कोरियामा कार्यस्थल दुर्घटनामा नेपालीको मृत्यु
सोल: दक्षिण कोरियामा कार्यस्थलमा दुर्घटनामा परी एक नेपाली युवाको ज्यान गएको छ। गुल्मी पुर्कोटका अन्दाजी ३१ वर्षीय विष्णु घिमिरेको कार्यस्थल दुर्घटनामा ज्यान गएको हो। जिन्जुस्थित कुखुराको अण्डा प्रशोधन गर्ने मेशिन बिग्रिएपछि चिगेछा (गहै सामान उचाल्न र सार्न प्रयोग गरिने गाडि)को सहायताले त्यसलाई बनाउन खोज्दा फिता चुँडिएर घिमिरेको टाउकोमा लागेको थियो।
चुडिँएको फिताले जोडले लागेपछि उनी भुईमा ढलेका थिए । भुईमा ढलेका मृतक घिमिरलेलाई उपचारका लागि जिन्जुस्थित स्थानीय अस्पतालमा पुर्याएपनि अस्पतालले उनलाई बचाउन सकेन्। अस्पतालले केहि समयपछि मृत घोषित गरेको उनका सहकर्मीले बताएका छन्। मृतक घिमिरे ईपीएस मार्फत २२ महिनाअघि कोरिया आइपुगेको र कम्पनी परिवर्तन गरेर त्यहाँ पुगेको बताइएको छ।
यसैबीच सोलस्थित नेपाली दुतावासले घटनाका बारेमा कोरियन प्रहरीले फ्याक्स मार्फत रिपोर्ट पठाएर जानकारी गराएको बताएको छ । घटनाका बारेमा घर परिवारलाई शनिबार नै जानकारी गराइएको गुल्मी सम्पर्क समितिका अध्यक्ष समेत रहेका गान्धिव सुवेदीले जनाएका छन्। घटनास्थल भएको ठाउँमा मृतक घिमिरेका नजिकका आफन्त इश्वरी घिमिरे पुगेका छन् भने दुतावासका अधिकारी पनि सोमबार त्यसतर्फ पुगेर विस्तृत जानकारी लिने तयारीमा रहेको बुझिएको छ।