पोखरामा होमस्टे मार्ट
पोखराः पर्यटकीय नगरी पोखरामा गाउँ पर्यटन विकासका लागि शुक्रबारदेखि होमस्टे मार्ट सुरु भएको छ । गाउँमा सञ्चालनमा रहेका होमस्टे प्रवद्र्धनका लागि पोखराको ड्यामसाइटस्थित नेपाल पर्यटन बोर्डको प्रांगणमा होमस्टे मार्ट सुरु भएको हो ।
नेपाल पर्यटन बोर्ड र गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ कास्कीको आयोजनामा सुरु भएको होमस्टे मार्ट तथा कार्यशाला २०७३ मा गण्डकी र धौलागिरिका विभिन्न गाउँमा होमस्टे सञ्चालनकर्मीले आ–आफ्नो गाउँमा घुम्न आउन मार्टमा सहभागी हुन आएका अतिथिलाई निम्तो दिएका छन् । मार्टमा २२ वटा होमस्टेका २६ स्टल छन् ।
गाउँ पर्यटन विकासका लागि आयोजित कार्यक्रममा पर्यटनविद झलक थापाले गाउँगाउँमा सञ्चालनमा रहेका होमस्टे नेपाल चिनाउने सशक्त माध्यम भएको बताउँदै पर्यटन विकासका लागि नेपाली पन र नेपाली मन हुनुपर्नेमा जोड दिनुभयो । नेपाली परम्परागत संस्कृतिको अध्ययन र अवलोकन गर्न आउने पर्यटकका लागि होमस्टे महत्ववपूर्ण रहेको जनाउँदै थापाले गाउँको प्राचीन कला संस्कृति संरक्षण गर्दै होमस्टेको विकास हुनुपर्ने बताउनुभयो ।
मार्टमा भएको होमस्टे अवको बाटो विषयक छलफल कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख दीपकराज जोसीले गाउँगाउँमा रोजगारीका अवसर सिर्जना गर्न महत्ववपूर्ण माध्यम होमस्टे बन्दै गएको बताउँदै पर्यटन बोर्डले प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको सुनाउनुभयो । पर्यटन बोर्डले पर्यटकीय गाउँको प्रवद्र्धनका लागि छुट्टै वेभसाइट बनाउने बताउनुभयो ।
२०५४ सालदेखि स्याङ्जाको सिरुबारीबाट सुरु भएको होमस्टे पछिल्लो समय देशमा विभिन्न गाउँको पर्यटन विकासका लागि महत्वपूर्ण माध्यम हुँदै गएको गाउँ पर्यटन प्रवद्र्धन मञ्चका पूर्वमहासचिव राजकुमार थापाले बताउनुभयो । सबै समुदाय मिलेर नेपाली संस्कृति र स्थानीय उत्पादन पस्किएर पछिल्लो समय होमस्टेले आन्तरिक तथा बाह्य पर्यटक तान्न सक्षम हँदै गएको उहाँले बताउनुभयो ।
गाउँको आर्थिक स्वावलम्बनका लागि सञ्चालनमा रहेका होमस्टेले महत्ववपूर्ण भूमिका खेलेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनुभयो । गाउँमा रोजगारीका अवसर सिर्जना गरी युवा शक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले होमस्टेको व्यावसायीकरणमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पर्यटनलाई गाउँसम्म पुर्याउन होमस्टे नेपालको मौलिक विधा भएको नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासुदेव त्रिपाठीले बताउनुभयो ।
गाउँमा सञ्चालन भएका होमस्टेले संसारभरका पर्यटकलाई लोभ्याउँदै गएको पत्रकार अमृत भादगाउँलले बताउनुभयो । होमस्टेको सम्भावना र चुनौतीका विषयमा पनि छलफल भएको थियो । छलफलमा सहभागी हुँदै नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत तथा मेला संयोजक सूर्य थपलिया, गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारी, नाटा पश्चिमाञ्चलका अध्यक्ष डिलप्रसाद गौतमले ग्रामीण पर्यटन विकासका लागि सबै संघसंस्था हातेमालो गरी अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
मेलामा सहभागी होमस्टेका गाउँका पर्यटन व्यवसायीले होमस्टे सञ्चालनबाट रोजगारीका अवसर सिर्जना भए पनि अझै व्यावसायिक भइनसकेको बताउनुभयो । भूकम्पले घर भत्केपछि होमस्टे सञ्चालन त के आफै बस्न पनि समस्या परेको पस्लाङ होमस्टे गोर्खाका अध्यक्ष मनबहादुर रानामगरले सुनाउनुभयो । होमस्टेबाट राम्रो आम्दानी हुने भएकाले अहिले जेनतेन गरी पुनः घर निर्माण गरेर केही घरमा होमस्टे सञ्चालनमा आएको र केही घर बन्दै गरेको उहाँले बताउनुभयो । २०७० सालमा १२ घरबाट सुरु भएको होमस्टे अहिले १८ घरमा होमस्टे सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
तनहुँको दुम्सी दरैमा आन्तरिक पर्यटकले नै होमस्टेबाट राम्रो आम्दानी हुन थालेको होमस्टेकी अध्यक्ष आशा दरैले बताउनुभयो । गत माघबाट सञ्चालनमा आएको होमस्टेमा अहिलेसम्म करिब पाँच सय पर्यटक आएको उहाँले सुनाउनुभयो । होमस्टे सञ्चालनले गाउँमा रोजगारको अवसर बढाएको स्थानीयले बताए । अहिले ६ घरमा होमस्टे सञ्चालन भएको र अन्य घरमा पनि होमस्टे सञ्चालन गरिने उहाँले बताउनुभयो ।
दुई दिनसम्म चल्ने मेलामा शनिबार नेपाली खाना मेनु कार्यशाला, मिडियाको भूमिका, होमस्टे बजारीकरण कार्यशाला, होमस्टे सञ्चालक महिला उद्यमीबीच छलफल, विभिन्न सांस्कृतिक प्रस्तुति रहेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीले बताउनुभयो । कार्यक्रम सुरु हुनुअघि पोखराको लेकसाइडबाट बाजागाजासहित होमस्टे मार्टमा सहभागी विभिन्न जिल्लाका गाउँका पर्यटन व्यवसायीले झाँकी प्रस्तुत गरेका थिए।