रसुवागढी रहस्य
केही महिनाअघि गजेन्द्र आङदेम्बे, बालन राजवंशी, बाबुराम तिमल्सिना आदि गरी हामी एघार जनाको टोली गोसाइँकुण्ड हँदै रसुवागढीसम्मको यात्रामा निस्केका थियौं । गोसाइँकुण्डको दर्शनपछि हामी रसुवागढीतिर लाग्यौं । पहिलो दिन बुद्ध-गुम्बा, लौरी-विनायक हुँदै चोलाङपाटी पुगेर बास बस्यौं ।
अर्को दिन बिहानै बाटो लाग्यौं । चन्दनबारी हुँदै धिम्सा पुग्यौं । धिम्सामा 'श्री इन्द्रबक्स गण'को सैनिक-क्याम्पअगाडि बनाइएको प्रतीक्षालयमा बास बसेपछि भार्खुतिर लाग्यौं । बाटोमा एक जना नेपाली प्रहरीसँग भेट भयो । उसले हामीलाई गोसाइँकुण्डमा स्नान गरेर फर्किरहेको काठमाडौं कलंकीनिवासी गणेश थापाको चन्दनबारीस्थित रेड पान्डा होटलमा अचानक मृत्यु भएकाले सरजिमिनका लागि जाँदै गरेको बतायो । ऊसँग छुट्टिएर एउटा साँघुरो गल्छेडोभित्र छिर्यौं । धेरै वस्तु-गोठालेमात्र हिँडेर हो कि ! दायाँबायाँ धेरै बाटा छुटिएको थियो । मानिस हिँड्ने र गाईबस्तु हिँड्ने बाटो छुट्याउन हामीलाई हम्मेहम्मे भयो ।
केही तल दुई-चारवटा मानिसको चिहान भेटियो । चिहान देख्दा मानव बस्ती नजिक पुगेको भान परे पनि त्यस्तो भएन । अलि धेरै नै हिँडेपछि पुरानो शैलीको एउटा माने भेटियो । मानेको दायाँ हुँदै ओरालो लाग्यौं । गुम्बा आइपुग्यो । स्थानीयवासीले त्यस गुम्बालाई 'टासी-गुम्बा' भन्दा रहेछ् । गुम्बामा लामाहरू थिएनन् । सानो खोल्सी पछ्याउँदै हामी फेरि ओरालै लाग्यौं । बाक्लो बस्ती भेटिएपछि थाहा भयो, ठूलो-भार्खु पुगेछौं ।
लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने ठूलो भार्खुको एक होटलमा बिहानको भोजन गरी बाहिर निस्कँदा सडकमा एक हुूल तामाङ युवकयुवती 'सेसे-बोन्पो' गीत गाउँदै स्याफ्रु-नाच नाचिरहेका देखिए । ती युवकयुवती पारि थङविन र घत्लाङ गाउँका भएको थाहा भयो । उनीहरू गोसाइँकुण्ड पुगेर फर्किरहेका रहेछन् । स्थानीयावासीले तिनलाई टीका (टासी) र खादा ओढाएर स्वागत गरे । जाँड (छ्याङ) रक्सी, चिया खुवाए ।
स्थानीय कृष्णबहादुर तामाङले नयाँ जानकारी दिए । उनका अनुसार ठूलो-भार्खु हनुमानढोका (काठमाडौं) र केरुङ (तिब्बत) को मध्य बिन्दुमा पर्छ । तिब्बती (भोटिया) भाषामा मध्य बिन्दुलाई भार्खु भनिन्छ । त्यसैले उक्त ठाउँलाई भार्खु भनिएको रे । हाल त्यसलाई ठूलो-भार्खु भनिँदो रहेछ । ठूलो भार्खुमा तामाङ जनजातिको बाहुल्य छ ।
ठूलो-भार्खुबाट स्याफु्रबेसीतिरको आधा बाटोसम्म हामी हिँडेरै गयौं । बाटोमा ब्रावल गाउँबाट स्याउ बेच्न धुन्चे बजार जाँदै गरेको एक तामाङ युवकसँग भेट भयो । त्यसपछि सानो डाँडामा पुग्दा पारि हाक्कु, थङ्विन, घत्लाङ आदि गाउँ देखिऐ । वारिबाट ती गाउँहरू असाध्यै राम्रा देखिन्थे । त्यहाँ फोटो खिचिरहँदा एक अपांगतायुक्त तामाङ वृद्धा आइपुगिन् । बोल्न नसक्ने रहिछन् । इशाराले पैसा माग्न थालिन् ।
उनले शिरमा रातो र हरियो बुट्टा भएको टोपी (स्यादे), बक्खु (आङ्दुङ), पटुका (चेँ) र गुन्यु (केतेन) लाएकी थिइन् । उक्त पहिरनले रसुवा-क्षेत्रका तामाङ-बस्तीमा पुगेको आभास दिइरहेको थियो । त्यस क्षेत्रका तामाङ-महिलाहरू प्रायः त्यही पहिरन लगाउँछन् । टोपी (स्यादे) चाहिँ हाक्कु, थङ्विन र घत्लाङ गाउँका तामाङ-महिलाले मात्र लाएको देखिन्छ । हेर्दा रसुवाका तामाङ्नीको पहिरन र तिब्बती महिलाको पहिरन झन्डै उस्तै देखिन्छ । त्यहाँबाट सानो-भार्खु पुगेपछि बस आइपुग्यो । बाँकी यात्रा बसमा हुने भयो ।
बसले स्याफ्रुबेसी बजार ल्याइपुर्यायो । तातोपानी-धाम, गणेश-हिमाल दोर्जे-लाक्पा, लाङ्टाङ आदि हिमाल जाने मुख्य पदमार्ग भएकाले पनि होला, पर्यटकहरूको राम्रै जमघट देखियो । टोलीको एकजना साथीलाई अर्को दिन नै काठमाडौं पुग्नुपर्ने फोन आएपछि स्याफ्रुबेसीकै गेस्ट हाउसमा रात काट्ने योजना लत्याउँदै रसुवागढी जाने बस चढ्यौं ।

धुन्चेबाट आएको बसले एउटा प्रहरीचौकी नजिकै पुर्यायो । दायाँतिर भोटे-खोला बगिरहेको थियो । खोलामा पुरानो शैलीको एउटा झोलुंगे पुल थियो । स्याफ्रुबेसीबाट लाङटाङ हिमालतिर जाँदा त्यही पुल तरेर जानुपर्दो रहेछ ।
पुलपारि दुईवटा बाटो छुट्टिएको देखिन्थ्यो । एउटा बाटो बायाँतिर हँदै भोटे-खोलाको किनारैकिनार माथि रसुवागढीतिर जाँदो रहेछ । अघि रसुवागढी त्यही बाटो भएर गइन्थ्यो तर हाल रसुवागढीसम्म सवारी मार्ग जोडिएकाले मानिसहरू त्यो बाटो हिँड्न छाडे । अर्को बाटो वाङ्वी गाउँतिर जाँदो रहेछ । लाङटाङ हिमाल जाने बाटो भएकाले वाङ्वी गाउँ पर्यटकका लागि केन्द्र बनेको रहेछ । केहीपछि एकजना युवक आई हामीसँगै माथि टिमुरेसम्म जाने अनुरोध गर्यो ।
ऊ मेरो नजिकै आएर बस्यो । मङ्गोलमुली देखिने ती युवकले आफुू चीनको नागरिक भएको बताए तर नेपालतिर व्यापारका लागि आएको हो वा शरणार्थीका रूपमा आई यतै बसोबास गरेको हो, हामीले सोधेनौं । नेपाली भने राम्ररी बोल्थ्यो । टिमुरे पुगेपछि ऊ ओर्लियो ।
टिमुरे सानो टुक्रे बजारजस्तै देखिन्थ्यो । त्यहाँ एउटा नेपाली सैनिक क्याम्प थियो । नजिकै चिलिमे जलविद्युत्को एउटा टनेल पनि बन्दै थियो । सडक आसपासमा ससाना झुपडी होटलहरू थापिएका थिए । होटलभित्र तामाङ युवती तिब्बती मम, थुक्पा, चाउमिन आदि बनाउन व्यस्त देखिन्थे ।
नेपाली सेनाको क्याम्प कटेपछि सीमा सुरक्षा भन्सार आइपुग्यो, जहाँ दुईजना नेपाली प्रहरी उभिइरहेका थिए । भन्सार क्षेत्रउता मालवाहक गाडीबाहेक अरू सवारीसाधनलाई छिर्ने अनुमति रहेनछ ।
अब रसुवागढी (नेपाल र चीनको नाका क्षेत्र) भित्र हामी प्रवेश गरिरहेका थियौं । थोरै अघि बढेपछि बायाँतिर सानो पहाडमा ढुंगाको गारोले चार कुना पर्खाल लाइएको दुईवटा ढिस्को देखियो । त्यही ढिस्कोलाई रसुवागढी भनिँदो रहेछ । नेपाली इतिहासमा त्यस गढीको महत्त्व धेरै छ । रसुवा जिल्ला पनि त्यही गढीकै नामबाट राखिएको हो ।
गढीको पछाडिपट्टि ढुंगाको लामो पर्खाल राखिएको छ । नेपालको लिखित इतिहासअनुसार श्री ३ जंगबहादुर राणाको शासनकालमा नेपाल-तिब्बत युद्धका क्रममा त्यो गढी बनेको हो । विसं १९१२ तिर नेपाल र तिब्बत (भोट) बीच ठूलो लडाइँ भएको थियो । त्यस बेला तिब्बत (भोट)माथि आक्रमण गर्न हिँडेका नेपाली फौजीहरूले आफ्ना खजाना रसुवागढीकै प्रांगणमा राखेका थिए । युद्धमा नेपालको जितपछि धेरै नेपाली तिब्बत (भोट) भूमितिर छिर्न थाले । त्यही बेला तिब्बती (भोटिया) हरूले बरु नियमअनुसार वार्षिक रूपले नेपाललाई क्षतिपूर्ति बुझाउने तर एक कदम पनि आफ्नो भूमि नछोड्ने निर्णय गरे । नेपाल र तिब्बतबीच सन्धि भयो ।
त्यही सन्धिअनुसार तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले नेपाल र तिब्बत (भोट) को सिमाना छुट्याउन लामो ढुंगाको पर्खाल बनाउन लगाए । हाल रसुवागढीपछाडि भएको ढुंगे पर्खाल त्यही नै हुनसक्छ । उक्त पर्खालको बीचबीचमा ठूल्ठूला प्वालहरू राखिएको छ । संरक्षणको अभावले होला, पर्खाल ठाउँठाउँमा भत्किएको छ । पर्खालपछाडि भोटेखोला बग्छ । खासगरी उत्तर-पश्चिम तिब्बत (चीन)बाट बगेर आएको केरुङखोला र पूर्व-उत्तरबाट आएको लेन्देखोला नै त्यसनजिकै मिसिएपछि भोटेखोला बन्दो रहेछ । जुन खोला टिमुरे, स्याफ्रुबेसी हँदै तल त्रिशूलीमा पुगेर मिसिन्छ ।
ढुंगे पर्खाल पूर्व-उत्तरबाट आएको लेन्देखोलाको वारि भई खोलाको किनारैकिनार पूर्व-उत्तरतिर लम्बेको छ । हालसाल पर्खालको बीच भाग काटी नेपाल र चीनबीच सवारीसाधान आवतजावत गर्ने एउटा पुल बनाइएको छ । पुलपारि चीनतिर सीमा सुरक्षाका लागि चिनियाँ सरकारले एउटा सीमा प्रहरी चौकी भवन पनि बनाएको छ । उक्त भवनको आसपासमा केही नयाँ भवनहरू बनाइएको छ ।
हामीले नेपाल र चीन जोड्ने पुलमा सामूहिक फोटो लियौं । पुलको दायाँ ओरालो झरी उत्तरतिर लाग्यौं । तलबाट सिमाना लगाउँदै आएको ढुंगे-पर्खाललाई पछ्याउँदै अघि बढ्यौं । थोरै माथि पर्खालको दायाँतिर ४८ नम्बरको एउटा सीमास्तम्भ भेटियो । त्यस स्तभमा विसं २०१९ लेखिएको थियो । नेपालको इतिहासअनुसार राजा महेन्द्रको पाला विसं २०१८-२०१९ तिर नेपाल र चीनबीच सिमानाबारे ठूलो विवाद भएको थियो । उक्त विवाद समाधान गर्न नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन लाईबीच सन्धि भयो ।
त्यसपछि नेपाल र चीनबीचको मूल नाकामा सीमास्तम्भ गाड्न थालियो । हाल रसुवागढीमा भेटिएको सीमास्तम्भ त्यतिखेरै गाडिएको हुनुपर्छ । सीमास्तम्भनजिकै लेन्देखोला पार गरेर उता पारि चीन भूमितिर जानआउन एउटा ८४.५ मिटर लामो फलामको झोलुंगे पुल पनि थापिएको छ । त्यो पुल स्विस परियोजनाको सहयोगमा विसं २०५४ तिर निर्माण गरिएको हो । उक्त पुलको प्रवेशद्वारमा अग्लो एउटा चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झन्डा गाडिएको छ । गर्वले शिर ठाडो पारी हामीले त्यो झन्डालाई एकपल्ट छोयौं र केहीह समय पारि चीन भूमितिर हेर्यौं । त्यसपछि फनक्क फर्केर बसमा चढी रात्रि बासका लागि तल स्याफ्रुबेसी बजारतिर लाग्यौं ।
प्रतिक्रिया दिनुहोस !