आगलागीबाट डेढ लाखको क्षति
लहानः ग्यास सिलिन्डरबाट ग्यास लिग भई सिरहाको मिर्चैया नगरपालिका-५ कटारी चोकमा आइतबार आगलागी हुँदा करिब रु डेढ लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानीय सहदेव साहको भान्साकोठामा ग्यास सिलिन्डरबाट ग्यास लिग भई अचानक आगलागी हुँदा भान्सा घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
मुसहर बस्तीमा लत्ताकपडा वितरण
सिरहाको मिर्चैया नगरपालिका-७ मूलाबारीस्थित दलित विपन्न परिवारलाई आइतबार लत्ताकपडा वितरण गरिएको छ ।
सिरहाली सेवा समाज र इन्ट्रयाक्ट क्लब अफ चेल्सी इन्टरनेसनल एकेडेमी काठमाडौँको संयुक्त पहलमा मूलाबारीस्थित मुसहर बस्तीका ३० घर परिवारलाई लत्ताकपडा, साबुन, नेलकटर र काइयोलगायतका सामान वितरण गरिएको संस्थाका सचिव किरणकुमार पासवानले जानकारी दिनुभयो । रासस