रसुवागढी रहस्य

रसुवागढी रहस्य

केही महिनाअघि गजेन्द्र आङदेम्बे, बालन राजवंशी, बाबुराम तिमल्सिना आदि गरी हामी एघार जनाको टोली गोसाइँकुण्ड हँदै रसुवागढीसम्मको यात्रामा निस्केका थियौं । गोसाइँकुण्डको दर्शनपछि हामी रसुवागढीतिर लाग्यौं । पहिलो दिन बुद्ध-गुम्बा, लौरी-विनायक हुँदै चोलाङपाटी पुगेर बास बस्यौं ।

अर्को दिन बिहानै बाटो लाग्यौं । चन्दनबारी हुँदै धिम्सा पुग्यौं । धिम्सामा 'श्री इन्द्रबक्स गण'को सैनिक-क्याम्पअगाडि बनाइएको प्रतीक्षालयमा बास बसेपछि भार्खुतिर लाग्यौं । बाटोमा एक जना नेपाली प्रहरीसँग भेट भयो । उसले हामीलाई गोसाइँकुण्डमा स्नान गरेर फर्किरहेको काठमाडौं कलंकीनिवासी गणेश थापाको चन्दनबारीस्थित रेड पान्डा होटलमा अचानक मृत्यु भएकाले सरजिमिनका लागि जाँदै गरेको बतायो । ऊसँग छुट्टिएर एउटा साँघुरो गल्छेडोभित्र छिर्‌यौं । धेरै वस्तु-गोठालेमात्र हिँडेर हो कि ! दायाँबायाँ धेरै बाटा छुटिएको थियो । मानिस हिँड्ने र गाईबस्तु हिँड्ने बाटो छुट्याउन हामीलाई हम्मेहम्मे भयो ।

केही तल दुई-चारवटा मानिसको चिहान भेटियो । चिहान देख्दा मानव बस्ती नजिक पुगेको भान परे पनि त्यस्तो भएन । अलि धेरै नै हिँडेपछि पुरानो शैलीको एउटा माने भेटियो । मानेको दायाँ हुँदै ओरालो लाग्यौं । गुम्बा आइपुग्यो । स्थानीयवासीले त्यस गुम्बालाई 'टासी-गुम्बा' भन्दा रहेछ् । गुम्बामा लामाहरू थिएनन् । सानो खोल्सी पछ्याउँदै हामी फेरि ओरालै लाग्यौं । बाक्लो बस्ती भेटिएपछि थाहा भयो, ठूलो-भार्खु पुगेछौं ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने ठूलो भार्खुको एक होटलमा बिहानको भोजन गरी बाहिर निस्कँदा सडकमा एक हुूल तामाङ युवकयुवती 'सेसे-बोन्पो' गीत गाउँदै स्याफ्रु-नाच नाचिरहेका देखिए । ती युवकयुवती पारि थङविन र घत्लाङ गाउँका भएको थाहा भयो । उनीहरू गोसाइँकुण्ड पुगेर फर्किरहेका रहेछन् । स्थानीयावासीले तिनलाई टीका (टासी) र खादा ओढाएर स्वागत गरे । जाँड (छ्याङ) रक्सी, चिया खुवाए ।

स्थानीय कृष्णबहादुर तामाङले नयाँ जानकारी दिए । उनका अनुसार ठूलो-भार्खु हनुमानढोका (काठमाडौं) र केरुङ (तिब्बत) को मध्य बिन्दुमा पर्छ । तिब्बती (भोटिया) भाषामा मध्य बिन्दुलाई भार्खु भनिन्छ । त्यसैले उक्त ठाउँलाई भार्खु भनिएको रे । हाल त्यसलाई ठूलो-भार्खु भनिँदो रहेछ । ठूलो भार्खुमा तामाङ जनजातिको बाहुल्य छ ।

ठूलो-भार्खुबाट स्याफु्रबेसीतिरको आधा बाटोसम्म हामी हिँडेरै गयौं । बाटोमा ब्रावल गाउँबाट स्याउ बेच्न धुन्चे बजार जाँदै गरेको एक तामाङ युवकसँग भेट भयो । त्यसपछि सानो डाँडामा पुग्दा पारि हाक्कु, थङ्विन, घत्लाङ आदि गाउँ देखिऐ । वारिबाट ती गाउँहरू असाध्यै राम्रा देखिन्थे । त्यहाँ फोटो खिचिरहँदा एक अपांगतायुक्त तामाङ वृद्धा आइपुगिन् । बोल्न नसक्ने रहिछन् । इशाराले पैसा माग्न थालिन् ।

उनले शिरमा रातो र हरियो बुट्टा भएको टोपी (स्यादे), बक्खु (आङ्दुङ), पटुका (चेँ) र गुन्यु (केतेन) लाएकी थिइन् । उक्त पहिरनले रसुवा-क्षेत्रका तामाङ-बस्तीमा पुगेको आभास दिइरहेको थियो । त्यस क्षेत्रका तामाङ-महिलाहरू प्रायः त्यही पहिरन लगाउँछन् । टोपी (स्यादे) चाहिँ हाक्कु, थङ्विन र घत्लाङ गाउँका तामाङ-महिलाले मात्र लाएको देखिन्छ । हेर्दा रसुवाका तामाङ्नीको पहिरन र तिब्बती महिलाको पहिरन झन्डै उस्तै देखिन्छ । त्यहाँबाट सानो-भार्खु पुगेपछि बस आइपुग्यो । बाँकी यात्रा बसमा हुने भयो ।

बसले स्याफ्रुबेसी बजार ल्याइपुर्‌यायो । तातोपानी-धाम, गणेश-हिमाल दोर्जे-लाक्पा, लाङ्टाङ आदि हिमाल जाने मुख्य पदमार्ग भएकाले पनि होला, पर्यटकहरूको राम्रै जमघट देखियो । टोलीको एकजना साथीलाई अर्को दिन नै काठमाडौं पुग्नुपर्ने फोन आएपछि स्याफ्रुबेसीकै गेस्ट हाउसमा रात काट्ने योजना लत्याउँदै रसुवागढी जाने बस चढ्यौं ।

धुन्चेबाट आएको बसले एउटा प्रहरीचौकी नजिकै पुर्‌यायो । दायाँतिर भोटे-खोला बगिरहेको थियो । खोलामा पुरानो शैलीको एउटा झोलुंगे पुल थियो । स्याफ्रुबेसीबाट लाङटाङ हिमालतिर जाँदा त्यही पुल तरेर जानुपर्दो रहेछ ।

पुलपारि दुईवटा बाटो छुट्टिएको देखिन्थ्यो । एउटा बाटो बायाँतिर हँदै भोटे-खोलाको किनारैकिनार माथि रसुवागढीतिर जाँदो रहेछ । अघि रसुवागढी त्यही बाटो भएर गइन्थ्यो तर हाल रसुवागढीसम्म सवारी मार्ग जोडिएकाले मानिसहरू त्यो बाटो हिँड्न छाडे । अर्को बाटो वाङ्वी गाउँतिर जाँदो रहेछ । लाङटाङ हिमाल जाने बाटो भएकाले वाङ्वी गाउँ पर्यटकका लागि केन्द्र बनेको रहेछ । केहीपछि एकजना युवक आई हामीसँगै माथि टिमुरेसम्म जाने अनुरोध गर्‌यो ।

ऊ मेरो नजिकै आएर बस्यो । मङ्गोलमुली देखिने ती युवकले आफुू चीनको नागरिक भएको बताए तर नेपालतिर व्यापारका लागि आएको हो वा शरणार्थीका रूपमा आई यतै बसोबास गरेको हो, हामीले सोधेनौं । नेपाली भने राम्ररी बोल्थ्यो । टिमुरे पुगेपछि ऊ ओर्लियो ।

टिमुरे सानो टुक्रे बजारजस्तै देखिन्थ्यो । त्यहाँ एउटा नेपाली सैनिक क्याम्प थियो । नजिकै चिलिमे जलविद्युत्को एउटा टनेल पनि बन्दै थियो । सडक आसपासमा ससाना झुपडी होटलहरू थापिएका थिए । होटलभित्र तामाङ युवती तिब्बती मम, थुक्पा, चाउमिन आदि बनाउन व्यस्त देखिन्थे ।

नेपाली सेनाको क्याम्प कटेपछि सीमा सुरक्षा भन्सार आइपुग्यो, जहाँ दुईजना नेपाली प्रहरी उभिइरहेका थिए । भन्सार क्षेत्रउता मालवाहक गाडीबाहेक अरू सवारीसाधनलाई छिर्ने अनुमति रहेनछ ।

अब रसुवागढी (नेपाल र चीनको नाका क्षेत्र) भित्र हामी प्रवेश गरिरहेका थियौं । थोरै अघि बढेपछि बायाँतिर सानो पहाडमा ढुंगाको गारोले चार कुना पर्खाल लाइएको दुईवटा ढिस्को देखियो । त्यही ढिस्कोलाई रसुवागढी भनिँदो रहेछ । नेपाली इतिहासमा त्यस गढीको महत्त्व धेरै छ । रसुवा जिल्ला पनि त्यही गढीकै नामबाट राखिएको हो ।

गढीको पछाडिपट्टि ढुंगाको लामो पर्खाल राखिएको छ । नेपालको लिखित इतिहासअनुसार श्री ३ जंगबहादुर राणाको शासनकालमा नेपाल-तिब्बत युद्धका क्रममा त्यो गढी बनेको हो । विसं १९१२ तिर नेपाल र तिब्बत (भोट) बीच ठूलो लडाइँ भएको थियो । त्यस बेला तिब्बत (भोट)माथि आक्रमण गर्न हिँडेका नेपाली फौजीहरूले आफ्ना खजाना रसुवागढीकै प्रांगणमा राखेका थिए । युद्धमा नेपालको जितपछि धेरै नेपाली तिब्बत (भोट) भूमितिर छिर्न थाले । त्यही बेला तिब्बती (भोटिया) हरूले बरु नियमअनुसार वार्षिक रूपले नेपाललाई क्षतिपूर्ति बुझाउने तर एक कदम पनि आफ्नो भूमि नछोड्ने निर्णय गरे । नेपाल र तिब्बतबीच सन्धि भयो ।

त्यही सन्धिअनुसार तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले नेपाल र तिब्बत (भोट) को सिमाना छुट्याउन लामो ढुंगाको पर्खाल बनाउन लगाए । हाल रसुवागढीपछाडि भएको ढुंगे पर्खाल त्यही नै हुनसक्छ । उक्त पर्खालको बीचबीचमा ठूल्ठूला प्वालहरू राखिएको छ । संरक्षणको अभावले होला, पर्खाल ठाउँठाउँमा भत्किएको छ । पर्खालपछाडि भोटेखोला बग्छ । खासगरी उत्तर-पश्चिम तिब्बत (चीन)बाट बगेर आएको केरुङखोला र पूर्व-उत्तरबाट आएको लेन्देखोला नै त्यसनजिकै मिसिएपछि भोटेखोला बन्दो रहेछ । जुन खोला टिमुरे, स्याफ्रुबेसी हँदै तल त्रिशूलीमा पुगेर मिसिन्छ ।

ढुंगे पर्खाल पूर्व-उत्तरबाट आएको लेन्देखोलाको वारि भई खोलाको किनारैकिनार पूर्व-उत्तरतिर लम्बेको छ । हालसाल पर्खालको बीच भाग काटी नेपाल र चीनबीच सवारीसाधान आवतजावत गर्ने एउटा पुल बनाइएको छ । पुलपारि चीनतिर सीमा सुरक्षाका लागि चिनियाँ सरकारले एउटा सीमा प्रहरी चौकी भवन पनि बनाएको छ । उक्त भवनको आसपासमा केही नयाँ भवनहरू बनाइएको छ ।

हामीले नेपाल र चीन जोड्ने पुलमा सामूहिक फोटो लियौं । पुलको दायाँ ओरालो झरी उत्तरतिर लाग्यौं । तलबाट सिमाना लगाउँदै आएको ढुंगे-पर्खाललाई पछ्याउँदै अघि बढ्यौं । थोरै माथि पर्खालको दायाँतिर ४८ नम्बरको एउटा सीमास्तम्भ भेटियो । त्यस स्तभमा विसं २०१९ लेखिएको थियो । नेपालको इतिहासअनुसार राजा महेन्द्रको पाला विसं २०१८-२०१९ तिर नेपाल र चीनबीच सिमानाबारे ठूलो विवाद भएको थियो । उक्त विवाद समाधान गर्न नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन लाईबीच सन्धि भयो ।

त्यसपछि नेपाल र चीनबीचको मूल नाकामा सीमास्तम्भ गाड्न थालियो । हाल रसुवागढीमा भेटिएको सीमास्तम्भ त्यतिखेरै गाडिएको हुनुपर्छ । सीमास्तम्भनजिकै लेन्देखोला पार गरेर उता पारि चीन भूमितिर जानआउन एउटा ८४.५ मिटर लामो फलामको झोलुंगे पुल पनि थापिएको छ । त्यो पुल स्विस परियोजनाको सहयोगमा विसं २०५४ तिर निर्माण गरिएको हो । उक्त पुलको प्रवेशद्वारमा अग्लो एउटा चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झन्डा गाडिएको छ । गर्वले शिर ठाडो पारी हामीले त्यो झन्डालाई एकपल्ट छोयौं र केहीह समय पारि चीन भूमितिर हेर्‌यौं । त्यसपछि फनक्क फर्केर बसमा चढी रात्रि बासका लागि तल स्याफ्रुबेसी बजारतिर लाग्यौं ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.