कर्णालीमा रगत अभाव : बिरामी बचाउँदै नेपाली सेना

 कर्णालीमा रगत अभाव : बिरामी बचाउँदै नेपाली सेना

जुम्ला : कालिकोटको तिलागुफा गाउँपालिकाकी गर्भवती ३५ वर्षीया सर्पना हमाललाई मंगलबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याउँदा अवस्था सामान्य नै थियो । सर्पनाको कोखबाट राति २ बजेतिर छोरा जन्मियो पनि । सामान्य रूपमै बच्चा जन्मिएपछि सर्पनाका श्रीमान् जयबहादुर हमाल खुसी हुनुभएको थियो । तर, केही क्षणमै जयबहादुरको खुसीको माहोल बिग्रिँदै आत्तिनुपर्ने अवस्थामा परिणत भयो ।

सर्पनाको रक्त श्राव हुन थालेपछि जयबहादुर मात्र होइन, डाक्टरसमेत आत्तिए । बच्चा जन्मिएको केही क्षणदेखि नै उहाँलाई रक्त श्राव भएको थियो । त्यसपछि मध्यरातमै नेपाली सेनाको भगवती दल गणका जवान, नर्सिङका विद्यार्थी तथा सशस्त्र प्रहरीले आवश्यक रगत प्रदान गरेपछि मात्रै सर्पनाको ज्यान बचाउन चिकित्सक सफल भए ।

उपचारमा संलग्न चिकित्सकले सर्पनालाई एक-दुई पिन्ट रगत दिँदा निको हुन्छ भन्ने सोचे पनि होस आउने बेलासम्म १४ पिन्ट दिनुपरेको बताएका छन् । ‘हामीले थोरै रगत नै पर्याप्त हुन्छ भन्ने सोचेका थियौं', चिकित्सक विनोद अर्यालले भन्नुभयो, ‘तर, उहाँको रक्त श्राव नियन्त्रण नै भएन । अन्त्यसम्ममा १४ पिन्ट रगत दिनुपरेको थियो ।' उहाँका अनुसार समयमै नेपाली सेना र नर्सिङका विद्यार्थी आएर रगत नदिएको भए सुत्केरीको अवस्था जे पनि हुन सक्थ्यो ।

गर्भवती अवस्थामा पोषिलो खानपान अभाव, अधिक कामको चाप र बच्चा धेरै जन्माएका कारण अहिले सुत्केरी हुँदा रक्त श्राव भएको चिकित्सकको भनाइ छ । सर्पना दम्पतीका यसअघि नै तीन सन्तान छन् । श्रीमतीलाई ‘मृत्युको मुख'बाट बचाएकोमा चिकित्सक, नेपाली सेना, नर्सिङ विद्यार्थी र सशस्त्र प्रहरीलाई जयबहादुरले धन्यवाद दिनुभएको छ । बुधबार बिहानसम्म चिकित्सक सुत्केरीलाई बचाउन सकिने वा नसकिनेमा दोधारमा थिए ।

बर्सेनि अधिक रक्त श्राव, रगत अभाव र समयमै उपचार नपाउँदा कैयौं सुत्केरीले ज्यान गुमाउनुपरेको छ । सबैभन्दा धेरै मातृ मृत्युदर भएको क्षेत्र कर्णाली नै हो । यहाँ बर्सेनि १२ भन्दा बढी महिलाले रगत अभावकै कारण सुत्केरी अवस्थामा ज्यान गुमाउनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ । कर्णालीमा आवश्यक रगत संकलन गरी सुरक्षित रूपमा राख्ने ब्लड बैंक छैन, जसका कारण चाहिएको अवस्थामा बिरामीले रगत पाउन सकिराखेको अवस्था छैन ।

कालिकोट, हुम्ला, मुगु, डोल्पा र कर्णालीकै सदरमुकामका रूपमा रहेको जुम्लामा नै रगतका लागि नेपाली सेना एक मात्र विकल्प देखिएको छ । आवश्यक परेको समयमा चाहिएको ग्रुपको रगत भएको व्यक्ति सेनाभित्र भए बिरामीले रगत पाउँछन् नत्र नेपालगन्ज पुग्नुपर्छ । एक महिनाअघि मात्रै तिला गाउँपालिकाकी एक महिलाले सुत्केरीकै बेला अधिक रक्त श्राव हुँदा ज्यान गुमाउनुपरेको थियो ।

कतिपय ठाउँमा सडकको सहज पहुँचका नभएका कारण समयमै अस्पताल पुर्‍याउन नसक्दा सुत्केरीको ज्यान जाने गरेको छ । केही अस्पताल पुगे पनि आवश्यक रगत नपाउँदा ज्यान जाने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका रजिस्ट्रार विश्वराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार रगत अभाव भए एक मात्र विकल्प नेपाली सेना नै हुन् । प्राप्त रगत पनि सुरक्षित हो वा होइन भन्ने कुनै ग्यारेन्टी नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आवश्यकताका आधारमा तत्काल बिरामीको ज्यान बचाउन रगत सेनाले दिने गरेको छ । त्यो पनि सुरक्षित छ वा छैन मापन गर्ने कुनै आधार छैन ।'

यसपटक नर्सिङका विद्यार्थी र सशस्त्रले समेत रगत दिए पनि अन्य बेला नेपाली सेनाको विकल्प छैन । प्रतिष्ठानमा यसअघि आउने पदाधिकारीले जुम्लामै ब्लड बैंक स्थापना गर्ने वचन दिए पनि हालसम्म काम अघि बढ्न सकेको छैन । रगत अभाव भए नेपाली सेना नत्र बिरामीका आफन्तले रक्तदान गर्ने व्यक्ति बजारमा खोज्दै हिँड्नुपर्ने बाध्यात्मक अवस्था छ । रजिस्ट्रार काफ्लेका अनुसार ब्लड बैंकका लागि २४ घन्टा विद्युत् आवश्यक पर्ने भएकाले विद्युत् अभावमा ब्लड बैंक स्थापनामा समस्या छ ।

गम्भीर खालका बिरामी सुरक्षित छैनन्

प्रतिष्ठानमा उपचारका लागि आउने अधिकांश गम्भीर प्रकृतिका बिरामीले सुरक्षित रूपमा उपचार पाउन सकेका छैनन् । त्यस्ता बिरामीलाई पनि जनरल वार्डमा राखेर उपचार गर्ने गरिएको छ, जसका कारण बिरामीलाई थप रोगको संक्रमणसमेत हुन सक्ने अवस्था देखिएको अस्पताल स्रोतले स्वीकार गरेको छ । भौतिक संरचना निर्माण भइरहेको प्रतिष्ठानमा आईसीयु कक्ष नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा समस्या भएको रजिस्ट्रार काफ्लेले बताउनुभयो । ‘प्रतिष्ठानमा अहिले आईसीयु राख्ने भौतिक संरचना पनि छ तर उपकरण अभाव र विद्युत् सेवा नहुँदा समस्या भएको छ', उहाँले भन्नुभयो । उहाँले तीन महिनाभित्रै तीन सय शय्याको नयाँ भवन प्रतिष्ठानलाई हस्तान्तरण हुने र विद्युत् सेवा पनि तीन महिनाभित्रै व्यवस्था गरिने बताउनुभयो । दसैंअघि नै बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने उहाँको विश्वास छ । दानसाँघुको विद्युत् प्रतिष्ठानमा ल्याउने सम्झौता भएकोले तीन महिनाभित्रै ब्लड बैंक र आईसीयु स्थापना गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.