सम्पादक तानाशाह होइन

सम्पादक तानाशाह होइन

सम्पादन के हो ?
लेखकले लेखेको कुरालाई आफ्नो बुद्धि, क्षमता र योग्यताले भ्याएसम्म राम्रो बनाउने काम नै सम्पादन हो । कसैकसैले सम्पादकलाई लेखोटको अनावश्यक बोसो निकालेर फ्याँकिदिने 'सर्जन' भन्छन् । तर, मलाई त्यतिले पुग्छजस्तो लाग्दैन । सम्पादक त 'कस्मेटिक सर्जन' हो । उसले लेखोटलाई हरेक दृष्टिले सुन्दर र आकर्षक नै बनाउनुपर्छ ।

लेखक विभिन्न तहका हुन्छन्, तिनको स्तर र शैली फरक हुन्छ । सम्पादनका क्रममा लेखकको शैली हराउन हुँदैन र उसको स्तरमा ठूलो हेरफेर हुन पनि हुँदैन । नत्र त्यहाँ लेखक बाँकी रहँदैन ।

सामान्य वाक्य ठीकसँग गठन गर्नु लेखककै काम हो । तर, हाम्रो कमजोर शिक्षा प्रणालीले मानिसलाई सामान्य लेखनमा पनि कमजोर बनाएको छ । अरूतिर भाषामा अधिकार नभएको मानिसले लेखक बन्ने रहर गर्दैन; ऊ अर्कै क्षेत्रमा लाग्छ । हामीकहाँ भने नाम चलेकै लेखकमा पनि शब्दको अर्थ, वाक्य गठन र व्याकरणको तहमा समेत समस्या पाइन्छ । त्यस्तो भएपछि सम्पादकले त्यहीं अल्झिनुपर्ने हुन्छ, वास्तविक सम्पादन हुनै पाउँदैन । तर, त्यो प्रुफरिडरले गर्ने काम हो । म पाण्डुलिपिमा राम्रो प्रुफरिडरले काम गरिसकेपछि मात्र सम्पादनको काम सुरु गर्न रुचाउँछु ।

सम्पादकको योग्यता

सम्पादकको योग्यताबारे विभिन्न पुस्तकमा अनेक वर्णन गरिएको पाइन्छ । मलाई त्यस्तो वर्णन पढेर कोही सम्पादक हुन सक्छ जस्तो लाग्दैन । सम्पादक हुनलाई निश्चित डिग्री वा प्रमाणपत्र नै चाहिन्छ भन्ने पनि होइन । तर, सम्पादकमा राम्रो लेखन क्षमता भने हुनैपर्छ । जो स्वयं राम्रो लेख्न जान्दैन, त्यसले अरूले लेखेकोलाई राम्रो बनाउन सक्तैन । किनभने, के गर्दा राम्रो हुन्छ भन्ने उसलाई व्यवहारतः ज्ञान नै हुँदैन ।

लेखन क्षमता नभए पनि सम्पादक बनिन्छ भन्ने कसैलाई लाग्छ भने त्यो भ्रम हो । यसको अर्थ सम्पादक लेखकको रूपमा स्थापित भएकै हुनुपर्छ भन्नेचाहिँ होइन । तर, आफ्नासामु जुन विधाको, जुन स्तरको, जुन शैलीको सामग्री आएको छ, त्यही विधा, त्यही स्तर, त्यही शैली कायम राखेर 'राम्रो' बनाइदिन सक्ने क्षमता भएको मान्छे मात्र सम्पादक हुनसक्छ । हर किसिमको लेखाइको अनुभव र आत्मविश्वास नभएको मानिसले यो तहमा पुगेर सम्पादन गर्न सक्तैन, लेखक र सामग्रीमाथि न्याय गर्न सक्तैन ।

राम्रै लेखकले लेखेको सामग्रीमा पनि धेरै किसिमका त्रुटि र कमजोरी भेटिन्छन् । कतै भन्नुपर्ने कुरा छुटेको, कतै आशय उल्टो भएको, कतै ओभरल्यापिङ भएको, कतै सन्दर्भ र कतै सन्तुलन नमिलेको हुन सक्छ । कसैले अर्थै नबुझी शब्दको प्रयोग गरेको हुनसक्छ त कसैले कहीं नभेटिने शब्द प्रयोग गरेको हुन्छ । सिद्धहस्त र स्तरीय लेखकको लेखाइमा भने त्यही तहका समस्या हुन्छन्; त्यो तहमा पुगेर परिष्कार गर्दाको आनन्द बेग्लै हुन्छ ।

लेखकले कतै गहिरो अनुसन्धान गरेको हुन्छ, कतै उच्च कल्पना गरेको हुन्छ, कतै विभिन्न ठाउँमा घुमेर लेखेको हुन्छ, कतै ऊ आफ्नै भावजगत्मा डुबुल्की मारिरहेको हुन्छ । त्यो सबै त सम्पादकले गर्न सक्दैन । तर, ती विषयलाई त्यही गहिराइमा पुगेर बुझ्न र महसुस गर्न सक्नुपर्छ उसले । परन्तु, यति मात्र भएर पनि राम्रो सम्पादन हुन सक्तैन । किनभने, त्यहाँ त लेखक स्वयं उहिल्यै पुगिसकेको हुन्छ । सम्पादक त ऊभन्दा बढी गहिराइमा डुब्न सक्नुपर्छ, अनि पो उसले वास्तविक सम्पादन गर्न सक्छ । यसका लागि चाहिन्छ आफ्नो कामप्रतिको श्रद्धा, तन्मयता र अन्तर्बोध ।

सम्पादकका गुण

सम्पादन सामान्यतः नीरस र पट्यारलाग्दो काम हो । सम्पादन गर्न बस्ता पाण्डुलिपिमा रहेका अनेक थरिका गल्ती, कमजोरी र समस्याले सम्पादकलाई यसरी घेर्छन्, उसले पाण्डुलिपिको रसास्वादन गर्नै पाउँदैन । तर, उसले यस कार्यमा रस लिन सक्नुपर्छ । आनन्दानुभूति बिना गरिएको सम्पादन राम्रो हुन सक्तैन ।

आफूले नबुझेको कुरा छ भने खोज्नुपर्छ, सन्दर्भ सामग्रीसम्म पुग्नुपर्छ । कहिलेकाहीँ लेखकले नभेट्टाएको सन्दर्भ सामग्री पनि खोजेर मिलाइदिनुपर्ने हुन्छ । कुनै पनि पक्षमा अलिकति पनि हेलचेक्र्याइँ नगरी काम गर्नुपर्छ ।

लेखकको चासो मुख्यतः आफू र आफ्नो अभिव्यक्तिप्रति हुन्छ । पाठकले भने आफ्ना लागि रुचिकर पाठ्यसामग्री चाहन्छ । सम्पादक दुवैबीचको पुल हो । लेखकले लेखेको पाठकलाई मननपर्ने हुनसक्छ, त्यसलाई पाठकले मन पराउने बनाइदिनुपर्छ । त्यसो गर्दा फेरि लेखकको मर्म र शैली निस्तेज हुन सक्छ, त्यो पनि हुन दिनुभएन; त्यसलाई पनि सक्तो तिक्खर बनाउनुपर्‌यो । सम्पादक दुवैप्रति जिम्मेदार हुनुपर्छ ।

सम्पादकले आफ्नो रुचि-अरुचिभन्दा माथि उठेर काम गर्न सक्नुपर्छ । उसले लेखकको प्रस्तुतिलाई चहकिलो बनाउने हो; आफूलाई पटक्कै मन नपर्ने विचार वा तर्क छन् भने तिनलाई पनि उत्तिकै प्रेम र श्रद्धासाथ तिक्खर बनाउने हो । आफ्नो विचार, आफ्नो आशय, आफ्नो पारा लाद्ने होइन । आफू हावी हुन खोज्ने होइन ।

सम्पादनका क्रममा धेरै कुरा भएका हुन्छन् । सम्पादकले कहिल्यै पनि लेखकको नाम तोकेर मैले यस्तो भन्दाभन्दै फलानो लेखकले मानेन अथवा मैले गरेको हुनाले फलानाको यस्तो भयो भन्नु हुँदैन । त्यो अनैतिक हुन्छ । त्यति पनि अडिन नसक्ने मानिस सम्पादक हुन सक्दैन । त्यसो भन्नुको आशय म त्यो लेखकभन्दा राम्रो हुँ भन्ने हो । त्यसको अर्थ उसमा आफैंप्रति आत्मविश्वास नहुनु हो ।

सम्पादनको स्थिति

मोटामोटी सम्पादनका चार क्षेत्रसँग मेरो परिचय छ- पत्रकारिता, साहित्य, विचार र अनुवाद । नेपाली पत्रकारिताको सबैभन्दा कमजोर पक्ष भनेकै सम्पादन हो । कपी एडिटिङ असाध्यै कमजोर छ । डेस्कको महत्त्वका बारेमा गफ दिने त धेरै भइसक्यौं, तर महत्त्व बुझेको देखिएको छैन । साहित्यिक कृतिहरूको स्थिति पनि खासै फरक छैन । सम्पादन गराएको त भनिन्छ तर सम्पादकले के गर्ने भन्ने ठम्याउन नसके जस्तो लाग्छ ।

त्यसमाथि, साहित्यमा केको सम्पादन भन्ने धारणा पनि अझै जीवित छ । विचार, विवेचना, अनुसन्धानसँग जोडिएका कृति अपवादबाहेक कसिला र सिलसिला मिलेका देखिँदैनन् । अनुवादको अवस्था अझ बिस्मातलाग्दो छ । अर्काले गरेको अनुवादको सम्पादन गर्नु यातना हो- उसले भन्दा दोब्बर बढी काम गर्नुपर्छ ।

सम्पादन भनेको काट्ने-घटाउने काम हो भन्ने बुझाइ छ एकातिर । 'सम्पादन भएछ' भनेपछि 'काटिएछ' भन्ने बुझ्छन् मानिसले । अर्कातिर, सम्पादन भनेकै ह्रस्व-दीर्घ मिलाउने, व्याकरण र वाक्यगठन मिलाउने काम हो भन्ने बुझाइ देखिन्छ । यही मेसोमा, किताबमा त्यो काम क्याम्पस वा विश्वविद्यालयमा नेपाली पढाउने गुरुहरूले गर्ने हो भन्ने पनि बुझाइ छ । त्यसरी सम्पादन गराइएको पाण्डुलिपि पल्टाएर हेर्नेले सम्पादन भनेको प्रुफरिडिङ रहेछ भन्ने निष्कर्ष निकाल्नुपर्ने हुन्छ ।

सम्पादन कर्म

सम्पादनमा के के गर्ने भन्ने कुनै सीमा छैन । शब्द, वाक्य, अर्थ, आशय, भाव, सन्दर्भ, शृंखला, सन्तुलन, तार्किकता, तर्कसंगतता, लय, दोष, अलंकार, सिलसिला, अधिकता, न्यूूनता, परिपाक, अपरिपक्वता आदि इत्यादि सबै-सबै कुरामा ध्यान पुर्‌याउनु र काम गर्नुपर्छ । सुरुमै भनिहालेँ, सामग्रीको प्रकृति र लेखकको स्तर हेरी आफ्नो क्षमताले भ्याएसम्म सर्वोत्तम काम गर्नुपर्छ ।

सम्पादन शैली

परिभाषित गर्न सकिने मेरो कुनै सम्पादन शैली छैन । सम्पादन गर्न हातमा कलम लिएर बसेपछि म पूर्णतः निद्रवन्द्व हुन्छु । 'देउता चढ्छ' भने पनि हुन्छ । सामग्रीलाई राम्रो बनाउने सात्विक भावबाहेक कुनै आग्रह बाँकी रहँदैन । यस क्रममा कहिले जतिसुकै घनिष्ठ, प्रख्यात वा विशिष्ट व्यक्तिको अथवा आफ्नै लेखोट पनि निर्ममतासाथ काटिरहेको हुन्छु, कहिले सामान्य व्यक्तिको लेखोट पनि खासै चलाउँदिनँ ।

कुनै सामग्रीमा नकाटिएको-नफेरिएको अंश दश प्रतिशत पनि बाँकी रहँदैन भने कुनैमा दश प्रतिशत पनि चलाइएको हुँदैन । निद्र्वन्द्व विवेक बाहेक त्यहाँ अरू कुनै कुराले काम गर्दैन ।

अधिकांश लेखकलाई काटकुट गरिएको कपी अगाडि राखेर हरेक काँटछाँटको अभिप्राय बुझाउने गरेको छु । त्यसो गर्न सम्भव नहुँदा सम्पादन गरेको मिल्यो कि मिलेन, ध्यानपूर्वक पढेर मलाई बताउन आग्रह गर्छु । किनभने, जति राम्ररी काम गर्दा पनि नजानेर, नबुझेर, ध्यान नपुगेर कुरा रड्किएको हुन सक्छ, त्यसबारे बताउन सक्ने लेखकले नै हो । त्यो पनि त मिलाउनुपर्‌यो नि ! नत्र बरबाद भएन ?

लेखकीय कर्म भनेको एउटा नयाँ जगत् सिर्जना गर्नु हो । लेखक त्यस्तो स्रष्टा हो जसले आफूलाई जस्तो मन पर्छ त्यस्तै संसार सिर्जना गर्न सक्छ । त्यो संसार पाठकको अन्तरात्मामा बसाउन सक्ने क्षमता नै लेखकीय क्षमता हो ।

६ हजार शब्दको रिपोर्ट आठ सय शब्दमा, १८ हजार शब्दको अनुसन्धान १५ सय शब्दमा, ६ सय पृष्ठको पाण्डुलिपि सवा दुई सय पृष्ठमा पनि झारेको छु । पूरै पुस्तकमा एकै पृष्ठ नघटाई सम्पादन पनि गरेको छु । अनि, प्रख्यात लेखकले गहन अनुसन्धान, विज्ञहरूको फिडब्याक र कैयौं पटकको पुनर्लेखन पछि 'अब सन्तुष्ट भएँ' भनेको उपन्यासमा 'तपाईंकै मनभित्र भएको कुरो यसमा आएन, अपूरो छ', भनेर ८० पृष्ठ थप्न पनि लगाएको छु ।

अहिले, पहिलो संस्करणमा आठ सय पृष्ठ जति रहेको कृति चार सय पृष्ठमा झारिदिनुपर्‌यो भनेर एकजनाले अनुरोध गरिरहनुभएको छ । जे पनि गर्न सकिन्छ र गर्नु पनि पर्छ; सर्त एउटै हो— लेखक दङदास हुनुपर्छ ।

सम्पादकको भूमिका

कहिल्यै बिर्सन नहुने कुरा के हो भने, सम्पादक तानाशाह होइन । ऊ कुनै प्राधिकार होइन । सम्पादक भनेको लेखकको सल्लाहकार मात्र हो । उसको भूमिका यही हो । सम्पादनमा आवश्यकता हेरी जे पनि गर्न सकिन्छ र गर्नैपर्छ; तर यही अन्तिम हो, यसै गर्नुपर्छ भनेर सम्पादकले लेखकलाई बाध्य पार्न सक्तैन । स्रष्टा, स्वामी र अन्तिम निर्णायक त लेखक नै हो । लेखकले सम्पादकको सल्लाह ग्रहण नगर्न पनि सक्छ ।

म गल्ती नै राख्छु पनि भन्न पाउँछ । त्यो उसको स्वविवेकीय, सर्वोच्च अधिकार हो । त्यसमा सम्पादकले गुनासो गर्न हुँदैन, मनमा तुस राख्न हुँदैन । त्यसलाई आत्मैदेखि सहर्ष स्वीकार गर्नुपर्छ ।

सम्पादन सम्बन्ध

सम्पादकका रूपमा मेरो प्रत्यक्ष सम्पर्क हुने लेखक र प्रकाशकसँग हो । प्रकाशकसँग ठिकठिकै छ । कुरा ठूलठूला गर्छन् तर सम्पादनको महत्त्व बुझेका छैनन् । तिनको 'बजेट' ले यही भन्छ । लेखकहरूसँग भने सम्पादन पछि आत्मीयता बढेको छ, किनभने सम्पादन गर्दा के के भयो र त्यसले पाण्डुलिपिलाई कहाँ पुर्‌यायो भन्ने कुरा लेखकले राम्रैसँग बुझेको हुन्छ ।

पछिल्ला दिनमा गम्भीर लेखकहरूलाई यहाँनेर यस्तो खालको समस्या छ, यसो गर्दा ठीक होला भनेर छुट्टै नोट बनाएर पनि दिने गरेको छु । लेखकले आफैं निर्णय गर्नुपर्छ, सच्याउने कि नसच्याउने भनेर । मलाई लाग्छ, यसो गर्दा लेखकले आफ्ना कमजोरीसँग साक्षात्कार गर्ने अनि प्रशिक्षित हुने मौका पाउँछ । सम्पादनको लाभ कृतिले मात्र होइन, लेखकले पनि पाउँछ ।

कहिलेकाहीँ, धेरै काटकुट हुँदा सुरुमा लेखकलाई नराम्रो पनि लाग्न सक्छ तर उसले पछि बिस्तारै कुरा बुझ्छ । म तपार्इंलाई एउटा उदाहरण दिन्छु; एकजना लेखकले आफूलाई निकै महत्त्वपूर्ण लागेको आफ्नो जीवनको एउटा घटनाक्रम ३० पेज लेख्नुभएको थियो । त्यो पनि किताबको साइजमा होइन, ए-फोर साइजमा ।

मैले त्यो ३० पेज नै काटिदिएँ र त्यसको सट्टा हातले डेढ पेज लेखिदिएँ । 'यति पनि नचाहिने हो, तैपनि तपाईंलाई चित्त दुख्ला भनेर बनाइदिएको हुँ' भनेँ । नयाँ लेखक भएकाले उहाँले केही भन्न सक्नुभएन, मन अमिलो बनाउँदै त्यही डेढ पेज राख्नुभयो । त्यो किताब राम्रै चल्यो । अनि उहाँले किताबको अंग्रेजी अनुवाद गराउनुभयो । त्यसबेला त्यो डेढ पेज पनि अनावश्यक मात्र होइन, प्रत्युत्पादक नै रहेछ भन्ने बुझेर आफैं हटाउने निर्णय गर्नुभयो । लेखकले बुझ्छन् । लेखकले नै नबुझ्ने, उसकै मर्म मर्ने गरी काम गर्छ भने त सम्पादक नै भएन नि !

सम्पादकको आँखामा लेखक

हामीकहाँ लेखकीय क्षमता भएका लेखक निकै कम छन् । धेरै लेखेपछि लेखक भइन्छ, धेरै बिकेपछि ठूलो साहित्यकार भइन्छ भन्ने भ्रम छ । तर त्यसो होइन । लेखकीय क्षमता भएपछि मात्र लेखक भइन्छ । त्यस्ता लेखक गन्न हातकै औंला पर्याप्त होलान् ।

देवकोटाकै लेखनमा पनि सम्पादनको खाँचो देख्छु र चुकचुकाउँछु । सोच्छु, देवकोटाले कुनै गतिलो सम्पादक पाएका भए र उसले त्यस्ता ठाउँमा 'कविजी, यहाँनेर यो कुरामा ध्यान दिनुपर्ला कि ? ' भनेर देखाइदिन पाएको भए तिनको ओज कहाँ पुग्थ्यो होला ?

हो, लेखनका लागि रिसर्च, अध्ययन सबै जरुरी हुन्छ तर त्यतिले मात्र लेखक भइँदैन । अहिले पुस्तक बिक्रीको आधारमा लेखकको तह तोक्न पनि थालिएको छ । तर केहीले मात्र आफ्ना कुरा राम्ररी प्रस्तुत गर्न सकेको देखिन्छ । आफूले लेखेको कुरा लेखक स्वयंले आत्मसात् गरे जस्तो, पचाए जस्तो लाग्दैन । धेरैले लेखेको हेर्दा आफ्नो लेखाइप्रति आफैं गम्भीर नभए जस्तो, आफैं इमानदार नभए जस्तो, आफैंलाई आत्मविश्वास नभए जस्तो देखिन्छ ।

उनीहरू आफ्नो लेखनमा आफैं चिप्लिरहेका हुन्छन् । आख्यानमा पात्रहरू स्थापित भइरहेका हुँदैनन्, घटनाक्रममा तारतम्य मिलेको हुँदैन, भाषामा ओज र स्वाभाविकता हुँदैन, लेखाइको लय भत्केको हुन्छ । त्यसैले पहिलो लेखनमा नयाँ 'टेस्ट'का कारण बहुप्रशंसित लेखक दोस्रोमा खासै जम्दैन । दोस्रो लेखनमा आउँदासम्म ऊ लेखनबारे लामा-लामा व्याख्यान दिन सक्ने त भएको हुन्छ तर उसभित्रको लेखक खोक्रिइसकेको हुन्छ । उसको लेखनले पाठकलाई तरंगित गर्दैन ।

लेखकीय कर्म भनेको एउटा नयाँ जगत् सिर्जना गर्नु हो । लेखक त्यस्तो स्रष्टा हो जसले आफूलाई जस्तो मन पर्छ त्यस्तै संसार सिर्जना गर्न सक्छ । त्यो संसार पाठकको अन्तरात्मामा बसाउन सक्ने क्षमता नै लेखकीय क्षमता हो । त्यो सामान्य कुरा होइन । 'जादुबाट जगत् बनाउनु उसै होला सजीलो कहाँ ? ' भनेर देवकोटाले त्यसै भनेका होइनन् । सबै देवकोटा त हुँदैनन् ।

तर, देवकोटाकै लेखनमा पनि सम्पादनको खाँचो देख्छु र चुकचुकाउँछु म । निबन्धमा मात्र होइन, कवितामा पनि । उनका कतिपय राम्रा कवितामासमेत कैयौं ठाउँमा ठ्याक्कै नमिल्ने बिम्ब, सन्दर्भ र पंक्ति परेका छन् । सोच्छु, देवकोटाले कुनै गतिलो सम्पादक पाएका भए र उसले त्यस्ता ठाउँमा 'कविजी, यहाँनेर यो कुरामा ध्यान दिनुपर्ला कि ? ' भनेर देखाइदिन पाएको भए तिनको ओज कहाँ पुग्थ्यो होला ? तर, 'रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी' भनेझैं देवकोटाको काव्य-क्षमताले त्यसलाई दबाइदिएको छ । जे छ, हाम्रा लागि त्यही वरदान छ ।

(लक्ष्मण श्रेष्ठसँगको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.