अन्तिम साँझ
...वर्षकै अन्तिम साँझ
पर्दा लगाऊ र ओछ्यानमा पल्ट
सम्झ अलिअलि गर्दै
समय कसरी मर्दो रै'छ
आफ्नै आँखाको डिलबाट खसेर ।
पर्खालहरू/पाखाहरू
घरहरू/गोरेटोहरू
भत्कियो गुमनाम
च्याउहरू/भ्यागुताहरू/सर्पहरू
छेपारो-मान्छेहरू
फेरि यो साल पनि
एउटा बर्खा
भुलभुल्ती काँचो रगत छादेर मर्यो ।
हृदयहरू/ममताहरू
सपनाहरू/आशाहरू
हरायो गुमनाम
कामनाहरू/बधाईहरू/आशीर्वादहरू
अहम-मान्छेहरू
फेरि यो साल पनि
एउटा हिउँद
धुमधुम्ती काँचो चिसो ओथारेर मर्यो ।
फूलहरू/पालुवाहरू
बगैंचाहरू/फलैंचाहरू
सुक्यो गुमनाम
गौंथलीहरू/कर्याङकुरुङहरू/हुटिट्याउँहरू
मलसाँप्रा-मान्छेहरू
फेरि यो साल पनि
एउटा वसन्त
प्याकप्याक्ती काँचो घाम चिथोरेर मर्यो ।
भजनहरू/प्रार्थनाहरू
गीतहरू/जुलुसहरू
बिलायो गुमनाम
हड्डी मक्किँदै गरेका छिचिमिरा रहरहरू
भुइँकुहिरोझैं फुसफुसाउँदै गरेका प्रेमहरू
जादुझैं झुन्डिरहेका चमेरा भरोसाहरू
बादलका ग्रेटवालझैं
भाषणहरू/आश्वासनहरू/प्रतिबद्धताहरू
घातआघात-मान्छेहरू
फेरि यो साल पनि
एउटा पूरै वर्ष
प्रसव समयमा एउटी स्वास्नीमान्छे मरेझैं
आशै-आशा देखाएर मर्यो ।
वर्षकै अन्तिम साँझ
बाल साँझ बत्ती
र हेर भित्ताको क्यालेन्डर विस्तारै विस्तारै
कसरी सपनै सपनाको पासो लगाएर
आत्महत्या गर्दो रहेछ समय
क्यालेन्डरमा झुन्डिएर ।
प्रतिक्रिया दिनुहोस !