सम्पादक तानाशाह होइन
सम्पादन के हो ?
लेखकले लेखेको कुरालाई आफ्नो बुद्धि, क्षमता र योग्यताले भ्याएसम्म राम्रो बनाउने काम नै सम्पादन हो । कसैकसैले सम्पादकलाई लेखोटको अनावश्यक बोसो निकालेर फ्याँकिदिने 'सर्जन' भन्छन् । तर, मलाई त्यतिले पुग्छजस्तो लाग्दैन । सम्पादक त 'कस्मेटिक सर्जन' हो । उसले लेखोटलाई हरेक दृष्टिले सुन्दर र आकर्षक नै बनाउनुपर्छ ।
लेखक विभिन्न तहका हुन्छन्, तिनको स्तर र शैली फरक हुन्छ । सम्पादनका क्रममा लेखकको शैली हराउन हुँदैन र उसको स्तरमा ठूलो हेरफेर हुन पनि हुँदैन । नत्र त्यहाँ लेखक बाँकी रहँदैन ।
सामान्य वाक्य ठीकसँग गठन गर्नु लेखककै काम हो । तर, हाम्रो कमजोर शिक्षा प्रणालीले मानिसलाई सामान्य लेखनमा पनि कमजोर बनाएको छ । अरूतिर भाषामा अधिकार नभएको मानिसले लेखक बन्ने रहर गर्दैन; ऊ अर्कै क्षेत्रमा लाग्छ । हामीकहाँ भने नाम चलेकै लेखकमा पनि शब्दको अर्थ, वाक्य गठन र व्याकरणको तहमा समेत समस्या पाइन्छ । त्यस्तो भएपछि सम्पादकले त्यहीं अल्झिनुपर्ने हुन्छ, वास्तविक सम्पादन हुनै पाउँदैन । तर, त्यो प्रुफरिडरले गर्ने काम हो । म पाण्डुलिपिमा राम्रो प्रुफरिडरले काम गरिसकेपछि मात्र सम्पादनको काम सुरु गर्न रुचाउँछु ।
सम्पादकको योग्यता
सम्पादकको योग्यताबारे विभिन्न पुस्तकमा अनेक वर्णन गरिएको पाइन्छ । मलाई त्यस्तो वर्णन पढेर कोही सम्पादक हुन सक्छ जस्तो लाग्दैन । सम्पादक हुनलाई निश्चित डिग्री वा प्रमाणपत्र नै चाहिन्छ भन्ने पनि होइन । तर, सम्पादकमा राम्रो लेखन क्षमता भने हुनैपर्छ । जो स्वयं राम्रो लेख्न जान्दैन, त्यसले अरूले लेखेकोलाई राम्रो बनाउन सक्तैन । किनभने, के गर्दा राम्रो हुन्छ भन्ने उसलाई व्यवहारतः ज्ञान नै हुँदैन ।
लेखन क्षमता नभए पनि सम्पादक बनिन्छ भन्ने कसैलाई लाग्छ भने त्यो भ्रम हो । यसको अर्थ सम्पादक लेखकको रूपमा स्थापित भएकै हुनुपर्छ भन्नेचाहिँ होइन । तर, आफ्नासामु जुन विधाको, जुन स्तरको, जुन शैलीको सामग्री आएको छ, त्यही विधा, त्यही स्तर, त्यही शैली कायम राखेर 'राम्रो' बनाइदिन सक्ने क्षमता भएको मान्छे मात्र सम्पादक हुनसक्छ । हर किसिमको लेखाइको अनुभव र आत्मविश्वास नभएको मानिसले यो तहमा पुगेर सम्पादन गर्न सक्तैन, लेखक र सामग्रीमाथि न्याय गर्न सक्तैन ।
राम्रै लेखकले लेखेको सामग्रीमा पनि धेरै किसिमका त्रुटि र कमजोरी भेटिन्छन् । कतै भन्नुपर्ने कुरा छुटेको, कतै आशय उल्टो भएको, कतै ओभरल्यापिङ भएको, कतै सन्दर्भ र कतै सन्तुलन नमिलेको हुन सक्छ । कसैले अर्थै नबुझी शब्दको प्रयोग गरेको हुनसक्छ त कसैले कहीं नभेटिने शब्द प्रयोग गरेको हुन्छ । सिद्धहस्त र स्तरीय लेखकको लेखाइमा भने त्यही तहका समस्या हुन्छन्; त्यो तहमा पुगेर परिष्कार गर्दाको आनन्द बेग्लै हुन्छ ।
लेखकले कतै गहिरो अनुसन्धान गरेको हुन्छ, कतै उच्च कल्पना गरेको हुन्छ, कतै विभिन्न ठाउँमा घुमेर लेखेको हुन्छ, कतै ऊ आफ्नै भावजगत्मा डुबुल्की मारिरहेको हुन्छ । त्यो सबै त सम्पादकले गर्न सक्दैन । तर, ती विषयलाई त्यही गहिराइमा पुगेर बुझ्न र महसुस गर्न सक्नुपर्छ उसले । परन्तु, यति मात्र भएर पनि राम्रो सम्पादन हुन सक्तैन । किनभने, त्यहाँ त लेखक स्वयं उहिल्यै पुगिसकेको हुन्छ । सम्पादक त ऊभन्दा बढी गहिराइमा डुब्न सक्नुपर्छ, अनि पो उसले वास्तविक सम्पादन गर्न सक्छ । यसका लागि चाहिन्छ आफ्नो कामप्रतिको श्रद्धा, तन्मयता र अन्तर्बोध ।
सम्पादकका गुण
सम्पादन सामान्यतः नीरस र पट्यारलाग्दो काम हो । सम्पादन गर्न बस्ता पाण्डुलिपिमा रहेका अनेक थरिका गल्ती, कमजोरी र समस्याले सम्पादकलाई यसरी घेर्छन्, उसले पाण्डुलिपिको रसास्वादन गर्नै पाउँदैन । तर, उसले यस कार्यमा रस लिन सक्नुपर्छ । आनन्दानुभूति बिना गरिएको सम्पादन राम्रो हुन सक्तैन ।
आफूले नबुझेको कुरा छ भने खोज्नुपर्छ, सन्दर्भ सामग्रीसम्म पुग्नुपर्छ । कहिलेकाहीँ लेखकले नभेट्टाएको सन्दर्भ सामग्री पनि खोजेर मिलाइदिनुपर्ने हुन्छ । कुनै पनि पक्षमा अलिकति पनि हेलचेक्र्याइँ नगरी काम गर्नुपर्छ ।
लेखकको चासो मुख्यतः आफू र आफ्नो अभिव्यक्तिप्रति हुन्छ । पाठकले भने आफ्ना लागि रुचिकर पाठ्यसामग्री चाहन्छ । सम्पादक दुवैबीचको पुल हो । लेखकले लेखेको पाठकलाई मननपर्ने हुनसक्छ, त्यसलाई पाठकले मन पराउने बनाइदिनुपर्छ । त्यसो गर्दा फेरि लेखकको मर्म र शैली निस्तेज हुन सक्छ, त्यो पनि हुन दिनुभएन; त्यसलाई पनि सक्तो तिक्खर बनाउनुपर्यो । सम्पादक दुवैप्रति जिम्मेदार हुनुपर्छ ।
सम्पादकले आफ्नो रुचि-अरुचिभन्दा माथि उठेर काम गर्न सक्नुपर्छ । उसले लेखकको प्रस्तुतिलाई चहकिलो बनाउने हो; आफूलाई पटक्कै मन नपर्ने विचार वा तर्क छन् भने तिनलाई पनि उत्तिकै प्रेम र श्रद्धासाथ तिक्खर बनाउने हो । आफ्नो विचार, आफ्नो आशय, आफ्नो पारा लाद्ने होइन । आफू हावी हुन खोज्ने होइन ।
सम्पादनका क्रममा धेरै कुरा भएका हुन्छन् । सम्पादकले कहिल्यै पनि लेखकको नाम तोकेर मैले यस्तो भन्दाभन्दै फलानो लेखकले मानेन अथवा मैले गरेको हुनाले फलानाको यस्तो भयो भन्नु हुँदैन । त्यो अनैतिक हुन्छ । त्यति पनि अडिन नसक्ने मानिस सम्पादक हुन सक्दैन । त्यसो भन्नुको आशय म त्यो लेखकभन्दा राम्रो हुँ भन्ने हो । त्यसको अर्थ उसमा आफैंप्रति आत्मविश्वास नहुनु हो ।
सम्पादनको स्थिति
मोटामोटी सम्पादनका चार क्षेत्रसँग मेरो परिचय छ- पत्रकारिता, साहित्य, विचार र अनुवाद । नेपाली पत्रकारिताको सबैभन्दा कमजोर पक्ष भनेकै सम्पादन हो । कपी एडिटिङ असाध्यै कमजोर छ । डेस्कको महत्त्वका बारेमा गफ दिने त धेरै भइसक्यौं, तर महत्त्व बुझेको देखिएको छैन । साहित्यिक कृतिहरूको स्थिति पनि खासै फरक छैन । सम्पादन गराएको त भनिन्छ तर सम्पादकले के गर्ने भन्ने ठम्याउन नसके जस्तो लाग्छ ।
त्यसमाथि, साहित्यमा केको सम्पादन भन्ने धारणा पनि अझै जीवित छ । विचार, विवेचना, अनुसन्धानसँग जोडिएका कृति अपवादबाहेक कसिला र सिलसिला मिलेका देखिँदैनन् । अनुवादको अवस्था अझ बिस्मातलाग्दो छ । अर्काले गरेको अनुवादको सम्पादन गर्नु यातना हो- उसले भन्दा दोब्बर बढी काम गर्नुपर्छ ।
सम्पादन भनेको काट्ने-घटाउने काम हो भन्ने बुझाइ छ एकातिर । 'सम्पादन भएछ' भनेपछि 'काटिएछ' भन्ने बुझ्छन् मानिसले । अर्कातिर, सम्पादन भनेकै ह्रस्व-दीर्घ मिलाउने, व्याकरण र वाक्यगठन मिलाउने काम हो भन्ने बुझाइ देखिन्छ । यही मेसोमा, किताबमा त्यो काम क्याम्पस वा विश्वविद्यालयमा नेपाली पढाउने गुरुहरूले गर्ने हो भन्ने पनि बुझाइ छ । त्यसरी सम्पादन गराइएको पाण्डुलिपि पल्टाएर हेर्नेले सम्पादन भनेको प्रुफरिडिङ रहेछ भन्ने निष्कर्ष निकाल्नुपर्ने हुन्छ ।
सम्पादन कर्म
सम्पादनमा के के गर्ने भन्ने कुनै सीमा छैन । शब्द, वाक्य, अर्थ, आशय, भाव, सन्दर्भ, शृंखला, सन्तुलन, तार्किकता, तर्कसंगतता, लय, दोष, अलंकार, सिलसिला, अधिकता, न्यूूनता, परिपाक, अपरिपक्वता आदि इत्यादि सबै-सबै कुरामा ध्यान पुर्याउनु र काम गर्नुपर्छ । सुरुमै भनिहालेँ, सामग्रीको प्रकृति र लेखकको स्तर हेरी आफ्नो क्षमताले भ्याएसम्म सर्वोत्तम काम गर्नुपर्छ ।
सम्पादन शैली
परिभाषित गर्न सकिने मेरो कुनै सम्पादन शैली छैन । सम्पादन गर्न हातमा कलम लिएर बसेपछि म पूर्णतः निद्रवन्द्व हुन्छु । 'देउता चढ्छ' भने पनि हुन्छ । सामग्रीलाई राम्रो बनाउने सात्विक भावबाहेक कुनै आग्रह बाँकी रहँदैन । यस क्रममा कहिले जतिसुकै घनिष्ठ, प्रख्यात वा विशिष्ट व्यक्तिको अथवा आफ्नै लेखोट पनि निर्ममतासाथ काटिरहेको हुन्छु, कहिले सामान्य व्यक्तिको लेखोट पनि खासै चलाउँदिनँ ।
कुनै सामग्रीमा नकाटिएको-नफेरिएको अंश दश प्रतिशत पनि बाँकी रहँदैन भने कुनैमा दश प्रतिशत पनि चलाइएको हुँदैन । निद्र्वन्द्व विवेक बाहेक त्यहाँ अरू कुनै कुराले काम गर्दैन ।
अधिकांश लेखकलाई काटकुट गरिएको कपी अगाडि राखेर हरेक काँटछाँटको अभिप्राय बुझाउने गरेको छु । त्यसो गर्न सम्भव नहुँदा सम्पादन गरेको मिल्यो कि मिलेन, ध्यानपूर्वक पढेर मलाई बताउन आग्रह गर्छु । किनभने, जति राम्ररी काम गर्दा पनि नजानेर, नबुझेर, ध्यान नपुगेर कुरा रड्किएको हुन सक्छ, त्यसबारे बताउन सक्ने लेखकले नै हो । त्यो पनि त मिलाउनुपर्यो नि ! नत्र बरबाद भएन ?
लेखकीय कर्म भनेको एउटा नयाँ जगत् सिर्जना गर्नु हो । लेखक त्यस्तो स्रष्टा हो जसले आफूलाई जस्तो मन पर्छ त्यस्तै संसार सिर्जना गर्न सक्छ । त्यो संसार पाठकको अन्तरात्मामा बसाउन सक्ने क्षमता नै लेखकीय क्षमता हो ।
६ हजार शब्दको रिपोर्ट आठ सय शब्दमा, १८ हजार शब्दको अनुसन्धान १५ सय शब्दमा, ६ सय पृष्ठको पाण्डुलिपि सवा दुई सय पृष्ठमा पनि झारेको छु । पूरै पुस्तकमा एकै पृष्ठ नघटाई सम्पादन पनि गरेको छु । अनि, प्रख्यात लेखकले गहन अनुसन्धान, विज्ञहरूको फिडब्याक र कैयौं पटकको पुनर्लेखन पछि 'अब सन्तुष्ट भएँ' भनेको उपन्यासमा 'तपाईंकै मनभित्र भएको कुरो यसमा आएन, अपूरो छ', भनेर ८० पृष्ठ थप्न पनि लगाएको छु ।
अहिले, पहिलो संस्करणमा आठ सय पृष्ठ जति रहेको कृति चार सय पृष्ठमा झारिदिनुपर्यो भनेर एकजनाले अनुरोध गरिरहनुभएको छ । जे पनि गर्न सकिन्छ र गर्नु पनि पर्छ; सर्त एउटै हो— लेखक दङदास हुनुपर्छ ।
सम्पादकको भूमिका
कहिल्यै बिर्सन नहुने कुरा के हो भने, सम्पादक तानाशाह होइन । ऊ कुनै प्राधिकार होइन । सम्पादक भनेको लेखकको सल्लाहकार मात्र हो । उसको भूमिका यही हो । सम्पादनमा आवश्यकता हेरी जे पनि गर्न सकिन्छ र गर्नैपर्छ; तर यही अन्तिम हो, यसै गर्नुपर्छ भनेर सम्पादकले लेखकलाई बाध्य पार्न सक्तैन । स्रष्टा, स्वामी र अन्तिम निर्णायक त लेखक नै हो । लेखकले सम्पादकको सल्लाह ग्रहण नगर्न पनि सक्छ ।
म गल्ती नै राख्छु पनि भन्न पाउँछ । त्यो उसको स्वविवेकीय, सर्वोच्च अधिकार हो । त्यसमा सम्पादकले गुनासो गर्न हुँदैन, मनमा तुस राख्न हुँदैन । त्यसलाई आत्मैदेखि सहर्ष स्वीकार गर्नुपर्छ ।
सम्पादन सम्बन्ध
सम्पादकका रूपमा मेरो प्रत्यक्ष सम्पर्क हुने लेखक र प्रकाशकसँग हो । प्रकाशकसँग ठिकठिकै छ । कुरा ठूलठूला गर्छन् तर सम्पादनको महत्त्व बुझेका छैनन् । तिनको 'बजेट' ले यही भन्छ । लेखकहरूसँग भने सम्पादन पछि आत्मीयता बढेको छ, किनभने सम्पादन गर्दा के के भयो र त्यसले पाण्डुलिपिलाई कहाँ पुर्यायो भन्ने कुरा लेखकले राम्रैसँग बुझेको हुन्छ ।
पछिल्ला दिनमा गम्भीर लेखकहरूलाई यहाँनेर यस्तो खालको समस्या छ, यसो गर्दा ठीक होला भनेर छुट्टै नोट बनाएर पनि दिने गरेको छु । लेखकले आफैं निर्णय गर्नुपर्छ, सच्याउने कि नसच्याउने भनेर । मलाई लाग्छ, यसो गर्दा लेखकले आफ्ना कमजोरीसँग साक्षात्कार गर्ने अनि प्रशिक्षित हुने मौका पाउँछ । सम्पादनको लाभ कृतिले मात्र होइन, लेखकले पनि पाउँछ ।
कहिलेकाहीँ, धेरै काटकुट हुँदा सुरुमा लेखकलाई नराम्रो पनि लाग्न सक्छ तर उसले पछि बिस्तारै कुरा बुझ्छ । म तपार्इंलाई एउटा उदाहरण दिन्छु; एकजना लेखकले आफूलाई निकै महत्त्वपूर्ण लागेको आफ्नो जीवनको एउटा घटनाक्रम ३० पेज लेख्नुभएको थियो । त्यो पनि किताबको साइजमा होइन, ए-फोर साइजमा ।
मैले त्यो ३० पेज नै काटिदिएँ र त्यसको सट्टा हातले डेढ पेज लेखिदिएँ । 'यति पनि नचाहिने हो, तैपनि तपाईंलाई चित्त दुख्ला भनेर बनाइदिएको हुँ' भनेँ । नयाँ लेखक भएकाले उहाँले केही भन्न सक्नुभएन, मन अमिलो बनाउँदै त्यही डेढ पेज राख्नुभयो । त्यो किताब राम्रै चल्यो । अनि उहाँले किताबको अंग्रेजी अनुवाद गराउनुभयो । त्यसबेला त्यो डेढ पेज पनि अनावश्यक मात्र होइन, प्रत्युत्पादक नै रहेछ भन्ने बुझेर आफैं हटाउने निर्णय गर्नुभयो । लेखकले बुझ्छन् । लेखकले नै नबुझ्ने, उसकै मर्म मर्ने गरी काम गर्छ भने त सम्पादक नै भएन नि !
सम्पादकको आँखामा लेखक
हामीकहाँ लेखकीय क्षमता भएका लेखक निकै कम छन् । धेरै लेखेपछि लेखक भइन्छ, धेरै बिकेपछि ठूलो साहित्यकार भइन्छ भन्ने भ्रम छ । तर त्यसो होइन । लेखकीय क्षमता भएपछि मात्र लेखक भइन्छ । त्यस्ता लेखक गन्न हातकै औंला पर्याप्त होलान् ।
देवकोटाकै लेखनमा पनि सम्पादनको खाँचो देख्छु र चुकचुकाउँछु । सोच्छु, देवकोटाले कुनै गतिलो सम्पादक पाएका भए र उसले त्यस्ता ठाउँमा 'कविजी, यहाँनेर यो कुरामा ध्यान दिनुपर्ला कि ? ' भनेर देखाइदिन पाएको भए तिनको ओज कहाँ पुग्थ्यो होला ?
हो, लेखनका लागि रिसर्च, अध्ययन सबै जरुरी हुन्छ तर त्यतिले मात्र लेखक भइँदैन । अहिले पुस्तक बिक्रीको आधारमा लेखकको तह तोक्न पनि थालिएको छ । तर केहीले मात्र आफ्ना कुरा राम्ररी प्रस्तुत गर्न सकेको देखिन्छ । आफूले लेखेको कुरा लेखक स्वयंले आत्मसात् गरे जस्तो, पचाए जस्तो लाग्दैन । धेरैले लेखेको हेर्दा आफ्नो लेखाइप्रति आफैं गम्भीर नभए जस्तो, आफैं इमानदार नभए जस्तो, आफैंलाई आत्मविश्वास नभए जस्तो देखिन्छ ।
उनीहरू आफ्नो लेखनमा आफैं चिप्लिरहेका हुन्छन् । आख्यानमा पात्रहरू स्थापित भइरहेका हुँदैनन्, घटनाक्रममा तारतम्य मिलेको हुँदैन, भाषामा ओज र स्वाभाविकता हुँदैन, लेखाइको लय भत्केको हुन्छ । त्यसैले पहिलो लेखनमा नयाँ 'टेस्ट'का कारण बहुप्रशंसित लेखक दोस्रोमा खासै जम्दैन । दोस्रो लेखनमा आउँदासम्म ऊ लेखनबारे लामा-लामा व्याख्यान दिन सक्ने त भएको हुन्छ तर उसभित्रको लेखक खोक्रिइसकेको हुन्छ । उसको लेखनले पाठकलाई तरंगित गर्दैन ।
लेखकीय कर्म भनेको एउटा नयाँ जगत् सिर्जना गर्नु हो । लेखक त्यस्तो स्रष्टा हो जसले आफूलाई जस्तो मन पर्छ त्यस्तै संसार सिर्जना गर्न सक्छ । त्यो संसार पाठकको अन्तरात्मामा बसाउन सक्ने क्षमता नै लेखकीय क्षमता हो । त्यो सामान्य कुरा होइन । 'जादुबाट जगत् बनाउनु उसै होला सजीलो कहाँ ? ' भनेर देवकोटाले त्यसै भनेका होइनन् । सबै देवकोटा त हुँदैनन् ।
तर, देवकोटाकै लेखनमा पनि सम्पादनको खाँचो देख्छु र चुकचुकाउँछु म । निबन्धमा मात्र होइन, कवितामा पनि । उनका कतिपय राम्रा कवितामासमेत कैयौं ठाउँमा ठ्याक्कै नमिल्ने बिम्ब, सन्दर्भ र पंक्ति परेका छन् । सोच्छु, देवकोटाले कुनै गतिलो सम्पादक पाएका भए र उसले त्यस्ता ठाउँमा 'कविजी, यहाँनेर यो कुरामा ध्यान दिनुपर्ला कि ? ' भनेर देखाइदिन पाएको भए तिनको ओज कहाँ पुग्थ्यो होला ? तर, 'रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी' भनेझैं देवकोटाको काव्य-क्षमताले त्यसलाई दबाइदिएको छ । जे छ, हाम्रा लागि त्यही वरदान छ ।
(लक्ष्मण श्रेष्ठसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस !