महेन्द्रविरुद्ध असफल ‘कु’
हरेक पुस १ आउँदा महेन्द्रले बीपी नेतृत्वको प्रजातान्त्रिक सरकारलाई बलजफ्ती पन्छाएर निर्दलीय पञ्चायती व्यवस्था लादेको घटना स्मरण गरिन्छ । राणाशाहीको अन्त्ययताका सबैभन्दा बलिया र चतुर नेपाली राजनीतिज्ञको छवि बनाएका राजा महेन्द्र स्वयं 'कु'को सिकार हुने सम्भावनामाझबाट गुज्रिएको घटनाको भने कतै स्मरण गरिँदैन । त्यस घटनाबारे प्रकाश पार्न नेपाली इतिहास पनि चुकेको छ ।
त्यति खेर कर्णेल गद्दाफीको शैलीमा शासनसत्ता हत्याउने कुनै दुस्साहसी युवक नेपाली सेनामा भर्ना भएको थिएन । राजाले निर्दलीय व्यवस्था लागू नगरिसकेकाले भारतीय भूमिमा आश्रय लिएर नेपाली कांग्रेसले राजाविरुद्ध हतियार उठाएकै थिएन । सरकार गठन र विगठनको नियमित प्रक्रियामाझ नेपाली राजनीति आफ्नै पारामा गुज्रिरहेको थियो ।
त्यही बखत एकजना पूर्वहबलदार प्रधानमन्त्री पदमा आसीन हुन पुगे । आफूलाई प्रधानमन्त्री बनाउने राजाविरुद्ध जंगबहादुरको शैलीमा 'कु' गरी मुलुकको सर्वेसर्वा बन्ने सपना उनले देखे । उनीसँग जोखिम मोल्ने तत्परता थियो । तर, जंगबहादुरसँगजस्तो बुद्धिमत्तापूर्ण योजना थिएन । उनले 'कु' गर्ने चाँजोपाँजो मिलाउन खोजे तर असफल भए । ती पात्र डा. कुँवर इन्द्रजित सिंह (केआई सिंह) थिए, जसलाई कुनै समय अमेरिकाको 'टाइम' म्यागजिनले 'हिमालयन रविन हुड' भनेको थियो ।
०००
नामको अगाडि 'डाक्टर' पदावली जोडे पनि उनी न चिकित्सक थिए न त उनले विद्यावारिधि नै गरेका थिए । भारतमा बेलायती उपनिवेश रहँदाताका उनी उत्तर प्रदेश (यूपी)मा बस्ने गर्थे । त्यति बेला उनी भारतीय सेनाअन्तर्गतको रोयर आर्टिलरीमा सिपाही थिए । पछि हबलदारमा 'प्रमोट' भए । तर, लगत्तै गम्भीर किसिमको अवगुण प्रदर्शन गरेको भन्दै कोर्ट-मार्सलमार्फत सैन्य सेवाबाट गलहत्याइए ।
त्यसपछि उनले बर्मातिर गएर रंगुनकी एउटी बर्मिज युवतीसँग बिहे गरी उतै घरजम गरे । त्यहाँ रहँदा उनी एकजना होमियोप्याथी चिकित्सकको सेवक भएर काम गर्न थाले । र, कतैबाट होमियोप्याथिक चिकित्सासम्बन्धी सर्टिफिकेट पनि हात पारे । यसरी उनले आफूलाई 'डाक्टर' घोषणा गरे ।
त्यत्तिकैमा दोस्रो विश्वयुद्ध आरम्भ भयो । बर्मामा जापानले हमला गरेपछि भागेर उनी यूपी फिर्ता आए र नौतनवामा होमियोप्याथिक क्लिनिक खोलेर जीविकोपार्जन गर्न थाले (गिरिलाल जैन, इन्डिया मिट्स चाइना इन नेपाल, पृ. ५४) । त्यहीँ रहँदाबस्दा संयोगले उनी नेपाली कांग्रेसका नेताहरूको सम्पर्कमा पुगे र राणाविरोधी संघर्षमा सरिक भए ।
०००
२००७ सालमा भएको 'त्रिपक्षीय दिल्ली सम्झौता'को विरोध गर्दै भैरहवा मोर्चामा हतियार बिसाउन अस्वीकार गरेकाले भारतीय फौजले नेपालभित्र आएर सिंहलाई पक्राउ गरी नेपाली फौजको जिम्मा लगायो । पछि सिंहदरबारस्थित झ्यालखानामा बन्दी बनाएर राखेकै ठाउँबाट उनले सत्ता कब्जा गरेको घोषणा गरे । बन्दुकको आडमा उनले टंकप्रसाद आचार्यलाई राजा त्रिभुवनसम्म आफ्नो सन्देश पुर्याउने हल्कारा बनाए । त्यति बेलाका मन्त्री गणेशमान सिंहको सेखी झर्ने गरी सिंहदरबार प्रांगणमा अपमानजनक ढंगले घन्टौं उभ्याए र जुँगामा ताउ लगाए । सिंहदरबारको बार्दलीबाट हेर्दा नेपाली सेनाले कारबाही सुरु गर्ने तयारी गरेको देखेपछि केही थान समर्थकलाई पछि लगाएर मार्च गर्दै घट्टेकुलोको बाटो भएर उनी तिब्बततिर लागे (अरविन्द रिमाल, '१९९७ सालदेखि २०१७ सालसम्मः एक अवलोकन') ।
त्रिभुवनको निधनपछि राजा भएका महेन्द्रले आममाफी दिँदै उनलाई नेपाल बोलाए । लगत्तै प्रधानमन्त्री बनाए । महेन्द्रलाई शासनसत्ताबाट पाखा लगाउन खोजेर उसले गुनको बदला 'तिर्ने' जमर्को गरे ।
०००
पुस १ को 'कु' केआई सिंहलाई सम्झिनुपर्ने एकमात्र कारण होइन । अहिले खासगरी विदेश सम्बन्धमा नेपाल जसरी गुज्रिरहेको छ, त्यो उनले प्रधानमन्त्री छँदाताका निर्देश गरेको मार्गकै पुनरावृत्ति हो । यस कारणले पनि अहिले सिंहको चर्चा गर्नु परेको हो ।
त्रिभुवनको निधन हुँदा सिंह चीनमै थिए । त्यसको केही वर्षपछि टंकप्रसादको प्रधानमन्त्रित्वमा नेपालले विदेशनीतिमा एकपछि अर्को छलाङ लगाउन सुरु गर्यो । त्यसै बेलाकै कुरा हो, सन् १९५४ मा नयाँदिल्लीस्थित नेपाली र चिनियाँ राजदूतले द्वीपक्षीय कूटनीतिक सम्बन्ध स्थापनाका लागि छलफल गरे । तर, सहमति जुटेन । एक वर्षपछि चीनले थप छलफल गर्न भनेर ६ सदस्यीय प्रतिनिधिमण्डल नेपाल पठायो ।
पाँच दिन लामो बृहत् र गोप्य छलफलपछि 'पञ्चशीलको सिद्धान्त'मा आधारित रहेर द्विपक्षीय सम्बन्ध कायम गर्न दुई मुलुक सहमत भए । यसबाट भारत बढी नै चिढिएला भन्ने ठानेर चीनले काठमाडौंमा तत्काल आवासीय राजदूत नपठाई भारतका लागि चिनियाँ राजदूतलाई नै नेपालका राजासमक्ष ओहदाको प्रमाणपत्र बुझाउन लगाउने निधो गर्यो (लियो ई रोज, नेपालः स्ट्राटेजी फर सर्भाइभल, पृ. २०८) ।

त्यसै पृष्ठभूमिमा राजा महेन्द्रले सिंहलाई आममाफी दिई नेपाल बोलाए । चीनसँग दौत्यसम्बन्ध राख्ने निर्णयबाट भारत बिच्किएको बेला प्रखर भारतविरोधीको छवि बनाएका सिंहलाई नेपाल बोलाउने राजाको कदमले भारत थप उत्तेजित हुने आकलन सर्वत्र गरिएको थियो । नेपाल फर्किएका सिंहलाई उपयोग गरेर चीनले नेपालमा कम्युनिस्ट गुरिल्ला युद्ध सञ्चालन गर्ला भन्ने आशंका कतिपय भारतीय बुद्धिजीवीलाई थियो (डा. टीआर घोब्ले, चाइना-नेपाल रिलेसन्स एन्ड इन्डिया, पृ. ४०) । सबैको अनुमानलाई गलत साबित गर्दै सिंहले आफूलाई भारतीय खेमामा पुर्याएर 'भारतविरुद्ध सुरुङ युद्धको तयारी गर्ने' पृष्ठभूमिबाट हालसालै उदाएका आफ्नो कम्युनिस्ट उत्तराधिकारीका निम्ति नजिर स्थापना गरिदिए ।
रोचक कुरा के छ भने कुनै समय सिंहको टाउकोको मोल १५ हजार रुपैयाँ तोकिएको थियो (जैन, पृ. ५५) । यस सवालमा अहिलेको उत्तराधिकारीले उनलाई निकै पछाडि पारिदिए ।
०००
तिब्बतबाट फर्किंदा सिंह चीनका प्रखर आलोचक भइसकेका थिए । सायद सिंहलाई घरेलु राजनीतिमा स्वाधीनता पक्षधरहरूविरुद्ध फाल्ने तुरुप बनाई चीन–भारत सन्तुलन कायम गर्ने महेन्द्रको तथाकथित सन्तुलनकारी नीतिको उपज थियो, उनको आममाफी र स्वदेश फिर्ती ।
चीनमा छँदाका गतिविधिबारे मौनता साँधेर सिंहले आफूलाई रहस्यमय बनाउन खोजे । 'प्रवासमा रहँदा नेपालमा युद्ध सञ्चालन गर्न विभिन्न विदेशी शक्तिले आफूलाई सैन्य सहयोग गर्ने प्रस्ताव राखेको तर आफूले अस्वीकार गरेको' बताएर चीनलाई विवादमा मुछ्ने काम गर्न भने उनी चुकेनन् (जैन, पृ. ५६) । यस्तो भनाइलाई पछ्याउँदै उनका उत्तराधिकारीले सन् २००६ मा 'जनयुद्धताका पाकिस्तानी गुप्तचर संस्था आईएसआईले हामीलाई सहयोग गर्छु भनेको थियो तर मैले मानिनँ' भनेर गुरुको बिँडो थामे (पीटीआई, नोभेम्बर २०) ।
चीनप्रति व्यंग्य गर्ने सिलसिलामा सिंह भन्ने गर्र्थे, 'चीनमा रहँदा मलाई चिनियाँ अधिकारीहरूले उत्कृष्ट शिक्षक र कम्युनिज्मबारे लेखिएका एक ट्रक किताब उपलब्ध गराएका थिए । सबै किताब मैले पढेँ पनि । तर, पनि चिनियाँहरूले मलाई कम्युनिस्ट बनाउन सकेनन् (जैन, पृ. ५५) ।' तर, उनको कुराकानी र व्यवहारको स्तरले उनले एक ट्रक त परै जाओस्, आधा दर्जन स्तरीय किताब पनि नपढेको स्पष्ट पाथ्र्यो ।
चीनको आफ्नो बसाइबारे उनले भारतको 'स्टेट्सम्यान' पत्रिकासँग निकै पछि भनेका केही कुरा यस्ता थिएः
-३७ जना समर्थकलाई लिएर म तिब्बततिर गएको थिएँ । तीमध्ये ६ जनालाई हिउँले मार्यो । बँचेकाहरू सबै चिनियाँ कम्युनिस्टहरूको फुक्र्याइँ र हाम्रा निम्ति उनीहरूले जोहो गरिदिएको ऐयाशी जीवनबाट बच्न सकेनन् । ११ जनाले मलाई घात गरे । उनीहरूलाई कम्युनिस्टहरूले आफ्नो बनाए । बाँकी मसँगै नेपाल फर्किए ।
- कम्युनिज्मका दुईवटा दाँत हुन्छन् । यो मृत सिद्धान्त हो । यो रुसमै असफल भइसकेको छ, अन्तको के कुरा ? कम्युनिज्म अहिले नाममात्रको छ । यो अर्कै किसिमको साम्राज्यवाद र आर्थिक शोषणको पर्याय बनिसकेको छ ।' (जैन, पृ. ५४-५६)
नेपाल फर्किएपछि चीनको बद्ख्वाइँ गर्ने र चीन तथा भारतबीच सन्तुलित विदेशनीतिको सट्टा भारतपरस्त विदेशनीति नेपालले अँगाल्नुपर्ने कुरा उनले खुलेआम राख्न थाले ।
०००
महेन्द्रविरुद्ध सिंहको 'कु' प्रयत्नबारे चर्चा गर्दा टंकप्रसाद आचार्यबारे उल्लेख नगरी हुँदैन । टंकप्रसादलाई महेन्द्रले सन् १९५६ मा प्रधानमन्त्री नियुक्त गरे । त्यो घटना त्रिपक्षीय दिल्ली सम्झौताले निर्दिष्ट गरेको नेपालको भारतमुखी परराष्ट्र नीतिको 'टर्निङ प्वाइन्ट' साबित भयो ।
प्रधानमन्त्रीमा नियुक्त हुनासाथ टंकप्रसादले चीनसँग दौत्य सम्बन्ध स्थापना गर्ने नीतिगत सहमति गरे । प्रधानमन्त्री भएपछिको पहिलो पत्रकार सम्मेलनमा उनले भारतसँग नेपालको कुनै प्रकारको विशेष सम्बन्ध नरहेको स्पष्ट पार्दै र अब उप्रान्त नेपालले सबै मित्रराष्ट्रसँग समान मित्रताका आधारमा विदेश सम्बन्ध सञ्चालन गर्ने उद्घोष गरे । उनकै पालामा नेपाल-चीन मैत्री सन्धि भयो । नेपालको मन्त्रिपरिषद् बैठकमा भारतीय कर्मचारी बस्ने नियम पनि उनकै पालामा खारेज भयो ।
प्रधानमन्त्री भएकै वर्ष उनले १० दिन लामो चीन भ्रमण गरे र चिनियाँ प्रधानमन्त्री चाउ एन लाइको नेपाल भ्रमण गराए । समकालीन राजनीतिक परिदृश्यजस्तै त्यति बेला पनि चिनियाँ नेतृत्व नेपाल आउनुअगावै भारतले आफ्ना राष्ट्रपतिलाई हतारहतार नेपाल पठायो । भारतीय राष्ट्रपति फर्किएपछि काठमाडौं आएका चाउले 'नेपाल र चीनबीच रगतको नाता छ' भन्ने नौलो उद्घोष गरे । नेपालसँगको सम्बन्धमा भारतको सर्वोपरितालाई धेरै हदसम्म स्वीकार गर्ने चिनियाँ नीतिमा आएको बदलावको प्रकट रूप थियो त्यो । त्यसो भनेर चाउले चिनियाँहरू नेपालसँग भारतीयभन्दा कम निकट छैनन् भन्ने जनाउ दिन खोजेका थिए (डा. घोब्ले, पृ. १२४) ।
चाउको भ्रमणकै क्रममा टंकप्रसादले दुई देश जोड्ने सडक निर्माणको प्रस्ताव राखे । यस अर्थमा कोदारी राजमार्गको अवधारणा ल्याउने पहिलो नेपाली राजनीतिज्ञ टंकप्रसाद थिए । त्यति खेर तिब्बतमा खम्पा विद्रोह जारी रहेकाले सडकले दुई देश जोड्ने प्रस्ताव स्वीकार गर्न चाउ अनकनाए । चीनले चासो नदेखाएपछि नेपालकै लगानीमा सडक निर्माण गर्न टंकप्रसाद तम्सिए । सडक निर्माणको शिलान्याश पनि भयो । नेपालको हितमा टंकप्रसादले चालेका यस्ता शृंखलाबद्ध कदमलाई भारतले त्यति बेला पनि 'भारतको अन्धविरोध' भन्यो ।
टंकप्रसादलाई जुन प्रयोजनका लागि प्रधानमन्त्री बनाइएको थियो, त्यस दिशामा तत्काल 'यतिमात्रै गर्न सकिन्छ' भन्ने महसुस राजा महेन्द्रलाई भयो । टंकप्रसाद सरकारलाई निरन्तरता दिँदा भारत थप चिढिने अवस्था देखेपछि उनले टंकप्रसादको राजीनामा मागे ।
भारतलाई थप नचिढ्याउनमात्रै पर्याप्त नरहेको ठानेर उनले भारतपरस्तको डाम लागिसकेका सिंहलाई प्रधानमन्त्री बनाए । प्रधानमन्त्री बन्नासाथ टंकप्रसादले सुरु गरेको चीनसँग जोड्ने सडक निर्माण कार्य रोकेर सिंहले (रोज, पृ. २१४) अहिलेका आफ्ना उत्तराधिकारीलाई काठमाडौं–केरुङ रेलमार्ग निर्माणमा अग्रसर नहुन अर्को नजिर स्थापना गरिदिए ।
०००
स्वाभाविक रूपमा सिंह टंकप्रसादका कटु आलोचक हुने नै भए । टंकप्रसाद प्रधानमन्त्री छँदा उनको कदमबाट रुष्ट भएको भारतले सिंहलाई नयाँदिल्लीमा भव्य स्वागत गरेर टंकप्रसाद र महेन्द्र दुवैलाई एकसाथ तर्साउन खोज्यो । राजकाजमा कहिल्यै संलग्न नभएको कुनै पनि नेपालीलाई भारतले त्यस्तो खालको भव्य स्वागत न त्यसअघि गरेको थियो, न त त्यसयता नै गरेको छ । त्रिपक्षीय दिल्ली सम्झौताको विरोध गर्दाताका सिंहलाई भारतीय सञ्चारमाध्यम र भारतीय अधिकारीहरूले 'लाल डाँका' भन्ने गर्थे । तिनै पूर्व 'डाँका'लाई दिल्लीमा राष्ट्रपति राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरू र गृहमन्त्री पण्डित पन्तसँग उच्चस्तरीय भेट गराइयो ।
भारत सरकारका प्रतिनिधिहरूसँगको उच्चस्तरीय भेटवार्तापछि दिल्लीमै पत्रकार सम्मेलन गरेर सिंहले आफूलाई भारतको बफादारका रूपमा उभ्याए । काठमाडौंमा अन्य देशलाई कूटनीतिक नियोग स्थापना गर्न प्रोत्साहन गर्ने टंकप्रसादको योजनाको उनले विरोध गरे ।
सोभियत संघलाई नेपालमा दूतावास स्थापना गर्न दिए नेपाल शीतयुद्धको भुमरीमा नराम्रोसँग फस्छ भन्ने खालका काइते तर्क गर्न पनि उनी पछि परेनन् । साथै उनले चीन भ्रमणका क्रममा टंकप्रसादले गरेको आर्थिक सहयोगसम्बन्धी सम्झौताको पनि विरोध गरे (रोज, पृ. २१५) । 'टंकप्रसादले ६ करोड रुपैयाँमा नेपाली भूमि चीनलाई बेचे' भन्ने खालको निम्नस्तरको आरोप लगाउन पनि उनी पछि परेनन् (जैन, पृ. ५७) ।
सिंहको भारत भ्रमण समाप्त भएपछि भारतसँग सम्बन्ध सुधार्न भनेर टंकप्रसाद नयाँदिल्ली गए । भारतले उनलाई औपचारिकता निभाउने हिसाबले सामान्य स्वागतमात्रै गर्यो । सिंहलाई झैं भव्यसँग स्वागत गरेन (मुरलधिर धरमदसानी, इन्डियन डिप्लोमेसी इन नेपाल, पृ. ५६) । त्यसपछि राजा महेन्द्रलाई टंकप्रसादको उपादेयता समाप्त भएको महसुस भयो । फलतः उनलाई राजीनामा गराइयो र सिंहको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन गरियो ।
०००
सिंह प्रधानमन्त्री भएपछि टंकप्रसाद प्रधानमन्त्री छँदाको भन्दा ठीक विपरीत अवस्था नेपालमा सिर्जना हुन पुग्यो । भारतसँगको तथाकथित विशेष सम्बन्धको रटान लाग्ने क्रम पुनः आरम्भ भयो । सिंह स्वयंले चीन र सोभियत संघलाई नेपालमा दूतावास खोल्न नदिइने बताएर टंकप्रसादका पालामा भएका प्रयत्नलाई उल्ट्याउन खाजे । साथै नेपालको कूटनीतिलाई थप विस्तार नगर्ने नीति लिए । पाकिस्तानसँगको सम्बन्धलाई औपचारिकता प्रदान गर्ने प्रस्तावलाई उनले ठाडै अस्वीकार गरिदिए ।
साथै काश्मीर विवादमा स्पष्ट शब्दमै भारतको पक्ष लिने काम गरे, जुन नेपाली प्रधानमन्त्रीको सन्दर्भमा 'न भूतो न भविष्यति' साबित भयो । सिंहका अहिलेका उत्तराधिकारीले पनि आफ्ना गुरुले झैं 'उरी काण्ड'पछि काश्मीर विवादमा घुमाउरो पारामा भए पनि भारतको पक्ष लिए । सिंहले असमान गण्डक सम्झौताबारे नयाँदिल्लीले तयार पारेको मस्यौदालाई हुबहु स्वीकार गरे (रोज, पृ. २१६) । आचार्यले चीनसँग गरेको 'मैत्री सन्धि'लाई अनुमोदन गर्न पनि उनले अस्वीकार गरिदिए (धरमदसानी, पृ. ५७) ।
०००
प्रधानमन्त्री भएपछि सिंहले प्रदर्शन गरेका यस्ता हर्कत नेपालका निम्ति राजनीतिक लज्जाको विषय बन्न पुगेको कुरा टंकप्रसादलाई 'भारतविरोधी'को बिल्ला भिराउने इतिहासकार लियो ई रोजले समेत स्वीकार गरेका छन् (रोज, पृ. २१७) । यसै पृष्ठभूमिमा तीन महिना पनि नबित्दै राजा महेन्द्रद्वारा अचानक सिंहको मन्त्रिपरिषद् खारेज गरियो । मुलुकलाई जिम्मेवार ढंगले चलाउन नसकेकाले महेन्द्रले सिंहलाई राजीनामा गराएको कुरा इतिहासका अधिकांश किताबमा उल्लेख भएको पाइन्छ । यही तर्कले सिंहले महेन्द्रविरुद्ध गरेको 'कु' प्रयत्नलाई ओझेल पारिदिने गरेको छ ।
०००
टंकप्रसादलार्ई प्रधानमन्त्रीबाट राजीनामा गराएपछि राजा महेन्द्रले एक दिन दरबारका सचिव दयारामभक्त माथेमालाई बोलाएर सोधे, 'केआई सिंहलाई प्रधानमन्त्री बनाउने विचार गरेको छु, के छ राय ? '
जवाफमा माथेमाले भने, 'केआई सिंह अलि उत्तेजक प्रकृतिको हुनुहुन्छ । सरकारबाट सम्हालिबक्सिन सकिन्छ भने यसमा आपत्ति गर्ने कुरै भएन ।' (दयारामभक्त माथेमा, अनुभव र अनुभूति, पृ. २६७)
त्यसको दुई महिनापछि महेन्द्रले माथेमासँग भने, 'तिमीले भनेको कुरा साँचो रहेछ । यसबाट काम राम्रो होलाजस्तो छैन । अर्को बन्दोबस्त गर्नुपर्ला ।'
त्यत्तिकैमा एक दिन सिंहलाई दरबारमा बोलाइयो । कुनै अप्रिय अवस्था सिर्जना होला भनेर दरबारभित्रका सेनालाई 'एलर्ट' राखियो । दरबारभित्रका कर्मचारीलाई कार्यलयबाहिर ननिस्किन आदेश दिइयो । त्यत्तिकैमा सिंह राजदरबार पुगे र राजासँग केही बेर 'वान-टु-वान टक' गरेर फर्किए । लगत्तै राजाले केआई सिंह नेतृत्वको मन्त्रिमण्डल विघटन गरेको समाचार सार्वजनिक भयो (माथेमा, पृ. २६९) । अन्य प्रधानमन्त्रीलाई पदमुक्त गर्दा दरबारभित्रको सेनालाई 'एलर्ट' राखिएको प्रसंग माथेमाको किताबमा उल्लेख भएको पाइँदैन ।
सिंह सोचविचार नगरीकन जस्तोसुकै उद्दण्डता प्रदर्शन गर्ने 'अनप्रेडिक्टेबल' पात्र हुन् भन्ने महेन्द्रले त्यति बेलासम्ममा महसुस गरिसकेका थिए । र, सिंहको यस्तो स्वभावबाट उनी केही हदसम्म भयभीत पनि थिए ।
०००
कुनै समय हबलदार भएकाले होला, सिंहमा फौजी स्वभाव थियो । कुर्सीको लालसामा जुनसुकै हद नाघ्ने गरी जोखिम मोल्न पनि उनी हिच्किचाउँदैन थिए । सैन्य दस्ताको सुरक्षाघेरामा हिँड्ने त्यति बेलाका उनी एक्ला नेपाली नेता थिए । आफैं पनि सदैव हतियारले युक्त रहन्थे । बलियो तानाशाही शासनविधिको पक्षमा आफू रहेको छनक उनी दिने गर्थे । उनले पार्टीलाई आफ्नो स्वेच्छामा चल्ने एकाइजस्तो बनाएका थिए ।
प्रधानमन्त्री भएपछि उनले अन्य पार्टी, निजामती कर्मचारी, सेनादेखि दरबारसम्मलाई दबाबमा पार्ने र झस्काउने काम गरे । उनले देशभरको समग्र संरचनामा आमूल फेरबदल गर्न चाहे र दरबारको संरचनामा फेरबदल गरेर यसको श्रीगणेश गर्न खोजे । राजाका चार मुख्य निजी सचिवमध्ये दुईलाई हटाउनुपर्ने सुझाव उनले दिए ।
विभिन्न सचिवालय र जिल्लाका कर्मचारीहरूको नामावली तयार पारेर उनीहरूको ठाउँमा आफ्ना चम्चाहरूलाई भर्ना गर्ने योजना बनाए । सँगसँगै 'पूर्वराष्ट्रसेवक संघ' गठन गरे । आफ्ना लागि उपयोगी हुने किसिमको गुप्तचर निकाय प्रहरीमा खडा गर्ने र यसमा आफ्ना मानिसलाई भर्ना गर्ने सोच उनले बनाए ।
सेनामा पनि हात हाल्ने प्रयन्त उनीबाट भयो । कुनै बेला भैरहवा जेलबाट फरार सिंहलाई पक्राउ गर्न मुख्य भूमिका खेलेका त्यति बेलाका प्रधानसेनापति तोरणशमशेरसँग आफू प्रधानमन्त्री भएपछि सिंहले पुरानो रिसइबी साँध्न खोजे । यस्ता शंकास्पद गतिविधिबीच हिरासतमा रहेका आफ्ना समर्थक र कम्युनिस्टहरूलाई उनले रिहा गरेर शंका गर्नेहरूलाई थप खुराक प्रदान गरे ।
राजा र सेनालाई शंशयमा पार्नुका साथै उनले मुलुकका सबै महत्त्वपूर्ण नेतालाई आच्छुआच्छु पारे । उनी प्रधानमन्त्री हुनुभन्दा ६ वर्षअघिदेखि राष्ट्रिय कोषमा भएको हिनामिनामा नेताहरूको संलग्नताबारे छानबिन गर्न उनले आयोग गठन गरे । निजामती प्रशासनको पुनर्संरचना, गुप्तचर प्रहरीको गठन, पूर्वराष्ट्रसेवक संघको गठन र अन्य दलका नेताविरुद्धको कदमलाई त्यतिखेर राजाको भूमिकालाई संकुचित गर्दै आवश्यक पर्दा राजालाई पनि चुनौती दिन सक्नेगरी शक्ति आफूमा केन्द्रित गर्ने सिंहको नियतको उपजका रूपमा कतिपयले विश्लेषण गरेका थिए । आफ्ना मानिसहरू नेपालका भित्री भागसम्म पुगेर पार्टीका पक्षमा माहोल बनाइरहेको उनी स्वयंले त्यतिखेरै बताएका थिए ।
सिंहका यस्ता कदमलाई चतुर राजा महेन्द्रले गहिरोसँग नियालिरहेका थिए । प्रधानमन्त्री निवासमा ठूलो संख्यामा अंगरक्षक परिचालन गर्न उनले राजासमक्ष बिन्ती गरेका थिए, जसलाई राजाले अस्वीकार गरिदिए । त्यतिखेर नेपालमा जम्मा ६ हजार सैनिक रहेकामा दुई हजार राजदरबारभित्रको ब्यारेकमा बस्ने गर्थे (जैन, पृ. ५७-६२) ।
सिंहका यस्ता सन्दिग्ध गतिविधिको फेहरिस्त प्रस्तुत गर्ने गिरिलाल जैनले 'कु' गर्ने योजना कार्यान्वयन गराउन सिंह अग्रसर थिए भन्ने भरपर्दो प्रमाण त्यति बेला नपाइएको उल्लेख गरेका छन् (पृ. ६२) । सम्भावित 'कु'को छनक पाइएको संकेतसम्म उनले गरेका छन् । त्यसभन्दा अघि बढ्न सकेका छैनन् ।
०००
कुनै बेला नेपाली सेनाका जर्नेल रहेका नरशमशेर नेपाल प्रहरीको आईजीपी पदबाट अवकाश भएपछि महेन्द्रले उनलाई निजी पाश्र्ववर्ती जनरल (एडीसी जनरल) नियुक्त गरे । महेन्द्रको सवारीलगायत विशेष अवसरमा राजावरिपरि रहने अवसर उनलाई प्राप्त भयो ।
फुर्सदिलो समयमा नरशमशेर खेलकुदसम्बन्धी गतिविधिमा संलग्न भएर सोख पूरा गर्ने गर्थे । २०१३ सालको कुरा हो, रुसमा भएको अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन उनी नेपाली टोलीको प्रतिनिधित्व गर्दै मस्को पुगेका थिए ।
मस्कोमै रहेका नरशमशेरलाई प्रधानमन्त्री सिंहले तार पठाए— मस्कोका सबै काम छोडी तुरुन्तै काठमाडौं आउनू ।
नरशमशेर काठमाडौं आए । आएको भोलिपल्ट सिंहलाई भेट्न लैनचौरस्थित त्यति बेलाको प्रधानमन्त्री निवास गए । निवासमा सेतो कुर्तासुरुवाल लगाएर तमाखु तान्दै बसिरहेका सिंह नरशमशेरलाई देख्नासाथ चोरी औंला ठड्याउँदै गर्जिए, 'प्राइममिनिस्टरले तुरुन्त आउनू भन्दाभन्दै पनि तपाईंले यस्तो ढिलो गर्ने ? जर्नेल भइसकेको मानिसको अनुशासन यही हो ? '
केही बेरपछि सामान्य अवस्थामा फर्किएर सिंहले तकियामुनिबाट 'गीता'को पुस्तक निकालेर नरशमशेरतिर बढाउँदै भने, 'हामीबीच भएको कुराकानी तेस्रो व्यक्तिलाई भन्नेछैन भनी गीता छोएर कसम खानुस्, लौ ।' भनेबमोजिम गर्नुको विकल्प नरशमशेरसँग थिएन ।
'गीता' छोएर कसम खाएका नरशमशेरसँग सिंहले भनेको कुराको मजबुन यस्तो थियो, 'राजा महेन्द्र केटाकेटी छन्, शासन चलाउन सक्दैनन् । २००७ सालअघि यिनका बाबु-बाजेजस्तै यिनलाई पनि थपनाका राजा बनाई म प्राइममिनिस्टर र तपाईं कमान्डर-इन-चिफ भएर शासन चलाऊँ । के छ तपाईंको विचार ? '
सिंहको यस्तो दुस्साहसी कुरा सुनेर नरशमशेरलाई भाउन्न भयो, पसिनाले उनको जीउ निथु्रक्क भयो ।एउटा मनमा नरशमशेरलाई लाग्यो— केआई सिंहले 'कु' गर्न खोजेका होइनन्, महेन्द्रकै आदेशमा उनी मेरो इमानदारिता जाँच्ने काम गर्दैछन् ।
नरशमशेर अक्क न बक्क परेको देखेपछि स्थिति सामान्य बनाउन सिंहले चेतावनीमिश्रित लवजमा भने, 'अहिले तुरुन्त जवाफ दिनु पर्दैन । आज रातभरि राम्ररी विचार गरी जवाफ तयार पार्नुहोला । यो कुरा अन्यत्रचाहिँ नपुगोस् नि !'
सिंहको कुरा सुन्दा आफूलाई 'हगूँहगूँ मुतूँमुतूँ...भएको र सिंहसँग ट्वाइलेट कहाँ छ ? ' भनेर सोधेको स्वयं नरशमशेरले उल्लेख गरेका छन् ।
गीता छोएर खाएको वाचा तोड्ने काम आखिरमा नरशमशेरले गरे । भोलिपल्टै उनी नारायणहिटी गए र महेन्द्रलाई बेलिबिस्तार लगाए । सबै कुरा सुनिसकेपछि महेन्द्रले भने, 'बदमास पो रहेछ, तिमी धन्दा नमान, म ओखती गर्छु (हेमन्तशमशेर राणा, जनरल नरशमशेर जंगबहादुर राणाको जीवनी, पृ ८८–९२) ।' महेन्द्रले कसरी ओखती गरे भन्ने कुरा इतिहासमा जगजाहेर नै छ ।
०००
राजाविरुद्ध जाइलाग्न नखोजेको भए पनि सिंह लामो समयसम्म प्रधानमन्त्रीमा टिकिनरहने पक्का थियो किनकि उनमा पेसेवर राजनीतिज्ञमा हुनुपर्ने एउटै पनि गुण थिएन ।
प्रधानमन्त्रीबाट निकालिएपछि सिंहले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको षड्यन्त्रका कारण आफूले राजीनामा दिनु परेको बताएर लोक हँसाउने काम गरे । अन्तर्राष्ट्रिय दबाब र देशभित्रका गद्दारहरूको षड्यन्त्रहरूले गर्दा राजीनामा दिन आफू बाध्य भएको बताए । मुलुकमा आफूले लागू गरेका जनपक्षीय नीतिमा भाँजो हाल्न अमेरिकाको फेरो समाएर केही व्यक्ति लागिपरेको भन्दै उनले केहीको नामै किटे । एउटा भाषणमा उनले 'अमेरिकी सहयोगसम्बन्धी एउटा सम्झौतामा हस्ताक्षर गर्न आफूलाई बल प्रयोग गरिएको'सम्म भने ।
पदमुक्त भएपछि पनि उनले भारतको भजन गाउन छोडेनन् । आफूलाई हटाउन अग्रसर भएर अमेरिकाले नेपाललाई शीतयुद्धको हिस्सा बनाई भारतविरुद्ध पाकिस्तानलाई लाभ पुग्नेगरी प्रोपोगन्डा मच्चाउन खोजेको हास्यास्पद आरोप लगाउन पनि उनी पछि परेनन् ।
आफ्नो जीवनकालकै सबैभन्दा फितलो आरोप लगाउँदै उनले भने, 'कसैले कलकत्ताबाट मेरो नाममा कन्साइन्जमेन्ट पठाएको रहेछ । त्यसमा हातहतियार, गोलिगट्ठा थिए । ती हातहतियार देखाएर राजा महेन्द्रविरुद्ध केआई सिंहले विप्लव मच्चाउन खोज्दैछ भन्ने प्रमाणित गर्न उनीहरूले खोजेका थिए ।'
यस्तो आरोपमा संलग्न दरबारका एक निजी सचिवको उनले नामै किटेका थिए । 'यिनले राजाको घुम्ने कुर्सीमुन्तिर टाइम बम फिट गरेर पड्किनुअघि नै पत्ता लगाएको जस्तो गरी मेरो थाप्लोमा दोष थोपर्न खोजेका थिए', राजीनामा दिएपछि एक अवसरमा उनले भनेका थिए (जैन, पृ. ६३) । यसैको सिको गर्दै उनका उत्तराधिकारीले पनि 'बालुवाटारमै मलाई सिध्याउन खोजिएको थियो, मैले अन्तिम समयसम्म लडेरमात्रै शहादत प्राप्त गर्न निश्चय गरी मेसिनगनको जोहो गरेको थिएँ' भनेर जग हँसाउने काम गरेका थिए ।
जनताको भलाइ र राज्यका अंगहरूको सबलीकरणका निम्ति जसले दुई पैसा बराबरको योगदान गरेन, बरु उल्टो विदेशीको फेरो समाएर देशलाई घात गर्यो, उसैको सम्मानमा पछि आएर नेपाल सरकारले दुई रुपैयाँको हुलाक टिकट प्रकाशन गर्यो, जुन स्वाधीनता पक्षधर नेपाली जनतामाथि गरिएको अर्को भद्दा मजाक थियो ।
प्रतिक्रिया दिनुहोस !