एक सय २० वर्षीया हजुरआमा भन्नुहुन्छः जनताका मर्का बुझ्ने नेतालाई भोट
जाजरकोटः जाजरकोट भेरी नगरपालिका ६ भेरेकी एक सय २० वर्षीया भीमा वली वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्न आतुर हुनुहुन्छ । यतिबेला उहाँको साथी बनेको रेडियो छ । रेडियोमा दैनिक समाचार सुन्नुहुन्छ । राजनीतिमा पनि निकै चासो राख्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘जनताका पिरमर्का बुझ्ने इमान्दार नेतालाई भोट दिन्छु ।' राणा शासनसमेत भोग्नुभएकी उहाँ प्रजातन्त्र, पञ्चायत, बहुदल हुँदै गणतन्त्र देख्न पाएकोमा खुसी हुनुहुन्छ । उहाँलाई पहिलेको व्यवस्थाभन्दा अहिले निकै राम्रो लागे पनि छाडातन्त्र बढी भएकोमा भने चित्त बुझेको छैन । पहिलेका मानिस एक महिना लगाएर नेपालगन्जबाट नुन ल्याएर खान बाध्य थिए ।
अहिलेको जस्तो सुविधा थिएन । अहिलेका मानिस निकै भाग्यमानी भएको उहाँको ठहर छ । ‘बाँचेपछि सबै देख्न पाइँदोरहेछ', वलीले भन्नुभयो । आफ्नो पुस्ताले जीवन निर्वाह गर्न निकै संघर्ष गर्नु परेको उहाँको अनुभव छ । बिरामी भयो भने धामीझाँक्रीमा भर पर्नुपर्ने बाध्यता भएको उहाँको भनाइ छ । त्यही भएर विकास गर्न सक्ने व्यक्तिलाई चुनावमा जिताए जीवनस्तर उकास्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
६ छोरा र ६ छोरी जन्माउनु भएकी वलीले आफूले काललाई पनि जितेको बताउनुहुन्छ । १२ औं सन्तानका रूपमा कान्छो छोरा टीकाराम वलीलाई २०१६ सालमा जन्म दिएको उहाँले बताउनुभयो । भात खान मन नपराउने भीमा मकैको रोटी दूधसँग खान खजिलो हुने बताउनुहुन्छ ।
नियमित चिया पिउने गरेको उहाँको भनाइ छ । दैनिक खानामा दही, दूध पनि खाई रहनुभएकी वलीले चाउचाउ पनि मन पराउनुहुन्छ । चिसो पानी, आफ्नै बारीमा फलेको सागसब्जी र अन्न, दही, दूध नियमित सेवन उहाँको दीर्घ जीवनका आहार हुन् ।
उहाँ केही वर्ष पहिलेसम्म दिनभर काम गर्नुहुन्थ्यो तर अहिले काम गर्न भने सक्नुहुन्न । सल्यानको दार्माकोट उहाँको जन्मघर हो । वलीको १३ वर्षमा जाजरकोटको भेरीमा विवाह भएको थियो । माइतीघर दार्माकोटमा हालसम्म अघिल्लो पुस्ताको कोही पनि जीवित नरहेको र नयाँ पुस्ताका कसैलाई पनि आफूले नचिन्ने उहाँ बताउनुहुन्छ ।
वलीले जन्म दिएका १२ सन्तानमध्ये हाल दुई छोरा र एक छोरी मात्र जिवित रहेको उहाँले बताउनुभयो । हरिबहादुर, टीकाराम र ओइली खत्री जिवित हुनुहुन्छ । अन्य छोराछोरीको मृत्यु भइसकेको छ । वली कान्छो छोरा टीकारामसँग बस्दै आउनुभएको छ । २०५२ सालमा नेपाली नागरिकताको प्रमाण पत्र बनाउनुभएकी वलीले सरकारले दिने जेष्ठ नागरिक भत्ताले कपडा र चिनी चियापत्ती किन्ने गरेको बताउनुभयो । १९५३ सालमा जन्मिनुभएकी उहाँ नागरिकता लिँदा ९९ वर्षकी हुनुहुन्थ्यो ।
भीमाले नजिकिँदै गरेको निर्वाचन शान्ति पूर्ण रूपले सम्पन्न गर्न र सबै दल मिलेर संविधान कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । उहाँको चुनावमा भोट हालेर आफ्नो मनले खाएको उम्मेदवारलाई जिताउने धोको छ । आफू कुनै पार्टीको सदस्य नभएको बताउँदै उहाँले भन्नुभयो, ‘जसले जनताका लागि राम्रो काम गर्छ त्यही उम्मेदवार र पार्टीलाई भोट हाल्छु ।'