धुर्मुस–सुन्तलीको विदाइ गर्दै भम्कानिए मुसहर (फाेटाेफिचर)
बर्दिबासः सोमबार बिहान ७ नबज्दै धुर्मुस—सुन्तली एकीकृत नमुना मुसहर बस्तीमा आइपुगे। आफ्नै छोराछोरी सम्झेर धर्मुस दम्पतीले बस्तीका नानीहरुलाई काँखमा बोके। भविष्यका कर्णधार फूलका कोपिला झैं रहेका बस्तीका बालबालिकाहरुको गाला सुमसुमाए। सफल भविष्यको अपेक्षा गरे।
बस्तीका ५० वटै घरमा धुर्मुस–सुन्तली पुगे सोमबार विहानै। घरमा मान्छेहरुलाई भेटे। सोही बस्तीमा तीन महिना विताएका धुर्मुस–सुन्तलीसंग बच्चहरु झुमिए। धुर्मुस दम्पतिले दश औंला जोडेर नमस्कार गर्दै अब बस्तीबाट जाने आज्ञा दिनुस्, आमा, वुवा, काका, काकी, दाजुभाइभन्दै घर घुमेर विदा मागे। मधेसको कठियांग्रिदो पुस महिनाको जाडो र चैतको गर्मीमा आफै खटिएर महोत्तरीको बर्दिबासमा मुसहरहरुका लागि नमुना मुसहर बस्ती बनाएका धुर्मुस–सुन्तलीले नयाँ वर्षका दिन बस्ती हस्तन्तरण गरिसकेका छन्।
धुर्मुस-सुन्तली बस्ती निर्माणपछि विदा भएर आफ्नो कर्मथलो काठमाडौं फर्किन लाग्दा मुसहरुहरु एकाएक भावुक बने। वर्षौदेखि घरविहीन मुसहरका लागि आकर्षक घरसहितको बस्ती बनाइदिएका धुर्मुस–सुन्तलीको जोडीलाई विदाइ गर्दा बस्तीका बच्चाबच्ची, युवायुवती, वुद्धवृद्धाका आँखा रसाए। कतिको त आँखाबाट आसु नै खस्यो।
‘तपाईँहरु हाम्रो बस्तीमा राम–सीताको भगवान् जोडी भएर आउनु भयो। हाम्रो पीडा बुझ्नु भयो। हाम्रो घर बनाइ दिनुभयो। कति नेता आएर गए। तर, उनीहरुले हाम्रा लागि केही गरेनन्। दुईजना कलाकारले हाम्रो बस्ती नै बनादिनुभयो। यो गुण हामी तपाईँहरुको पुस्तौं पुस्तासम्म बिर्सिन सक्दैनौं हजुर,’ धुर्मुस सुन्तलीलाई निधारमा अविर, गलामा फूलको माला र हातमा पुष्प गुच्छा दिँदै एकै स्वरमा थपडी पिट्दै एकीकृत मुसहरहरुले भने।
बस्तीका सबैले फूलको माला र अविर लगाएर धर्मुस-सुन्तलीसंग फाटो खिचाए। एक वर्ष अघि बस्ती पसेका धुर्मुस–सुन्तलीले गाउँलेको फोटो मोवाइलमा खिच्न खोज्दा सबै गाउँलेहरु घरभित्र लुकेका थिए। तर, तीनै गाउँले मायाको चिनो स्वरुप फोटो खिचेर फाटो एल्वममा राख्न आतुर देखिथ्ये। झण्डै आधाघण्टा मुसहर बस्तीमा फोटो सेसन चल्यो। युवा युवतीले धर्मुस–सुन्तलीसंग सेल्फी खिचे।
गाउँलले भव्य विदाइ गरेर गाडीसम्म छोड्न लामबद्ध भए। गाउँलेहरुले ‘धुर्मुस—सुन्तली, हामी मुसहरको भगवान् हुन्, भगवान् हुन्’ भन्दै नारा लगाए। ‘करिव ९८ दिनको बसाइपछि एकीकृत नमुना मुसहर बस्तीबाट विदा भइयो। नेपालका धर्ती पुत्र मुसहर दाजुभाइ दिदीबहिनीहरुले गरेको विदाइको सम्मानले निकै भावुक बनायो,’ धुर्मुसका कुरामा सुन्तलीले थपिन्,‘जुन खुशीका लागि हामीले काम गरेका थियौं, त्यो खुशीले सार्थकता पाएको हामीले महसुस गरेका छौं। सुन्दर घरसंगै उहाँहरुको जीवन सफल बनोस् हाम्रो पनि शुभकामना। सहयोगी हातहरुलाई लाख लाख शुभकामना।’
तीन महिनामा बस्तीभित्र र बाहिर गरेर ५३ वटा घर, एउटा सामुदायिक भवन, एउटा प्रतिक्षालय, पार्किङ्ग स्थल, मन्दिर, बालद्यान, भ्यूटावरसहितको बस्ती निर्माण गरेर धर्मुस सुन्तलीले मुसहर समुदायलाई वैैशाख १ गते हस्तान्तरण गरिसकेका छन्।