विनोद चाैधरी धनी कि उपेन्द्र महतो?
काठमाडौः उमेरमा एसएलसी बोर्डको पाँचौ स्थानमा आफ्नो नाम गोरखापत्रमा पढ्दा जति खुसी भएका थिए, चार वर्षअघि फोब्र्स पत्रिकाको अर्बपति सूचीमा नाम आउँदा खुसी नहुने कुरै थिएन । तर, ती दुई खुसीलाई तुलना गर्दा खुसीमाथि अन्याय हुने विनोद चौधरी बताउँछन् । एसएलसीमा पाएको त्यो सफलताले जिन्दगी नै सफलतातिर मोडिएको जस्तो भएको थियो ।
फोब्र्सको अर्बपति सूचीमा पर्दा व्यापारिक सफलताको उचाइमा पुगेको अनुभूति दिलाएको थियो । दुवै सफलता पाउँदाका केही क्षण मिल्दाजुल्दा थिए । दुवैमा आशा थियो, ढुक्क थिएन । एसएलसी परीक्षामा राम्रो गरेका थिए, पास हुने कुरामा शंका थिएन । तैपनि बोर्डमा पाँचौ स्थान ‘सरप्राइज' थियो । पहिलोचोटि फोब्र्सको अर्बपति सूचीमा पनि त्यस्तै भैदियो । फोब्र्सले अडिट गरिरहेको थाहा थियो । तर, अर्बपति सूचीमा सामेल गर्न लायक ठान्छ/ठान्दैन ढुक्क हुने अवस्था थिएन । कौतुहलका बीच पाएको सफलता भएकाले दुवै खबरले असिम खुसी दिएको थियो ।
लगातार फोब्र्समा अटाउन थालेपछि पहिलाजस्तो कौतुहलता रहेन, कौतुहलता कम भएपछि त्यसले दिने खुसीको मात्रा पनि स्वतः घट्छ । तैपनि पाँचौचोटि फोब्र्सको अर्बपति सूचीमा अटाउँदा उनी एकदम खुसी नहुने कारण छैन । ‘किनकी सगरमाथाको चुचुरोमा पुग्न गाह्रो छ', उनी अथ्र्याउँछन्, ‘त्यहाँ पुगेपछि टिकिरहन झन् गाह्रो छ ।' फोब्र्सको सूचीमा टिकिरहन नेपालजस्तो पिछडिएको मुलुकका धनाढ्यलाई झन् चुनौतीपूर्ण छ ।
यसपालि नै फोब्र्सले थप एक सय ९५ सय नवधनाढ्य अनुहारको पहिचान गर्यो, चीनबाट मात्र ७६ जना नयाँ अनुहार अर्बपति क्लबमा थपिए । चीनका उद्यमी जसका लागि उसको सरकार नै संरक्षक बनिदिएको हुन्छ । विदेशमा लगानी गर्ने चिनियाँलाई एक प्रतिशत ब्याजदरमा ऋण सुविधा दिलाउने सुविधा सरकारले दिएको छ । विदेशमा सफल हुन सरकारले हौस्याउँछ । उत्पादन लागत यति कम छ कि विश्व बजारमा आफ्नो उत्पादनको बजार विस्तार गर्न कहाँ हो कहाँ सजिलो हुन्छ ।
हामीकहाँ यसले कमाएछ, कसरी ठीक पार्ने होला भनेर सोच्ने टन्नै हुन्छन् । १० प्रतिशत ब्याजदरमा ऋण लिनुपर्ने हुन्छ । ‘अनि त उनीहरूसँग खेल्ने मैदान नै समान भएन नि,' उनी थप्छन्, ‘सहरको महँगो स्कुलमा पढेकासँग गाउँको सामुदायिक स्कुलमा पढेर आएकाले प्रतिस्पर्धा गरेजस्तै हुने भयो ।' चीनमा अर्बपति उत्पादन गर्न सरकारले सघाइरहेको छ ।
हामीकहाँ सरकार नलागोस् भनेर रामनाम जप्न पर्ने अवस्था सकिइसकेको छैन । नेपालीलाई विदेशमा लगानी गर्न छुट दिने कानुनको मस्यौदा पटकपटक बन्यो तर ऐन बन्न सकेको छैन । पहिला सरकार मान्दैन, सरकार माने बाहिरकाले भाँडदिन्छन् । गत वर्षको कुरा हो, नेपाली रुपैयाँ डलरसँग कमजोर हुँदा चौधरीको सम्पत्ति १.३ अर्ब डलरबाट घटेर १.१ अर्ब डलरमा झर्यो । मेहनत पनि टन्नै गरेका थिए, ग्रोथ पनि राम्रै भएथ्यो । तर, रुपैयाँ यसरी कमजोर भैदियो, सम्पत्ति घटेको देखियो । यसपालि उनको सम्पत्ति पुनः २० अर्ब रुपैयाँ बढेको छ ।
सन् १९९० को दशकमै चौधरी ग्रुपलाई बहुराष्ट्रिय कम्पनी बनाउने हुटहुटी विनोदमा जागेको थियो । साथीहरूसँग महत्वकांक्षा सेयर गर्दा नेपाली मानसिकता यस्तो छ तिम्रो महत्वकांक्षालाई सपोर्ट हैन अवरोध गर्छ, बाहिरै बेस बनाएर अघि बढ भन्ने सल्लाह दिन्थे । भारतमा त यस्तो महत्वकांक्षा पलाएपछि व्यापारी लन्डनतिर सर्छन्, नेपाली समाज त यसका लागि झनै तयार भएको छैन भन्थे । ‘मैले साथीभाइको सल्लाह सुनिन', विनोद सुनाउँछन्, ‘व्यापार जहाँ फैलाए पनि चौधरी ग्रुपको हेडक्वार्टर त नेपालमै हुन्छ भनेर अघि बढें ।' सीजी नेपालमा हेडक्वार्टर भएको मल्टिनेसनल कम्पनी हो, भन्छन् उनी ।
चौधरीका अनुसार सम्पत्तिका कारणले मात्र फोब्र्सको सूचीमा अटाइने होइन । यो उद्यमशीलताको सम्मान हो । ‘मभन्दा धनी त खाडीका ठूला सहरमा घरैपिच्छे हुन्छन्', उनी भन्छन्, ‘तर ती फोब्र्सलायक ठानिएका छैनन् ।' कम्पनी, कम्पनी सञ्चालनको स्टाइल, कर्पोरेट गभर्नेन्स, ब्रान्ड, जनताको कम्पनी/उत्पादनप्रति धारणा धेरै पाटाको मूल्यांकन हुन्छ । ‘अर्थशास्त्री, वैज्ञानिक, साहित्यकारले नोबेल पुरस्कार पाउँछन्', उनी भन्छन्, ‘उद्यमीलाई नोबेल पुरस्कार दिइन्न, तिनले पाउने फोब्र्सको सम्मान हो ।' नोबेल पुरस्कार पाएसँगै व्यक्तिको पहिचान संसारभरि फैलिएजस्तै फोब्र्सको सूचीमा परेपछि व्यापारीको पहिचान कायम हुन्छ । जहाँ गए पनि फोब्र्सले चिनेको अर्बपति भन्ने हुन्छ ।
अर्बपति भनेपछि कुन देशको भन्ने प्रश्न उठ्छ । ‘नेपाल भनेपछि अर्बपतिसँग उसको देशको नाम हुन्छ', उनी सुनाउँछन् । फोब्र्सको सूचीमा परेपछि आफ्नो नेपालभन्दा बढी विदेशमा बसाइँ हुनुमा फोब्र्सको त्यही सम्मानले काम गरेको उनी ठान्छन् । उनी अहिले कुनै उद्योग र व्यापारको लक्ष्मण रेखाभित्र सीमित छैनन् । उनका अनुसार उनको ९० प्रतिशत समय अरु काममा बितिरहेको छ । केही दिनअघि उनैले जन्माएको नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको पूर्वाधार सम्मेलनमा विनोद उपस्थित हुन सकेनन् । कारण, ६ महिना अघिनै अक्सफोर्डमा उनको प्रवचन तय भइसकेको थियो ।
‘अब विश्वकै सबैभन्दा धनी वा टप टेनमा पर्ने महत्ववकांक्षा छैन', उनी भन्छन्, ‘त्यो मैले अर्को पुस्तालाई छाडिदिएको छु ।' नवलपरासीको चौधरी उद्योग ग्राममा उनले औद्योगिक म्युजियम बनाएका छन् । त्यो म्युजियममा कतिवटा सेक्सन थप्छौ त्यही आधारमा तिमीहरूको मूल्यांकन हुनेछ, न कि चौधरी ग्रुपको कति सम्पत्ति भन्ने आधारमा भनेर छोराहरूलाई पटकपटक सचेत गराउने गर्छन् । उनी भन्छन, ‘अहिलेसम्मको सबै जस मैले पाउछु, आफूले जस पाउने काम सोच/गर भनेर हौस्याउँछु । '
प्रतिकूल अवस्थामा काम
माओवादी द्वन्द्वले गाँजेको समय, जुनबेला लगानीकर्ता थप लगानी हैन, लगानी फिर्ता लिने योजना बुनिरहेका हुन्थे । चौधरीचाहिँ नवलपरासीमा उद्योग ग्राम बनाइरहेका थिए । सुरुमा त्यहाँ दुईवटा उद्योग सञ्चालनमा थिए । अहिले ११ उद्योग २४ घन्टा चलिरहेका छन् । लोडसेडिङको समयमा औद्योगिक ग्रामभित्रै २४ घन्टा बत्ती आउने वातावरण बनाइएको थियो । मध्य तथा सुदूर पश्चिममा कोही उद्योगी जान तयार थिएनन् । चौधरीले बर्दियामा वाइवाइको प्लान्ट लगाए । त्यहाँ पनि थुप्रै उद्योगको औद्योगिक पार्क बनाउने योजना छ । १५ वर्षअघि हामीसँग ३/४ वटामात्र बिजनेस भर्टिकल थिए । अहिले हामीसँग १६ वटा बिजनेस भर्टिकल छन्, सबै राम्रोसँग चलिरहेका छन् ।
जतिसुकै अप्ठ्यारो स्थितिबाट देश गुज्रिए पनि यात्रा रोकिएको थिएन/रोकिँदैन । सीजी विश्वव्यापी फैलिइरहेका कारण कतिपयले अब बाहिरमात्र ध्यान दिन थाल्यो, नेपालमा देखाउनका लागि हो कि भन्ने ठान्छन् । बितेको १० वर्षमा देशभित्रै उल्लेख्य लगानी गरेको उनी सुनाउँछन् । अब त झन ऊर्जा, सिमेन्ट, हस्पिटालिटी, रियल स्टेटमा ठूलो लगानीका योजना छन् । उनले तीन वर्षभित्र नेपालमा ५० अर्ब रुपैयाँ थप लगानी गर्ने घोषणा गरिसकेका छन् । पश्चिमको बर्दियाका साथै पूर्वको सुनसरीमा नवलपरासीमाजस्तै चौधरी ग्रामको योजना छ ।
विदेशमा नेपाली समाजले उनलाई सम्झिइरहन्छ । बस्न त आफ्नै देशमा मन थियो नि, बस्ने अवस्था भएन भन्नेबाट नेपालीका कुरा सुरु हुन्छन् । नेपालमै केही गर्ने मन थियो नि, विदेशिन बाध्य भयौं भन्छन् । ‘म यो लघुताभास हो, यस्तो लघुताभास आजैदेखि फाल्नुस् भन्ने गर्छु', उनी भन्छन् । आजको विश्वमा देशमै काम गर्नुपर्छ भन्ने सोचले काम गर्न छाड्यो ।
अमेरिकन/युरोपियन अवसरको खोजी गर्दै अफ्रिका, एसिया पुग्छन् । नेपालमै विकसित देशका थुप्रै अवसर देखेरै भित्रिएका छन् । यसैले अवसरको खोजीमा जहाँ पनि पुग्न सकिन्छ । ‘जहाँ गए पनि नेपालीले ठाडो शिर पारेर बाच्ने अवस्था सिर्जना गर्न मेहनेत गर्नुस् भन्ने गर्छु', उनी सुनाउँछन् ।
विदेशमा नेपालीले विनोदलाई प्रश्न गर्छन्, तपाईं किन राजनीतिमा सक्रिय हुनुहुन्न ? विकासको एजेन्डा बोक्ने राजनीतिज्ञ चाहियो, परम्परागत/पेसेवर राजनीतिज्ञले आर्थिक विकासको एजेन्डा नबोक्ने रहेछन् । ‘उनीहरूलाई जुन दिन तपाईंहरूले यहीबाट भोट हाल्न पाउनुहुन्छ, त्यो बेला म पक्कै राजनीतिमा आउनेछु भन्ने गर्छु', उनी सुनाउँछन् । संविधानले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार बिनाको नेपालीको मान्यता दिएको छ । यसले विदेशमा संघर्ष गरिरहेको छ, सीप सिकेको छ, विदेशको प्रतिस्पर्धात्मक बजारमा खरो उत्रिएको छ, विदेशको विकासमा प्रत्यक्ष योगदान गरेको छ, देशलाई केही गर्न चाहान्छ उसैको अधिकार किन कटौती गरियो ? यहाँका नेतामा डर छ, त्यस्ता मान्छे आए भने भ्याइदिन्छन् भन्ने । सबै पार्टीले विदेशमा इकाइले बनाएर विदेशमा बस्ने नेपालीलाई प्रयोग गरेका छन् तर राजनीतिक अधिकारचाँहि हुन्न भन्छन् । मतदानको अधिकार दिनपर्नेमा उनको जोड छ ।
विनोद धनी कि उपेन्द्र ?
उपेन्द्र महतो फोब्स्र छैनन, तैपनि दुईबीच को धनी भन्ने जिज्ञासा धेरैमा छ । ‘उपेन्द्रजी मात्र किन अरु नेपाली पनि मभन्दा धनी हुनसक्छन्', चौधरी स्पष्ट हुन चाहेनन् । धनको प्रभावकारी प्रयोग भएमात्र धनको खास मतलब हुने उनी बताउँछन् । धनले आर्थिक गतिविधि सिर्जना गर्नुपर्छ । ब्रान्ड सिर्जना गर्नुपर्छ र विश्वव्यापी उपस्थिति पनि हुनपर्छ भन्ने मान्यता उनी राख्छन् । धन एउटा टुलमात्र हो, यो टुललाई तपाईंले जति प्रभावकारी रूपमा प्रयोेग गर्न सक्नुभयो त्यति रिटर्न बढ्दै जानु हो ।
–एसएलसीमा पाएको त्यो सफलताले जिन्दगी नै सफलतातिर मोडिएको जस्तो भएको थियो । फोब्र्सको अर्बपति सूचीमा पर्दा व्यापारिक सफलताको उचाइमा पुगेको अनुभूति दिलाएको थियो ।
–सम्पत्तिका कारणले मात्र फोब्र्सको सूचीमा अटाइने होइन । यो उद्यमशीलताको सम्मान हो । मभन्दा धनी त खाडीका ठूला सहरमा घरैपिच्छे हुन्छन् तर ती फोब्र्सलायक ठानिएका छैनन् ।
–माओवादी द्वन्द्वले गाँजेको समय, जुनबेला लगानीकर्ता थप लगानी हैन, लगानी फिर्ता लिने योजना बुनिरहेका हुन्थे । चौधरीचाहिँ नवलपरासीमा उद्योग ग्राम बनाइरहेका थिए ।
एउटा बिन्दुमा पुगेपछि धन केबल अंकमात्र हो, त्यसको अरु महत्वव हुन्न भन्ने पनि चलन छ । चौधरी यस्तो भनाइमा विश्वास गर्दैनन् । ‘प्रयोग गर्न नजान्नेका लागि अंकमात्र हो', उनी थप्छन्, ‘प्रयोग गर्न जान्नेका लागि फ्युल हो, जति बढ्यो त्यति इन्धनको काम गर्छ ।' वाइवाइलाई न्युयोर्क स्टक एक्स्चेन्जमा सूचीकृत गर्ने उनको सपना छ । मेक्सिकन, अफ्रिकन, अमेरिकन, युरोपियन, एसियन सबैको हातमा वाइवाइ भएको देख्ने सपना साँचेका छन् । ‘यसको लागि ठूलो पुँजी लगानी गर्नुपर्ने हुन्छ', उनी भन्छन्, ‘यसैेले पैसा अंकमात्र हो भन्ने बेला भएको छैन ।'
सामान्यतया व्यापारिक घरानाको सफलताको आयु तीन पुस्तामा सीमित हुने गरेको पाइन्छ, संसारभरि । एउटा पुस्ताले संघर्ष गरेर सफलता पाउँछ । छोराछोरी पुस्ता बावु आमाले दुःखमा साक्षी हुन्छन्, यसैले उसले पनि योगदान गरेर व्यवसायमा थप्छ । तर, जब दुःख नदेखेको पुस्तामा व्यापार जान्छ, अवसान हुन्छ । संघर्ष गरेको देखेको पुस्ताले धनलाई हाँक्छन्, प्रतिफल पाउँछन्,' उनी भन्छन्, ‘नदेखेको पुस्तालाई धनले हाँक्न थाल्छ, सिध्याउँछन् ।'
चौधरी ४० वर्षको उमेर नपुग्दै नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएका थिए । ‘म महासंघको सबैभन्दा भोकल र क्रिटिकल अध्यक्ष थिएँ होला', उनी भन्छन् । नीति, निर्माणमा निजी क्षेत्रको प्रतिनिधिका रूपमा महासंघलाई स्वीकार्नुपर्छ, उसले भनेको कुरा सुन्नपर्छ भन्ने मान्यता उनले स्थापित गरेका थिए । महासंघको राजनीतिबाट बाहिरिएपछि उनले नेपाल उद्योग परिसंघ स्थापना गरी लामो समय नेतृत्व गरे । अहिले प्रेसिडेन्ट एमिरेट्स छन् । यी संस्थाले आर्थिक नीतिलाई ड्राइभ गर्नुपर्ने उनी भन्छन् ।
यी संस्थाले सरकारको एजेन्डा बोकेर हिँडनुभन्दा पहिला आफ्ना एजेन्डालाई सरकारको नीति बनाउनुपर्ने उनको धारणा छ । तिनको सफलता/विफलता मापन गर्ने मुख्य सूचक यही हो । ‘नीति निर्माणमा निर्णायक भूमिका छ भने सफल हुन्,' उनी भन्छन्, ‘छैन भने ती असफल हुन् ।' आज हाम्रो राजनीति आर्थिक एजेन्डालाई केन्द्रमा राखेर अघि बढ्न चुकेको छ । पार्टी चुके, उनीहरू चुक्नुको मतलब निजी क्षेत्र पनि चुकेको हो ।
‘उनीहरूलाई आर्थिक एजेन्डा प्राथमिकता हो भन्ने बुझाउन नसक्नु निजी क्षेत्रको कमजोरी हो, भन्छन् । २५ वर्षमा २२ सरकार बदलिने माहोलमा विकासका मुद्दाले प्राथमिकता पाउँछन् भन्नेमा उनलाई विश्वास लाग्न छाडिसकेको छ । सरकारमा पुग्ने बित्तिकै दिनगन्ती सुरु हुने माहोलका मन्त्रीबाट धेरे अपेक्षा गर्न सकिन्न । ‘उनीहरूलाई निजी क्षेत्रले ड्राइभ गर्न सक्नुपर्छ', उनी थप्छन् ।