लुती अजिमाः जसलाई जिउँदो सर्प चढाइन्छ
पर्वैपर्व र जात्रैजात्राले भरिएको काठमाडौं खाल्डोका लागि बाला चतुर्दशी पनि एउटा महत्वपूर्ण पर्वको समय हो । काठमाडौंको माथिल्लो बस्तीतिर बाला चतुर्दशीका दिन एउटा ठूलो खटयात्रा हुने गर्छ जसलाई इन्द्रायणी (लुती अजिमा) को जात्रा भनिन्छ ।
माथिल्लो भेगका काठमाडौंवासीका लागि यो दसैंजत्तिकै महत्वपूर्ण र उल्लासमय जात्रा हो । यही जात्राको समयमा इन्द्रायणी (लुती अजिमा) का सामु एउटा अनौठो होम पनि गरिन्छ जसमा सर्पलाई समेत जिउँदै आगोमा झोसेर देवीलाई समर्पण गरिन्छ ।
बाला चतुर्दशीकै बेला मनाइने अर्को एउटा विशेष संस्कृति हो– पशुपतिमा सत्बिज छर्ने । सञ्चारमाध्यमहरूले सत्बिजको विशेष प्रचार गर्छन् र लुती अजिमा ओझेलमा पर्छ । कुनैबेला यस्तो हुन्थ्यो, बालाचःर्हे (बाला चतुर्दशी) का दिन काठमाडौंको माथिल्लो भेग (थँहिती–क्षेत्रपाटी क्षेत्र) मा मानिसको व्यापक भीड हुने गथ्र्यो ।
अहिले स्थानीय भेगका मानिस टाढाटाढा बसाइँ सर्दै जानु र काठमाडौंमा रैथाने नै अल्पमतमा पर्दै जानुले यो जात्राको रौनक पनि काठमाडौंको वैभवसँगै हराउँदै गएको छ । तथापि लुती अजिमाको सामु बाला चतुर्दशीको राति आगोमा सर्प झोसेर गरिने उक्त विचित्र यज्ञ हेर्नेहरूको भीड भने अझै कम भएको छैन ।
अचेल लुती अजिमाभन्दा पनि शोभा भगवती चल्तीको नाम हुँदै जान थालेको छ । शोभा भगवतीकै वारी लुती अजिमाको मन्दिर अवस्थित छ । यही मन्दिरसामु बनाइएको यज्ञ मण्डपमा यो होम गर्ने गरिन्छ । यसमा सर्पलाई आहुति गरिने भएकोले यो यज्ञलाई ‘सर्पाहुति' पनि भन्ने गरिन्छ ।
बाला चतुर्दशीको मध्यरातमा यो होम गरिन्छ । होम गर्दा मन्दिरअगाडि ठूलो आगो बालिन्छ । विभिन्न किसिमको पूजा गर्दागर्दै एक जोर फट्याङ्ग्रा, एक जोर माछा, एक जोर परेवा, एक जोर सर्प र राँगाको एउटा टाउको दनदनी बलिरहेको आगोमा हालेर आहुति दिइन्छ ।
यसमा राँगाको टाउको बाहेक बाँकी चारै जीवलाई जीवितै आगोमा हालिन्छ । होम गर्दा एक जोर माछा हातमा लिई एउटालाई आकाशतिर फालिन्छ भने अर्कोलाई आगोमा होमिन्छ । त्यस्तै फट्याङग्रा, परेवा र सर्प पनि एक–एक जोर हातमा लिई एउटालाई आकाशतिर र अर्कोलाई आगोमा हालिन्छ । यसैलाई सर्पाहुति भन्ने गरिएको हो ।
खासगरी पानीमा बस्ने जलचर जीव माछा, जमिनमा बस्ने थलचर जीव फट्यांग्रा, आकाशमा उड्ने नभचर जीव परेवा र जल तथा थल दुवै ठाउँमा बस्ने उभयचर जीवको रूपमा सर्पलाई आगोमा होम्ने गरिन्छ । जीवित सर्पलाई आगोमा झोस्ने बेला दर्शक कराएर कोलाहल मच्चाउने गर्छन् ।
सर्पाहुति आफैंमा एउटा अनौठो कार्य हो । यो कार्य गर्ने विधि र व्यक्तिहरू झन् अनौठा छन् । सर्पाहुति सबैले गर्न मिल्दैन । पुजारी वा पुरोहितले पनि यो कार्य गर्न पाउँदैनन् । सर्पाहुतिको अधिकार स्थानीय ‘थकु जुजु'हरूमा मात्र हुन्छ । ‘थकु जुजु' भनेका मल्ल राजाका वंश हुन् ।
मल्लकालमा काठमाडौंका विभिन्न स्थानहरूमा कर उठाउने, शान्ति सुरक्षा कायम गर्ने आदि प्रयोजनका लागि स्थानीय प्रशासकहरू नियुक्त गरिएका हुन्थे । तिनै प्रशासकहरूलाई ‘थकु जुजु' भनिन्थ्यो । तिनीहरू जुजु (राजा) नै त होइनन्, तर राजाका प्रतिनिधि भएकाले तिनलाई पनि सर्वसाधारणले राजा (जुजु) भनी सम्बोधन गर्थे ।
शाहवंशको उदयपछि देशबाट मल्ल राजा विस्थापित भए । मल्ल वंश नास भए पनि त्यस्ता स्थानीय ‘थकु जुजु'हरूको अवशेष भने अद्यापि अस्तित्वमा छ । तीमध्ये काठमाडौंको माथिल्लो क्षेत्रमा अस्तित्ववान् रहेका थकु जुजुका पुस्ताले यो सर्पाहुति गर्दै आइरहेको छ ।
लुती अजिमा सामु गरिने यो सर्पाहुति कार्यमा एउटा अर्को अनौठो चलन पछि छ । त्यो के भने, यसमा आहुति गरिने सर्प, माछा, परेवा र फट्याङ्ग्रा चारै जीवहरू अरू ठाउँबाट ल्याउन पाइँदैन । ती सबै जीव त्यही लुती अजिमा मन्दिर र त्यसको खोला छेउछाउबाटै टिपेर ल्याउनुपर्छ । त्यो पनि होम गर्ने केही समयअघि मात्रै टिप्नुपर्र्छ ।
मन्दिरअगाडि ठूलो आगो बालिन्छ । पूजा गर्दागर्दै एक जोर फट्याङ्ग्रा, एक जोर माछा, एक जोर परेवा, एक जोर सर्प र राँगाको एउटा टाउको दनदनी बलिरहेको आगोमा हालेर आहुति दिइन्छ । राँगाको टाउकोबाहेक बाँकी चारै जीवलाई आगोमा जीवितै होमिन्छ ।
राति होमको लागि अघिल्लो दिन मात्रै चारै जीव टिपेर ठिक्क पार्नुपर्छ । अहिले नजिकैका खोलाहरू सुकेर गएकाले सर्प पाउन मुस्किल भएको बताइन्छ । त्यसैले अहिले होममा सर्प झोस्न गाह्रो हुँदै गइरहेको अनुभव जात्रालुहरूको छ । भंगेराचाहिँ स्थानीय चोकहरूमा गई घरको प्वाल–प्वालमा बसिरहेको अवस्थामै टिपेर ल्याइन्छ ।
यसरी सर्पलगायत चारै जीव आगोमा झोसेर होम गर्ने अर्को चलन काठमाडौंकै साँखुमा पनि छ । साँखुको साधुश्मसान (लप्सीफेदी) मा यो यज्ञ गरिन्छ । तर, यो होम बाला चःर्हेको राति नभई शिलाचःर्हे अर्थात शिवरात्रिको राति गरिन्छ ।
त्यहाँ पनि होमका लागि आवश्यक सर्प अरू ठाउँबाट ल्याउन मिल्दैन । स्थानीय शालीनदीबाटै ल्याउनुपर्छ भनिन्छ । अघिल्लो दिन गएर शालीनदीको कुनै ढुंगालाई पूजा गर्यो भने त्यसको भोलिपल्ट सर्प आफैं उक्त ढुंगाको कापमा आएर बसिरहन्छ भन्ने विश्वास गरिन्छ ।
बाला चतुर्दशीको बेला इन्द्रायणीको पूरै एरियामा ओखरलाई गुच्चाझैं फालेर ह्वाग्रा खेल खेल्ने चलन थियो । खासगरी तिहारमा म्हपूजा, किजापूजा गर्दा प्रयोग गरिने कडा ओखरलाई नै गुच्चाको सट्टा प्रयोग गरी ह्वाग्रा खेलिन्थ्यो । इन्द्रायणीको कुनाकुनामा यस्ता ह्वाग्राको खाल जमिरहेको हुन्थ्यो । अहिले त्यो खाल र खेल दुवै हराइसकेको छ ।
सर्पाहुति गरिएको भोलिपल्ट लुती अजिमालाई खटमा राखेर नगर परिक्रमा गराइन्छ । काठमाडौं नगरको माथिल्लो भेगमा चलाइने यो नै सबैभन्दा ठूलो खट जात्रा हो । पाहाँचःर्हे अर्थात् घोडेजात्राको बेला काठमाडौंको तल्लो भेगतिरका विभिन्न अजिमाको खटजात्रा चलाइन्छ भने बालाचःर्हे अर्थात् बाला चतुर्दशीका दिन माथिल्लो भेगतिर जात्रा चलाइन्छ ।
यो खट जात्रा हुँदा स्थानीय थँहिति टोलका मानन्धर समुदायले अजिमाको प्रसादस्वरूप ‘मरःजा' ख्वाउने चलन छ । मरःजा भनेको तान्त्रिक विधिले पूजा गरी पकाएको एक खाले भात हो । भातसँगै विभिन्न दाल र तरकारी पनि दिइन्छ । यो भात खाएपछि कुनै पनि प्रकारको रोगव्याधीले छुन सक्दैन भन्ने लोक विश्वास छ ।
तर, थँहिटी टोलका मानन्धर समुदायले खुवाउने यो ‘मरःजा' को पनि अलग्गै विशेषता छ । त्यो के भने ‘मरःजा' खुवाउँदा त्यसमा एक–एक टुक्रा सुँगुरको मासु पनि राख्ने गरिन्छ । अरु बेला मानन्धर समुदायले सुँगुरलाई छुनु पनि हुँदैन । छोएमा नुहाएर चोख्याउनुपर्छ । तर, लुती अजिमाको जात्रामा मरःजा खुवाउँदा भने सुँगुरकै मासु राख्नुपर्छ । त्यसैले थँहिटीका मानन्धर समुदायलाई ‘सुँगुरको मासु खाने जात' भनेर पनि जिस्क्याउने गरिन्छ ।
लुती अजिमाको कथा
अजिमाहरू कुनै बेलाका हामीजस्तै मानिस हुन् भनिन्थ्यो । त्यसैले तिनीहरूसँग सम्बन्धित ‘मिथ' पनि मानवीय गाथाभन्दा इतर छैन । त्यसमाथि लुती अजिमाको कथाले उतिबेला मात्रै होइन अहिलेको हाम्रो ढोंगी समाजलाई समेत व्यंग्य कसेको पाइन्छ जो यस्तो छः
काठमाडौंमा धेरै अजिमा छन् । तिनीहरू सबै दिदीबहिनी हुन् । तिनका आमा हुन् पशुपति क्षेत्रमा अवस्थित बत्सलादेवी । एकदिन आमा बत्सलादेवीले सबै छोरीलाई घरमा भोज खान बोलाएकी थिइन् । दिदीबहिनीहरूमध्ये लुती अजिमा सबैभन्दा गरिब थिइन् र उनका सन्तान पनि धेरै थिए । सबै छोराछोरी बोकेर उनी माइती गइन् । तर, त्यहाँ पुग्दा भोजन सकिसकेको रहेछ । दिदीबहिनीहरूले सबै भोज खाएछन् । एकैछिन पनि लुती अजिमालाई कुरेनन् ।
लुती अजिमा पछि आइन् भनेर अर्को भोजको आयोजना पनि गरिएन । यसकारण लुती अजिमालाई ठूला चोट लाग्यो । उनी छोराछोरी लिएर भोकै घर फर्किन् । फर्कंदै गर्दा काठमाडौंको फसिकेब टोल (हाल रञ्जना हल पछाडि) पुगेपछि थकित छोराछोरीहरू भोग लाग्यो भन्दै रुन÷कराउन थाले ।
लुती अजिमाले छोराछोरीलाई फर्सीकै तरकारी भए पनि ख्वाउनुपर्यो भनी केही फर्सी टिपेर घर फर्किन् । घर पुगेर फर्सी काट्न लाग्दा त्यसभित्र सुनैसुन फेला पर्यो । फर्सीभित्र सुन भेटेर लुती अजिमा र उनका छोराछोरी चकित परे । त्यसपछि लुती अजिमाको भाग्यले कोल्टे फेर्यो । सबै दिदीबहिनीहरूभन्दा उनी सम्पन्न बनिन् ।
अर्को साल फेरि माइतीमा भोजको आयोजना गरियो । लुती अजिमा शरीरभरि सुनको गहना लगाएर माइती गइन् । त्यसबेला उनलाई अत्यन्त सम्मान गरियो । दिदीबहिनीहरू उनको गुनगान गाउन थाले । उनैका लागि मीठामीठा परिकार तयार गरिए ।
तर, लुती अजिमाले आफूलाई दिइएको खाना खाइनन्, उनले त गहनाहरूलाई ‘ल खा, ल खा, राम्ररी खा' भन्दै खाना ख्वाउन थालिन् । दिदीबहिनीहरूले ‘यो के गरेको ? ' भनी सोध्दा उनले जवाफ दिइन्, ‘तिमीहरूले आज यहाँ जे सम्मान मलाई दियौ, त्यो मलाई होइन मैले पहिरिएका गहनाहरूलाई देखाएका हौ ।
त्यसैले तिमीहरूले बनाएको खाना पनि यही गहनाहरूलाई ख्वाउन लागेकी ।' लुती अजिमाको व्यंग्यले दिदीबहिनीहरूको शिर लज्जाले झुके । त्यसपछि उनी ‘लुँती' अर्थात् ‘सुनको गहना लगाउने' देवीको नामले प्रख्यात भइन् । नेपालभाषामा सुनलाई ‘लुँ' भनिन्छ । त्यही ‘लुँती' पछि लुती हुन गयो । लुती अजिमा रहेको यस ठाउँलाई अहिले लुती भन्ने गरिन्छ ।
लुती अजिमा रहेको यो ठाउँ र नेपाल संवत्का प्रणेता शंखधर साख्वाःको कथाबीच केही सम्बन्ध देखिन्छ । शंखधर साख्वाःको कथामा पनि एकै रातमा बालुवा सुनमा परिणत भएको प्रसंग पाइन्छ । भक्तपुरका सिद्धवन्त नामक एक ज्योतिषले सुवर्णयोग पत्ता लगाई काठमाडौंको विष्णुमती नदीबाट बालुवा लिएर आउनु भनी दुईजना भरियालाई पठाएका रहेछन् ।
भक्तपुरदेखि रातको समयमा काठमाडौंको नदीमा किन बालुवा लिन आए भनी शंखधर साख्वाःले भरियाप्रति शंका गरे । साख्वाःले त्यो बालुवा आफ्नो घरमा राखी भरियालाई अर्को बालुवा लिन पठाए । साख्वाः भोलिपल्ट उठेर हेर्दा उनले आफ्नो घरमा राखिएको त्यो बालुवा सुनमा परिणत भएको देखे । साख्वाःले त्यही सुन बेचेर ऋणमा डुबेका सर्वसाधारणलाई ऋण मुक्त गरेका थिए भन्ने कथा छ ।
नदीको बालुवा एकै रातमा सुन बन्न पुगेको कथा हावादारी लाग्छ । तर, कथामा जुन ठाउँबाट वालुवा ल्याइएको भनी वर्णन गरिएको छ, त्यो ठाउँ लुती अजिमाको मन्दिरबाट केही सय फिटमात्रै तलतिरको खोला हो । त्यसैले के भनिन्छ भने, माथि सुनसँग सम्बन्धित देवीको मन्दिर हुनु र तल सुनैसुनको बालुवा भेटिनुमा केही कनेक्सन पक्कै छ ।
प्रतिक्रिया दिनुहोस !