मुर्माटपमा राराको सितारा
खुट्टा हैन आँखा हिँडे त्यो दिन !
एकदमै चिसो बिहानी । उज्यालोले राम्रोसँग माझघट्टमा ओर्लिनसके पनि एउटा ठूलै हूलमा मिसिन पुगेँ म । हो, ठूलै जत्था । त्यै हूलको पुछारमा छु म । कल्याङमल्याङ जोडिने र चुँडिने भइरहेको छ निरन्तर ।
अघिल्लो दिनै भनिएको थियो, 'भोलि मंसिर १० गते, मुर्माटप लागिँदैछ । ६ बजे नआइपुग्ने छुट्ला । कसैलाई पर्खिने काम हुँदैन !'
त्यै भएर ४ बजे बिउँझेपछि मैले फेरि आँखा चिम्लिनँ । अनि ठूलै भीडमा मिसिएका थियौं हामी ।
मुर्माटपबाट देखिने रारा ताल हेर्ने मेरो रहर । रारालाई अनेक कोणबाट पढ्ने हुटहुटी । रारालाई नियाल्ने आँखा र सपनाको होडबाजी ।
पश्चिम-दक्षिण भएर तर्पायाँ बाटोतिर लाग्यो लर्कन । पानी नपरेर उराठिएका पाखाहरू । भीर सम्मिएका गरा छन् तलैसम्म । एकदुई पाते जौं उम्रिएका सुख्यान गराका चक्लाहरू । धुलोले कक्रिएका रूखका बुट्यान । चिसोले आलसतालस परेका छन् मेरा हात । म खल्तीबाट झट्कार्छु अनि फेरि कोचकाच पार्छु खल्तीमै ।
झन्डै पाँच दिन बसिसकेको छु यो रारा किनारमा । मेरा छेउमा हिँडेका छन् रत्नसिंह रोकाया । तिनको बोली र व्यवहारले मनग्गे भरथेग दिएको छ । देब्रे-दाहिने भएर मसँग लुइँलुइँ लम्केका छन् रोकाया ।
अरिमठ्ठे पहाडमात्र छन् चारै दिशामा । भीरको कहर सुनेर तुरुक्कै आँसु खसालिरहेका मौन पहाडहरू ।
ताल देखिएको छैन । तालमाथि झुल्किए झल्ल बलेका चोखा हिमालहरू । पूर्वी-उत्तर कुनामा टुप्लुकिन्छन् सिस्ने हिमाल र कान्जिरोवा हिमाल । कुइराको पातलो पछ्यौरी छ चारैतिर । पहाडको अग्लाइलाई जितेर ठडिएका हिमालको सुन्दरता छ अलौकिक र भव्य !
बाटाभरि रातासेता धजा फर्फराइरहेका छन् । पानी-मूलका देउता पनि भेटिए । निहुरिए सबै । मैले नि मनै निहुर्याएँ ।
खाम गैतो पुग्दा दिन उज्यालियो । निकै हिँडेकैले होला- जीउ तातियो । गले पनि थाकेँ भन्नुभएकै छैन । सुस्ताएर पाइला चाल्छु ।
'यो आठ-नौ सय वर्ष पुरानो खम्बा हो !' ढुंगे खम्बा देखाएर खाम गैतोमा बोलिरहेका छन् रोकाया ।
बाटोमा देउडा जम्ला-जम्ला भइरहेको छ । तर, बाटो देखेर अत्तालिएकाहरूले हूललाई हुर्दुराएर अघि बढाइरहेकै छन् । बाउँडिएर गएको बाटोलाई झपक्कै ढाकेको छ बथानले । म त आफ्नै सुरमा छु ।
झन्डै एक घन्टापछि सेपिलो गोरेटोबाट देखियो मुर्मा गाउँ । एकै पाराका टाँडे घरको लस्कर । भित्तैमा बसेको रमाइलो र झुरुप्प मुर्मा गाउँ ।
महादेव माडुबाट देखिएथ्यो- मुर्मा गाउँ । यहीँबाट दक्षिणतिरका अग्ला न अग्ला चुलीहरू देखापरे । तलबाट गराका चाङ उक्लिएर माथि आएका देखिन्थे । जौ, गहुँ, सिमी र फापर फलाउन तयार लाग्थे गराहरू । पानी नभएर कर्णालीको अभावमा भोक थप्दैथे- यी गराले ।
घुमेर गएको गोरेटोमा थामिन मन मानेन । जति सक्तो चाँडो मुर्मा गाउँ पुगौं भयो । हो, खुट्टाभन्दा आँखै चाँड-चाँडो कुदे ।
मुर्मा गाउँ पुग्दा अघिल्लै दिन छुटेका रोमनाथ र दीपक बूढा भेटिए । मलाई नि अँध्यारो न अँध्यारो कोठामा लगे देवीकृष्ण रोकायाले । उनको घरमा ती खरायोको मासु, रोटा, मह, उसिनेका आलु र सिमीको झोल खाइरहेथे । उकुसमुकुसिँदो अगेनाको रापमा रन्केर मस्तले भोजन गरिरहेका बूढा र ज्ञवालीसँग नारिएँ मै नि ।
एक कचौरा सिमी, एउटा रोटी र चोथीको तरकारी मात्र खाएँ ।
'बड्डा, क्यान यत्ति थोरै । लाज मान्याको ? ' देवीकृष्णका बाले मेरो निकै केरकार गरे ।
सँगै आएको हूल उकालिइसकेको थियो । चाँड-चाँडो खाएर बाहिरका घर, टहरा, आँगन, बार्दली र मानिसका अनुहार पढ्नै हतारिएँ म । मेरो भोक त त्यो पो !
मुर्मा गाउँमा सत्तरी घर धुरी रहेछन् । अनौठा पाराका घर छन् यहाँ । सुक्खा घाँस घरका टाँडमा कोच्चिएका देखिन्छन् । खुल्ला मटान हरेक घरमा छन् । तलदेखि माथिल्लो तलासम्म एउटै सिंगो रूख खोपेर भर्याङ बनेका छन् । सिँढीलाई थारो भन्दा रहेछन् । हरेक घरमा छानातिर मौरीका घार थिए ।
एकै र उस्तै ढंगका घर भएको मुर्मा गाउँको जनसंख्या तीन सय एकासी रहेको सूचना अघि बाटैको पाटीमा पढेथेँ मैले । लौ, अरू पनि पढौं न त । एक सय चौरानब्बे महिला, एक सय सतासी पुरुष । पैंसट्ठी घर रोकाया क्षेत्री, दुई घर दलित । सूचनाले बोलेको छ गाउँको सिरीखुरी ।
हरेक घर अगिल्तिर घोडा हिनहिनाइरहेका । आँगन सल्लीपीरका चाङले भरिभराउ छ । घाँस नि यै, सोत्तर नि यै ।
अब भने साँच्चिकैको यात्रा सुरु भयो ।
पाखो नाघेर पोथ्रो घारीमा पस्दा साथी भए- धनसिंह रोकाया । उनी अलिक बुज्रुक लागिरहेका छन् । पूर्वबाट उत्तरतिर बटारिएर फैलेको थेप्चे डाँडो सुन्दर देखिन्छ । त्यै राजाकोट तरेली देखाएर धनसिंहले मुर्मा गाउँको इतिहास कहे मलाई ।
'उहिल्यै राजाकोटमा बस्ने राजाले यो हाम्रो बस्तीमा च्याखुरा मार्न आउँदा रै'छन् । राजाहरूले यसलाई फूलबारी बनाएका रहेछन् । हाम्रा पुर्खा सिकार खेल्दै जुम्लाबाट यता आएका रहेछन् । यो पाखोमा यसो जौ छरेको त उम्रिएछ । अनि सबै यतै बस्न थालेका रैछन् !'
जुम्लाको उच्छिढुंगो गाउँबाट सरेको बताउने धनसिंहले त्यसपछि राजालाई हराएर मुर्मा गाउँ बसेको बताए ।
ताल छेउमा छाप्रु र रारा गाउँ रहेछन् । मुर्मा अलिक पर रहेको गाउँ अर्को अनकन्टारमा । निकुञ्ज आएपछि अरू हटे पनि यो बस्ती दाल-तरकारी खान दरबारले त्यो बेला राखेको निक्र्योल रहेछ गाउँलेहरूको ।
रत्नसिंह मेरो दायाँबायाँ भएर हिँडेका छन् । अघिदेखि सँगैका धनसिंह धेरै माथि पुगिसकेर कम्मरमा हात लगाई मैतिर हेरिरहेका छन् । उनी परे कर्णालीको पानीले खार्रिएका, म परेँ सहरे पानीले रोगिएको । काँ सक्नु वनको बाघलाई...!
दक्षिणतिर देखिएका अक्करे पहाड र पाटन अनगिन्ती देखिन्छन् । पश्चिमतिरका खोँच र भीरमा सेताम्मे हिउँले गोरेटोलाई सेतो कपासको धागोले रेखा तानेको लाग्छ । ककारो भीरमा थुप्रिएका काला ढुंगाहरूमा टाँसिएका हिउँका चप्परीहरूमा मेरा आँखासम्म आइपुग्छन्- चिसो हुर्याएर ।
पहेँलपुर पाटनमा हिउँदको कडा चिसोले सबै थोक खाइसकेको लाग्छ । हिउँले खाँदा-खाँदा कालै पल्टिएका लेकाली पखेराहरू ।
असार-साउनतिर भेडा लान्छन् रे वरपरकाहरू । घोडा पाल्नेहरू पनि बच्चा हुर्काउन त्यता लगेर भदौको अन्तिमदेखि हिउँ फुसफुसाउन थालेपछि तल-तल झार्दा रै'छन् ।
'तुसँग हपी जाने हई !'
मसँगै लम्किरहेकी रामसीता रावलले भनेको कुरा दिलमाया शाहीले बझाइदिइन् मलाई, 'म तिमीसँगै डाँडातिर जान्छु !'
बिहान खाएको मह, फापरको रोटा, चोथी सिद्धिन-सिद्धिन लाग्दैछ । तिर्खाले पानी खोजेको धेरै भयो । ठाडै उकालो उक्लेर बसेका साथीहरू भेट्न मलाई निकै मुस्किल भो । पारिका पाटनहरू पहेँलै देखिन्छन्- हिउँदको चिसोले खाएर उराठिएका पाटन, चरन र खर्कहरू । लगातार हिँडेर पुगेँ- काँडापाटी । तीनचार बाख्राका खोर थिए ।
मुर्मा गाउँमा सत्तरी घर धुरी रहेछन् । अनौठा पाराका घर छन् यहाँ । सुक्खा घाँस घरका टाँडमा कोच्चिएका देखिन्छन् । खुल्ला मटान हरेक घरमा छन् । तलदेखि माथिल्लो तलासम्म एउटै सिंगो रूख खोपेर भर्याङ बनेका छन् । सिँढीलाई थारो भन्दा रहेछन् । हरेक घरमा छानातिर मौरीका घार थिए ।
'यो कोच्याकाँधको उकालो !' रत्नसिंहले चिनाए ।
बाक्लै जंगल आयो भोजपत्रको । मैले कति रूखका हाँगाका पत्र तानेर खल्तीमै राखेँ । लोभ थाम्न नसकेर । कविता लेख्न मात्र होइन- एक जोर लुगै हाल्न मिल्ने भोजपत्र पो मैले खल्तीमा हालेँछु । लौखा....!
'हामी त ओखरको जुवा, बाँझको हलो र अनौ, भोजपत्रका हरिस बनाउँछौं !' सल्लीपीरले सजिएको उकालो चढ्दै गर्दा रत्नसिंहले भने ।
बाटाभरि अनेक पोथ्रा, फूल र बुट्यानका गन्ध भेटिरहेथेँ । म यी अनौठा वासनामा आलोकित थिएँ, पुलकित थिएँ ।
'यसले तागत दिन्छ !' कुयाँसी फल खुवाए रत्नले । रातो कुयाँसी वनैभरि थिए । हामीसँगै थाक्ने र कुयाँसी खानेहरू अरू नि थिए । कति त चुत्रो खाएर पसिना पुछिरहेका थिए । भीरमा उत्तिसका रूखले गीत गाइरहेथे ।
एक ठाउँमा चिल्लो पात रसाएको देखियो । सबैजना रसाएका तिनै पात चाट्दै रहेछन् । महलो रहेछ त्यो । मौरीका बथान नि महलोमा झुम्मिएका थिए ।
निकै उकालीमा पुगेकोले होला- कान बन्द भए मेरा । बेलाबेलामा सल्लाको हावाले सरर्र खोल्थ्यो कान । उकालो र सल्लीपातको चिप्ल्याइमा खुट्टा गले बेस्सरी ।
बिहान थोपरेका ज्याकेट, गलबन्दी र टोपीले ठाउँ सारिसके आफूलाई । ज्याकेट कम्मरमा पुग्यो । गलबन्दी पट्टिएर खल्तीमा पुग्यो । पञ्जा थन्किए गोजीमा ।
'मिले त जुत्तामोजा बनाएर लाउन पाए हुन्थ्यो यो कानेटोपी !' मेरो हैरानीलाई सुनेर सबै हाँसे ।
हामी निकै माथि पुगिसकेका छौं । हो, उकालोले गर्मी छुटाए नि निरन्तर चलिरहने हावाको फूँइकीले नाक र गालामा राम्रैसँग दर्फराएको छ । बिचरो ओठ... फुटेको छ पटपटी ।
बाटाभरि बुकीका फूल देखिए । चिसो र हावाले हुनसम्म थप्पड खाएका बुकी टिपेर मैले कानमा सिउरेँ ।
'हामी त हिउँदमा बुकी टिपेर मौरीका घार छेउमा राखिदिन्छौं !' एउटा ठूलै फक्रेको बुकी टिपेर मेरा हातमा थमाउँदै बोले रत्नसिंह ।
निकै माथि पुगेपछि घाम र उकालोले राम्रै परीक्षा लिए मलाई । बेलाबेलामा उडाउने गरी चल्ने हावाले खुट्टै अगाडि बढ्न दिँदैनथे । किसिम-किसिमका छन् धुपीका बुट्यानहरू । बास्ना भने आएको आएकै छ । छातीमा धुपीको बास्ना तहतह बसेको हुनुपर्छ ।
जुम्लाका झुरुप्प-झुरुप्प बस्तीहरू पश्चिमी र दक्षिणी पहाडमुनि झल्याकझुलुक देखा पर्छन् । टार, पाटन र भिराला पखेरामा ठोकिएको घामले हाम्रा आङमा आशाको न्यानो छरेर जान्छ ।
पुड्का देख्छु रूखहरू । 'यै तालले हो भने माट्टिन्छन् होला !' लेकाली चिसोले खाएका बुट्यान हेर्दै कल्पन्छु म । घँगारु र भुइँचुत्रोका पात सुँघेर खुट्टामा शक्ति भर्छु । बाटो पनि उकालिन्छ, तेर्सिन्छ र घुमाउरिन्छ ।
उत्तर-दक्षिण, दक्षिण-उत्तर यस्तै तरेली बाटाहरूसँग जुध्दै छु म । हामीलाई छोडेर जाने हूलले आफ्नो छायाँसम्म देखाएको छैन । के साह्रो निठुरी !
तीन घन्टा हिँडिसकेपछि उत्तरतिर पारिलो पाखा देखियो । पाखा र डाँडाको चेपबाट अनन्त हिउँचुलीहरू देखा परे । पखेराका सिलिङबिलिङ रूखहरू सास फेर्नै गाह्रो मानिरहेका थिए ।
'हुम्ला जाने बाटो यै हो !' रिमरिमे गोरेटो परको भित्तोतिर औंल्याए रत्नसिंहले ।
मेरा ओठमा अचम्म, अनौठा, अवाक् र अत्यासका हजार शब्द एकसाथ उभिएर भने- 'ए, हो र !'
डरलाग्दो छ बाटो । खपटे चट्टानको भीरैभीर छ । ढुंगेनी उबडखाबडले टेकिएका खुट्टा थामिने देखिन्न । बाँदर चिप्लिने ककारो छ । तल गहिरिएर बगेको छ- मुगु कर्णाली । छाँगाछुर भिरालोमा सिरुसमेत मरितरी उम्रिएको देखिन्छ ।
तल फेदैदेखि माछाका ढाडजस्ता चिप्ला, कालै पल्टिएका ढुंगाको तहतह थपिएको छ । भीरमा गुड्दै आएका चट्टानले बिसाउनलाई सास फेरेजस्तो । त्यही अल्झिएको ढुंगो कपेर बनेको छ गोरेटो । मैले धेरै बेर आँखाले हेरिरहन सकिनँ ।
बिस्तारै आँखा पश्चिमतिर हुर्याएँ । काला र कहालीलाग्दा चट्टानका खातले पहाडका उचाइमा अरू उज्यालो थपेको देखियो । हावाले हल्लाएर मेरा परेली मोडिए फेरि दक्षिणतिर ।
डाँडा-डाँडामा केही बस्ती थपक्क बसेका देखिन्छन् । कतै-कतै तुँवालोले तिनै बस्तीमा लुकामारी गरेको नि देखिन्छ ।
'हुम्ला कर्णालीको कुनामा एउटा बस्ती त २०३६ सालमा मात्र फेला फरेको थियो !' अघिदेखि हराएका दीपक बूढाले उकालोमा मलाई सुनाए ।
म मुगु कर्णालीका त्यही गहिराइतिर डुबिरहेको थिएँ । म मुगु कर्णालीका तिनै अक्करे चेपमा घोत्लिरहेको थिएँ । म मुगु कर्णालीको त्यही ककारोतिर निमग्न भइरहेको थिएँ ।
म घरिघरि अकास हेर्थें- कतै बादल बिग्रिएर हिउँ परिहाल्छ कि । हिउँ परि नै हाले- यत्ति धेरैको जे गत होला, मेरो नि त्यै गत ! मनले सन्चोको फूल सिउरन्थ्यो ।
बाटोमा ढुंगा, बुट्यान र लहराको राम्रै मितेरी रहेछ । चट्टानबाट बचेर बुट्यानमा पुग्यो, अनि लहरामा जेलिएर लड्यो । निकै भयो- यो चर्तिकला । मलाई रत्नसिंहले धेरै खेप जोगाए ।
चार घन्टा स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै गएपछि पुगियो मुर्माटप । यो सबैभन्दा अग्लो थुम्का । माझघट्टको टाउको । गमगढी छेवैको अग्लो शिर । मुर्माटप पुगेपछि मैले पूर्वतिर हेरिनँ । मैले थामथुम पारेर पश्चिम, उत्तर र दक्षिणतिर हुर्याएँ आँखा । ओहो, हिमालको लहर, पहाडका चुचुरा, डाँडाका लस्कर ।
अनौठा र अचम्म लाग्ने चुलीले सेता हिमाल जतासुकै घेरेको लाग्थ्यो । छक्कै पार्ने हिमाल जहाँसुकै पिर्लिक्क आँखा झिम्क्याउन उठेको लाग्थ्यो । छाती नै हुरुक्क पार्ने चेतना हुने गरी सेता हिउँचुली ठडिएको लाग्थ्यो ।
देवीकृष्ण मेरा छेउमा आएर चिनाउन थाले- चंखेली लेक र बेउलाबेउली हिमाल ।
'त्यो सिमीकोट बसेको पहरो !' मुगु कर्णालीबाट तिरमिर भएर उत्तरतिर पसारिएको पहाडतिर उनका औंला तेर्सिएका थिए ।
तर म भने हुम्लाभरि छरपस्ट कहालीलाग्दा भीर, पखेरा, खोँच र नांगा डाँडा नघाएर आँखा लगिरहन सकिरहेको थिइनँ । खरिखुन्नै र चिल्ला डाँडाका चुचुरा फड्किन सकिरहेको थिइनँ । कालै पल्टिएका चेप्टे ढुंगाका खात नाघ्न सकिरहेको थिइनँ ।
पश्चिमतिर सैपाल र अपि हिमाल बोलाइरहेका थिए । त्यताबाट आएको हावालाई मेरो फोक्सोभरि हुलेर स्वागत गरेँ ।
पश्चिम-दक्षिणतिर बडिमालिका, खेसरमालिकाले सुस्तरी डाकिरहेका थिए । सीधै पूर्वतिर छायानाथका पहाड र डोल्पाली हिमालका आभाले हात हल्लाइरहेका थिए ।
ओहो, हिमालैहिमाल ! चारैतिर हिमालैहिमालको उज्यालो संसार । सबैतिरबाट हिउँ-कलाको तहतह आलोक । म स्तब्ध भएर हराइरहेँ, डुबिरहेँ, घात्लिरहेँ । पहाड, चुली, खोँच र पाटनका माझ आपट्टे संसारमा भास्सिइरहेँ... भास्सिइरहेँ... ।
'यी सबै खोँचबाट नीलो तुथो र तामा रसाएर बगेको हामीले देखेको सानैदेखि हो । अहिले मेरा जुँगा फुलिसके !' धनसिंह छेउमा आएर फुसफुसाए ।
मुर्माटपबाट हुम्ला, डोल्पा, जुम्ला, कालीकोट, बाजुरा, दार्चुला र बझाङका अक्करे डाँडाहरू देखिने रहेछन् । नदी र खोँचले चटचटी काटिएर छुट्टिएका यी जिल्लाहरू प्रस्टै ठम्मिँदा रहेछन् ।
देवीकृष्णले हुम्लातिरका उराठलाग्दा डाँडातिर धेरेबेर निहालेर भनेको म सम्झिरहेको छु, 'हेर्नुस्, मानिस यहाँ पनि बाँच्न खोज्दैछ !'
हो- बाटो छैन, बत्ती छैन, यातायात छैन, शिक्षा छैन । ओखतीमुलो झन् पर, पोसिलो खाना कहाँ हो कहाँ । न्यानो कपडा कता हो कता । तैपनि भीर खोस्रेर मान्छेले जीवन हिँडाउन खोज्दैछ ।
नीलो अकाशमा बादलले कानेखुसी गरिरहेको छ । बादलले हावासँग गनगन गरिरहेकै छ । घामले हप्कीदप्की लगाइरहेकै छ । तैपनि वरिपरि रहेका हिमालहरू अडिग छन्, अटल छन्, अचल छन् ।
'त्यो चैं नाग्चेन हो । तिब्बती नाका ।'
सिमीकोट पूर्वको अलिअलि देखिने बस्तीतिर औंला तिखारेर देखाए बूढाले । मेरा आँखामा सिरेटो हावा र लेकाली स्याँठले आँसु उमारिरहेको थियो । धमिलो र तिरमिरे पाराका भए नि हेरिछाडेँ ।
जतासुकै पहिरो गएका आपट्टे डाँडाहरू छन् । जताततै कालापत्थर पग्लिरहेका भिराला चट्टानमात्रै छन् । जुनै दिशामा नि बादलले माया मार्न नसके जस्ता थाप्लामा हिउँ बोकेका चुलीहरूमात्रै छन् । चकमन्न भएँ म । अवाक् भएर ताछिएका पहाडहरू हेरिरहेको छु । ती तछाइभित्र पनि गोरेटा कुदेका, बस्ती बसेका र रूखपात उम्रिएर हरियो पैmलाएको देख्ता भने छाती फेरि गद्गद् हुन्थ्यो ।
म लुगलुग कामेर रोटा खाइरहेको थिएँ । पश्चिमतिर घन्किरहेको थियो देउडा । खुट्टा अगाडि र पछाडि सारेर देउडा नाच्नेहरूले मलाई पनि बल, भर र आँट दिइरहेका थिए ।
'नयाँघरे, अब पूर्व हेर् !' मेरो मनले भन्यो ।
मैले भुइँमा पसारिएर अकाश पढिरहेका आँखालाई लगेँ पूर्वतिर । 'ओहो, अद्भुत रारा ! अनुपम रारा !!' शान्त, नीलो र गहिरिएर बसेको थियो रारा दह ।
यति अग्लो ठाउँबाट हेर्दा पनि नजिकै थियो रारा । एकदमै हत्केलामा आउलाजस्तो राराको चञ्चल लहर । यति टाढाबाट छुँदा पनि सोहोरिएर आउलाजस्तो राराको तरंगिँदो पानी ।
ओहो, राराको विराट् रूप ! राराको अलौकिक रूप !!
मैले मनैदेखि खुसी भएर भनेँ, 'धेरैजसो त रारालाई तलैबाट हेरी फर्कंदा छन् । यति अग्लो चुलीबाट कहाँ हेर्न पाउलान् र रारालाई ? '
मैले रारालाई यति टाढाबाट नि चारै कोणमा हेर्न सकेँ । राराको रङ नियाल्न सकेँ । राराको आकार ठम्याउन सकेँ । राराको रूप पर्गेल्न सकेँ । राराको जम्मै अनुहार केलाई केलाई पढ्न सकेँ ।
मेरो छातीमा झिलमिल-झिलमिल टल्किरह्यो राराको सितारा, पहाडको सितारा, कर्णालीको सितारा ।
मुर्माटपको थुम्कामा छरिएर बसिरहेकाहरू रारालाई उतार्न कापी र कलममा जोतिइरहेका थिए, औंला चलाइरहेका थिए अनि ओठ टोकेर गम खाइरहेका थिए । चारै कुना बुझेर पाना-पानामा लेखिरहेका थिए ।
म... ! एकदमै रित्तो भएर फर्कें म । धेरै खुसी र उल्लासमा कहाँ लेख्न सक्नु र ? मेरो हविगत भयो त्यस्तै ।
रारा, म भरिएर फर्कें- तिमीजस्तै !
प्रतिक्रिया दिनुहोस !