चार दिनदेखि जाजरकोट टेलिफोन सेवा अवरुद्ध
जाजरकोटः चार दिनअघि अबरुद्ध नेपाल टेलिकमका टेलिफोन सेवा अझै सुचारु हुन सकेको छैन। गत शुक्रबार बेलुकीदेखि अवरुद्ध स्काइ, जीएसएम र ल्याडलाइन फोन सुचारु नहुँदा जाजरकोट र रुकुमका साथै आसपासका जिल्लाका सेवाग्राही मारमा परेका छन्।
एक्कासी अवरुद्ध भएको टेलिफोन सेवाबारे तीन दिनपछि क्षेत्रीय निर्देशनालयले सूचना निकाली हिमपात र चट्याङका कारण रोल्पाको रातामाटा तथा जुम्लाको डाँफेको लेकमा रहेको रिपिटर स्टेशनमा रहेका रेडियो उपकरणहरुमा चार दिनअघि अबरुद्ध नेपाल टेलिकमका सबै फोन सेवा अझै सुचारु हुन नसकेको जनाएको छ। गत शुक्रबार बेलुकीदेखि अवरुद्ध स्काइ, जीएसएम र ल्याडलाइन फोन सुचारु नहुँदा ६ नम्बर प्रदेशका पहाडी जिल्लाका सर्वसाधारण मारमा परेका छन्।
दुईवटा स्टेशनमा रहेका रेडियो उपकरण जल्दा रुकुम र जाजरकोट पुर्ण रुपमा संचार सम्पर्कबाट विच्छेद भएका छन् भने आसपासका सल्यान, रोल्पा, डोल्पा , जुम्ला, हुम्ला र मुगुका ग्रामिण भेगको फोन सेवा अवरुद्ध भएको छ। चट्याङका कारण जलेका उपकरण मर्मतको लागि प्राविधिक टोली अझै त्यसतर्फ गएको छैन ।
टेलिफोन सेवा अवरुद्ध हुँदा यस क्षेत्रका स्थानीय सञ्चार सम्पर्कबाट विच्छेद भएका छन्। टेलिकमले टावर मर्मतमा ढिलासुस्ती गरेको स्थानीयको आरोप छ। कतिपयले एनसेलबाट टेलिकमका कर्मचारीले कमिशन लिएर मर्मतमा ढिलाइ गर्ने गरेको स्थानियले आरोप लगाएका छन्। जाजरकोट खलंगाका स्थानीय बालकुमार शर्माले टेलिकमको क्षेत्रीय कार्यालयका प्राविधिक र कार्यालय प्रमुखले एनसेलबाट कमिशन लिएर मर्मतमा ढिलाइ गर्ने गरेको दावी गरे। टेलिफोन सेवा अवरुद्ध भएको चार दिनसम्म पनि मर्मत शुरु नगरिनु कमिशनकै खेल भएको आरोप उहाँले लगाउनुभयो। अन्य सवै सेवा बन्द भएपनि एनसेलको सेवा भने सुचारु भइरहेको छ। यतिवेला एनसेलका सीम र रिचार्ज कार्डको विक्री वितरण ह्वात्तै बढेको छ।
नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका इन्जिनियर सुशील पोखरेलले रिपिटर टावर मर्मतका लागि प्राविधिक टोली पठाउने तयारी भइरहेको बताउनुभयो। मर्मत गर्ने टोली खटिएपनि भौगोलिक विकटकता र हिमपातका कारण अझै मर्मतको कार्य शुरु नभएको इन्जिनियर पोखरेलले बताउनु भयो। ‘मंगलवारबाट मर्मतको काम थाल्ने र बुधवार सम्म टेलिफोन सेवा सुचारु हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘रेडियोको उपकरण जलेकाले आवश्यक समान खरिद र ढुवानीमा ढिलासुस्ती भएकाले मर्मतमा ढिलाइ हुन गएको हो।’