नागपञ्चमीकै दिन रक्षाबन्धन
काठमाडौं: नेपाल पञ्चाङ्ग निर्णायक समितिले नागपञ्चमीकै दिन रक्षाबन्धन मनाउन सुझाव दिएको छ। साउन २३ गते सोमबारका दिन अर्धरात्रि-पूर्व खण्डग्रास चन्द्रग्रहण भएकाले १० दिन अघि साउन १३ गते नै रक्षाबन्धन लगायतका पर्व मनाउन प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साउन २३ गते गरिने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन श्राबण १३ गते शुक्रवार श्रावणशुक्ल पञ्चमी (नागपञ्चमी)का दिन शास्त्र तथा परम्परा अनुसार समुचित छ।'
विसं. १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि श्रावण शुक्ल पूर्णिमा तिथिमा ग्रहण परेकाले श्रावण शुक्ल पञ्चमी(नागपञ्चमी)को दिनमा नै उक्त पर्व (उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन) गरिएको समितिले जनाएको छ।
पूर्णिमाका दिन गरिने अन्य जाज्ञा, उत्सव, तिथि, श्राद्ध र अरु परम्परागत कृत्यहरु भने सोही दिन गर्नु शास्त्रसम्मत् हुने समेत विज्ञप्तिमा जनाइएको छ।