लुती अजिमाः जसलाई जिउँदो सर्प चढाइन्छ

 लुती अजिमाः जसलाई जिउँदो सर्प चढाइन्छ

पर्वैपर्व र जात्रैजात्राले भरिएको काठमाडौं खाल्डोका लागि बाला चतुर्दशी पनि एउटा महत्वपूर्ण पर्वको समय हो । काठमाडौंको माथिल्लो बस्तीतिर बाला चतुर्दशीका दिन एउटा ठूलो खटयात्रा हुने गर्छ जसलाई इन्द्रायणी (लुती अजिमा) को जात्रा भनिन्छ ।

माथिल्लो भेगका काठमाडौंवासीका लागि यो दसैंजत्तिकै महत्वपूर्ण र उल्लासमय जात्रा हो । यही जात्राको समयमा इन्द्रायणी (लुती अजिमा) का सामु एउटा अनौठो होम पनि गरिन्छ जसमा सर्पलाई समेत जिउँदै आगोमा झोसेर देवीलाई समर्पण गरिन्छ ।

बाला चतुर्दशीकै बेला मनाइने अर्को एउटा विशेष संस्कृति हो– पशुपतिमा सत्बिज छर्ने । सञ्चारमाध्यमहरूले सत्बिजको विशेष प्रचार गर्छन् र लुती अजिमा ओझेलमा पर्छ । कुनैबेला यस्तो हुन्थ्यो, बालाचःर्‍हे (बाला चतुर्दशी) का दिन काठमाडौंको माथिल्लो भेग (थँहिती–क्षेत्रपाटी क्षेत्र) मा मानिसको व्यापक भीड हुने गथ्र्यो ।

अहिले स्थानीय भेगका मानिस टाढाटाढा बसाइँ सर्दै जानु र काठमाडौंमा रैथाने नै अल्पमतमा पर्दै जानुले यो जात्राको रौनक पनि काठमाडौंको वैभवसँगै हराउँदै गएको छ । तथापि लुती अजिमाको सामु बाला चतुर्दशीको राति आगोमा सर्प झोसेर गरिने उक्त विचित्र यज्ञ हेर्नेहरूको भीड भने अझै कम भएको छैन ।

अचेल लुती अजिमाभन्दा पनि शोभा भगवती चल्तीको नाम हुँदै जान थालेको छ । शोभा भगवतीकै वारी लुती अजिमाको मन्दिर अवस्थित छ । यही मन्दिरसामु बनाइएको यज्ञ मण्डपमा यो होम गर्ने गरिन्छ । यसमा सर्पलाई आहुति गरिने भएकोले यो यज्ञलाई ‘सर्पाहुति' पनि भन्ने गरिन्छ ।

बाला चतुर्दशीको मध्यरातमा यो होम गरिन्छ । होम गर्दा मन्दिरअगाडि ठूलो आगो बालिन्छ । विभिन्न किसिमको पूजा गर्दागर्दै एक जोर फट्याङ्ग्रा, एक जोर माछा, एक जोर परेवा, एक जोर सर्प र राँगाको एउटा टाउको दनदनी बलिरहेको आगोमा हालेर आहुति दिइन्छ ।

यसमा राँगाको टाउको बाहेक बाँकी चारै जीवलाई जीवितै आगोमा हालिन्छ । होम गर्दा एक जोर माछा हातमा लिई एउटालाई आकाशतिर फालिन्छ भने अर्कोलाई आगोमा होमिन्छ । त्यस्तै फट्याङग्रा, परेवा र सर्प पनि एक–एक जोर हातमा लिई एउटालाई आकाशतिर र अर्कोलाई आगोमा हालिन्छ । यसैलाई सर्पाहुति भन्ने गरिएको हो ।

खासगरी पानीमा बस्ने जलचर जीव माछा, जमिनमा बस्ने थलचर जीव फट्यांग्रा, आकाशमा उड्ने नभचर जीव परेवा र जल तथा थल दुवै ठाउँमा बस्ने उभयचर जीवको रूपमा सर्पलाई आगोमा होम्ने गरिन्छ । जीवित सर्पलाई आगोमा झोस्ने बेला दर्शक कराएर कोलाहल मच्चाउने गर्छन् ।

सर्पाहुति आफैंमा एउटा अनौठो कार्य हो । यो कार्य गर्ने विधि र व्यक्तिहरू झन् अनौठा छन् । सर्पाहुति सबैले गर्न मिल्दैन । पुजारी वा पुरोहितले पनि यो कार्य गर्न पाउँदैनन् । सर्पाहुतिको अधिकार स्थानीय ‘थकु जुजु'हरूमा मात्र हुन्छ । ‘थकु जुजु' भनेका मल्ल राजाका वंश हुन् ।

मल्लकालमा काठमाडौंका विभिन्न स्थानहरूमा कर उठाउने, शान्ति सुरक्षा कायम गर्ने आदि प्रयोजनका लागि स्थानीय प्रशासकहरू नियुक्त गरिएका हुन्थे । तिनै प्रशासकहरूलाई ‘थकु जुजु' भनिन्थ्यो । तिनीहरू जुजु (राजा) नै त होइनन्, तर राजाका प्रतिनिधि भएकाले तिनलाई पनि सर्वसाधारणले राजा (जुजु) भनी सम्बोधन गर्थे ।

शाहवंशको उदयपछि देशबाट मल्ल राजा विस्थापित भए । मल्ल वंश नास भए पनि त्यस्ता स्थानीय ‘थकु जुजु'हरूको अवशेष भने अद्यापि अस्तित्वमा छ । तीमध्ये काठमाडौंको माथिल्लो क्षेत्रमा अस्तित्ववान् रहेका थकु जुजुका पुस्ताले यो सर्पाहुति गर्दै आइरहेको छ ।

लुती अजिमा सामु गरिने यो सर्पाहुति कार्यमा एउटा अर्को अनौठो चलन पछि छ । त्यो के भने, यसमा आहुति गरिने सर्प, माछा, परेवा र फट्याङ्ग्रा चारै जीवहरू अरू ठाउँबाट ल्याउन पाइँदैन । ती सबै जीव त्यही लुती अजिमा मन्दिर र त्यसको खोला छेउछाउबाटै टिपेर ल्याउनुपर्छ । त्यो पनि होम गर्ने केही समयअघि मात्रै टिप्नुपर्र्छ ।

मन्दिरअगाडि ठूलो आगो बालिन्छ । पूजा गर्दागर्दै एक जोर फट्याङ्ग्रा, एक जोर माछा, एक जोर परेवा, एक जोर सर्प र राँगाको एउटा टाउको दनदनी बलिरहेको आगोमा हालेर आहुति दिइन्छ । राँगाको टाउकोबाहेक बाँकी चारै जीवलाई आगोमा जीवितै होमिन्छ ।

राति होमको लागि अघिल्लो दिन मात्रै चारै जीव टिपेर ठिक्क पार्नुपर्छ । अहिले नजिकैका खोलाहरू सुकेर गएकाले सर्प पाउन मुस्किल भएको बताइन्छ । त्यसैले अहिले होममा सर्प झोस्न गाह्रो हुँदै गइरहेको अनुभव जात्रालुहरूको छ । भंगेराचाहिँ स्थानीय चोकहरूमा गई घरको प्वाल–प्वालमा बसिरहेको अवस्थामै टिपेर ल्याइन्छ ।

यसरी सर्पलगायत चारै जीव आगोमा झोसेर होम गर्ने अर्को चलन काठमाडौंकै साँखुमा पनि छ । साँखुको साधुश्मसान (लप्सीफेदी) मा यो यज्ञ गरिन्छ । तर, यो होम बाला चःर्‍हेको राति नभई शिलाचःर्‍हे अर्थात शिवरात्रिको राति गरिन्छ ।

त्यहाँ पनि होमका लागि आवश्यक सर्प अरू ठाउँबाट ल्याउन मिल्दैन । स्थानीय शालीनदीबाटै ल्याउनुपर्छ भनिन्छ । अघिल्लो दिन गएर शालीनदीको कुनै ढुंगालाई पूजा गर्‍यो भने त्यसको भोलिपल्ट सर्प आफैं उक्त ढुंगाको कापमा आएर बसिरहन्छ भन्ने विश्वास गरिन्छ ।

बाला चतुर्दशीको बेला इन्द्रायणीको पूरै एरियामा ओखरलाई गुच्चाझैं फालेर ह्वाग्रा खेल खेल्ने चलन थियो । खासगरी तिहारमा म्हपूजा, किजापूजा गर्दा प्रयोग गरिने कडा ओखरलाई नै गुच्चाको सट्टा प्रयोग गरी ह्वाग्रा खेलिन्थ्यो । इन्द्रायणीको कुनाकुनामा यस्ता ह्वाग्राको खाल जमिरहेको हुन्थ्यो । अहिले त्यो खाल र खेल दुवै हराइसकेको छ ।

सर्पाहुति गरिएको भोलिपल्ट लुती अजिमालाई खटमा राखेर नगर परिक्रमा गराइन्छ । काठमाडौं नगरको माथिल्लो भेगमा चलाइने यो नै सबैभन्दा ठूलो खट जात्रा हो । पाहाँचःर्‍हे अर्थात् घोडेजात्राको बेला काठमाडौंको तल्लो भेगतिरका विभिन्न अजिमाको खटजात्रा चलाइन्छ भने बालाचःर्‍हे अर्थात् बाला चतुर्दशीका दिन माथिल्लो भेगतिर जात्रा चलाइन्छ ।

यो खट जात्रा हुँदा स्थानीय थँहिति टोलका मानन्धर समुदायले अजिमाको प्रसादस्वरूप ‘मरःजा' ख्वाउने चलन छ । मरःजा भनेको तान्त्रिक विधिले पूजा गरी पकाएको एक खाले भात हो । भातसँगै विभिन्न दाल र तरकारी पनि दिइन्छ । यो भात खाएपछि कुनै पनि प्रकारको रोगव्याधीले छुन सक्दैन भन्ने लोक विश्वास छ ।

तर, थँहिटी टोलका मानन्धर समुदायले खुवाउने यो ‘मरःजा' को पनि अलग्गै विशेषता छ । त्यो के भने ‘मरःजा' खुवाउँदा त्यसमा एक–एक टुक्रा सुँगुरको मासु पनि राख्ने गरिन्छ । अरु बेला मानन्धर समुदायले सुँगुरलाई छुनु पनि हुँदैन । छोएमा नुहाएर चोख्याउनुपर्छ । तर, लुती अजिमाको जात्रामा मरःजा खुवाउँदा भने सुँगुरकै मासु राख्नुपर्छ । त्यसैले थँहिटीका मानन्धर समुदायलाई ‘सुँगुरको मासु खाने जात' भनेर पनि जिस्क्याउने गरिन्छ ।

लुती अजिमाको कथा

अजिमाहरू कुनै बेलाका हामीजस्तै मानिस हुन् भनिन्थ्यो । त्यसैले तिनीहरूसँग सम्बन्धित ‘मिथ' पनि मानवीय गाथाभन्दा इतर छैन । त्यसमाथि लुती अजिमाको कथाले उतिबेला मात्रै होइन अहिलेको हाम्रो ढोंगी समाजलाई समेत व्यंग्य कसेको पाइन्छ जो यस्तो छः

काठमाडौंमा धेरै अजिमा छन् । तिनीहरू सबै दिदीबहिनी हुन् । तिनका आमा हुन् पशुपति क्षेत्रमा अवस्थित बत्सलादेवी । एकदिन आमा बत्सलादेवीले सबै छोरीलाई घरमा भोज खान बोलाएकी थिइन् । दिदीबहिनीहरूमध्ये लुती अजिमा सबैभन्दा गरिब थिइन् र उनका सन्तान पनि धेरै थिए । सबै छोराछोरी बोकेर उनी माइती गइन् । तर, त्यहाँ पुग्दा भोजन सकिसकेको रहेछ । दिदीबहिनीहरूले सबै भोज खाएछन् । एकैछिन पनि लुती अजिमालाई कुरेनन् ।

लुती अजिमा पछि आइन् भनेर अर्को भोजको आयोजना पनि गरिएन । यसकारण लुती अजिमालाई ठूला चोट लाग्यो । उनी छोराछोरी लिएर भोकै घर फर्किन् । फर्कंदै गर्दा काठमाडौंको फसिकेब टोल (हाल रञ्जना हल पछाडि) पुगेपछि थकित छोराछोरीहरू भोग लाग्यो भन्दै रुन÷कराउन थाले ।

लुती अजिमाले छोराछोरीलाई फर्सीकै तरकारी भए पनि ख्वाउनुपर्‍यो भनी केही फर्सी टिपेर घर फर्किन् । घर पुगेर फर्सी काट्न लाग्दा त्यसभित्र सुनैसुन फेला पर्‍यो । फर्सीभित्र सुन भेटेर लुती अजिमा र उनका छोराछोरी चकित परे । त्यसपछि लुती अजिमाको भाग्यले कोल्टे फेर्‍यो । सबै दिदीबहिनीहरूभन्दा उनी सम्पन्न बनिन् ।

अर्को साल फेरि माइतीमा भोजको आयोजना गरियो । लुती अजिमा शरीरभरि सुनको गहना लगाएर माइती गइन् । त्यसबेला उनलाई अत्यन्त सम्मान गरियो । दिदीबहिनीहरू उनको गुनगान गाउन थाले । उनैका लागि मीठामीठा परिकार तयार गरिए ।

तर, लुती अजिमाले आफूलाई दिइएको खाना खाइनन्, उनले त गहनाहरूलाई ‘ल खा, ल खा, राम्ररी खा' भन्दै खाना ख्वाउन थालिन् । दिदीबहिनीहरूले ‘यो के गरेको ? ' भनी सोध्दा उनले जवाफ दिइन्, ‘तिमीहरूले आज यहाँ जे सम्मान मलाई दियौ, त्यो मलाई होइन मैले पहिरिएका गहनाहरूलाई देखाएका हौ ।

त्यसैले तिमीहरूले बनाएको खाना पनि यही गहनाहरूलाई ख्वाउन लागेकी ।' लुती अजिमाको व्यंग्यले दिदीबहिनीहरूको शिर लज्जाले झुके । त्यसपछि उनी ‘लुँती' अर्थात् ‘सुनको गहना लगाउने' देवीको नामले प्रख्यात भइन् । नेपालभाषामा सुनलाई ‘लुँ' भनिन्छ । त्यही ‘लुँती' पछि लुती हुन गयो । लुती अजिमा रहेको यस ठाउँलाई अहिले लुती भन्ने गरिन्छ ।

लुती अजिमा रहेको यो ठाउँ र नेपाल संवत्का प्रणेता शंखधर साख्वाःको कथाबीच केही सम्बन्ध देखिन्छ । शंखधर साख्वाःको कथामा पनि एकै रातमा बालुवा सुनमा परिणत भएको प्रसंग पाइन्छ । भक्तपुरका सिद्धवन्त नामक एक ज्योतिषले सुवर्णयोग पत्ता लगाई काठमाडौंको विष्णुमती नदीबाट बालुवा लिएर आउनु भनी दुईजना भरियालाई पठाएका रहेछन् ।

भक्तपुरदेखि रातको समयमा काठमाडौंको नदीमा किन बालुवा लिन आए भनी शंखधर साख्वाःले भरियाप्रति शंका गरे । साख्वाःले त्यो बालुवा आफ्नो घरमा राखी भरियालाई अर्को बालुवा लिन पठाए । साख्वाः भोलिपल्ट उठेर हेर्दा उनले आफ्नो घरमा राखिएको त्यो बालुवा सुनमा परिणत भएको देखे । साख्वाःले त्यही सुन बेचेर ऋणमा डुबेका सर्वसाधारणलाई ऋण मुक्त गरेका थिए भन्ने कथा छ ।

नदीको बालुवा एकै रातमा सुन बन्न पुगेको कथा हावादारी लाग्छ । तर, कथामा जुन ठाउँबाट वालुवा ल्याइएको भनी वर्णन गरिएको छ, त्यो ठाउँ लुती अजिमाको मन्दिरबाट केही सय फिटमात्रै तलतिरको खोला हो । त्यसैले के भनिन्छ भने, माथि सुनसँग सम्बन्धित देवीको मन्दिर हुनु र तल सुनैसुनको बालुवा भेटिनुमा केही कनेक्सन पक्कै छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.