करोडौंको काठ वनमै अलपत्र
पुरन्धारा (दाङ) : दाङमा रहेका राष्ट्रिय वन क्षेत्रमा लामो समयदेखि करोडौंको सालको काठ अलपत्र अवस्थामा रहेको छ । नेपालमा भएका राजनीतिक परिवर्तनको समयमा राष्ट्रिय वन अतिक्रमण गरी काटिएका सालका काठ अहिलेसम्म अलपत्र अवस्थामा रहेका छन् । यसरी जंगलमै रहेको काठको वर्तमान बजार मूल्य २३ करोड रुपैयाँभन्दा बढी छ ।
जिल्लाको पश्चिमी क्षेत्र बबई गाउँपालिका (साविकको पुरन्धारा गाविस) का विभिन्न क्षेत्रमा रहेका राष्ट्रिय वनमा काटिएको सालका काठ अलपत्र अवस्थामा रहेको पाइएको छ । पुरन्धाराको गंगटे, मदाने, जौबारी, कपरेल, कालापानीलगायत क्षेत्रमा करोडौंको काठ केही वर्षदेखि अलपत्र अवस्थामा छ । राजनीतिक परिवर्तनसँगै राष्ट्रिय वन अतिक्रमण हुँदा काटिएका सालका रूखबाट उत्पादन भएको काठ अहिलेसम्म व्यस्थापन हुन सकेको छैन ।
स्थानीयले त्यो काठलाई खेतमा तथा बारीमा आलीको रूपमा प्रयोग गरेका छन् । सालका काठ प्रयोग गरेर खेतका आली बनाइएको छ । स्थानीय हुमबहादुर डाँगीले प्रयोग गर्ने ठाउँ नभएपछि र सम्बन्धित निकायले चासो नदेखाएपछि आलीको रूपमा बहुमूल्य सालका गोलिया प्रयोग गरेको बताउनुभयो । २०÷२२ वर्षदेखि यी काठ यसरी नै छन् । 'बारीमा भएको काठ हामीले घरमा प्रयोग गर्नेजति प्रयोग गरिसकेका छौं । बाँकी काठ जंगलमै छ', स्थानीय रामसिंह घर्तीले भन्नुभयो, 'त्यतिबेला रूख काटे, कति काठ रातारात बेचे, कति यहीँ कुहिन थालेको छ ।'
राष्ट्रिय वन अतिक्रमण गरी काटिएका सालका काठ अहिलेसम्म अलपत्र अवस्थामा छन् । यसरी जंगलमै रहेको काठको वर्तमान बजारमूल्य २३ करोड रुपैयाँभन्दा बढी छ ।
जिल्ला वन कार्यालय दाङका वन अधिकृत हरि गौतमले उक्त क्षेत्रमा ४४ हजार क्युफिट काठ जंगलमै रहेको बताउनुभयो । वन क्षेत्रको अतिक्रमणसँगै हजारौ क्युफिट काठ काटिएको, त्यसमा केही तस्करी भइसकेको र बँचेको काठ जिल्ला वनले संकलन गर्न लागेको उहाँको भनाइ छ । वन अतिक्रमण गर्नेहरूले काठ काटेको गौतमले बताउनभयो । गोलियासमेत बनाइसकेको काठ तस्करीकै उद्देश्यले काटेको हुन सक्ने अनुमान छ ।
कार्यालयले अहिलेसम्म काठको व्यवस्थापन नगरेको भए पनि यस वर्ष त्यसलाई संकलन गर्ने तयारी गरेको जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला वनले त्यस क्षेत्रका विभिन्न २८ वटा प्लटमा रहेको ४४ हजार क्युफिट काठ १ करोड १० लाख रुपैयाँ लगानी गरेर संकलन गर्न लागिएको छ । सिग्देलले जेठसम्ममा अलपल काठ संकलन गर्ने बताउनुभयो । जंगलमा अलपत्र काठको तथ्यांक लिने काम भइसकेको उहाँको भनाइ छ ।