भारत-चीन सीमामा किन तनाव चर्कियो ?
नयाँ दिल्ली : नाथुला भञ्ज्याङमा भारत-चीनबीच चार साताअघि सुरु सीमा विवादका कारण दुवै देशबीच उत्पन्न तनाव चर्कंदो छ । दुवैबीच ३ हजार ५ सय किलोमिटर (२ हजार १ सय ७४ माइल) लामो सीमा छ । यसअघि सन् १९६२ मा पनि सीमा विवादकै कारण दुवै देशबीच युद्ध नै भइसकेको छ । तर दुवैबीच अझै पनि सीमा विवाद सुल्झिएको छैन । दुवैबीच सीमास्थित केही भूभागसम्बन्धमा विवाद कायमै छ, जसका कारण बेला बेला दुवै देशबीच विवाद उत्पन्न हुने गरेको छ।
गत महिना सुरु तनावबीच भारत र चीन दुवैले सीमामा आआफ्ना सेना तैनाथ गर्नुका साथै थप सेना पनि पठाएका छन् । साथै दुवैले एक अर्कालाई त्यहाँबाट सेना फिर्ता गर्न पनि भनेका छन् ।भारतले पठारी भूभाग डोकलाममा सडक निर्माण गर्ने चिनियाँ प्रयासको विरोध गरेपछि दुवैबीच सीमा विवाद बिजारोपण भयो । भारतले डोकलाम भन्ने भूभागलाई चीनमा डोङलाङ भनिन्छ । यो भूभागमा नै चीन र भारतको उत्तर पूर्वमा रहेका सिक्किम र भुटानको सिमाना जोडिन्छ । यो भूभागमा चीन र भुटान दुवैले आफ्नो क्षेत्र भएको दाबी गर्दै आएका छन् । र, भारतले भुटानको पक्ष लिँदै आएको छ ।
चीनले सडक निर्माण गरे उत्तर पूर्वका भारतीय राज्यलाई बाँकी भूभागसँग जोड्ने २० किलोमिटर चौडा क्षेत्र (जुन कुखुराको घाँटीजस्तो छ) मा चीनको पहुँच हुने चिन्तामा भारत परेको छ । यो क्षेत्र त्यही हो जसले बाँकी भारतीय भूभागलाई सेभेन सिस्टर्स नामले चिनिने उत्तर पूर्वी राज्यहरूसँग जोड्छ । यो भूभाग सामरिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ ।
भारतीय सेनाका अधिकारीले बीबीसीसँग बताएअनुसार उनीहरूले चिनियाँ सडक निर्माणको विरोध गरेका छन् र सडक निर्माण अवरुद्ध गरेका छन् । यसै कारण चिनियाँ सेनाले अघि बढेर नजिकैको लालटिन आउटपोस्टस्थित भारतीय सेनाका दुई वटा बंकर ध्वस्त पारेको उनीहरूले बताएका छन् । नाम उल्लेख नगर्ने सर्तमा एक जना भारतीय ब्रिगेडियरले भने, ‘हामीले गोली प्रहार गरेका छैनौं । हाम्रा सैनिकले मानव शृंखला बनाएर सडक निर्माण अवरुद्ध पारे ताकि चिनियाँ सेना हाम्रो भूभागमा पस्न नसकुन् ।'
चिनियाँ अधिकारीले भने सडक निर्माणको विरोध गरेर भारतीय सीमा सुरक्षाबलले सीमा पारि चिनियाँ भूभागमा सामान्य गतिविधिमा अवरोध गरेको दाबी गरेको छ । चीनले भारतसँग सेना फिर्ता गर्न आग्रह गरेको छ । यसपछि भारत र चीन दुवैले आफ्ना सेना विवादित सीमामा पठाए र सञ्चारमाध्यमहरूले दुवै देश पछि हट्न तयार छैनन् ।
विवाद चर्कन थालेपछि चीनले कडा प्रतिक्रिया जनाउँदै सिक्किमको नाथुला भञ्ज्याङको बाटो हुँदै तिब्बतस्थित मानसरोवर जाने भारतीय तीर्थ यात्रीलाई प्रवेश दिन अस्विकार गर्यो । हिन्दु धर्ममा आस्थावानहरू कैलाश मानसरोवरलाई भगवान शिवको निवास मान्ने भएकाले पवित्र मान्छन् । कैलाश मानसरोवर जाने तीर्थ यात्रीलाई यात्रा गर्न अनुमति दिन दुवैबीच औपचारिक सम्झौता भएको थियो ।
विवाद चर्किरहँदा भुटानले पनि सडक निर्माणबाट दुई देशबीचको सम्झौता उल्लंघन हुने भन्दै चीनसँग सडक निर्माण नगर्न आग्रह गरेको छ । भारतीय सेनाका जानकारहरू सिक्किमलाई नै त्यस्तो ठाउँ मान्छन्, जहाँबाट भारत चिनियाँ प्रयासमाथि कुनै पनि आक्रमण गर्न सक्ने मान्छन् । भारत-चीनको हिमाली सीमामा यो मात्र एउटा यस्तो ठाउँ हो जहाँको भौगोलिक स्थितिबारे भारतीय सेना पूर्ण जानकार छ र यसको सामरिक फाइदा उठाउन सक्छ । नाथुला भञ्ज्याङ क्षेत्रमा भारतीय सेनाले उचाइको फाइदा उठाउन सक्छन् भने चिनियाँ सेना भारत र भुटानका बीच ‘स्यान्डबिच' हुने भारतीय सैन्य जानकार बताउँछन् ।
भारतीय सेनाका अवकाशप्राप्त मेजर जनलरल गगनजित सिंहले बीबीसीसँग भने, ‘चीनलाई पनि यहाँ भारतीय सेनाले फाइदा उठाउन सक्छ भन्ने राम्रो जानकारी भएकाले नै सधैं हामीलाई फाइदा उठनबाट रोक्छ ।' गत साता भारतको विदेश मन्त्रालयले भनेको थियो, ‘सडक बनाउने चिनियाँ प्रयासले दुवै देशको सामरिक स्थिति परिवर्तन हुनेछ । यसबाट भारत सुरक्षा चिन्तामा पर्नेछ ।'
भारतका रक्षामन्त्री अरुण जेटलीले पनि अहिले सन् २०१७ भएको र भारत सन् १९६२ ताकाको जस्तो नभएको भन्दै चीनलाई चेतावनी दिएका थिए । उनले आफ्नो सिमानाको सुरक्षा गर्ने अधिकार भारतसँग भएको बताएका थिए । चीनले विवादित क्षेत्रमा आफ्नो सार्वभौमसत्ता रहेको भन्दै उसले आफ्नै भूभागमा बनाइरहेको बताएको छ । उसले भारतीय सेनामाथि अतिक्रमण गरेको आरोप लगाएको छ । उसले भारतलाई सन् १९६२ को युद्धमा पाएको पराजय सम्झन भनेको छ । उसले आफू पहिले पनि शक्तिशाली रहेको र अहिले पनि शक्तिशाली नै रहेको चेतावनी भारतलाई दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार सिक्किमसँग जोडिएको सीमासम्बन्धमा सन् १८९० मा बेलायतसँग भएको सम्झौता भारतले उल्लंघन गरिरहेको आरोप लगाउँदै यो गम्भीर मामिला भएको वक्तव्य दिएका थिए । यसबीच चीनको अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सडक निर्माण मामिलामा भुटानले पनि चीनसँग निर्माण रोक्न आग्रह गरेको र भारतले भुटानको सार्वभौमसत्तामा हस्तक्षेप गरिरहेको उल्लेख गरेको छ ।
भारतका लागि भुटानका दूत वेत्सोप नामग्यालका अनुसार चीनको सडक परियोजना दुवै देशबीच भएको सम्झौताको उल्लंघन हो । भुटान र चीनबीच औपचारिक सम्बन्ध छैन, तर नयाँ दिल्लीस्थित कूटनीतिक मिसनमार्फत दुवैले आवश्यक कामकारबाही गर्ने गरेका छन् । सुरक्षा मामिला जानकार जयदिप सैकियाले बीबीसीसँग केही समययता चीनले भुटानसँग सिधा सम्बन्ध कायम गर्ने प्रयास गरिरहेको बताए । दक्षिण एसियामा भुटानको सबैभन्दा निकट सहयोगी भारत नै हो । उनले भने, ‘भुटानको सार्वभौमसत्ताको कुरा उठाएर चीनले नेपालजस्तै भुटान पनि आफूसँग आओस् भन्ने चाहेको छ ।'
अहिले तनाव चर्केको भूभागमा सन् १९६७ मा चीन-भारत संघर्ष भएको थियो । त्यसपछि पनि कहिलेकाहीं आक्कलझुक्कल तनाव उत्पन्न हुने गरेको छ । विदेश मामिला जानकारहरूका अनुसार अहिलेको तनाव भने केही वर्षयताकै सबैभन्दा गम्भीर हो । त्यसमाथि राजनीतिक शरण लिएर तिब्बतका धर्मगुरु दलाई लामा भारतीय सहर धर्मशालामा बस्नु पनि भारत-चीनबीच तनावको एउटा कारण हो । केही महिनाअघि मात्र दलाई लामाको अरुणाचल भ्रमणको चीनले कडा विरोध जनाएको केही समयपछि अहिलेको तनाव सिर्जना भएको छ । अरुणाचल चीनसँग जोडिएको उत्तरपूर्वी भारतीय राज्य हो । अरुणाचलमाथि पनि चीनले आफ्नो भएको दाबी गर्दै आएको छ ।
हुनसक्छ एसियाका दुई शक्तिबीच सम्बन्ध तिक्त नहुन सक्छ, किनकी चीनले हिमाचल प्रदेशको बाटो हुँदै ५६ भारतीय तीर्थ यात्रीलाई कैलाश मानसरोवर जाने अनुमति दिएको छ । गत साता भारतका वरिष्ठ पर्यटन अधिकारी धिरज गरबियालले तीर्थ यात्रीहरू मानसरोवरतिर गइरहेको र सुरक्षित रहेको बताएका थिए । रक्षा विशेषज्ञहरूका अनुसार चीनले भारतसँग जोडिएका सबै सिमानामा तनाव चर्काएको छैन, सिक्किम-भुटानसँग जोडिएको सिमानामा मात्र यस्तो गरिरहेको छ ।