एनआरएनए युरोपियन समन्वय परिषद्को भेला शुक्रबारदेखि
जर्मनी : गैर आवासीय नेपाली संघ (एनआरएनए)को युरोपियन समन्वय परिषद्को १० औँ भेला शुक्रबार जर्मनीको फ्य्राङ्फटमा सुरु हुँदैछ।
युरोपियन समन्वय परिषद्को आयोजना तथा जर्मनी राष्ट्रिय समन्वय परिषद् जर्मनीको सर्हकार्यमा गरिएको यस भेलामा सहभागी हुन युरोपका समन्वय परिषद्लगायत अन्तराष्ट्रिय परिषदका विभिन्न देशका प्रतिनिधि फ्य्राङ्फटमा आइपुगेका छन्।
युरोपियन युनियनमा अबद्ध २८ देशसहित अन्तराष्ट्रिय समन्वय परिषद् बेलायत, अमेरिका, अष्ट्रेलिया, मिडल इष्ट, अफ्रिका र एशिया प्यासफिकका प्रतिनिधि गरी करिब चार सय सहभागी हुने युरोपियन समन्वय परिषद्का संयोजक कुल आचार्यले जानकारी दिए।
हेरक बर्ष जुलाई÷अगष्ट महिनामा आयोजना गरिने सम्मेलनमा विशेष गरेर विभिन्न देशका समन्वय समितिले गरेको कार्य, त्यहाका समस्यालगायत विषयमा छलफल हुने छ।
हरेक दुई बर्ष काठमाडौंमा हुने विश्व गैर आवसीय नेपाली संघको भेलामा सबै समन्वय समितिको कार्य तथा समस्याको बारेमा घनिभूत छलफल गर्न नसकिने हुनाले त्यसको प्रारम्भिक चरणमा प्रत्येक क्षेत्रीय समितिको भेला गरिएको गैर आवसीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक जीवा लामिछानेले बताए।
काठमाडांैमा हुने विश्व सम्मेलनमा राष्ट्रिय परिषदले राख्ने आफ्नो एजेण्डाको तयारीका लागि यो भेला केन्द्रित हुने उनले बताए।
भेलाको उद्घाटन जर्मनका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले गर्ने छन् भने गैर आवसीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो संस्थापक सदस्य राम थापा, संरक्षक दिल गुरुङ लगायत विशिष्ट अतिथिको उपस्थितिमा सांस्कृतिक कला झल्कने कार्यक्रम समेत हुने छ।