो भेगको घना बस्तीमा पुग्छ ।

त्यसअगावै त्यहाँका मानिसले घर छाडेनन् भने जनधनको ठूलो क्षति हुन्छ । यति बेला पो हामी पत्रकारले सकेसम्म छिटो समाचार सुनाउन आतुर हुनुपर्ने । सकेसम्म चाँडो समाचार दिएर ज्यान र सम्पत्ति जोगाउन मानिसलाई मद्दत गर्नुपर्ने । हामी त्यस दिन जुन समाचार दिन आतुर थियौं त्यसको झन्डै तीन महिनापछि पनि हामीले त्यो समाचार दिन पाएनौं । त्यसको तीन महिनाजति पछि एउटा प्रगति भयो । त्यो थियो- प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलले उमेदवारी फिर्ता लिए । पुसको अन्त्यमा भएको यस प्रगतिले गर्दा देश मध्य असारको अवस्थामा फक्र्यो जति बेला माधवकुमार नेपालले राजीनामा दिएका थिए । अर्थात्, राजनीतिक नेताहरू साढे ६ महिनासम्म वरको सिन्को पर नसारी बसे ।

सबै नेपालीले राजनीतिक नेताले जस्तै गरी आफूलाई तोकिएको काम नगरेको भए हाम्रो देशको हालत के हुन्थ्यो होला ? साढे ६ महिनासम्म किसानले खेती नलाएको भए के हुन्थ्यो ? चितवनका कुखुरापालकले कुखुरा नपालेको भए के हुने थियो ? ड्राइभरहरूले साढे ६ महिनासम्म गाडी नचलाएको भए के हुने थियो ? उद्यमीले उद्यम नगरेको भए के हुने थियो ? धन्न उनीहरू राजनीतिक नेताले जस्तो गरी आफूले गर्नुपर्ने काम नगरी बसेनन् । त्यसैले हाम्रो देश टिक्यो । हाम्रो समाज टिक्यो । हामी बाँच्यौं ।

अब एकपटक विचार गरौं । यो देश र यहाँका मानिसलाई बचाउनका लागि काम गर्ने मानिसलाई चाहिँ हामीले कति समय र ठाउँ दिएका छौं ? उनीहरूका विषय रिपोर्टिङ गर्न हामी कति आतुर हुन्छौं ? अनि (माथिको उदाहरणकै आधारमा) साढे ६ महिनासम्म वरको सिन्को पर नसार्ने, आफूले गर्नुपर्ने काममा आफैं भाँजो हाल्ने मानिस अर्थात् राजनीतिक नेतालाई कति समय दिएका छौं ? के गर्नुपर्ला त हामीले ? यो प्रश्नको जवाफ आजभन्दा धेरै पहिले एन इन्ट्रोडक्सन टु मास कम्युनिकेसन भन्ने पुस्तकमा दिइएको छ ।

त्यसका लेखकहरूले भनेका छन्- पत्रकारले अल्पसंख्यक जनताको आफ्नो जीवन सुधार्ने आकांक्षालाई ठाउँ दिनुपर्छ । यहाँ जनता भन्नाले अल्पसंख्यक पनि पर्छन् भन्ने कुरामा उनीहरूले जोड दिएका थिए ।

किताबमा लेखिएको यो विचारलाई एउटा उदाहरण दियो भने अझ प्रस्ट हुन्छ । चितवनको राष्ट्रिय निकुञ्जको बीचमा रहेको पदमपुर गाउँ विकास समितिलाई सरकारले बसाइँ हिँडायो । त्यस गाउँका मानिसलाई महाभारतको फेदमा जंगल फाँडेर बनाइएको नयाँ पदमपुरमा बसायो । त्यहाँका मानिस पुर्खौंदेखि बस्दै आएको आफनो थातथलो छाडेर नयाँ बस्तीमा गए, रहरले होइन करले । यसरी सारिएका मानिसहरूमध्ये थारू जातिका पनि थिए ।

थारू जाति र माछाका बीचमा एउटा समानता छ- उनीहरूको जीवन पानीमा निर्भर हुन्छ । पानीसँग दिनरात खेलेका, पानीमा निर्भर जीवन बिताएका थारू जाति पानी नभएको नयाँ पदमपुरमा कसरी बसेका होलान् ? पानीसँग सम्बन्धविच्छेद भएपछि उनीहरू कति दुःखी भए होलान् ? अथवा सुखी पो भए कि ? उनीहरूलाई आफ्ना पुर्खाले नाता गाँसिदिएको पानीले पो अगाडि बढ्न नदिएको रहेछ कि ? हामीले यस्ता विषयमा पो ध्यान दिनुपथ्र्यो कि ?

पत्रकारले असामाजिक समूह तथा व्यक्तिहरूका क्रियाकलाप उदांगो पार्नुपर्छ, त्यही किताबमा भनिएको छ । यसको पनि एउटा उदाहरण हेरौं । केही वर्षपहिले चितवनबाट डाक्टर भक्तमान श्रेष्ठको अपहरण भयो । उनलाई अपहरण गर्ने मानिसलाई पछि प्रहरीले पक्राउ गर्‌यो । ऊसँग बयान लिँदा के खुल्यो भने यसअघि उनीहरूले गरेका अपराधको सजायबाट उम्कन न्यायाधीश र सरकारी वकिललाई घूस दिएको रकम उठाउन उनीहरूले भक्तमानको अपहरण गरेका रहेछन् ।

न्यायाधीश र वकिलले गर्न नहुने काम गरेको नेपालको न्यायप्रणालीले पनि स्वीकार गर्‌यो । यसबाट के प्रस्ट हुन्छ भने नेपालको न्यायप्रणालीमा अपहरणजस्ता जघन्य अपराधलाई प्रोत्साहन दिने असामाजिक काम गर्ने समूह रहेछ । हामी पत्रकारले तिनका कामलाई उदांगो पारेको भए भक्तमान श्रेष्ठ, उनको परिवार, चितवनको समाज र समग्र देशले अपहरणजस्तो कठोर अवस्था भोग्नु पर्दैनथ्यो । हामी पत्रकारहरू नेपालको अदालतबारे रिपोर्टिङ गर्न भनेर धेरै समय बिताउँछौं । 'गर्न भनेर' किन भनेको भने माथिको घटनाले हामीले त्यसो नगरेको कुरा प्रस्ट पार्‌यो ।

जुन बेला नेपालको न्यायप्रणालीमा भएको यस्तो विकृतिलाई प्रहरीले उदांगो पारे त्यति बेलामा पनि धेरै नेपाली पत्रकार आआफ्ना कलम, माइक्रोफोन र टेलिभिजनका क्यामरासहित अदालतको रिपोर्टिङ गर्दै थियौं । हामीले त्यति बेला कस्तो रिपोर्टिङ गरेका थियौं ? हामीले त्यति बेला रिपोर्टिङ गरेको एउटा चर्चित विषय थियो- चाल्र्स शोभराजलाई सजाय गर्ने सर्वोच्च अदालतको फैसला । हामीले चाल्र्स शोभराजसँग सम्बन्ध भएका दुईजना मानिसले अदालतलाई गरेका गालीका आधारमा अदालतलाई बदनाम गरेका थियौं ।

झगडिया (नेपालको अदालती प्रणालीले त्यसै भन्छ) ले आफ्नो पक्षमा फैसला नभएपछि अदालतलाई गाली गर्नुलाई नेपालमा मात्र होइन संसारभर अपराध मानिन्छ । आवाजविहीनहरूको आवाजलाई ठूलो पार्ने हाम्रो शक्तिलाई हामीले अदालतको मानहानिजस्तो अपराधलाई ठूलो बनाएर फैलाउनमा खर्च गर्‌यौं। यस अपराधमा हामीले जसको गालीलाई प्रचारप्रसार गरेका थियौं, उनीहरूले यस अपराधको सजाय भुक्तान गरे, त्यसमा प्रायश्चित्त गरे । हामी पत्रकारले न सजाय भोग्यौं, न त्यस्तो गलत कामको प्रायश्चित्त गर्‌यौं ।

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर' भन्ने उखान हाम्रा कामलाई व्यक्त गर्न कुनै दिन काम लाग्ला भनेर हाम्रा पुर्खाहरूले बनाएका रहेछन् । सोही किताबमा के पनि लेखिएको छ भने पत्रकारले समाज, राज्य र राष्ट्रलाई शैक्षिक अवस्था सुधार्न, जल प्रदूषण रोक्न र सुरक्षित र कुशल यातायात प्रणाली तयार गर्न दबाब दिनुपर्छ ।

नेपालको शैक्षिक अवस्था कस्तो छ, तपाईंहामी सबैलाई थाहै छ । शिक्षामा भएको सार्वजनिक लगानी 'राज्यको पैसा बगेको बग्यै, जनताका छोराछोरी अन्धकारको अन्धकारमै' भन्ने उखानजस्तै छ । जलप्रदूषण हेर्न काठमाडौं र चितवनका नदीका छेउमा बसे पुग्छ । हामीले रिपोर्टिङका लागि बोकेको डायरी पल्टाएर गाडी चढ्दा कति मान्छे मर्दा रहेछन् भनेर जोड्यौं भने आफैं झसंग हुन्छौं ।

उपयुक्त यातायात प्रणाली स्थापना गर्न हामीले कतिसम्म दबाब दिएछौं भन्ने कुराको जवाफ खोज्न हामीले काठमाडौंको ट्रली बसको हालत हेरे पुग्छ । पञ्चायत व्यवस्थामा काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरसम्म चलेको ट्रली बस बहुदल आएपछि कोटेश्वरसम्म सीमित भयो । लोकतन्त्र आएपछि बन्द भयो । यस अवस्थाको सम्पूर्ण दोषी हामी पत्रकार होइनौं । तर, त्यसको निकै ठूलो हिस्साको भागीदार हामी हौं । राज्यको चौथो अंग अनि समाजको नेता भनी दाबी गर्ने हामी पत्रकारले नचाहिने कुरामा समय, पैसा र ऊर्जा खर्च गरेपछि समाजमा जे नहुनुपथ्र्यो त्यो हुनु कुन ठूलो कुरा हो र ?

यो लेखको अधिक अंश मैले २०६७ सालको अन्त्यमा लेखेको थिएँ । आफ्नो आङको छारो आफैं किन उडाउनु भनेर आममानिसले पढ्ने पत्रिकामा छपाउन मन लागेन । दुनियाँका अगाडि आफ्नो बदनाम किन गर्नु भनेर । बरु आफूआफूमै यो कुरा छलफल गरौं भनेर नेपाल पत्रकार महासंघ, चितवन शाखाको स्मारिकामा छाप्न दिएको थिएँ, त्यसका सम्पादकले मागेकाले । तर, त्यसयताका ६ वर्षमा पनि हामी खासै सुध्रिएजस्तो लागेन । त्यसैले कुसुमको प्रसंग थपेर यो लेख सबैले पढ्ने पत्रिकामा छाप्न अन्नपूर्ण पोस्ट्को परिशिष्टांक 'फुर्सद'मा पठाएँ, अर्को ६ वर्षसम्ममा यो लेख गलत साबित होस् भन्ने कामना गरेर ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.