बिक्न छाड्यो खाद्यको चामल
तुलसीपुर : कुनै बेला खाद्य संस्थानको चामल खरिद गर्न धेरै दिन लाइन बस्नु पथ्र्यों । मान्छेहरू हप्तौ लाइनमा बसेर संस्थानको चामल किन्ने गर्थे । अहिले चामल आपूर्तिका लागि ठेक्का आह्वान गर्दा पनि ठेक्का पर्दैन । केही वर्ष अघिसम्म राप्तीमा हजारौं क्विन्टल खपत हुने संस्थानको चामल अहिले सयमा झरेको छ । चामलको माग घटेपछि संस्थानले आफ्ना शाखा र डिपोसमेत घटाएको छ । अञ्चल कार्यालयसहित राप्तीमा संस्थानका सातवटा कार्यालय रहेकोमा अहिले दुईवटा कार्यालय र दुईवटा डिपो मात्रै सक्रिय छन् । त्यही सस्थान, त्यही कार्यालय र त्यही चामल हो अहिले बिक्री हुन छोडेको छ । अभावमा आम उपभोक्ताको साथी बनेको संस्थान बजारमा प्रतिस्पर्धा गर्न नसक्दा बिरानो जस्तो भएको छ । संस्थानमा चामल किन्नेको हैन कर्मचारीको भीड छ । चामल गोदाममा थुप्रिएको छ ।
संस्थानका राप्ती र कर्णाली अञ्चलमा स्थापना भएका कार्यालय र डिपोहरूले प्राय यो समस्या भोगिरहेका छन् । राप्तीका जिल्लामा संस्थानले उपलब्ध गराउने चामल अहिले बिक्न छोडेको छ । पहाडी र हिमाली जिल्लामा सबैभन्दा बढी माग हुने चामल क्रमशः बिक्नै छाडेको संस्थानका कर्मचारीले जानकारी दिए । सबै क्षेत्रमा सडक र बजारको पहुँच विस्तार हुनु, स्थानीयले चाहेजस्तो चामल संस्थानले उपलब्ध गराउन नसक्नु, बजारको अनुपातमा ताजा चामल नहुँदा संस्थानको चामलको माग घट्दै गएको खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरका निमित्त प्रमुख कृष्णप्रसाद चौधरीले बताए । चाामल बिक्न छोडेपछि द्वन्द्वकालमा विस्थापति संस्थानका डिपो र कार्यालयसमेत पुनः सञ्चालनमा आउन सकेका छैनन् ।
सबै क्षेत्रमा सडक र बजारको पहुँच विस्तार, स्थानीयको चाहना अनुसार संस्थानले चामल उपलब्ध गराउन नसक्नु, बजारअनुसार ताजा चामल नहुँदा संस्थानको चामलको माग घट्दै गएको हो ।
उनले संस्थानले स्थानीय उपभोक्ताको मागअनुसार मसिना चामल प्रतिस्पर्धी मूल्यमा बजारमा पठाएमा चामलको माग पूर्ववत अवस्थामै फर्कन सक्ने बताए । ‘संस्थानको खाद्यान बिक्री घटीरहेको छ', उनले भने, ‘प्रत्येक वर्ष लक्ष्य कम हुँदै छ । केही वर्षयता बिक्री घटिरहेको हो । बजार हेरेर चामल आपूर्ति गरे माग फेरि बढ्ने उनको भनाइ छ ।
अञ्चल कार्यालयको तीन वर्षको तथ्यांक हेर्दा पनि यो अवस्था देखिएको हो । आर्थिक वर्ष २०७१÷७२मा कार्यालयको सेवा क्षेत्रबाट १२ हजार सात सय ९४ मेट्रिक टन चामल बिक्री भएको थियो । त्यो मात्रा ७२÷७३ सम्म आइपुग्दा आठ हजार दुई सय ४७ मेट्रिक टनमा झरेको छ । त्यस्तै गत आवमा त्यो संख्या घटेको छ । गत आवमा घटेर सात हजार एक सय ४३ मेट्रिक टन खपत भएको छ ।
जसमा बर्षेनि जिल्लाका कारगाराहरूमा मात्रै सरदर १४ सय मेट्रिक टन खपत हुने गरेको छ । गृह मन्त्रालय र संस्थानको समन्वयपछि कारागारमा चामल पठाउन लागिएको छ । अहिले त्यो चामल कैदी बन्दीले प्रयोग गर्दै आएका छन् । रुकम र डोल्पाका केही दुर्गम क्षेत्रमा खपत हुने गरेको कार्यालयले जनाएको छ । चामल कम बिक्न थालेपछि चामल संस्थानका विभिन्न गोदाममा धन्किएको छ ।
अञ्चल कार्यालयका निमित्त प्रमुख चौधरीले गोदाम खाली भएपछि नयाँ चाम ल्याएर राख्ने गरेको र लामो समयसम्म एउटै चामल गोदाममा नरहने बताए । अञ्चल कार्यालयको गोदाममा रहेको चामल एक वर्ष पनि नपुगेको, राम्रो भएको र कुहिने अवस्थामा नरहेको उनले जिकिर गरे । चौधरीले आपत्कालीन अवस्थामा पनि न्यूनतम पाँच हजार क्विन्टल चामल सधैं मौज्दात राखिने उल्लेख गरे । अहिले खाद्य संस्थानले मोटो र उसिना चामल बिक्री गर्दै आएको छ ।
मसिना चामलको मूल्य ४४ सयदेखि ६ हजार रुपैयाँसम्म तोकिएको छ भने उसिना चामलको मूल्य तीन हजारदेखि ४५ सय रुपैयाँसम्म तोकिएको छ । ढुवानीअनुसार मूल्य फरक पर्ने चौधरीले जानकारी गराए । बजार मूल्य पनि त्यहीअनुसार हुँदा उपभोक्ता संस्थान छाडेर व्यापारी तिर जाने गरेका छन् ।