दार्जीलिङका घाइतेको विएन्डसी अस्पतालमा उपचार
विर्तामोड : छुट्टै स्वायत्त राज्य गोर्खाल्याण्डका लागि भनेर चलिरहेको आन्दोलनका घाइते पूर्वी नेपालका अस्पतालमा उपचारका लागि आउन थालेका छन् ।
सोही क्रममा झापाको त्यहाँ चलेको आन्दोलनका एकजना गम्भीर घाइतेको झापाको विर्तामोडस्थित विएन्डसी शिक्षण अस्तपालमा उपचार भइरहेको छ ।
सोमबार दार्जीलिङको मिरिकमा खुकुरी प्रहार गरी गम्भीर घाइते मिरिककै ३८ बर्षीय आनन्द तामाङको गम्भीर अवस्थामा विर्तामोडको विएन्डसी शिक्षण अस्पतालमा उपचार भइरहेको अस्पतालका जनरल सर्जन डा. रोहितकुमार यादवले जानकारी दिनुभयो ।
तामाङको घाँटी र दाहिने हातमा खुकुरी प्रहार गरेको गम्भीर चोट लागेको छ । अस्पतालका चिकित्सकहरु डा. बासु बाँस्कोटा र डा. सन्दीप अधिकारी नेतृत्वको टोलीले सोमबार राति नै विरामीको शल्यक्रिया गरेको थियो ।
गम्भीर घाइते तामाङ सीमा बजार पशुपतिनगरका केही सर्वसाधारणले उद्धार गरी विर्तामोड ल्याएका थिए । उहाँलाई राति ११ बजे अस्पताल ल्याइएको थियो ।
पश्चिम बंगालको सत्तारुढ त्रिणमूल कंग्रेसका कार्यकर्ता र गोर्खाल्याण्ड पक्षधरवीच सोमबार साँझ त्यहाँ झडप भएको बुझिएको छ । सोही झडपमा तामाङमाथि खुकुरी प्रहार भएको बताइएको छ ।
उहाँ गोर्खाल्याण्ड पक्षधर भएको बुझिएको छ । मिरिक म्युनिसिपालिटीमा सत्तारुढ त्रिणमूल कंग्रेसले नेतृत्व गरिरहेको छ ।