शरिरमा चिया पोखिँदा गम्भीर घाइते
इनरुवा : सुनसरी सदरमुकाम इनरुवा–८ डुम्राहामा बिहीबार तातो चिया जीउमा पोखिँदा एक बालिका गम्भीर घाइते भएकी छिन् । स्थानीयवासी जीवन चौधरीकी डेढ वर्षीया बालिका लिजाकुमारी चौधरीको जीउमा तातो चिया पोखिँदा गम्भीर घाइते भएकी हुन् । चिया बनाएर घरको टेबुलमा राखेको र सोही चिया बालिकाको जीउमा पोखिएपछि गम्भीर घाइते भएको स्थानीयवासी भागवत ठाकुरले जानकारी दिए।
यसैबीच, चार दिनअगाडि सुनसरीको भोक्राहा गाउँपालिका–२ मा म्याजिक भ्यानको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको बिहीबार राति मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी आरिफ अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी भोक्राहा गाउँपालिका–२ सडकखण्डमा प्रकाशपुरबाट भोक्राहातर्फ जाँदै गरेको को १ च २९१० नंको म्याजिक भ्यानले को १६ प १२४५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट भोक्राहा गाउँपालिका–२ बस्ने अन्सारीलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइए पनि उपचार क्रममा मृत्यु भएको हो । ठक्कर दिने भ्यान र चालक फरार रहेकाले खोजी भइरहेको छ ।